माइतीघर मण्डलामा दीपाः सरकार, कोठा खाली छ ?
२१ वैशाख २०८३
•
८ मिनेट पाठ
माइतीघर मण्डलामा दीपाः सरकार, कोठा खाली छ ?
काठमाडौंको मुटुमा छ माइतीघर मण्डला–जहाँ कहिले विद्रोह, कहिले पीडा त कहिले आशाका आवाजहरू पोखिन्छन्। त्यसको केही कदम पर उभिएको छ सिंहदरबार–सत्ता, शक्ति र प्रशासनिक केन्द्र। त्यही केन्द्रभित्रै छ अचेल संसद्। नजिकै छ सर्वोच्च अदालत। राज्यका यी तीनै अङ्गले प्रत्यक्ष सुन्ने र देख्ने विश्वास भएरै होला, माइतीघर मण्डलामा दिनहुँजसो कुनै न कुनै नागरिक र नागरिक समूह आन्दोलनमा हुन्छन्।  




यो उहिल्यैदेखि नागरिक आवाज मुखरित गर्ने ‘साझा थलो’ बनिरहेको छ। यहाँ बोलिने कतिपय आवाजले सत्ता, शक्ति र राजनीतिक सामथ्र्य बदल्न बाध्य पार्छन्। त्यसको पछिल्लो उदाहरण हो—गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलन।  

यही स्थानमा विगत १३ दिनदेखि एउटा फरक आन्दोलन भइरहेको छ। त्यो आन्दोलनमार्फत केही युवाले प्रश्न गरिरहेका छन्—सरकार, कोठा खाली छ? यो प्रश्न गर्ने आन्दोलनको अगुवाइ  गरिरहेकी छिन्, कैलालीको घोडाघोडी नगरपालिका—४ की दीपा नेपालीले। देशको राजधानी, अवसर र समानताको प्रतीक बन्नुपर्ने यसको त्यही थलोमा सामान्य लाग्ने यही प्रश्नको उत्तर उनले १३ दिनसम्म पनि भेटाएकी छैन।  

दीपासँगै ती हजारौँ अदृश्य अनुहारहरू उभिएका छन्, जो काठमाडौंका गल्लीहरूमा कोठा खोज्दा कि आफ्नो ‘थर’ लुकाउन बाध्य छन्, कि त थरकै कारण विभेद भोग्न। तिनै विभेदमा परेकाहरूसहितको पीडा पोख्न आफू यहाँ उभिएको उनको भनाइ छ। ‘यो आन्दोलन ‘जात’ सोधेर कोठा भाडामा दिने वा नदिने मानसिकताको प्रतिरोधका लागि हो। यो प्रश्न कोठा खोज्दा ‘थर’ का कारण हिंसामा पर्ने दलितहरूको मात्रै होइन, भूगोल, अनुहारको रङ्ग र भाषाका कारण विभेद भोग्ने मधेसी र लैङ्गिक पहिचानकै कारण कोठा नपाउने फरक पहिचान भएका (एलजिबिटीक्युआई प्लस) व्यक्तिहरूको पनि हो’, दीपाले भनिन्।  

उनको बुझाइमा यो प्रश्न मानव अस्तित्व, सम्मान, समानताका लागि पनि हो। ‘यो सहरमा कोठा त छ, तर ‘तपाईंका लागि होइन’ भन्ने विभेदको ठूलो पर्खाल छ। त्यसैले यो आन्दोलन कोठा पाउनका लागि मात्रै होइन, हाम्रो अस्तित्व स्वीकारोक्तिका लागि हो’, दीपा भन्छिन्।

उनको स्वरमा रोषभन्दा बढी पीडा छ—त्यस्तो पीडा, जसले जातकै कारण नौ वर्षसम्म काठमाडौंका गल्ली–गल्ली धाउन बाध्य बनायो। यस अवधिमा कुनै घरबेटीले थर सोधेर कोठा दिएनन्। कुनैले नसोधी दिए, तर पछि थाहा पाएपछि निकालिदिए। कुनैले बैना फिर्ता गरिदिए, कसैले बसिसकेपछि विभिन्न बहानामा कोठा छोड्न बाध्य पारे।  

त्यसविरुद्ध दीपाले कैयौँ दिन प्रहरी चौकी धाउनुपर्यो। कैयौँ दिन अदालतका ढोका। त्यसबाट आत्मसम्मान र न्यायको अनुभूति नभएपछि आफूले व्यक्तिसँग नभई अब राज्यसँगै जवाफ खोज्ने निधो गरेर माइतीघरमा उभिनुपरेको उनको कथन छ।  

