काठमाडौं-दक्षिण एसियाली सहयोग संगठन (सार्क) को १८ औं शिखर सम्मेलनको तयारीमा जुटेको सरकारले उपत्यकामा एक अर्बभन्दा बढी रुपैयाँ खर्चेर सडक बनाउने भएको छ। आगामी कात्तिकमा हुन लागेको सम्मेलनलाई लक्ष्य गर्दै सरकारले उपत्यकाका मुख्य सडकको निर्माण, विस्तार, सुधार र मर्मतका लागि एक अर्ब सात करोड रुपैयाँ खर्च गर्ने भएको हो।
सरकारले चालु आर्थिक वर्षका लागि उपत्यकाका सडक निर्माणका लागि छुट्टाइएको एक अर्ब ८० करोड रुपैयाँमध्ये सार्कका लागि मात्र एक अर्ब सात करोड विनियोजन गरेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार सम्मेलनको समयका लागि सडकलाई चिल्लो र सुन्दर बनाउन सरकारले उपत्यकाका तीन वटै जिल्लालाई गरी उक्त रकम विनियोजन गरेको हो।
नेपालमा झन्डै १२ वर्षपछि हुन लागेको सम्मेलनको अवसरमा सरकारले भौतिक निर्माणको कामलाई प्राथमिकता दिएको छ। सम्मेलनमा आउने पाहुनालाई काठमाडौंलाई सफा र सुन्दर देखाउन जुटेको सरकारले सडक निर्माणलाई प्राथमिकतामा राखेको मन्त्रालयले जनाएको छ।
काठमाडौं उपत्यका सडक विस्तार आयोजना प्रमुख श्याम खरेलका अनुसार सडकका लागि विनियोजित बजेटमध्ये अधिकांश रकम सार्क राष्ट्रका प्रतिनिधि हिँड्ने सडक एयरपोर्ट, तीनकुने, गौशाला, राजदूतावास रहेका क्षेत्र लाजिम्पाट, महाराजगन्ज, बानेश्वर क्षेत्रमा मात्र खर्च हुनेछ। 'सार्क प्रतिनिधि बस्ने र घुम्ने सडकमा नै बजेट खर्च हुनेछ,' उनले भने, 'सम्मेलनको समय नजिकिँदै गएकाले प्रतिनिधि घुम्ने सडकलाई चिल्लो र राम्रो बनाउन प्राथमिकतामा पारिएको छ।'
विनियोजित रकममध्ये सबैभन्दा बढी रकम काठमाडौंमै खर्च हुनेछ। त्यसपछि ललितपुर र भक्तपुरमा खर्च हुनेछ। सम्मेलनका लागि सडक निर्माणका लागि दिइएको बजेटले उपत्यकाका सबै सडक निर्माण गर्न अपुग हुने भएकाले सम्मेलनमा आउने प्रतिनिधिको आँखा पर्ने सडकलाई प्राथमिकतामा पारिएको खरेलले बताए। उनका अनुसार सार्क प्रतिनिधि आउनेबित्तिकै नजर जाने गौशाला–एयरपोर्ट–तीनकुने क्षेत्रको सडकलाई सबैभन्दा राम्रो बनाउने तयारी भइरहेको छ। तीनकुने–माइतीघर खण्ड निर्माणको अन्तिम चरणमा पुगेकाले सम्मेलन अगाडि नै उक्त क्षेत्रमा हरियाली निर्माणसमेत सकिने खरेलले जनाए।
सम्मेलन अवधिमा सडक मात्र नभई अन्य धार्मिक क्षेत्र तथा अन्य संरचनामा समेत सरसफाइ र रंगरोगन हुने भएको छ। सम्मेलनमा सुन्दर सहर देखाउन टुटेफुटेका सडक पुनर्निर्माण, नाली निर्माण तथा व्यवस्थापन, मठमन्दिर, दरबार रंगरोगन तथा सरसफाइ, नयाँ संरचना निर्माण र व्यापक हरियाली बनाउने कामका लागि काठमाडौं महानगरपालिका, ललितपुर र भक्तपुर उपमहानगरपालिकालाई भनिएको छ। नगरपालिकाहरुले पनि सरकारले भनेअनुसार सडक मर्मत, मन्दिर तथा धार्मिक स्थल सरसफाइ, रंगरोगन, विभिन्न स्थानमा मूल गेट, बिजुलीका पोलका पोस्टर हटाउने, रेलिङ बनाउने, सडकमा मार्किङ राख्ने काम अगाडि बढाइएको छ।
उपत्यकाभित्र सफाइ तथा सजावटका लागि स्थानीय विकास मन्त्रीको संयोजकत्वमा सरसफाइ तथा नगर सजावट समिति गठन भइसकेको छ। समितिले अतिथि सवार हुने स्थलमा होर्डिङ बोर्ड, पसल, टहरा हटाउन, अशोभनीय पर्खाल र घर दुरुस्त राख्न र रंगरोगन गर्न निर्देशन दिएको छ। समितिकै निर्देशनअनुसार महानगर तथा उपमहानगरले उपत्यकाका विभिन्न ठाउ"मा स्वागतद्वार राख्ने, विश्व सम्पदा तथा पुरातात्विक महत्वका Ôेत्रलाई चुस्त राख्ने, रानीपोखरी र तीनकुने पार्कलाई नया" स्वरुप दिइने, ललितपुर, काठमाडौं र भक्तपुर दरबार Ôेत्रमा रङरोगन, सरसफाइ र सामान्य मर्मतसम्भार गर्ने काम अगाडि बढिसकेको छ।