कोरोना संक्रमणको त्रास चुलियो, भारतबाट धमाधम नेपाली आउँदै
०२ जेष्ठ २०७७
•
१० मिनेट पाठ
कोरोना संक्रमणको त्रास चुलियो, भारतबाट धमाधम नेपाली आउँदै
भारतबाट आउने नेपालीको संख्या बढेसँगै नेपालमा कोरोना संक्रमण फैलने सम्भावना र त्रास चुलिएको छ । बाँकेमा भारतबाट फर्किएका आठ जनामा शुक्रबार कोरोना भएको पुष्टि भयो । त्यस्तै भारतबाट फर्किएर नेपालगन्ज सीमानजिकै दसगजा क्वारेन्टिनमा बसेका तीन जनाको आरडिटी परीक्षण गर्दा कोरोना पोजिटिभ आएको छ ।




पछिल्लो साता भारतबाट फर्केर आउने नेपालीको संख्या ह्वात्तै बढेको छ । भारतबाट आएका नेपाली नागरिकलाई स्थानीय प्रशासनले दसगजानजिकै क्वारेन्टिनमा राख्ने गरेको छ । तर भारतबाट आउनेको संख्या एक्कासि बढेसँगै व्यवस्थापनमा चुनौती देखिएको छ । भारतबाट आउने नेपालीलाई उचित व्यवस्थापन गर्न नसके नेपालमा कोरोना संक्रमण थप बढ्ने निश्चित छ, यसले सीमाक्षेत्रका स्थानीय तह कोरोना संक्रमणको उच्च जोखिममा भएको पुष्टि भएको छ ।

भारतबाट आउने नेपाली राख्न स्थानीय निकायको बजेटले थेक्न नसक्ने बताउँछन् नेपालगन्ज उपमहानगरपालिकाका प्रवक्ता प्रमोद रिजाल । ‘भारतबाट आउनेको संख्या बढिरहेको छ । संक्रमण फैलिने सम्भावना बढेसँगै व्यवस्थापनमा समस्या भइरहेको छ,’ रिजाल भन्छन्, ‘उनीहरूलाई केही दिन क्वारेन्टिनमा राखेर परीक्षण गरेपछि सम्बन्धित स्थानीय निकायमा पठाउने गरेका छौं । तर भारतबाट अवैध रूपमा आउनेको संख्या पनि बढ्दो छ । यसले थप समस्या देखिएको छ ।’

नाका हुँदै बाँकेको नरैनापुर गाउँपालिकाका करिब पाँच सय स्थानीय आइपुगेका छन् । उनीहरूलाई अहिले स्थानीय प्रशासनले क्वारेन्टिनमा राखेर परीक्षण गरिरहेको छ । भारतबाट आएर क्वारेन्टिनमा बसिरहेका आठ जनामा कोरोना पुष्टि भएसँगै स्थानीय निकायलाई थप चुनौती देखिएको छ । 

पछिल्लो साता बाँकेको जमुनाह नाकाहुँदै पछिल्लो साता करिब एक हजार नेपाली स्वदेश भित्रिएका छन् । जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले भारतबाट आएका चार सय ६६ जनाको आरडिटी परीक्षण गर्दा तीन जनाको रिपोर्ट पोजेटिभ आएको हो । उनीहरू कालिकोट, सुर्खेत र नुवाकोटका हुन् ।

बाँकेमा कोरोना संक्रमितको संख्या बढिरहेको बेला भारतबाट आएका नेपालीमा पनि कोरोना संक्रमण देखिएपछि थप सचेत हुनुपर्ने बताउँछन् फोकल पर्सन श्रेष्ठ ।  भारतबाट आइरहेको नेपालीलाई व्यवस्थापन गर्न नसके थप समस्या आइपर्ने बताउँछिन् नेपालगन्ज उपमहानगरपालिका उपमेयर उमा थापा मगर ।