‘यो प्रश्न सुन्दा सामान्य लाग्न सक्छ। राजधानीमा कोठा नपाउने समस्या नयाँ पनि होइन। म मात्रै होइन, राज्य सञ्चालनको तहमा पुगेका सांसद, उच्च ओहदाका व्यक्तिले पनि त्यो पीडा भोगेका छन्’, दीपा भन्छिन्, ‘त्यसैले यो प्रश्न मेरो मात्रै होइन र यो प्रश्नमा केवल आवास समस्या मात्रै जोडिएको छैन, यससँग मानिसलाई उसको नाम र थरले मूल्याङ्कन गर्ने र सोचविरुद्धको आवाज जोडिएको छ।’

माइतीघर—जहाँबाट बोलेका आवाजहरू कहिलेकाहीँ सत्ताको ढोका ढक्ढक्याउँछन्। कहिले शासन बदल्छन्, कहिले नीति। कहिले समाजको अनुहार देखाउँछन्। त्यस्तै अनुहार देखाउन यसपटक आफू यहाँ उभिएको दीपाले बताइन्। उनको हातमा कुनै जटिल मागपत्र छैन। कुनै राजनीतिक नारा पनि छैन। छ त एक सरल प्रश्न, जसले असजिलो सत्य उजागर गर्छ—कोठा खाली छ, तर तपाईंका लागि होइन।

यसपटक दीपाको सङ्घर्ष त्यहीबाट सुरु भएको छ, जहाँ अधिकांश सङ्घर्षका कथाहरू अन्त्य हुन्छन्। ‘मैले त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर गरेँ, कानुन पनि पढेँ, तर शिक्षा र योग्यताभन्दा अघि मेरो पहिचान उभियो। त्यो पहिचान धेरैका लागि अपाच्चे भयो”, उनले पीडा सुनाइन्, ‘तर, म समस्याबाट भाग्दिन। हिजो न्यायका लागि जहाँ समस्या आयो त्यही सङ्घर्ष गरे। कतिपय व्यक्तिसँग लडे तर त्यसरी नसकिने रहेछ। यो सोचको उपज हिजोको राज्य संरचना हो, त्यसैले म आजको राज्य संरचनालाई प्रश्न गर्न यहाँ उभिएकी छु।’

राजधानी काठमाडौं—जहाँ अवसर छन्, सपना छन्। आलिशान महल छन्। धेरैको जीविका तिनै महलको भाडा रकमबाट चलिरहेको छ, तर विडम्बना यी महलमा आर्थिक अवस्थाले हेरेर होइन, जात सोधेर कोठा दिइन्छ। ‘हाकाहाकी यहाँ कोठा खाली छ, तर तपाईंका लागि होइन भनिन्छ। अनि कहाँ कहाँ गएर गुनासो गर्ने ?’, दीपा भन्छिन्।  

यसैकारण आफूले व्यक्तिभन्दा पनि राज्यसँगै समस्या समाधानको अपेक्षासहित माइतीघरमा आन्दोलन रोजेको र एक्लै सुरु भएको आन्दोलनमा विस्तारै अरूको ऐक्यबद्धता थपिँदै गएको उनले सुनाइन्।

‘सुरुमा एक्लै यहाँ उभिने निधो गरेँ, त्यसमा नजिकका साथीहरूले साथ दिए। पछिल्ला दिनमा सांसद, अधिकारकर्मी, कानुन व्यवसायी, विद्यार्थी र विभिन्न क्षेत्रका व्यक्तिले ऐक्यबद्धता जनाइरहेका छन्’, दीपाले भनिन्,’अब सरकारले हाम्रो आवाज सुन्नुपर्छ। वर्तमान सरकारले त आफ्नो एकसय बुँदे कार्यसूचीमै दलित समुदायमाथि भएको विभेदबारे क्षमायाचना गर्ने भनेको छ।’

नेपाल सरकार, मन्त्रिपरिषद्को गत चैत १३ गतेको बैठकबाट स्वीकृत एकसय बुँदे शासकीय सुधारका सूचीको ५ नम्बर बुँदामा भनिएको छ, ‘दलित तथा ऐतिहासिक रूपमा बहिष्कृत समुदायमाथि राज्य, समाज र नीतिगत संरचनाबाट भएको अन्याय, विभेद र अवसर वञ्चनाको स्वीकारोक्ति गर्दै सामाजिक न्याय, समावेशी पुनस्र्थापना र ऐतिहासिक मेलमिलापको आधार तयार गर्न १५ दिनभित्र राज्यका तर्फबाट औपचारिक क्षमायाचनासहित सुधारमुखी कार्यक्रम घोषणा गर्ने।’

सोही आधारमा सत्ताको नेतृत्वकर्ता दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले चैत १९ मा बसेको प्रतिनिधिसभा बैठकमा दलित समुदायमाथि राज्यले गरेको विभेदप्रति ‘रोष्ट्रम’बाट माफी मागेका थिए।  

दीपा भन्छिन्, ‘संविधानका धारा, कानुनका शब्द र संसद्का भाषणहरू कागजमा सीमित छन्। छुवाछूतलाई अपराध मान्ने ऐन छ, दलित अधिकार सुनिश्चित गर्ने संविधान छ—तर व्यवहारमा, एउटा कोठाको ढोका पनि खुल्न सकेको छैन। त्यसैले अब सरकारले माफी मागेर मात्रै हुँदैन, व्यवहार बदल्नका लागि ठोस पहलकदमी लिनुपर्छ।’

दीपाको भोगाइ– जातको तगारो !

