जुत्ता सिलाएर उद्यमी बनेकी निर्मला
१३ जेष्ठ २०८१
•
३ मिनेट पाठ
जुत्ता सिलाएर उद्यमी बनेकी निर्मला
मधेसको बुहारीले घुम्टो ओढेर बस्नु सामान्य मानिन्छ। घुम्टोबाट निस्कन बुहारीले निकै सङ्घर्ष गर्नुपर्छ। यसरी घुम्टोबाट बाहिर निस्किएकी हरिवन निवासी एक बुहारी उद्यमीका रुपमा परिणत भएकी छिन्।




हरिवन नगरपालिका–४ गेल्हा निवासी ३२ वर्षीया निर्मलाकुमारी महतो मधेसकै एक उदाहरणीय महिला उद्यमी बनेकी छिन्। जुत्ता उद्योग सञ्चालन गरेकी उनी आफूलाई अब्बल व्यवसायीका रूपमा चिनाउने कोसिसमा छिन्। मधेसमा जन्मेकी उनका लागि एउटी बुहारी भएर जुत्ता सिलाउँछु, भन्नु पक्कै सजिलो थिएन। ‘प्लस टु’ सम्म अध्ययन गर्नुभएकी निर्मलाको माइतीघर घरदेखि केही मिनेटको दूरीमा छ। बुबा शिक्षक हुनुभएका कारण उनले पढ्ने अवसर पाइन्। त्यसपछि गाउँ नजिकैका मध्यमवर्गीय परिवारका उमेश महतोसँग सामाजिक परम्पराअनुसार विवाह भयो। विवाहपछि पढाइलाई निरन्तरता दिन पाइनन्। निर्मलाका ११ वर्षकी एक छोरी, नौ र छ वर्षका दुई छोरा छन्।

'श्रीमान् खेतीपाती गर्नुहुन्थ्यो', उनले भनिन्, 'खेतीबाट नगद आम्दानी कम हुन्थ्यो। अन्नपात वर्षभरि खानुपर्यो। समाजमा चलेको चलनअनुसार व्यवहार धान्नै चुनौती भयो।' अरुले बच्चा बोर्डिङ स्कुलमा पढाएको देखेर आफूलाई पनि रहर लागेर भर्ना गरेको उनको भनाइ छ। पछि ‘बिल’ आउन थालेपछि समस्या हुन थाल्यो। श्रीमान्सँग सधैँ पैसा हुँदैन थियो। त्यसपछि कसरी  पैसा तिर्ने भन्ने चिन्ताले सताउन थाल्यो।

धेरथोर पढेलेखेको भएकाले केही जागिर गरेर कमाई हुन्थ्यो कि भनेर पनि सोच्नुभयो तर त्यस्तो हुन सकेन। गाउँमा आफूले चिनेको सरले जुत्ता सिलाउने तालिम खुलेको जानकारी पाएपछि सिक्न गइन्। सुरुमा घरमा सम्झाउन निकै समस्या भयो। बुहारी त्यसमा पनि जुत्ता सिलाउन गई, भनेर सासूससुराले गाली गरे। तर पछि सम्झाइबुझाइ गरेपछि उनीहरूले कुरा बुझे। 'तीन महिना सीप सिकेर काम सुरु गरेको थिएँ। काम गरेको साहुले पसल बन्द गरेर हिँडे, त्यसपछि फेरि अलपत्र परियो, तालिमसमेत पूरा भएको थिएन', उनले विगत सुनाइन्।

तालिम आयोजकलाई फेरि अनुरोध गरेर केही दिनका तालिम थप्न लगाइन्। त्यसपश्चात् आफूले भने जस्तै सबै नाप र आकार प्रकारका जुत्ता बनाउनसक्ने भइन्। सीप त सिक्नुभयो तर काम गर्ने ठाउँ भएन। त्यसपछि निर्मला आफैँले गेल्हागाउँमै जुत्ता बनाएर बेच्न सुरु गरिन्।

