पाल्पा-पाल्पामा शिक्षकहरुले जिल्ला शिक्षा कार्यालयमा अस्वाभाविक रुपमा राजीनामा बुझाएका छन्। पछिल्ला केही दिनमा २४ भन्दा बढी शिक्षकहरुले राजीनामा दिएको जिल्ला शिक्षा कार्यालय पाल्पाले जनाएको छ। राजिनामा दिने क्रम दिनदिनै बढ्दो छ। यसअघि यति ठूलो संख्यामा शिक्षकहरुले एउटै समयमा राजीनामा दिएका थिएनन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्लाका सबै शिक्षकहरुको शैक्षिक योग्यतासहित अन्य प्रमाणपत्रहरु माग गरेपछि राजीनामाको क्रम बढेको शिक्षा कार्यालय स्रोतको भनाई छ। जिल्लामा कार्यरत केही शिक्षकहरुले नक्कली प्रमाणपत्र पेश गरी जागिर खाएको भन्ने आशयसहितको उजुरी आयोगमा परेपछि अख्तियारले अनुसन्धान थालेको थियो। अख्तियारले अनुसन्धान थालेपछि आफूहरु कारवाहीमा पर्ने डरले शिक्षकहरुले राजीनामा दिएको हुनसक्ने अनुमान गरिएको छ।
जिल्ला शिक्षा कार्यालयले संकलन गरेका प्रमाणपत्रमा केही शिक्षकहरुले प्रवेशिका परीक्षा (एसएलसी) उत्तीर्ण नहुँदै प्रमाणपत्र तहको परीक्षा (आईए सरह) उत्तीर्ण भएको पाइएको छ। केही शिक्षकहरुले कुन विषय लिएर कुन सालमा अध्ययन गरेको भन्ने प्रमाणपत्रमा उल्लेख छैन। केही शिक्षकहरुको प्रमाणपत्रमा भने विश्वविद्यालय नै नखुलेको शिक्षा कार्यालय स्रोतले बतायो।
अख्तियारले शैक्षिक प्रमाणपत्र छानबिन गर्न थालेपछि नक्कली प्रमाणपत्र पेस गरी शिक्षकको जागिर खाएकालाई अहिले जागिर छोड्नु नै उत्तम विकल्प लागेकोले राजिनामा आएको हुनसक्ने जानकारहरु बताउँछन्। अख्तियारको छानविनमा नक्कली प्रमाणपत्र भएको प्रमाणित भएर जागिरबाट निकालिनुभन्दा पहिले नै राजीनामा दिनु उपयुक्त लागेको हुनसक्ने स्रोत बताउँछ। 'नक्कली प्रमाणित भएर निकालियो भने धेरै बदनामी हुन्छ' शिक्षा स्रोतले भन्यो 'त्योभन्दा बरु पहिले नै राजीनामा दियो भने समाजमा केही इज्जत त बच्छ।'
जिल्लामा सामुदायिकतर्फ दुई सय ४९ र संस्थागततर्फ २३ प्राथमिक विद्यालय छन्। त्यस्तै ८५ सामुदायिक निमावि, ६ संस्थागत र मदरसा एउटा छन्। जिल्लामा ५१ सामुदायिक मावि र १६ वटा संस्थागत मावि छन्। सबै शिक्षकको विवरण संकलन भइसकेको शिक्षा कार्यालयले जनाएको छ। पाल्पाका सामुदायिकतर्फ प्राथमिक तहमा एक हजार दुई सय ८३, निमावि तहमा दुई सय ३० र माविमा एक सय ७८ शिक्षक कार्यरत छन्।