उनले भनिन्, ‘नेपालगन्ज भारतीय सिमानासँग जोडिएको छ । यसले नेपालगन्ज सधैं उच्च जोखिममा रहँदै आएको छ । भारतबाट आइरहेका नेपालीलाई परीक्षण गरेर सम्बन्धित जिल्ला पठाउन हामीले प्रयास गरिरहेको छौं । तर भारतबाट आउनेको संख्या बढिरहेकाले व्यवस्थापन गर्न कठिन भइरहेको छ ।

बाँकेमा कोरोना भाइरस संक्रमित हुनेको संख्या बढ्दै गएको छ । शुक्रबार आठ जनामा भाइरस संक्रमित भएको पुष्टि भएसँगै बाँकेमा ३३ जना संक्रमित पुगेका छन् । शुक्रबार संक्रमित पुष्टि भएका आठ जना नरैनापुर गाउँपालिकाका हुन् । उनीहरू सबै भारतबाट फर्किएका थिए । नरैनापुर भारतीय सिमानासँग जोडिएको गाउँपालिका हो, जहाँ सुरक्षाकर्मीलाई छलेर चोरबाटो हुँदै आउनेको संख्या धेरै छ ।

बाँकेको नरैनापुरमात्र होइन, भारतीय सीमासँग जोडिएका बाँके, बर्दिया, दाङ, रूपन्देही, कैलाली, कञ्चनपुरलगायत जिल्लामा भारतबाट घर फर्कने नेपालीको संख्या बढिरहेको छ । हरेक दिन भारतबाट फर्किरहेका नेपालीको भिड दसगजामा बढ्दो क्रममा छ ।

पुरनबहादुर सेन ठकुरीसँगै बिहीबार राति आठ बजे चार सय ६६ जना नेपाली भारतबाट दसगजा क्षेत्रमा आइपुगेका थिए । भारतको नानपारा र उत्तरप्रदेशका विभिन्न स्थानमा क्वारेन्टिनमा बसेका नेपालीलाई भारतीय प्रहरीले राति दसगजामा ल्याएर छोडेको थियो । अबेर राति नेपाल प्रवेश गरेका ठकुरीले नेपाली दूतावास, स्थानीय प्रशासनले आफूलाई अपमानित गरेको दुखेसो पोखे । 

भारतको बहराइच आइपुगेपछि बाँकेका सहायक सिडियोलाई फोन गरेको ठकुरीले बाँके प्रशासनले वास्ता नगरेको बताए । उनले भने, ‘मैले भारतमा हुँदा दूतावासका प्रतिनिधिलाई फोन गरे । उनले फोन नै उठाउन छोडे । हटलाइनमा फोन गर्दा उठ्दैन । हामीलाई भारतीय प्रहरीले गर्ने व्यवहार राम्रो छैन । नेपाली प्रशासनले पनि मानवीय व्यवहार गरेको छैन । दसगजामा शुद्ध पिउने पानीसमेत खाना पाएको छैनौं ।’

लकडाउन कारण भारतमा नेपालीहरूले आत्महत्यासमेत गर्ने गरेको ठकुरीले नागरिकलाई बताए । उनले भने, ‘नेपाली भनेपछि भारत सरकारले दिने सुविधा पनि पाइँदैन । भारतमा काम गर्न गएका नेपाली खाना नपाएर मर्नुपर्ने अवस्था आइसकेको छ ।’

भारतका विभिन्न ठाउँबाट धमाधम नेपाली आउँदै

धनगढी – भारतमा विभिन्न राज्यमा रेल तथा सवारीसाधन सञ्चालन भएपछि त्यहाँ अलपत्र परेका नेपाली मजदुर सीमामा आउन थालेका छन् । मुम्बई, उत्तरप्रदेशलगायत राज्यबाट मजदुरहरू धनगढीका सीमामा आउने क्रम सुरु भएको छ । 

