अर्घाखाँचीको भुमिकास्थान नगरपालिकाका मेयर झविलाल थापाले आफ्नो कार्यालयको लेटरप्याड, छाप र हस्ताक्षर चोरी गरेर चुनढुङ्गाको उत्खनन् अनुमति लिईएको आरोप लगाएका छन्। भुमिकास्थान नगरपालिका ९, पातलेखोलामा रहेको चुनढुङ्गा उत्खनन्को अनुमति–पत्र किर्ते रहेको भन्दै मेयर थापाले कार्यालयबाट लेटरप्याड, छाप र हस्ताक्षर चोरी भएको आरोप लगाएका हुन्।
‘नगरले कसैलाई अनुमती पत्र दिएको छैन,‘उनले भने,‘किर्ते गरेर खानी विभागबाट अनुमति लिईएको छ।’ नगरपालिकामा पत्रकार सम्मेलनको आयोजना गर्दै मेयर थापाले यो आफु र नगरमाथि षड्यन्त्र भएको र यो गम्भिर अपराध भएको उनको भनाई छ।
कपिलवस्तुको कृष्णनगरमा रहेको विजया सिमेन्ट्स प्रालीले २०८० फागुन १४ गते खानी तथा भूगर्भ विभागबाट चुनढुङ्गा उत्खनन्को अनुमति–पत्र पाएको थियो।
पटक–पटक प्रारम्भिक वातावरणीय परिक्षण (आईइइ) गरेको कम्पनीले २०७९ पौष ७ गते भुमिकास्थान ९ का वडाध्यक्ष खेमराज चुँदालीको अध्यक्षतामा प्रभावित क्षेत्रमा सार्वजनिक सुनुवाई कार्यक्रम गरेको थियो।
जसमा त्यहाँका ११४ जना व्यक्तीको उपस्थिती रहेको माईन्युटमा देखिन्छ। त्यसको भोली पल्ट नै पौष ८ गते वडा कार्यालयले काम गर्न मिल्ने गरी पत्र पठाएको थियो । नगरपालिकाको कार्यालयले यहीँ २०८० मंसिर ५ गते खानी तथा भूगर्भ विभागलाई पत्र पठाएको देखिन्छ । तर, नगरप्रमुखले यसलाई किर्ते भएको अभिव्यक्ती दिएका छन् ।
मंसिर ५ गते नगरपालिकाको लेटरप्याडमा नगरप्रमुख थापाको हस्ताक्षर सहितको पत्र विभागलाई गएको छ। खानी तथा भूगर्भ विभागलाई नगरले सिफारिस गरी पठाएको पत्रमा दर्ता/चलानी नं.५८५ छ । यता नगरपालिकाको दर्ता/चलानी किताबमा ५८५ नम्बरमा संघीय खानेपानी तथा सरसफाई डिभिजन कार्यालयलाई पत्र पठाएको छ।
यसैबिच, मेयर थापाले त्यो सिफारिसलाई किर्ते भनेका हुन्। आफुहरुले खानी उत्खनन् गर्न अनुमति दिनेगरी पत्र नपठाएको उनको भनाई छ। गतबर्ष २०७९ भदौ महिनाको १७ गते र असोज महिनाको १४ गते नगर कार्यपालिको बैठकले चुनढुङ्गा उत्खनन् गर्न नदिने निर्णय गरेको देखिन्छ। तर उक्त निर्णयमा तीन जना प्रतिनिधिले मात्र हस्ताक्षर गरेका छन्। त्यसयता चुनढुंङ्गा सम्बन्धी कुनै निर्णय नगरपालिकाले गरेको छैन।
कार्यपालिकामा समेत यस विषयमा एकरुपता आउन सकेको छैन। बहुमत सदस्यले भएका निर्णयहरुमा हस्ताक्षर गरेका छैनन्। भने खानी खुलाउने वा नखुलाउने विषयमा कार्यपालिकामा कुनै गम्भिर छलफल नभएको बताईएको छ। ‘विविध शिर्षकमा कुरा उठेका थिए,उनले भने,‘यसमा कुनै निर्णय भएको छैन,कस्ले कसरी निर्णय गर्यो हामीलाई थाहा छैन।’ खानी खोल्दा नगरलाई आन्तरिक आय हुनेगरी सम्झौता गर्नुपर्ने कतिपयको राय छ भने वातावरणीय पक्षको ख्याल राख्नुपर्ने मत पनि छ। विजया सिमेन्ट्स प्रालीले भने आफुहरु कानुनी बाटोमा जाने बताएको छ।
यस्तै,मेयरको यो अभिव्यक्तीले उनलाई नै गिज्याएको स्थानीय झविन नेपालीले बताए। नगर भित्रका संवेदनशिल कुराहरु चोरी हुनुले नगरप्रमुख माथी नै प्रश्न खडा गरेको उनको भनाई छ। ‘नगरबाट के के चोरी हुन्छ ? यसको जिम्मा कसले लिने हो?,उनले भने,‘प्रमुख ज्यु को यो भनाईले उहाँलाई नै गिज्याएको छ।’
नगर प्रमुखको भनाईलाई सत्य मान्ने हो भने उपप्रमुख, कार्यपालिका सदस्यहरु र त्यहाँ कार्यरत कर्मचारीमाथि औंला तेर्सिएको छ। कार्यालय भित्रै पहुँच राख्ने व्यक्तिले किर्ते गर्न सहयोग गरेको हुनसक्ने अनुमान गरिएको छ। यसको सबै वास्तविकता के भन्नेबारे छानबिन भईरहेको नगरपालिका प्रमुख प्रशासकिय अधिकृत खिमानन्द आचार्यले बताए।
चुनढुंङ्गाको विषयले बादविवाद भईरहँदा नगर प्रमुखको अभिव्यक्तिले यति बेला माहोल तातेको छ। उनको यो अभिव्यक्तिले स्थानीय तहमाथि समेत प्रश्न उठेको छ। यस्तै, नगरले सुरक्षित राख्नुपर्ने लेटरप्याड, छाप र हस्ताक्षर कसरी बाहिरियो भन्ने विषयले यतिबेला नगरभित्रमात्रै हैन् सामाजिक सञ्जालमा समेत अनेकथरी टिकाटिप्पणी भईरहेको छ।
०६ चैत्र २०८०
•
३ मिनेट पाठ