काठमाडौं– विभिन्न १३ सूत्रीय मागसहित स्वास्थ्य सेवा विभागमा रिले अनशन बसेका स्वास्थ्यकर्मीमाथि एक समूहले आक्रमण गरेको छ। आक्रमणबाट ९ जना घाइते भएका छन्। विभाग परिसरमा अनशन बसेका स्वास्थ्यकर्मीमाथि शुक्रबार दिउँसो जोरपाटीस्थित स्तूपा कलेज अफ हेल्थ साइन्सेजमा अध्ययनरत विद्यार्थीको समूहले आक्रमण गरेको हो।
आक्रमणबाट घाइते हुनेमा स्वास्थ्यकर्मी संघका पूर्वाञ्चल अध्यक्ष मुरारी आचार्य, विश्वबन्धु विनय, नागमणि पटेल, विश्वबन्धु थापा, विजयकुमार सिंह, धनबहादुर बुढा, कोषविलास बगाले, सुरेशराय यादव, धमेन्द्र खड्का, मुना भट्टराई र छेवी मण्डल छन्।
शान्तिपूर्ण अनशनमा बसिरहेको समयमा कलेजकै डेस लगाएर आएको समूहले एक्कासि ढुंगामुढासहित अक्रमण गरेको घाइते मुरारी आचार्यले बताए।
विभिन्न समयमा स्तरवृद्धि गरिएकाको उचित पदस्थापन, सरुवा, बढुवा, तालिम तथा भ्रमणलाई पारदर्शी बनाई शैक्षिक योग्यताको कदर गर्ने परिपाटी थालनी गर्नुपर्ने, स्वास्थ्यकर्मीले २४ घन्टे ड्युटी गरेबापत पाउनुपर्ने ओभरटाइम खर्च, ननप्राक्टिस भत्ता, आवास तथा रासनभत्तालगायत सेवा–सुविधा माग गर्दै स्वाथ्यकर्मी अनशनरत छन्।
सुरुमा मागका विषयमा सहमति जनाउँदै एमालेनिकट नेपाल राष्ट्रिय स्वास्थ्यकर्मी संघ पनि सहभागी भएको थियो। तर, पछि संघ आन्दोलनबाट बाहिरिएको थियो। आन्दोलनबाट बाहिरिएलगत्तै संघले नै आन्दोलन दबाउन आक्रमण गरेको आचार्यले बताए। उनका अनुसार रिले अनशनमा नेपाल स्वास्थ्यकर्मी युनियन, नेपाल स्वास्थ्यकर्मी संघ, अखिल नेपाल प्रगतिशील स्वास्थ्यकर्मी संगठन, मधेसी स्वास्थ्यकर्मी फोरम नेपाल, नेपाल राष्ट्रिय स्वास्थ्यकर्मी संगठनका प्रतिनिध सहभागी छन्।