सीमामा प्रत्येक दिन नेपाली मजदुरको संख्या बाक्लिँदै गएको छ । सीमापारि क्वारेन्टिनमा बसेका लगायतका मजदुरलाई शुक्रबार धनगढीको त्रिनगर नाकामा प्रवेश गर्न दिइएको छ । उनीहरूको नाकामै आरडिटी अर्थात् र्यापिड टेस्ट भइरहेको छ । शुक्रबार साँझसम्म भारतबाट नेपालीहरू नेपाल आउने क्रम जारी छ ।

सीमामा रहेका करिब चार सय मजदुरलाई प्रवेश गराउन लागिएको कैलालीका प्रहरी नायब उपरीक्षक दक्षबहादुर बस्नेतले बताए । ¥यापिड टेस्ट गरेर प्रवेश गराइन लागेकोले समय लागिरहेको छ । प्रवेश गरेकालाई नवदुर्गा माध्यमिक विद्यालयमा राखिएको छ ।

डेढ महिनादेखि पलियामा एक सय २० जना नेपाली क्वारेन्टिनमा बसेका थिए । १५ दिनअघि पलिया क्वारेन्टिनमा बस्नेको संख्या एक सय ६४ थियो । भारतका केही राज्यले लकडाउन खुकुलो गर्दैै रेल, यातायात सञ्चालन गरेपछि प्रत्येक दिन क्वारेन्टिनमा संख्या थपिँदै गएको थियो ।

क्वारेन्टिनमा रहेका करिब तीन सय र क्वारेन्टिनबाहिर जम्मा भएका अन्य गरेर करिब चार सय जनालाई शुक्रबार धनगढी प्रवेश गराइएको नायब उपरीक्षक बस्नेतले बताए । भारतबाट आएका सबैको र्यापिड टेस्ट गरिएको छ । उनीहरू  सबैलाई क्वारेन्टिनमा राखिने कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञबहादुर बोहराले बताए ।

यता, भारतमा अलपत्र परेका नेपाली मजदुर प्रवेश गर्न पाएकोमा खुसी छन् । ‘होटलमा काम गर्थें, होटल बन्द भएपछि उत्तरप्रदेशको साहाजपुरबाट दुई दिन हिँडेर पलिया आइपुगें । पलियामा १५ दिन क्वारेन्टिनमा बसेको थिएँ, त्यहाँ कोचाकोच गरेर समूहमा बस्दा डर लागेको थियो, ‘डडेल्धुराका दिपक ऐरले भने, ‘आफ्नो देशमा प्रवेश गर्न पाउँदा खुसी लागेको छ।’ 

कैलाली, चौमला घर भएका रामफल चौधरीले ढिलो भए पनि आफ्नो घर आउन सीमामा प्रवेश गर्न पाउँदा खुसी लागेको बताए । भारतमा तनाव र दुःखका बीच दिन काट्नुपरेको उल्लेख गर्दै नेपालमा क्वारेन्टिनमा बस्न तयार रहेको पनि उनले बताए ।

डेढ महिनाअघि आएका र पछिल्लो समयमा आएका नेपालीलाई पनि सँगै मिलाएर क्वारेन्टिनमा राखिएको छ । र क्वारेन्टिनमा नराखिएकालाई पनि हुलमा प्रवेश गराउँदा जोखिम बढेकाले क्वारेन्टिनमा राख्न सरोकारवालाले सुझाएका छन् ।

‘भारतमा व्यापक रूपमा कोरोनाको संक्रमण फैलिएको छ । हिजोआज नै भारतका विभिन्न ठाउँबाट समूहमा यात्रा गरेर आएकाहरूलाई संक्रमणको जोखिम हुन सक्छ,’ वरिष्ठ फिजिसियन शुभेषराज कायस्थ भन्छन, ‘र्यापिड–टेस्टकै आधारमा भाइरसको संक्रमण थाहा नहुने भएकाले उनीहरूलाई क्वारेन्टिनमा राखेर निगरानी नगरेमा उच्च जोखिम हुन सक्छ ।’

