२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

तरबार प्रहार गर्नेलाई कारबाही गर्न माग

चैत २८ गते तरबार प्रहार गरी घाइते बनाउनेलाई कारबाही गर्न पीडितहरूले माग गरेका छन्। आइतबार विराटनगरमा पत्रकार सम्मेलन गरी पीडितका परिवारले तरबार प्रहार गरी घाइते बनाउनेहरूलाई कारबाही गर्न माग गरेका हुन्। उनीहरूले दिन डाहाडै तरबार प्रहार गर्नेहरूलाई प्रहरीले जानीजानी पक्राउ नगरेको गुनासो गरे।

विराटनगर–१४ का प्रकाश यादव र सोही स्थानमा सत्तरलाल यादवलाई अन्धाधुन्ध तरबार प्रहार गरी घइते बनाएको सत्तरलालका बाबु पञ्चलाल यादवले बताए। आक्रमण गर्नेहरू विराटनगर १४ कै बलदेव यादव, दिपेश यादव, शंकर भनिने रवीन यादव, फुलेश्वर यादव राजेश यादव, उपनारायण यादव, शंकर यादव, धनपत यादव र जोगीलाल भनिने योगीलाल यादव रहेको किटानी जाहेरी इलाका प्रहरी कार्यालय रानीमा वैशाख ३ गते नै जाहेरी दिएको भए पनि अझै सम्म कसैलाई पनि पक्राउ नगरेको पीडित पक्षले गुनासो गरेको छ।

घाइतेका बाबु पञ्चलालले पीडकहरूलाई प्रहरीले पक्राउ नगरेका कारण आफूहरू अझै असुरक्षित भइरहेको गुनासो गरे। उनले ज्यान मार्ने उद्देश्यले तरबार प्रहार गर्नेहरूलाई पक्राउ गरी कानुनी दायरामा ल्याउन र आफूहरूलाई न्याय दिन सरकारलाई आग्रहसमेत गरे।

‘मेरो छोरो मरनाशन्न अवस्थामा अस्पतालमा छ। तर, प्रहरीले अपराध गर्नेहरूलाई पक्राउ गरेर कानुनी दायरामा ल्याउनसमेत आनाकानी गरिरहेको छ,’ उनले भने। घटना घटेको १३ दिन बितिसक्दासमेत अपराध गर्नेहरूलाई प्रहरीले पक्राउ नगरेपछि आफूहरू न्यायको याचना गर्दै पत्रकार सम्मेलन गर्न आएको  पञ्चलालले बताए।

अपराधीहरू खुलेआम विराटनगरमा घुमिरहे पनि प्रहरी अपराधीको खोजी भइरहेको भन्दै जिम्मेवारीबाट पन्छिइरहेको छ,’ पञ्चलालले भने। सामूहिक आक्रमणका कारण शरीरको विभिन्न भाग काटिएका सन्तलालको मोरङको बुढीगंगा गाउँपालिकास्थित विराट टिचिङ अस्पतालमा उपचार भइरहेको छ। उनको बाँच्ने अवस्था कम रहेको उनकी श्रीमती ममता  यादवले बताइन्।

घाइते भएका प्रकाश यादव उपचारपछि घर फर्केका छन्। आन्तरिक कलहका कारण बलदेव यादव पक्षले सन्तलाल यादव र प्रकाश यादवमाथि धारिलो हतियारले आक्रमण गरेका थिए। आरोपितमध्येका बलदेव विराटनगर–१४ का पूर्व वडाअध्यक्ष हुन्।

प्रकाशित: १० वैशाख २०८१ ०७:३५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App