व्यवसायका लागि सुरुमा लगानी आवश्यक भयो। श्रीमान् खेतीकिसानी गर्ने मान्छे। सासूससुरा पहिलादेखि पेसाप्रति खुसी थिए। रु एक लाख ऋणका लागि हारगुहार गर्दा पनि पार लागेन। माइतीका दाजुलाई भनेर ससुरालाई सम्झाइबुझाइ गरी बरु अंश दिँदा घटाइदिनु भनेर रु एक लाख पैसा मागिदिन अनुरोध गरिन्। ससुराले रु एक लाख २० हजार दिए। 'त्यसपछि घरमै जुत्ता कारखाना सुरु गरेँ', निर्मलाले भनिन्, 'सुरुमा गाउँमा अनेक कुरा गर्ने मानिस धेरै भए तर पछि विस्तारै आफ्नो छोराछोरीलाई सिकाइदिनुपर्यो भनेर आउने पनि निस्किए।'

गाउँघरमा आजभोलि विवाहलगायत कार्यक्रममा निर्मलाले बनाएको जुत्ता धेरै बिक्री हुन्छ। बजार विस्तार हुँदै गएको छ। रामेछाप, सिन्धुली, विराटनगर, जनकपुर, चपुरलगायत ठाउँबाट जुत्ता माग आउने गरेको निर्मलाले बताइन्। विसं २०७१ तिर निर्मलाको श्रीमान् वैदेशिक रोजगारीका लागि मलेसिया गएका थिए। तर निर्मलाले ११ महिनामै श्रीमान्लाई घर फर्काइन्। अहिले उनको श्रीमान् उमेश पनि निर्मलासँगै काममा खटिएका छन्।

उनले घर नजिकै रु १४ लाखमा आधुनिक उपकरणसहितको जुत्ता कारखाना सञ्चालन गरेकी छिन्। उद्योगमा चार जना कामदारसमेत छन्। एक जनाले दैनिक ५० जोर जुत्ता तयार गर्न सक्ने उनले बताइन्। यसरी निर्मलाको कारखानाबाट महिनामा छ हजार जोरसम्म जुत्ता उत्पादन भई बजारमा पुग्ने गरेको छ।

'कमाइ राम्रो हुन्छ', उनले भनिन्, 'काम दिन सकिरहेका छैनौँ। अझै केही मेसिन किन्नुपर्ने छ, त्यो भए काम बढाउन सकिन्थ्यो। प्रयास गरिरहेको छु।' पहिला मासिक रु तीन हजार पाँच सय कमाइहुन्छ भनेर सिकेको सीपले उद्यमी बनाएको उनको भनाइ छ। यही पेसाबाट वार्षिक रु आठदेखि १० लाखसम्म कमाउने गरेको उनले बताइन्।  रासस
अर्को समाचार
बिदेसिनेकाे व्यथा: हिजो श्रमिक आज उद्यमी
०८ भदौ २०८१
•
८ मिनेट पाठ
बिदेसिनेकाे व्यथा: हिजो श्रमिक आज उद्यमी
हामी धेरै भाग्यमानी जमिन छ नि हाम्रो,




यो जमिनमा सुन फल्छ काम गरे राम्रो।

अलगअलग भूगोलमा बसेका छौं हामी,

भूगोल चिने, उद्यम गरे हुनेछौं नि नामी।

यी पंक्ति म्याग्दीका किसान भूपेन्द्र शर्माका हुन्। दिनभरिको थकानपछि बिस्तारामा पल्टिँदै गर्दा आउने मनका उत्ताल तरंगलाई उनी यसरी भावनामा उतार्छन्। यसरी उतारिएका भावनाभित्र जिन्दगीका यथार्थ जोडिएका छन्।

हिजो वैदेशिक रोजगारीको खोजीमा विदेश पुगेका युवाहरू आज स्वदेशमा उद्यमी बनेका छन्। आज उनीहरूले घरपरिवारलाई मात्रै रोजगारी दिएका छैनन्, बेरोजगारीले थलिएका युवा समुदायलाई पनि नेपालमै रोजगारी दिएर थप गुन लगाइरहेका छन्।

