दुई साताअघि इटहरीमा एक युवालाईं घेरा हालेर ज्यान मार्न खोज्ने गुन्डागर्दी गर्ने समूहका मुख्य नाइकेलाईं प्रहरीले पक्राउ गरेको छ। प्रहरीले इटहरी वडा नं. ८ का ३२ वर्षे विपिन कार्कीलाई घेरा हालेर ज्यान मार्न खोज्ने समूहका मुख्य नाइके वडा नं. ९ का गुन्डागर्दी गर्ने हर्के भन्ने आदर्श चौधरीलाईं पक्राउ गरेको हो।
चौधरीसहित पाँच जनाको समूहले विपिनलाईं असोज १४ गते इटहरी वडा नं. ९ कै ग्रिनपिस बोडिङ् स्कुल अगाडिको बाटोमा मोटरसाइकलमा जादै गर्दा घेरा हालेर टाउँकोमा प्रहार गरेको थियो। विपिन इटहरी वडा नं. ८ कै जस्वन गच्छदारको मोटरसाइकलमा सवार भएको बेला चौधरीसहितको समूहले घेरा हालेर धारिलो हतियार प्रहार गरेको थियो। घटनापछि फरार भएका चौधरीलाईं आफ्नै घरमा लुकीछिपी बसेका बेला पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनायो। पक्राउ परेका चौधरीलाई ज्यान मार्ने उद्योगमा जिल्ला अदालतमा मुद्दा दर्ता भएर अनुसन्धान चलिरहेको छ। गुन्डागर्दी गर्ने समूहका अन्य चार जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ।
इटहरीमा पछिल्लो समय गुण्डागर्दी गर्ने समूहको चलखेल न्यून भएपनि बेलाबखत अनपेक्षित घटना हुने गरेका छन्। जनसंख्या वृद्धिसँगै इटहरीमा सुरक्षा चुनौती थपिएकाले गर्दा अनपेक्षित घटना हुने गरेका हुन्।
आठ वर्षअघिसम्म यहाँ गुन्डागर्दी गर्ने समूहले बेला–बेलामा आतंक मच्चाउने गरेका थिए। त्यसरी आतंक मच्चाउँदा शान्ति–सुरक्षाको अवस्था ठीटलाग्दो थियो। त्यो बेला राजनीतिक दलको आडमै चारभन्दा बढी समूह गुन्डागर्दी गर्दै आएका थिए। तर, पछिल्लो समय इटहरीमा गुन्डागर्दी गर्ने समूहको गतिविधी पुरै रोकिएको थियो।
जनसंख्या वृद्धिसँगै पछिल्लो समयमा इटहरी भित्री स्थानमा पनि प्रहरी चौकी विस्तार गरिएको छ।
३० असोज २०७७
•
१ मिनेट पाठ