‘अलपत्र नेपालीलाई प्रवेश देऊ’

काठमाडौं – नेपाली कांग्रेसले सीमाक्षेत्रमा अलपत्र परेका नेपालीलाई तत्काल मुलुक प्रवेशको व्यवस्था मिलाउन माग गरेको छ । पार्टी प्रवक्ता विश्वप्रकाश शर्माद्वारा शुक्रबार जारी विज्ञप्तिमा कयौं नेपाली कयौं दिनदेखि भारतसँगको विभिन्न सीमानाकामा अलपत्र परेकाले उनीहरूलाई स्वदेश प्रवेश गर्ने व्यवस्था मिलाएर सरकारको दायित्व निर्वाह गर्न आग्रह गरिएको छ । 

पछिल्लो चौबीस घण्टामा थप हजारौं नेपाली सीमाक्षेत्रमा आइपुगेको जनाउँदै उसले भनेको छ, ‘भारत सरकारले रेल र बसमार्फत यात्राको सुविधा दिएपछि भारतका विभिन्न सहरबाट नाकामा आइपुगेका नेपालीलाई प्रवेश गराउनेबारे संघीय सरकारले प्रष्ट नीति तय गरेर निर्देशन जारी नगर्दा कतिपय नाकाबाट प्रवेश गराइएको विवरण प्राप्त छ भने कयौं नाकामा प्रवेश नपाएर नेपालीहरू अलपत्र स्थितिमा छन् ।’

जोखिमरहित ढंगले प्रवेश गराउन सरकारले तत्काल गम्भीरता साथ पहल नगर्ने हो भने एकातर्फ खाने—बस्ने कठिनाइमा हजारौं नेपाली दसगजा क्षेत्रमा थप प्रताडित हुनपर्ने अवस्था आउने कांग्रेसले जनाएको छ । ‘लुकिछिपी नेपाल प्रवेश गर्ने कतिपयको प्रयत्नले कोरोनाको जोखिम झनै बढ्नेछ,’ कांग्रेसले भनेको छ, ‘अतः नाकामा आइपुगेका नेपालीलाई व्यवस्थित ढंगले प्रवेश गराउन तथा क्वारेन्टाइनमा कडाइका साथ राखेर परीक्षणपश्चात् सुरक्षित रूपमा घर पु¥याउने प्रबन्ध गर्न सरकारलाई आग्रह गर्छ ।’ 
अर्को समाचार
सीमा समस्यामा राजनीतिक दाउपेच
२३ चैत्र २०७८
•
६ मिनेट पाठ
सीमा समस्यामा राजनीतिक दाउपेच
प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो भारत भ्रमणका क्रममा समकक्षी नरेन्द्र मोदीसँग दुई देशबीचको सीमा समस्याको मुद्दा उठाए। सीमा समस्याको विषयमा दुई देशबीचमा बढिरहेको तिक्तता र संवादहीनतालाई चिर्दै देउवाले यो विषय उठान गरेका थिए।




दुई समकक्षीबीच भएको संवादलाई प्रधानमन्त्री देउवाले नै सार्वजनिक गरे। दुई प्रधानमन्त्रीबीच भेट, प्रतिनिधिमण्डल स्तरीय वार्ता र केही सम्झौताहरूपछि देउवा–मोदीको संयुक्त पत्रकार सम्मेलनमा देउवाले भने, ‘हामीले सीमा समस्याबारे पनि छलफल गर्‍यौं। मैले मोदीजीलाई यो विषय स्थापित द्विपक्षीय संयन्त्रमार्फत समाधान गरौं भनेको छु।’ प्रधानमन्त्री देउवाले यो विषयमा सार्वजनिक रूपमा बोले पनि भारतीय प्रधानमन्त्री मोदीले प्रतिक्रिया दिएनन्।