भूपेन्द्रका भावनासँगै जिन्दगीको मेहनत जोडिएको छ। उनी एक दशकभन्दा बढी युएईमा काम गरेर स्वदेश फर्केका हुन्। अहिले उनी एक नमुना उद्यमी भएका छन्। २०६२ सालपछि देश ‘जनयुद्ध’ले आक्रान्त भएका बेला पढाइ बिचमै छाडेर उनी बिदेसिएका थिए।

मुलुकभित्रको अस्थिर अवस्थाले गाउँघरमा बस्न नसक्ने भएपछि बिदेसिनुपर्छ भन्ने मनको चाहनाले उनलाई उता पुर्‍यायो। आफ्नो पढाइको अवस्था, बुढेसकालका बाबुआमा र परिवारलाई केही गर्ने उद्देश्यले उनी वैदेशिक रोजगारीमा आकर्षित भए।

दुईवर्ष युएई बसेर छुट्टीमा घर फर्किएयता उनी विवाहबन्धनमा बाधिएका थिए। उनमा परिवारको जिम्मेवारी बढ्दै गएको थियो। घरमा नयाँ सदस्यको आगमनसँगै पत्नीको स्टाफ नर्स पढ्ने चाहनाले फेरि भूपेन्द्रलाई पुनः बिदेसिन बाध्य पार्‍यो। उनले खाडीमुलुकमा पसिना चुहाएर २०६५/६६ सालतिर तीन लाख रूपैयाँभन्दा बढी खर्चेर पत्नीलाई इच्छाएको शिक्षा दिन सफल भए।

‘मैले दुःख गरेर पढाएअनुसार उनी बेनी अस्पतालमा नर्सिङ अफिसर भएर काम गरिरहेकी छिन्,’ उनले भने, ‘त्यसमा म धेरै खुसी र गौरवान्वित भएको छु।’

दुई सन्तानका पिता हुन् उनी। दश वर्ष विदेश बेसेपछि परिवारले घरै फर्किएर केही गरे हुन्छ भन्ने चाहना राखेपछि उनले परिवारको चाहनाअनुरूप नै स्वदेश फर्किए। पैत्रिक सम्पत्तिलाई पहिचान गरेर उनले फलफूल खेती सुरु गरे। उनको त्यो कदम सही साबित भएको छ। अहिले उनी आफू मात्र सन्तुष्ट छैनन्, अरूलाई पनि प्रेरणा दिइरहेका छन्।

बिदेसिनुअघि अग्रजहरूले २०५५ सालमा लगाएका एक सय ५० वटा सुन्तलाका बोट दिए। २०७३ मा स्वदेश फर्किंदा त्यो सबै सुन्तला फाँड्नुपर्ने अवस्था थियो। पुरानो बोटलाई पुनः गोडमेल गरेर अरू चार सय बिरुवा रोपे उनले।

युएईबाट फर्केकै वर्ष खेतीपातीमा रमेका उनको वार्षिक आम्दानी १३ हजार रूपैयाँ मात्र थियो। यसमा उनी दुःखी भएर बसेनन्। थप संघर्ष गर्न उनलाई कठिनाइ भएन। उनले जीवनमा ऊर्जा भरे। त्यसपछि उनको वार्षिक आम्दानी बढ्न थाल्यो। उनको वार्षिक आम्दानी २५ हजार, ५२ हजार, ८० हजार रूपैयाँ हुँदै बढ्यो। चालु आर्थिक वर्ष २०८१-८२ मा चार लाख रूपैयाँभन्दा बढी आम्दानी हुने विश्वास उनको छ।

उनीसँग फलफूलमा सुन्तला मात्रै नभएर कागती सय बोट, बुद्ध माला सय बोट र २० भन्दा बढी पशुचौपाय रहेका छन्। यो सबै उनी एक्लैले धानेका छन्। अति आवश्यक काम परेका बेला मात्र बेरोजगारलाई रोजगारीमा लगाउने गरेका छन्। सुन्तला कागती र बुद्धचित्त माला टिप्नेबेलामा उनी गाउँका युवालाई काम दिन्छन्।

