८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
समाज

नाक खुम्चाउन नपर्ने एउटा फरक शौचालय

सार्वजनिक शौचालय भन्ने बित्तिकै अझै पनि धेरैलाई फोहोर, दुर्गन्धित र अष्तवष्त ठाउँको सम्झना गराउँछ । त्यसैले कतिपयले भन्ने पनि गर्थे – सहरमा सबै कुरा खोज्न मुस्किल छ, तर शौचालय खोज्न मुस्किल छैन । किनकि यसको दुर्गन्ध लेनै परैबाट यसलाई चिनाउँछ ।

तर ललितपुरको जावलाखेलमा यो भाष्य तोडिएको छ । स्नान कक्ष (नुहाउने कोठा) सहितको अत्याधुनिक सार्वजनिक शौचालय बिहीबारबाट सञ्चालनमा आएसँगै शौचालयको बारेको आम परिभाषा नै बदलिएको छ ।

त्यसैले होला शौचालय उद्घाटन कार्यक्रममा बोल्दै महानगर प्रमुख चिरीबाबु महर्जनले ललितपुर महानगरमा भएका शौचालयहरू सफा भएको बताए । ‘शौचालय भन्ने बित्तिकै फोहोर र गनाउँछ भन्ने आम धारणालाई हामीकहाँको शौचालयले चिरेको छ उनले भने, ‘ शौचालय नजिकै बसेर चिया खान सकिने गरी शौचालयहरू निर्माण भएका छन् ।’

ललितपुर महानगरले एरोसान सस्टेनेबल स्यानिटेसनसँग सहकार्य गरी उक्त शौचालय बनाएको हो । शौचालय आपङगतामैत्री, महिलामैत्री, बालबालिका र ज्येष्ठ नागरिक मैत्री र वातावरणमैत्री छ । शौचालयमा सेनेटरी प्याड समेत उपलब्ध छ । शिशुलाई स्तनपान गराउनसमेत छुट्टै ठाउँको व्यवस्था गरिएको छ । एरोशानले महानगरको मंगलबजार, पाटनढोका र जावलाखेलमा गरी तीन ठाउँमा अत्याधुनिक सार्वजनिक शौचालय बनाएको छ ।

शौचालय प्रयोग गरेबापत १० रुपैयाँ शुल्क लागे पनि प्रयोगकर्ता खुसी भएको सञ्चालकको भनाई छ ।‘शौचालय प्रयोग गर्न आएकाहरू सुरुमा १० रुपैयाँ भनेर केही असहज मानेको महसुस हुन्छ,’ एरोसान हवकी पविता खपाङगीले भनिन्, ‘प्रयोगगरेपछि उनीहरू खुसी हुँदै फर्केको पाएको छु ।’ पहिलो दिन निःशुल्क सेवा दिइएको बताउँदै प्रयोगकर्ताहरू निकै खुसी भएको उनले सुनाइन् ।

शौचालय प्रयोग गर्नेले पनि आफ्नो नौला अनुभव सुनाए । ‘म राजधानीमा आएर बस्न थालेको १५ वर्ष भयो तर अहिले सम्म यत्तिको शौचालय देखेको थिइन्,’ रघु तामाङले भने, ‘ सफा पनि यति धेरै छ कि फोहोर गर्न पनि सङ्कोच लाग्छ ।’ अत्याधुनिक प्रविधिको कारण केही अलमलमा परेका तामाङले यस्तै शौचालय अन्यत्र पनि भैदिएर राम्रो हुने सुनाए ।

वडा नं.४ का वडा अध्यक्ष सन्तोष खड्काले जनघनत्वको अत्यधिक चाप भएको ठाउँमा सार्वजनिक शौचालय निर्माण हुँदा नागरिकहरू लाभान्वित हुने बताए । ‘चिडियाखाना यस वडामा भएकाले शौचालय खोज्दै आउने धेरै हुन्छन्,’ उनले भने, ‘जात्राको समयमा पनि यो शौचालयले निकै सहयोग गर्ने छ ।’ भोटो देखाउने जात्राका बेला तीन चारवटा मोबाइल शौचालय हुँदा पनि पर्याप्त हुँदैन थियो। निर्माण सम्पन्न यो सार्वजनिक शौचालयले शौचालयको मागलाई केही पूर्ति गर्ने उनको विश्वास छ ।

एरोशानका अध्यक्ष सोनी श्रेष्ठले शौचालय निर्माण र शुभारम्भ मात्रै ठुलो कुरा नभएको बताउँदै यसको सञ्चालन महत्त्वपूर्ण भएको बताइन् । शौचालयलाई सफा र व्यवस्थित राख्न प्रयोगकर्ताको सहयोग महत्त्वपूर्ण भएको उनको भनाइ थियो । सोनीका अनुसार यहाँको दिसाजन्य लोदोबाट ऊर्जा उत्पादन गरिने जानकारी दिइन् ।

वाटर एडका राष्ट्रिय निर्देशक सुदर्शन न्यौपानले खानेपानी, सरसफाइ र स्वच्छतालाई वाटर एडले प्राथमिकता दिएको बताए । दिगो र व्यवस्थित ढङ्गबाट शौचालय सञ्चालनका लागि सहकार्य अत्यावश्यक भएको बताए ।

ललितपुर महानगर प्रमुख चिरीबाबु महर्जनले लगनखेलमा पनि जावलाखेल, मंगलबजार र पाटनढोकामा भएको जस्तै सार्वजनिक शौचालय आवश्यक भएको बताए । लगनखेलनमा अत्याधुनिक शौचालय निर्माणका लागि डिपिआर भइरहको जानकारी दिए । उनले छिट्टै त्यहाँ सुविधा सम्पन्न सार्वजनिक शौचालय निर्माणको काम सुरु हुने बताए ।

ललितपुर महानगरले एक वडा एक सार्वजनिक शौचालयको नीति अनुसार महानगरको ७ वटा वडामा सार्वजनिक शौचालय निर्माण गरिरहेको छ ।

वडा नं।८, ९, २, १० , २४ , २५, २७ मा सार्वजनिक शौचालय निर्माणको काम भइरहेको हो । महानगरका अनुसार वडा नंं.८, ९, २४, १० ,२ मा बनेका शौचालयमा ’फिनिसिङ’को काम भइरहेको छ । वडा नं.२५ र २७ लेआउट र स्ट्रकचरको काम भइरहेको छ ।

प्रकाशित: २८ वैशाख २०८१ १५:०० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App