७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
समाज

स्नान कक्षसहितको अपाङगतामैत्री अत्याधुनिक शौचालय जावलाखेलमा

ललितपुर महानगर प्रमुख महर्जन भन्छन् : एक वडा एक शौचालय

ललितपुरको जावलाखेलमा स्नान कक्ष (नुहाउने कोठा) सहितको अत्याधुनिक सार्वजनिक शौचालय सञ्चालनमा आएको छ । बिहीबारदेखि शौचालय प्रयोगका लागि सर्वसाधारणलाई खुल्ला गरिएको छ ।  

ललितपुर महानगरले एरोसान सस्टेनेबल स्यानिटेसनसँग सहकार्य गरी उक्त शौचालय बनाएको हो । शौचालय आपङगतामैत्री, महिलामैत्री, बालबालिका र ज्येष्ठ नागरिक मैत्री र वातावरणमैत्री छ । शौचालयमा सेनेटरी प्याड समेत उपलब्ध छ । शिशुलाई स्तनपान गराउनसमेत छुट्टै ठाउँको व्यवस्था गरिएको छ । एरोशानले महानगरको मंगलबजार, पाटनढोका र जावलाखेलमा गरी तीन ठाउँमा अत्याधुनिक सार्वजनिक शौचालय बनाएको छ  ।  

शौचालय उद्घाटन कार्यक्रममा बोल्दै महानगर प्रमख चिरीबाबु महर्जनले ललितपुर महानगरमा भएका शौचालयहरु सफा भएको बताए । उनले भने, ‘शौचालय भन्ने बित्तिकै फोहोर र गाउँछ भन्ने आम धारणालाई हामीकहाँको शौचालयले चिरेको छ ।’ शौचालय नजिकै बसेर चिया खान सकिने गरी शौचालयहरु निर्माण भएका छन् ।  

असल अभ्यासहरु अवलोकन गर्ने क्रममा एक डेढ वर्षअघि वंगलादेश पुग्दाको अनुभव सुनाउँदै नगरप्रमुखले भने, ‘ हामी कहाँ भएको शौचालय हेर्दा वंगलादेशको भन्दा पो राम्रो र सफा लाग्यो । वंगलादेशको सार्वजनिक शौचालयमा स्नान कक्ष देखिपछि महानगरले प्रत्येक वडामा बनाउँदै गरेको शौचालयको डिजाइनमा थोरै परिवर्तन गरी स्नानकक्ष थप गरेको उनले बताए ।  

वडा नं.४ का वडा अध्यक्ष सन्तोष खड्काले जनघनत्वको अत्यधिक चाप भएको ठाउँमा सार्वजनिक शौचालय निर्माण हुँदा नागरिकहरु लाभान्वित हुने बताए । उनले भने, ‘चिडियाखाना यस वडामा भएकाले शौचालय खोज्दै आउने धेरै हुन्छन्। भोटो देखाउने जात्राका बेला तीन चारवटा मोवाइल शौचालय हुँदा पनि पर्याप्त हँदैन थियो। निर्माण सम्पन्न यो सार्वजनिक शौचालयले शौचालयको मागलाई केही पूर्ति गर्ने छ।’  

एरोशानका अध्यक्ष सोनी श्रेष्ठले शौचालय निर्माण र सुभारम्भ मात्रै ठूलो कुरा नभएको बताउँदै यसको संचालन महत्वपूर्ण भएको बताइन् । शौचालयलाई सफा र व्यवस्थित राख्न प्रयोगकर्ताको सहयोग महत्वपूर्ण भएको उनको भनाइ थियो । सोनीका अनुसार यहाँको दिसाजन्य लोदोबाट उर्जा उत्पादन गरिने जानकारी दिइन् ।  

वाटर एडका राष्ट्रिय निर्देशक सुदर्शन न्यौपानले खानेपानी, सरसफाइ र स्वच्छतालाई वाटर एडले प्राथमिकता दिएको बताए । दिगो र व्यवस्थित ढंगबाट शौचालय संचालनका लागि सहकार्य अत्यावश्यक भएको बताए ।  

लगनखेलमा पनि अत्याधुनिक शौचालय बन्दै  

महानगर प्रमुख चिरीबाबु महर्जनले लगनखेलमा पनि जावलाखेल, मंगलबजार र पाटनढोकामा भएको जस्तै सार्वजनिक शौचालय आवश्यक भएको बताएका छन् । लगनखेलनमा अत्याधुनिक शौचालय निर्माणका लागि डिपिआर भइरहको जानकारी दिए । उनले छिट्टै त्यहाँ सुविधासम्पन्न सार्वजनिक शौचालय निर्माणको काम सुरु हुने बताए ।  

एक वडा एक शौचालय  

ललितपुर महानगरले एक वडा एक सार्वजनिक शौचालयको नीति अनुसार महानगरको ७ वटा वडामा सार्वजनिक शौचालय निर्माण गरिरहेको छ । वडा नं।८, ९, २, १० , २४ , २५, २७ मा सार्वजनिक शौचालय निर्माणको काम भइरहेको हो । महानगरका इन्जिनियरका अनुसार वडा नंं.८, ९, २४, १० ,२ मा बनेका शौचालयमा  ’फिनिसिङ’को काम भइरहेको छ । वडा नं.२५ र २७ लेआउट र स्ट्रकचरको काम भइरहेको छ ।

प्रकाशित: २७ वैशाख २०८१ १२:११ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App