उनको १५ रोपनी जग्गा आबाद छ। जमिन कतै खाली छाडेका छैनन्। ‘म एक्लै संघर्ष गरिरहेको छु। कान्लामा पनि कागती लगाएको छु,’ उनी भन्छन्, ‘कागतीको बोटबाट वर्षमा ५-६ हजार रूपैयाँ आउँछ। अहिले त ड्रागन फल पनि फलेपछि हर्षिछ छु।’

धेरैले कृषिलाई दुःखी पेसा ठान्छन्। यसले उनीजस्ता मेहनती मानिसलाई समस्यामा पारेको छ। खेती गर्नेलाई हेप्ने गरिन्छ। छिमेकमा जागिर खानेको बढ्ता इज्जत छ, कृषि कर्मभन्दा बढी।

निरन्तर मेहनतले उनलाई एक सफल उद्यमी बनाएको छ। तत्कालीन श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालको हातबाट उनले राष्ट्रिय पुरस्कार पनि पाए। अहिले भने गाउँमा उनको इज्जत पनि बढेको छ। उनले भने, ‘निरन्तर आफ्नो कर्ममा खटे कहीं न कहींबाट देखिने रहेछ।’ परिश्रम गरेपछि जीवनमा फरक पर्ने रहेछ भन्ने उनलाई लागेको छ।

सात वर्षदेखि कृषिमा रमाएका कारण धेरैले रोजगारी पाउन थालेका छन्। यसले समाजमा टेवा र देशको सेवा भएको छ। केही समय विदेशमा अनुभव लिए पनि धेरै वर्ष बाहिर बिताउनुहुन्न भन्ने उनलाई लागेको छ। ‘परिवार र छोराछोरीका लागि विदेशमा कमाइन्छ। आफू टाढा हुँदा छोराछोरी बिग्रिए, उनीहरूको रेखदेख गर्न सकिएन भने विदेशमा दुःख गरेको के काम ? बरू देशकै माटोमा दुःख गर्ने, परिवारसँगै रमाउने त्यही हो आनन्द र सुख,’ भूपेन्द्रले भने।

आफ्नो प्रगतिमा खुसीको आँसु खसाल्ने आमाबाबु नभएकोमा उनी अत्यन्तै भावुक हुन्छन्। ‘यति धेरै मेहनतपछि मैले धेरै कुरा पाएँ तर बुबाआमा मेरो साथमा हुनुहुन्न। आफ्नै माटोमा फल फलाएर राष्ट्रिय सम्मानसहित पुरस्कार पाउँदा उहाँहरूको खुसीको कुनै सीमा हुँदैनथ्यो होला ? आज मैले जे पाएँ, उहाँहरूको आर्शीवादले पाएँ,’ उनी भावुक हुँदै भने।

आफ्नो कर्ममा खुसी भएसँगै भूपेन्द्रसँग केही गुनासो पनि छन्। आफ्नो बेथा तथा दुःखमा मलम लगाएसँगै गुनासो उनले कापीमा लेखेर मेटाएका छन्। कृषि कर्मले भनेजति उपलब्धि नदिनुको कारण यहाँको बिचौलिया प्रणाली पनि हो। काम गर्नेभन्दा बिचौलियाले बढ्ता फाइदा उठाएपछि उनलाई हुनसम्मको दुःख लागेको छ। न उत्पादक न उपभोक्ताले लाभ लिन पाएका छन्।

उद्यमी र उपभोक्ता सधैंभरि मारमा,

बिचौलियाले फाइदा लिन्छ बसेको भरमा।

वर्षभरि काम ग¥यो लाग्ने गर्छ आश,

बिचौलियाले पारिदिन्छ रोडमा हुन्छ बास।

आफूले मरीमरी दुःख गरेर उत्पादनमा आधाभन्दा बढी बिचौलियाको रजाइँ भएको उनको दुखेसो छ। ‘हामीले दुःख गरेको कुनै पनि फल प्रतिकेजी ७० रूपैयाँमा बेच्यौं भने बिचौलियाले १ सय ७० रूपैयाँमा बेच्ने गरेका छन्। बजारसम्म पुग्दा त्यसको मूल्य आकासिन्छ,’ उनले भने, ‘काम गर्ने कालु मकै खाने भालुजस्तै भएको छ। बिचौलियाले गर्दा हामी धेरै मर्कामा छौं।’