प्रधानमन्त्री देउवाको यो भनाइलाई भारतीय विदेश मन्त्रालयले भने पुष्टि गरिसकेको छ। विदेश सचिव हर्षवर्धन शृंगलाले प्रधानमन्त्री देउवाले सीमा समस्याबारे धारणा राखेको प्रस्ट्याए। पत्रकार सम्मेलनमा उनले भने, ‘दुई प्रधानमन्त्रीबीच यस विषयमा संक्षिप्त रूपमा छलफल भएको थियो, दुवै पक्षले यसलाई वार्ताका माध्यममार्फत जिम्मेवारीपूर्ण रूपमा सम्बोधन गर्नुपर्छ भनेर आम समझदारी भयो।’ यति भन्दाभन्दै पनि भारतले सीमा समस्याको विषयलाई नेपालमा राजनीतीकरण गरिएको भन्दै चिन्ता देखायो।

विदेश सचिव शृंगलाले नजिकको सम्बन्ध भएका दुई देशबीचमा सीमा समस्या समाधान गर्नुपर्ने भारतको पनि धारणा रहेको बताउँदै नेपालमा भने राजनीतीकरण गरिएको भनी चिन्ता व्यक्त गरे। ‘हाम्रो नजिक र मैत्री सम्बन्धको भावनाका कारण सीमा विवाद समाधान गर्नुपर्छ। यस्तो विषयलाई राजनीतीकरण गर्नु हुन्न,’ उनले अगाडि भनेका छन्।

नेपालको अवस्था पनि भारतले चिन्ता प्रकट गरेजस्तै नै छ। सीमा समस्या र भूराजनीतिजस्ता संवेदनशील मुद्दालाई राजनीतिक अभीष्टका लागि उछाल्ने प्रवृत्ति मौलाउँदोे छ। जसबाट ‘राष्ट्रवाद’ को भ्रम सिर्जना गरी जनमत बटुल्न दलहरू लागि पर्दा यी समस्या झन्झन् गिजोलिँदै छन्। जसले नेपालको परराष्ट्र सम्बन्ध निकै संकटको अवस्थामा पुगेको जानकारहरूको चिन्ता छ।

यो सिलसिला यसपटक पनि रोकिएन। प्रधानमन्त्री देउवाले भारतमा सीमा समस्यासम्बन्धी मुद्दा उठाएको २४ घण्टा नबित्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देउवामाथि ‘दलाली गरेको’ आरोप लगाए। उनले सीमा समस्याबारे संवाद सुरु भएकोमा खुसी प्रकट गर्नुभन्दा उल्टै पुराना कुराहरूतर्फ फर्किएर सीमाका मुद्दालाई जोड्दै तितो अभिव्यक्ति दिए।

दिल्लीस्थित नेपाली दूतावासमा नयाँ नक्सा नराखिएको विषयमा उनले देउवालाई नै दोषी देखाए। ‘नेपालको दिल्लीस्थित राजदूतावासमा टाँगिएको फोटोमा नेपालको बुच्चे नक्सा राखिया’छ। योभन्दा राष्ट्रिय दलाली, योभन्दा राष्ट्रको गौरव निहुराउने, योभन्दा लज्जाजनक कुरा के हुन्छ,’ उनले प्रश्न गरे।

यसअघि प्रधानमन्त्री देउवाको ‘सरकारका १०० दिन’ भन्ने पुस्तकमा पुरानै नक्सा प्रयोग भएको विषयलाई पनि ओलीले दलालीको आरोप लगाए। उनले भने, ‘सम्माननीय प्रधानमन्त्रीले प्रकाशित गरेको सरकारको १०० दिनमा चुच्चे नक्सा हटाउनुभो। के यो साधारण कुरा हो? भौगोलिक अखण्डताप्रतिको खेलबाड हो।’ उनको यो अभिव्यक्तिबाट सीमा समस्यालाई जोडेर जनमत प्रभावित पार्न खोजेको प्रस्ट संकेत हुन्छ।

मोदीसँगको भेटमा सीमा समस्याको विषय देउवाले उठाउने प्रधानमन्त्रीनिकट स्रोतले भारत भ्रमणअघि नै सार्वजनिक गरेको थियो। त्यसपछि एमाले अध्यक्ष ओलीले चुनावको मुखमा भारत जानुको औचित्यबारे प्रश्न गरेका थिए।

जनमत प्रभावित हुने ओलीको डर

ओली २०७२ मा संविधान जारी भएपश्चात् भारतले लगाएको अघोषित नाकाबन्दीको विरोधमा उत्रिएका थिए। यो विषयमा अर्को प्रमुख दल नेपाली कांग्रेस चुपचाप रहँदा ओलीले विरोध गरेर जनमत आफ्नो पक्षमा पार्न सफल भए। त्यति बेला एमाले नेता कार्यकर्ताले उनलाई ‘राष्ट्रवादी नेता’ का रूपमा प्रचारित गरे।

त्यसबाट हौसिएका ओली त्यसपछि भारतसँगको सीमा समस्या मुखरित भएर बोल्न थाले। त्यसैको बलमा एमालेले लोकप्रियता बटुल्यो। २०७४ सालको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा माओवादी केन्द्रसँग गठबन्धन गरेर ओली झन्डै दुईतिहाइ बहुमतका साथ प्रधानमन्त्री भए।

त्यसपछि भने उनको राष्ट्रवादी छवि स्खलित हुँदै गयो। चुनावमा देखाएको सीमा समस्या समाधानलगायतका विषयमा उनले कुनै ठोस पहलकदमी गर्न सकेनन्। यसैबीचमा भारतले २०७६ कात्तिकमा आफ्नो नयाँ राजनीतिक र प्रशासनिक नक्सा जारी गर्‍यो। जसमा नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानी समावेश गरिएको थियो।

त्यसबेला ओली नै प्रधानमन्त्री थिए। भारतको त्यो कदमपछि देशभित्र व्यापक विरोध हुनथाल्यो। अनि सरकारले विरोध गर्दै कूटनीतिक नोट पठाएको थियो। त्यसको भारतीय पक्षले कुनै मतलब गरेन। उल्टै ६ महिनापछि भारतका रक्षामन्त्री राजनाथ सिंहले सोही क्षेत्रमा सडकको ट्र्याक उद्घाटन गरे। त्यसको पनि विरोध गर्दै नेपालले कूटनीतिक नोट पठायो।

यसरी दुईवटा कूटनीतिक नोट पठाउँदा पनि भारतले मतलब नगरेपछि संसद्बाट पारित गर्दै २०७७ जेठ ७ मा ती भूभाग समेटेर नेपाल सरकारले पनि नयाँ नक्सा सार्वजनिक गर्‍यो। जसलाई ‘चुच्चे’ नक्सा भनेर चिनिन्छ। त्यसपछि तत्कालीन प्रधानमन्त्री ओलीले थप वार्ता अगाडि बढाउन सकेनन्। दुई देशबीचको सम्बन्ध चिसिँदै गयो। यसबीचमा परराष्ट्रमन्त्रीस्तरीय र परराष्ट्र सचिवस्तरीय संवाद हुँदा पनि भारतले यो विषयलाई महत्वका साथ लिएन।

यसै क्रममा यसपटकको भारत भ्रमणमा यो विषय प्रधानमन्त्री देउवाले उठाउँदा भारतले गम्भीर रूपमा लिएको अभिव्यक्ति आएको छ। जसबाट सीमा समस्या समाधानको आशा पलाएको छ। यसरी ओलीले नसकेको विषय देउवाले उठाइदिए, जसका कारण ओलीको टाउको दुखाइ सुरु भएको कांग्रेसका नेताहरू दाबी गर्छन्। त्यसैकारण ओलीले जनमत प्रभावित पार्न पुराना तुक नभएका कुरा फलाकेर आक्रोश पोखिरहेको कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतको आरोप छ।

