काठमाडौं-माइतीघर–पुतलीसडक सडक खण्ड पहिलेदेखि नै चिल्लो र सुन्दर थियो। तर, त्यहाँ चिल्लो कालोपत्रे सडकमाथि पुनः नयाँ कालोपत्र थपिएको छ। एयरपोर्ट–तीनकुने खण्ड पनि पक्की नै छ। त्यहाँ पनि पुन नयाँ कालोपत्र थप्ने तयारी भइरहेको छ।
राजधानीका मुख्य सडक गौशाला, राजदूतावासहरु रहेका क्षेत्र लाजिम्पाट, महाराजगन्ज लगायत पक्की सडकमा पनि केही दिनभित्र पुनः सडक चिल्लो बनाइनेछ। दक्षिण एसियाली सहयोग संगठन (सार्क) को १८ औं शिखर सम्मेलनको तयारीमा जुटेको सरकारले भिआइपी हिँड्ने र यात्रा गर्ने प्रमुख सडक खण्ड पक्की हुँदाहुँदै पनि करोडौँ खर्चेर पुनः चिल्याउन सुरु गरेको हो।
तर, भिआइपी नहिँड्ने र सर्वसाधारण जनताले मात्र यात्रा गर्ने राजधानीका भित्री सडक भने डेढ वर्ष अगाडिदेखि खाल्डाखुल्डी हुँदासमेत अझै बन्ने योजनामा परेको छैन। निर्माणका लागि भत्काइएका राजधानीका दर्जनभन्दा बढी स्थानका सडक खाल्डाखुल्डी तथा अन्य निर्माण सामग्रीको थुप्राका कारण जोखिमयुक्त छन्। सर्वसाधारण जनताले यात्रा गर्ने ती सडकमा दैनिक दुर्घटना भइरहेका छन्। तर, ती सडकको निर्माणमा सरकारले अझै चासो दिएको छैन।
दैनिक दुर्घटना हुने र तत्काल बनाइनुपर्ने सडकलाई सरकारले प्राथमिकता नदिँदा सार्कको समयमा राजधानीमा भिआइपी गुड्ने सडक सुन्दर र चिल्ला हुनेछन् भने सर्वसाधारण हिँड्ने सडक भने खाल्डैखाल्डायुक्त हुने पक्का भएको छ। सडक निर्माणको जिम्मेवारी पाएका निकाय सार्कको तयारीमा जुटेका कारण वर्षदिनभन्दा लामो समयदेखि नै बिग्रेका सडक अझै कहिले बन्ने भन्ने समेत अनिश्चित भएको छ।
सम्मेलन तयारीमा जुटेको सरकारले भिआइपी हिँड्ने सडकलाई चिल्ला मात्र होइन सुन्दर देखाउनका लागि हरियाली निर्माण, रंगरोगन, सोलार बत्ती जडान गर्दै सिँगारिरहेको छ। तर साधारण कालोपत्रे मात्र गर्नुपर्ने भित्री सडक ज्ञानेश्वर–मैतीदेवी, सिनामंगल–पुरानो बानेश्वर, धुम्बाराही–मन्डिखाटार–गल्फुटार, पुरानो बानेश्वर–डिल्लीबजार–पुतलीसडक, जडिबुटी–पेप्सिकोला, मीनभवन, बल्खु–त्रिवि गेट, पुतलीसडकबाट भित्री बाटो हुँदै न्युप्लाजा निस्कने सडक लगायत क्षेत्र भने अलपत्र छाडेको छ।
सडक विभागका अनुसार सम्मेलनको समयमा काठमाडौंलाई सफा र सुन्दर सहरको नमुना देखाउनका लागि सार्क क्षेत्रबाट आएका प्रतिनिधि बस्ने र घुमघाम गर्ने क्षेत्रमा मात्र चिल्ला र राम्रा देखाउनू भन्ने माथिको आदेशअनुसार नै निर्माण अगाडि बढाइएको हो। यसका लागि सरकारले उपत्यकाका तीनवटै जिल्लालाई गरी ८० करोड रुपैयाँ विनियोजन गरेको विभागले जनाएको छ। उक्त रकम सार्क राष्ट्रका प्रतिनिधि हिँड्ने सडक एयरपोर्ट, तीनकुने, गौशाला, राजदूतावास रहेका क्षेत्र लाजिम्पाट, महाराजगन्जमा मात्र खर्च हुनेछ।
सडक विभागका एक उच्च प्रतिनिधिले सम्मेलनको समयमा उपत्यकामा विदेशीलाई राम्रा सडक छन् भन्ने देखाउन उनीहरु हिँड्ने क्षेत्रमा मात्र लक्ष्य गरी निर्माण गरिने बताए। 'प्रतिनिधिलाई झुक्याउने गरी सडक निर्माण हुने भएको छ,' उनले भने, 'टालटुले निर्माण गरेर पाहुनालाई छलछाम गर्ने काम मात्र हुँदैछ।' उनका अनुसार सार्क राष्ट्रबाट आएका प्रतिनिधिलाई राख्ने र घुमाइने क्षेत्रका सडक भने हेर्दा आकर्षक बनाइनेछ। तर अन्य स्थानका निर्माण भने सार्कपछि पुनः बजेट आएपश्चात काम हुनेछ।
काठमाडौं उपत्यका सडक विस्तार आयोजनाका अनुसार सार्क प्रतिनिधि आउनेबित्तिकै नजर जाने गौशाला–एयरपोर्ट–तीनकुने क्षेत्रको सडकलाई सबैभन्दा राम्रो बनाउने तयारी भइरहेको छ। उक्त सडक खण्डका दायाँबायाँ दुईदुई मिटर थप गरेर लेन थप्ने कामसमेत अगाडि बढिसकेको छ। त्यसपछि प्रतिनिधि बस्ने सोल्टी होटलसम्मको सडक, दूतावास आसपासका सडकसमेत सुन्दर र आकर्षक बनाइनेछ।