कृषकले गरेका उत्पादित वस्तु बरू राज्यले नै किनिदियोस् भन्ने उनको माग छ। यसो गरेमा अझै कृषकलाई निराशापनका दिन होइन, हौसलाका दिन सुरु हुने उनी सुनाउँछन्। आफ्नै कार्यव्यस्ततामा रमाएका उद्यमी भूपेन्द्रको कुनै ठुलो इच्छा छैन। छोरोछोरीलाई राम्रो शिक्षा दिएर स्वदेशमै अब्बल मान्छे बनाउने उनको सोच छ।

‘नेपालका सबै युवा बिदेसिएपछि यहाँका सेवा, सुविधा र अवसरहरू बञ्चित छन्। अबको केही समयपछि कुनै पनि कामका लागि श्रमिक हुँदैनन्,’ उनले भने, ‘यहाँका डाक्टर, नर्स र विभिन्न पेसामा बाँधिएका सबै युवा विदेश जान्छन्। अस्पताल तथा कुनै पनि ठाउँमा सम्बन्धित विशेषज्ञ नहुँदा मान्छेले भने झैं सेवा सुविधा पाउँदैनन्।’ जसले गर्दा छोराछोरीलाई उच्च शिक्षा दिएर स्वदेशमै केही गराउन पाए त्यसैमा खुसी हुने उनको चाहना छ।

उद्यमी भूपेन्द्रजस्तै जुम्लाका टक्कबहादुर नेपाली वैदेशिक रोजगारीका क्रममा २०६३ मा मलेसिया पुगेर स्वदेश फर्की उद्यमी बनेका छन्। उनको कथा पनि भूपेन्द्रका जस्तै छ।

कृषि औजारका नाममा जुम्लाका कृषकसँग धेरै पुरानो हलो, कोदालो र हँसिया छ। मार्सी धान, स्याउ ओखर उत्पादनका लागि उर्भरभूमि हुँदाहुँदै पनि वैदेशिक रोजगारीका निम्ति विभिन्न देश जानुपर्ने नियतिले अझै च्यापेको छ। कारण, परम्परागत खेती प्रविधि। ‘मानो छरेर मुरी फल्ने’ खेतीले ६ महिना समेत खान पुग्दैन। श्रम बढी उत्पादन कम भइरहेको छ।

गोरुको सहायताले खनजोत भइरहेको जुम्लामा यो निरन्तर चलिरहेन। गाउँमा पशुचौपाया पालन गर्ने मान्छे नहुँदा यो सबै सम्भव पनि छैन। जसले गर्दा अत्यधिक जमिन बाँझो छ तर यसमा केही सुधार भने आएको छ।  

अहिले आधुनिक मेसिनमा आकर्षण बढेको छ। जसले गर्दा कम लागत, श्रम र समयभित्रै बढी काम हुने हुँदा यान्त्रिकीकरणमा ध्यान गएको छ। यसैलाई मध्यनजर गर्दै उद्यमी टक्कले इनोभेटिभ टेक्नोलोजी डेभलपमेन्ट उद्योग सञ्चालमा ल्याएका हुन्।

कम लागत, श्रम र जनशक्तिको प्रयोगबाटै बढी काम गर्न सकिने हुँदा मिनिटिलर जस्ता विभिन्न मेसिन प्रभावकारी भएको टक्कले बताए। २०७७ मा ‘राष्ट्रिय युवा प्रतिभा’ बाट सम्मानित उनले आफ्नो जिल्लामा कृषि यन्त्रका क्षेत्रमा काम गरिरहेका छन्। उनले जुम्लामै मिनिटिलर, धान, गहुँ, जौ चुट्नेजस्ता विभिन्न मेसिन बिक्री तथा मर्मत गरिरहेका छन्।

