काठमाडौं–होली पर्वमा उपत्यकालाई दुर्घटनारहित बनाउन विशेष ट्राफिक सुरक्षा लागु गरेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले ६ सय ८४ सवारी साधनलाई कारबाही गरेको छ। उपत्यकाका सबैजसो सवारी रुटलाई समेटेर ५३ स्थानमा ट्राफिक चेक प्वाइन्ट स्थापना गरेको महाशाखाले साँझ ५ बजेसम्म सो संख्यामा सवारीका चालकलाई कारबाही गरेको हो।
महाशाखाका डिएसपी राजेन्द्र पोखरेलका अनुसार अहिलेसम्म उपत्यकामा कुनै दुर्घटना भएको छैन। उनले उपत्यकाका सबै चेकिङ प्वाइन्टमा सवारी चेकिङलाई कडाईका साथ लागु भैरहेको बताए । कारबाहीमा पर्नेमा ५१ जना मापसेमा, ३८ तिव्र गतिमा, ३ सय ४७ कागजपत्र नबोकेका र बाँकी हेलमेट नलाएको, मोटरसाइलकमा तीन जना बोक्ने, जिकज्याक गरी चलाउने छन्।
महाशाखाले कारबाहीमा परेका सबैको सवारी साधन नियन्त्रणमा लिएको छ। नियन्त्रणमा लिएका सवारीसाधनमध्ये कागजपत्र नबोक्नेहरुको सवारी राती ७ बजेपछि आवश्यक कागजपत्र ल्याएपछि फिर्ता गरिने पोखरेलले जनारकारी दिए।
महाशाखाले होली सुरक्षाका लागि उपत्यकालाई विभिन्न चारवटा क्षेत्रमा विभाजन गरी प्रत्येक क्षेत्रमा डिएसपीको नेतृत्वमा विशेष सुरक्षा टोली परिचालन गरेको थियो। होलीको समयमा मापसे गरी सवारी हाँक्ने, लापरबाही गर्ने, क्षमता भन्दा बढी राखेर सवारी चलाउने जस्ता कार्य गर्दा विगतमा धेरै दुर्घटना भएको भन्दै यसपटक विहानै देखि सवारी चेकजाँचमा कडाई गरेको थियो।
पोखरेलका अनुसार सबै चेकपोष्टमा गरी ५ सय ५० भन्दा बढी ट्राफिक प्रहरी खटिएका छन्। उनले प्रत्येक चेक पोइन्टमा ट्राफिक प्रहरी अधिकृतको कमान्डमा कम्तीमा ५ जना ट्राफिक प्रहरी खटिएको बताए। यस वाहेक ७ वटा मोवाइल गाडीले समेत निरन्तर रुपमा चेक पोइन्टलाइ सपोर्ट गर्नुको साथै उपत्याकाभरमा मोवाइल गस्ती गरिएको छ।