२४ वैशाख २०८१ सोमबार
image/svg+xml
समाज

कारबाही गर्न सिफारिस गरिएका कर्मचारी अख्तियारमा

नक्कली लाइसेन्स वितरण गरेको विषयमा यातायात व्यवस्था विभागले गठन गरेको छानबिन प्रतिवेदनले कारबाही गर्न सिफारिस गरिएका एकजना प्राविधिक कर्मचारीलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा काज सरुवा गरिएको छ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका एक उच्च कर्मचारीका अनुसार सञ्चार मन्त्रालयमा कार्यरत कम्प्युटर इञ्जिनियर सुरज प्रकाश अर्याललाई सञ्चारबाट अख्तियारमा तीन महिने काज सरुवा गरिएको हो। उनले सोमबार नै सरुवाको चिठीसमेत बुझिसकेको मन्त्रालय स्रोतले बताएको छ।

अर्यालले कारागारमा रहेका संशाक बस्नेतलाई उहीँ पुगेर नक्कली लाइसेन्स बुझाएको छानबिन प्रतिवेदनमा उल्लेख छ। बस्नेत हाल जेलबाट रिहा भइसकेका छन्। विभागका आइटी इन्जिनियर मुकेश रेग्मीको संयोजकत्वमा गठित छानबिन समितिले उनलाई कारबाही गर्न सिफारिस गरेको थियो।

समितिले प्रतिवेदन बुझाइसकेपछि अर्याललाई विभागबाट सञ्चार मन्त्रालयमा सरुवा गरिएको थियो। सामान्य मन्त्रालयका अर्का एक उच्च कर्मचारीका अनुसार अख्तियारबाटै माग भएपछि अर्यालालई अख्तियार पठाइएको हो। सामान्यतया सामान्यले अख्तियारमा कर्मचारी सरुवा गर्दा अख्तियारले नै माग गरेका कर्मचारी पठाउने गर्छ।

राष्ट्रपति कार्यालय, लोकसेवा आयोग, प्रधानमन्त्री कार्यालय, अख्तियार दुरूपयोग अनुसन्धान राष्ट्रिय सतर्कता केन्द्रलगायतका कार्यालयमा सम्बन्धित कार्यालयले नै माग गरेका कर्मचारी सरुवा गर्ने गरिएको छ।

नक्कली लाइसेन्स छानबिन प्रकरण अहिले अख्तियारमा पुगेको छ। अनुसन्धानको दायरामा रहेका कर्मचारी आफैं अख्तियारमा सरुवा हुनुले यसबाट छानबिन प्रभावित हुने यातायात व्यवस्था विभागका एक कर्मचारी बताउँछन्।

प्रकाशित: १२ वैशाख २०८१ ०७:२९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App