पाँच लाख रूपैयाँबाट सुरु गरेको व्यवसाय अहिले एक करोड रूपैयाँको पुँजीमा विस्तारित भएको छ। उनले प्रत्यक्ष रूपमा करिब १० जनालाई रोजगार दिएका छन् भने अप्रत्यक्ष रूपमा काम परेका बेला तुरुन्त काम दिने उद्यमी टक्कले बताए।

उनका अनुसार मेसिनहरूमध्य मिनिटिलरले राम्रोसँग खन्दैन भन्ने प्रायः मानिसमा भ्रम छ। यो सत्य होइन। यसले खन्दा माटो खुकुल्लो हुन्छ र डल्लासमेत फुटाएर अर्को बाली लगाउँदासम्म सजिलो हुने उनको भनाइ छ। कृषकले यान्त्रिकीकरणसम्बन्धी विभिन्न तालिम लिएपछि कृषि औजारमध्ये किसानले जोत्नका लागि मिनीटिलर अत्यधिक रुचाएका टक्कबहादुरले बताए।

जुम्लामा मिनिटिलर भित्रिएको एक दशकभन्दा बढी भएको उनले बताए। ‘पुरुषले गोरुबाट खेत जोत्दा बचेको ठाउँमा महिलालाई कोदालोले खन्न निकै कष्ट हुन्छ,’ उनले भने, ‘तर मिनिटिलरले खेतको छेउकुनो सहजै खनजोत गर्न सक्छ। यसले महिलाको कार्यबोझसमेत हटाएको छ।’

जुम्लाका किसान परम्परागत खेती प्रविधिबाट आधुनिकीकरणमा आकर्षित हुन थालेको टक्कले बताए। समयको माग, सरकारी निकायको प्रयास र किसानको आकर्षणले जुम्लामा विभिन्न कृषि यन्त्रले गति लिन थालेका उनको अनुभव छ।

वैदेशिक रोजगारपछि परिवारसँग आफ्नो व्यवसायमा रमाएका उद्यमी टक्कले श्रम मन्त्रालयबाट राष्ट्रिय पुरस्कार पाउँदा उनको पूरै परिवार हर्षित भएको छ। वैदेशिक रोजगारीबाट फर्किएका युवालाई सरकारले प्रोत्साहनसहितको अन्य केही चासो नदेखाए पनि आफैंले गरेको दुःखको मूल्याङ्कन गरी सम्मान गरेकोमा उनी खुसी छन्।

उद्यमी भूपेन्द्र र टक्कको आफ्नो व्यवसायले सामाजिक क्षेत्रको योगदान, रोजगारी क्षेत्रमा योगदान, उद्यमी क्षेत्रमा पु¥याएको योगदानले गर्दा नै श्रम मन्त्रालयबाट केही समयअघि उत्कृष्ट कृषकको सम्मानका साथै राष्ट्रिय पुरस्कार पाएका थिए। श्रम मन्त्रालयबाट भूपेन्द्र र टक्कसहित आठ जनाले उत्कृष्ट कृषकका रूपमा राष्ट्रिय पुरस्कार पाएका थिए।

सरकारले केही साथसहयोग गरिदिए कोही पनि बिदेसिनु नपर्ने बिदेसिएका तथा विदेशबाट फर्किएका युवाको गुनासो छ। यसरी वैदेशिक रोजगारीको दुखाइपछि धेरै उद्यमीले आफ्नै देशमा सुखानुभूति गरेका छन्। यसरी नै हो, विदेशमा गएर उच्च शिक्षा लिएभन्दा पनि ठुलो ज्ञान प्राप्त गर्ने। यसैले तिनलाई उद्यमी बनाएको छ।

यसमा उनै भूपेन्द्रको कविता पंक्तिले यो भनाइलाई पुष्टि गरेको छ। उनी लेख्छन्-

समय धेरै बलवान् छ, फाल्नु हुन्न खेर,

धेरै पैसा कमाउन लाग्दैन नि बेर।

रोजगार दिने सोच राखी गरौं काम,

यसले देशलाई टेवा दिन्छ अनि चल्छ नाम।

जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock २ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock ४० मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस