केही दिनदेखि जारी वर्षा आज (शनिबार) पनि रोकिएको छैन। अहिले पनि देशभरका थोरै स्थानमा वर्षा भइरहेको मौसम पूर्वानुमान महाशााखाले जनाएको छ ।
महाशाखाले आफ्नो ट्विट ह्यान्डलमार्फत मध्याह्न १२ बजेतिर दिएको सूचनाअनुसार यतिबेला प्रदेश १ को तराई, प्रदेश ५, गण्डकी र कर्णालीका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको हो ।
आज दिउँसो देशका धेरै स्थानमा वर्षा हुनेछ भने केही स्थानमा ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले शनिबार बिहान जारी गरेको बुलेटिनमा उल्लेख छ ।
बुलेटिनअनुसार आज दिउँसो धेरै स्थानमा मेघगर्जन/चट्याङ सहित हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ भने प्रदेश १, २, कर्णाली तथा सुदूरपश्चिमका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ ।
यस्तै राति पनि देशका धेरै स्थानमा वर्षा जारी रहनेछ भने प्रदेश १, २, बागमती र गण्डकी प्रदेश र प्रदेश ५ का थोरै स्थानमा भारी वर्षाको सम्भावना छ ।
महाशाखाले शनिबार बिहान ६ बजे जारी गरेको आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्शमा भनिएको छः देशभर धेरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनाका साथै प्रदेश १, २, बागमती, गण्डकी तथा सुदूरपश्चिमका थोरै स्थानमा भारी वर्षाको समेत सम्भावना छ । तसर्थ ती क्षेत्रका नदीमा पानीको बहाव बढ्ने, भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढलरपानीको राम्रो निकास नभएका ठाउँमा डुबानसमेत हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।
यस्तै बाढी पूर्वानुमान महाशाखाले पनि वर्षाका कारण देशका विभिन्न खोला/नदीमा बाढी आउने सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ । बाढी महाशाखाका अनुसार आज र भोलि कन्काई,कोसी, कमला, बागमतीमा बहाब बढ्दो हुने, केही साना सहायक नदीमा पानीको सतह सतर्कता तहसम्म पुग्ने सम्भावना छ । यसैगरी आगामी २ दिन तराईको भारतीय सीमा आसपासका साना नदीमा जल सतह केही बढ्ने र बाढीको मध्यम जोखिम रहेकाले तटीय क्षेत्रमा सतर्क रहन महाशाखाले अनुरोध गरेको छ ।
मौसमविद्का अनुसार अहिले देशभर मनसुन सक्रिय छ भने नेपाल नजिकै मनसुनको न्यून चापीय रेखा छ। यसैकारण अझै केही दिन वर्षा जारी रहने महाशाखाले जनाएको छ ।
वर्षा नभएकै अवस्थामा आएको बाढीले हिमालपारिको जिल्ला मुस्ताङको माथिल्लो भेगका भौतिक संरचनामा क्षति पुगेको छ। लोमान्थाङ गाउँपालिका–४ स्थित चुम्जुङ (छुआमा खोला समेत भनिने) खोलामा मंगलबार बेलुकीपख एकाएक बाढी आएको थियो।
