सिन्धुपाल्चोक (लामोसाँघु)-सिन्धुपाल्चोकको मांखामा गएको चट्टाने पहिरोका कारण विस्थापित ४ सय ३६ परिवारमा रोगको महामारी फैलन नदिन विशेष स्वास्थ्य जाँच परीक्षण सुरु गरिएको छ। विस्थापित परिवार बसेको सुरक्षित स्थान तथा आसपास गाउँहरुमा सरुवा रोग तथा अन्य रोग फैलन नदिन विशेष परीक्षण सुरु गरिएको हो।
स्वास्थ्य मन्त्रालयले विस्थापित परिवारमा रोगको महामारी आउन नदिन विशेष टोली नै उक्त क्षेत्रमा खटाएको छ। टोलीले विस्थापित परिवार बसेको अस्थायी शिविरहरुमा मात्र नभई वरिपरिका अन्य गाउँका घरघरमा समेत गएर परीक्षण गरिरहेको टोलीमा संलग्न स्वास्थ्यकर्मी हरिचन्द्र महर्जनले जनाए।
महर्जनका अनुसार विस्थापित परिवारहरु धेरै जना एकै स्थानमा बस्न बाध्य भएकाले सरुवा रोगको प्रकोप नदेखियोस् भनेर विशेष निगरानी बढाइएको छ। 'यस्तो समय कुनै एकलाई सरुवा रोग देखियो भने अरुलाई पनि एकै पटक समात्न सक्ने भएकाले विशेष निगरानी बढाइएको हो,' उनले भने, 'हाम्रो टोली विस्थापित परिवार बसेका क्षेत्रदेखि अन्य सम्भावित क्षेत्रमा समेत खटिरहेको छ।'
मन्त्रालयले मांखामा पहिरो गएको भोलिपल्ट आइतबार नै स्वास्थ्यमा समस्या आउन नदिन स्वास्थ्य सेवा विभागका तीन जना, क्षेत्रीय स्वास्थ्य निर्देशनालयबाट दुई जना, जिल्ला स्वास्थ्य कार्यालय सिन्धुपाल्चोकबाट दुई जना र पहिरो गएको स्थान नजिकैको पांग्रेटार स्वास्थ्य चौकीबाट दुई जना गरी ९ जनाको विशेष टोली उक्त क्षेत्रमा खटाएको हो।
टोलीमा विभागका शम्भु महतो, डबल बिसी र आत्मराम कार्की, Ôेत्रीय स्वास्थ्य निर्देशनालय हेटौंडका रोहित लामिछाने र चन्द्रमान तामाङ छन्। त्यस्तै, जिल्ला जनस्वास्थ्यबाट डा. विकल्प गौतमसहित जनस्वास्थ्य निरीÔक यमुना यादव र पांग्रेटार स्वास्थ्य चौकीका सी.अहेब हरिचन्द्र महर्जन र अहेब ईश्वरीप्रसाद सुवेदी छन्।
टोलीले पहिलो दिन २४ जनाको परीषण गरेको थियो। त्यस्तै, दोस्रो दिन १९ जना र हालसम्म ७० भन्दा बढीलाई उपचार सेवा दिइसकेको छ। उपचार सेवा पाउनेमा ठूलो समस्या नरहेको महर्जनले जनाएका छन्। 'अहिलेसम्म सबैलाई सामान्य समस्या मात्र देखिएको छ,' उनले भने, 'बाहिर खबर आएजस्तो भाइरल र झाडापखालाको प्रकोप यहाँ देखिएको छैन।' उनले हालसम्म मानिसमा सामान्य रुघाखोकी र मन्द ज्वरोमात्र देखिएको बताए।
पहिरोबाट विस्थापित अधिकांश परिवार लामोसा“घुस्थित ओरिएन्ट म्यागनसाइट चुनढुंगा कम्पनीको कम्पाउन्डमा राखिएका छन्। टोलीले उक्त स्थानमा विशेष निगरानी राख्दै अस्थायी क्याम्प खडा गरेको थियो। उक्त क्षेत्रका सबैजसोमा समस्या नदेखिएको र स्थिति सामान्य भएपछि टोलीले आसपास अन्य क्षेत्रमा घुमेर स्वास्थ्य सेवा दिइरहेको टोलीमा खटिएका डबल बिसीले जनाए।
'टोली निकै अलर्ट भएर विस्थापित परिवारको सेवामा जुटिरहेको छ,' उनले भने, 'शंका लागेको क्षेत्रमा गएर टोलीले उपचार तथा औषधि दिने काम गरिरहेको छ।' उनले उक्त क्षेत्रमा आवश्यक औषधि तथा अन्य सामग्री विभाग तथा जिल्लाबाट लगिएको बताए। टोलीले आइतबार मात्र धुस्कुनमा रहेका १३ घरका विस्थापित परिवार रहेको क्याम्पमा गएर सेवा दिएको छ। पहिरोका कारण घर डुवानमा परेपछि उक्त क्षेत्रका परिवार जंगल नजिकैको स्थानमा पाल टाँगेर तथा छाप्रो बनाएर बसेका छन्। 'टोलीले उक्त क्षेत्रमा गएर सबैको स्वास्थ्य परीक्षण गरेको छ,' महर्जनले नागरिकसँग भने, 'त्यहाँ रहेका मानिसमा दुई जनामा सामान्य टाउको दुख्नेबाहेक अरु समस्या देखिएन।'
उक्त क्षेत्रमा दुर्गन्ध फैलेको गुनासो आएपछि टोलीले आधाजसो डुबेका केही घर र डुवानमा पर्न लागेका घरमा गएर निरीक्षण गरेका थिए। निरीक्षण क्रममा उक्त क्षेत्रमा कुखुरा र गाई मरेको पाइएपछि टोलीले औषधि छर्केर दुर्गन्ध र रोगको खतरा निर्मुल पारेको महर्जनले जानकारी दिए। उनले विस्थापित परिवार बसेको स्थानमा शुद्ध खानेपानी र खानाको समस्यासमेत नरहेको बताए।