धनकुटा–धनकुटाको बसन्तटार गाविस– १ ठाडा गाउँमा करेन्ट लागेर एक युवतीको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। मोवाइल चार्ज गर्न गएकी २५ वर्षीया निरमायाँ मगरको मृत्यु भएको स्थानीयले बताएका छन्। विहान ७ बजेतिर करेन्ट लागेर घाइते भएकी उनलाई उपचारको लागि धरान लैजाने क्रममा बाटोमै मृत्यु भएको स्थानीय मनकुमार मगरले बताए।
त्यसैगरी करेन्ट लागेर घाइते भएकी बसन्तटार गाविस– १ ठाडा गाउँकी १६ वर्षीया सरु मगरको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ। धेरै भोल्ट विधुत सप्लाई हुँदा उक्त दुघर्टना भएको प्राविधिकहरुले बताएका छन्। गाउँमा राखिएको ट्रान्सफर्मरले २ सय ४० भोल्ट मात्रै सप्लाई गर्नु पर्ने भएपनि त्यो भन्दा धेरै विधुत सप्लाई गर्दा करेन्ट लागेको बताइएको छ।
त्यस्तै धरै विद्युत सप्लाई भएकै कारण ७ घरमा मिटर बक्स पड्किएर आगलागी समेत भएको छ। स्थानीयबासीले घरमा लागेको आगो तत्कालै निभाएकाले धेरै क्षति हुन नपाएको स्थानीयले बताएका छन्। त्यस्तै ५६ घरको मिटरबक्स जलेको छ भने एक वटा बोका समेत करेन्ट लागेर मरेको छ।