नेपाल–चीन सीमा क्षेत्रमा रहेको उक्त खोलामा एकाएक बाढी आउँदा तीनवटा काठेपुल, एउटा मोटरेवल फलामे पुल, २ वटा पक्की पुल र स्ल्याबमा समेत क्षति पुगेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले जानकारी दिए। उनका अनुसार डोल्पा, तिब्बत र मुस्ताङको सीमानाबाट उक्त खोला बगेर आउँछ। खोला कालिगण्डकीमा मिसिन्छ। बाढीको जोखिम बढेपछि छोसेरस्थित खोला किनारका २ वटा घरका ४ जनालाई अन्यत्र सारिएको पनि प्रशासनले बताएको छ ।
खोला कालिगण्डकी नदीमा मिसिने हुँदा नदी आसपासका क्षेत्रका बासिन्दालाई सुरक्षित रहनका लागि जानकारी गराइएको पनि प्रजिअ भुसालले बताए। ‘मंगलबार बेलुकी एकाएक खेलाको वहाव बढ्यो। माथिल्लो क्षेत्रमा केही पुलमा पनि क्षति गरेको रहेछ। पुल बगाउने गरि खोलाको बहाव बढेको थियो,’ उनले भने, ‘खोलामा बाढी नै आउनेगरि वर्षा भएको त होईन। तर, बाढीले क्षति भनेको गरेको छ। थप क्षति नहोस भनेर कालिगण्डकी आसपासका बासिन्दालाई सचेत गराएका छौं।’
उनका अनुसार खोलाको सिरान क्षेत्रमा ताल रहेको छ। त्यही ताल फुट्दा खोलाको वहाव एकाएक बढेको आशंका रहेको छ। प्रजिअ भुसालका अनुसार वर्षाबिना खोलाको वहाव बढेपछि प्रशासनले खोलाको सिरान क्षेत्रको अवस्था बुझ्न टोली नै पठाएको छ। स्थानीय तह, स्थानीय बासि र प्रहरी सहितको टोली फुटेको आशंका गरिएको तालको अवस्था बुझ्न गएका छन।
‘ताल फुटेको हो वा होइन भन्ने थाहा पाउनका लागि गाउँपालिका र प्रहरी सहितको टोली गएको छ। टोलीले त्यसबारेमा यथार्थ जानकारी दिनेछ,’ भुसालले भने, ‘अहिले नै बाढी कसरी आयो भनेर भन्न सकिन्न।’
लोमान्थाङ गाउँपालिका अध्यक्ष टसी न्हर्वु गुरुङका अनुसार समुन्द्री सतहदेखि करिब ५५ सय मिटर माथि छो ल्योङ जो ताल रहेको र त्यही तालमा माथिबाट खसेको हिउँको ठुलो ढिस्को बज्रिदा ताल विस्फोट भएको वा तालको पानी छचल्किएर खोलामा बाढीको रुप लिएर बगेको हुनसक्ने सम्भावना छ। ‘खोलामा यो आकारको बाढी आउने गरि पानी परेको छैन। पछिल्लो ६ दिनदेखि खासै पानी परेको पनि छैन। तर, घामले गर्दा हिउँको ढिस्को खसेको र त्यही ढिल्लो तालमा बजारिँदा ताल ओभरफ्लो भएर बाढीको रुपमा बगेको हुनसक्ने उनको अनुमान छ।
‘हिउँको ढिस्को बजारिँदा ताल फुटेको पनि हुनसक्छ तालमा हिउँको ढिस्को थपिएपछि पानी छचल्किएर वा खसेको हिउँ पग्लेपछि पानीको आकार ओभरफ्लो भएर बगेको पनि हुनसक्छ,’ अध्यक्ष गुरुङले भने, ‘नत्र पानी नै नपरेको अवस्थामा यसरी खोलामा बाढी आउनुपर्ने अरु कुनै कारण थिएन।’ खोलाको सिरानमा ताल रहेकोबारे आफुहरुलाई पहिल्यै जानकारी भएको तर, त्यो ठाउँसम्म यसअघि आफु कहिल्यै नगएको पनि अध्यक्ष गुरुङले बताए।
मंगलबार बाढी आएको भएपनि बुधबार भने माथिल्लो क्षेत्रमा वर्षा नभएको प्रजिअ भुसालले बताए। ‘खोला किनारका धिँगाउँ, चराङ, सुर्खाङ तथा कालिगण्डकी किनारका कागबेनी, एक्लेभट्टि, जोमसोम, मार्फा, कोवाङ लगायतका क्षेत्रका बासिन्दालाई सुरक्षित रहन प्रशासनले अनुरोध पनि गरेको छ।
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...