‘उहाँ आफ्नो नाकामी ढाक्न प्रधानमन्त्रीजीमाथि तुच्छ रूपमा देखिनुभो। सबै मिलेर नक्सा जारी गरिएको हो। त्यसपछि उहाँले भारतसँग संवाद गर्न सक्नुभएन,’ उनले भने, ‘देउवाजीले गरेको कुरामा त उहाँले पनि धन्यवाद दिनुपर्ने हो।’ जनमत प्रभावित पार्न यतामात्रै फर्केर कराएर नहुने उनले बताए।

आफूहरूले सीमा समस्यालाई जनमत बटुल्ने मुद्दा कहिल्यै नबनाएको पनि उनले दाबी गरे।

‘हाम्रो पार्टीको सभापति देउवाजीले राष्ट्रिय दायित्वमात्रै पूरा गर्ने प्रयास गर्नुभएको हो। त्यसलाई मत बटुल्ने साधन बनाउँदैनौं,’ उनले भने। यता नेकपा एमालेका उपमहासचिव एवं प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङ पनि प्रधानमन्त्री देउवाले पनि सानो स्वरमा बोलेर चुनावी वातावरणमात्रै बनाएको दाबी गरे। ‘उहाँले सानो स्वरमा एकतर्फी बोल्नुभो। मोदीले जवाफ दिनुभएन। यस विषयमा कुनै सहमति पनि भएको देखिएन,’ नागरिकसँग उनले भने, ‘यो खाली जनमत बटुल्ने हतकण्डामात्रै हो। राष्ट्रिय दायित्वका लागि होइन।’

सीमा समस्या, कूटनीतिक सम्बन्ध र परराष्ट्र नीतिलाई राजनीतिक स्वार्थको विषय बनाउनु दुखद रहेको जानकारहरू बताउँछन्। ‘राजनीति गर्ने अन्य तमाम विषय छन्/हुन्छन्। तर सीमा समस्या र कूटनीतिक सम्बन्ध यसरी स्वार्थको विषय बनाइनु हुँदैन,’ भारतका लागि पूर्वराजदूत दीपकुमार उपाध्याय भन्छन्, ‘तर हामीकहाँको अभ्यास निकै दुखद छ। यस्ता विषयमा राजनीतिक स्वार्थका लागि बोल्दा वाहवाही त पाइएला, निकास भने दिँदैन। झन्झन् जटिल हुन्छ।’

प्रधानमन्त्री देउवाले सीमा समस्याका विषयमा संवादहीनतको वातावरण हटाएको पनि उनले बताए। ‘जे भएको छ राम्रो भएको छ। मोदीसँगै उभिएर कुरा उठेको छ, जुन कुरा भारतको विदेश मन्त्रालयले पनि स्वीकार गरिसक्यो,’ उनले भने,‘समाधान नै हुँदैन भन्ने छैन। राम्रोसँग छलफल गरे, संवाद गरे यो विषय टुंगो लाग्छ।’ केही समयअघिसम्म बंगलादेशसँग भएको समस्या पनि छलफलका माध्यमबाट टुंगिएको दृष्टान्त सुनाउँदै नेपालले पनि समाधान गर्नसक्ने उनले दाबी गरे।

‘विवाद भारतका लागि पनि उत्पादक हुँदैन। उसले यो कुरा बुझेको छ। बंगलादेशसँगको विवाद बढी नै भूभाग दिएर भारतले समाधान गरेको पनि उदाहरण छ,’ उनले भने। कूटनीतिक सम्बन्ध र विवाद समाधानमा चर्को कुराभन्दा पनि कूटनीतिक कौशल, परिपक्वता र चातुर्‍याइँले बढी काम गर्ने पूर्वराजदूत उपाध्यायले बताए।
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock २ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock ३७ मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस