खोटाङ- खोटाङमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या २४ पुगेको छ। सोमबार बिहान दिक्तेलबाट काठमाण्डौंकालागि छुटेको बा२ ख ६३७६ महादेवथान–१ बर्खेटारमा दुर्घटना हुँदा मृत्यु हुनेको संख्या २४ पुगेको घटनास्थलमा खटिएका उद्धारकर्मीले बताएका छन्। हालसम्म १५ पुरुष र ७ महिलाको शव बर्खेटार भीरको पाखामा छरपस्ट भएको अवस्थामा संकलन गरिएको घटनास्थल पुगेका शसस्त्र प्रहरी हलेसी गुल्म दिक्तेलका शसस्त्र प्रहरी निरिक्षक फुर्गेली शेर्पाले बताए।दुर्घटनामा मृत्यु भएका २४ मध्ये १५ जनाको सनाखत भएको छ। जिल्लाको पश्चिमी गाबिस महादेबस्थान–१ बर्खेटारमा मंगलबार बिहान बा २ ख ६३७६ नम्बरको बस पल्टिदा मृत्यु भएका २४ मध्ये १५ जनाको सनाखत भएको प्रहरीले जनाएको छ। घटनास्थलमा रहेका ट्राफिक प्रहरीका असई तेजबहादुर बस्नेतका अनुशार काठमाडौं घर भएका अर्जुन उप्रेती, दिक्तेल नगरपालिका–१४ का सन्तोष कट्वाल, दिप्सुङका गोबिन्द तिम्सिना, च्यास्मीटारका रविन राई, डिकुवा–८ का मेजर राई, खार्मी–५ का मित्रकुमारी राई, निर्मलीडाँडा–३ का बिमला राई, याम्खा–७ का भैरब राई, उदयपुर बासवोटे–३ का द्रविन राई, उदयपुर ताम्लीछा–७ की शान्ता राई, ताम्लीछा–५ का ओमश्री राई, सोलेखुम्बु पञ्चन–१ का सोम सुन्दास, उदयपुर ठानागाँउ–३ का हेम सुनुवार, सोही ठाउँका भाजुनारायण श्रेष्ठ, सोलुखुम्बु घर भएकी सुस्मा राईको सनाखत भएको बस्नेतले जनाए । अन्यको पनि सनाखत गर्नेक्रम जारी छ ।
मृतकको शव पाखा र खोल्सा खाल्सीबाट सडकमा निकाल्ने क्रम जारी छ। सडकबाट डेढ सय मिटर तल खसेको बस भीरमा रहेको बाँसघारीमा अड्किएको छ। ठाडो भीर भएकाले पल्टिएको मान्छे उछिट्टिएर छरपस्ष्ट भएको घटनास्थल पुगेका ट्राफिक प्रहरी असइ तेजबहादुर बस्नेतले बताए। मृत्यु भएकामध्ये काठमाण्डौं घर भएका चालक अर्जुन उप्रेती, निर्मलीडाँडा–५ की बिमला राई, उदयपुर ताम्लिछाकी शान्ता राई, उदयपुर ठानागाउँका हेम सुनुवारको सनाखत भएको प्रहरीले जनाएको छ।
घटनास्थलबाट ३० घाइतेलाई हलेसीतर्फ लगिएको छ। उनीहरुलाई हलेसीबाट हेलिकप्टरमार्फत अन्यत्र लगिने बताइएको छ। सबैभन्दा सामान्य घाइते भएका सहचालक तेन्जी शेर्पालाई अर्खौैलेतर्फ लगिएको घटनास्थलबाट गुरुप्रसाद ढकालले बताए। सदरमुकाम दिक्तेलबाट १८ यात्रु लिएर मंगलबार बिहान ५ जबे छुटेको बस बिहान करिब ८ बजेतिर पल्टिएको हो।
घटनास्थलमा इलाका प्रहरी कार्यालय हलेसी र प्रहरीचौकी अर्खौलेका प्रहरी र स्थानीयबासीले उद्धारका काम गरिरहेका छन्। दिक्तेलबाट नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरीको टोली घटनास्थल पुगेका छन्। बस सडकको कुनामा थुपारिएको ढुंगाको थुप्रो छलेर पार गर्नेक्रममा सडकको डिल भासिएर पल्टिएको अनुमान गरिएको छ। २०६५ साल माघ–१ गते पनि बर्खेटारमा जीप दुर्घटना भएको थियो ।
२९ चैत्र २०७२
•
४ मिनेट पाठ