माइतीघरको चोकमा आउनुअघि उनले धेरै बाटो हिँडेकी छिन्। काठमाडौंका धेरै गल्ली, प्रहरी चौकी र अदालतको बाटो। ‘नौ वर्षअघि सुन्दर भविष्यको सपना बोकेर कैलालीबाट यहाँ आएँ’, उनी भन्छिन्, ‘तर, सुरुदेखि नै जात तगारो बन्यो। कोठा खोज्दा धेरै ठाउँमा ‘थर’ कै कारण विभेद भोग्नुपर्यो।’

काठमाडौं आउँदा दीपालाई लागेको थियो—सहर फरक हुन्छ। यहाँ गाउँको जस्तो विभेद हुँदैन। यहाँ समान अवसर हुन्छन्, क्षमताअनुसार तिनलाई पछ्याउन सकिन्छ तर त्यो विश्वास धेरै टिकेन। यहाँ आएको केही समयमै पाठ सिक्नुभयो—यो सहर पनि जातविहीन छैन। ‘सभ्य र शिक्षित भनिएको समाजमा पनि विभेदका पर्खाल रहेछन्, त्यसैले यहाँ पलपलमा अपमानित हुनुपर्यो’, उनी भन्छिन्।

दीपाले सुनाएअनुसार उनले नौ वर्षमा नौभन्दा बढी कोठा खोज्नुपर्यो। हरेक कोठामा एउटा अनुभव र अपमान भोग्नुपर्यो। ‘कतिले थर सोधेरै कोठा दिएनन्। कतिले थाहा पाएपछि निकालिदिए। शिक्षित भनिएको यो समाजले मेरो पहिचानलाई स्वीकारेन्’, दीपाले भनिन्।

उनले घर छोड्दा उच्च शिक्षा पढ्ने र सरकारी जागिरे बनेर देशको सेवा गर्ने सपना बोकेकी थिइन्। यहाँ आएपछि त्यो सपनाको भारी बिसाउन पाइएकै छैन। सुरुमा कक्षा कोठाका अतिरिक्त बस्ने कोठा खोज्न गल्लीगल्ली धाउनुपपर्यो। पछि प्रहरी प्रशासन र अड्डा अदालत।  

‘जुन सपना बोकेर यहाँ आएकी थिए, ती अधुरै छन्। साथीहरू पढ्थे, म कोठा खोज्थेँ। साथीहरू लोक सेवा तयारी कक्षा जान्थे, म चाहिँ मान्छे बन्न पाऊँ भनेर प्रमाण देखाउन प्रहरी र अदालत धाउँथे’, उनी भन्छन्, ‘तर, काठमाडौंले अर्को यथार्थ देखायो, यहाँ सपनाभन्दा पहिचान ठूलो हुँदोरहेछ। काठमाडौंले त मेरो थरलाई बैरी ठान्यो १ मैले तुलना होइन, यो एउटा अन्तर भनिरहेकी छु—अवसर र अवरोधबीचको अन्तर।’

अन्याय भोग्नुभन्दा बढी उहाँलाई न्याय खोज्दा असजिलो भयो। न्यायका लागि आवाज उठाउँदा थप प्रताडित हुनुपर्ने अवस्था बन्ने गरेको दीपाको भोगाइ छ। ‘विभेदविरुद्ध बोल्न थालेपछि मिडियामा आए, तर यसले न्यायभन्दा बढी समस्या बढायो। धेरैले चिन्न थाले, विद्रोही केटी भनेर कोठा पाउन झन् कठिन भयो। न सरकारका निकायबाट न्यायको अनुभूति भयो, न त समाजबाट।’

उनको छवि जातीय विभेदविरुद्ध ‘पोष्टर गर्ल’ का रुपमा स्थापित हुँदै गयो तर समस्या सकिएन। बरु समस्यामाथि समस्या थपिँदै गयो। अपरिचित हुने बेलाभन्दा परिचित भएपछि थप ‘ढोका’ बन्द हुँदैछन्। ‘अब त काठमाडौंबाटै पलायन हुनुपर्ने अवस्था आउँदैछ। जब आधारभूत आवश्यकतामा नै जातले रोक्छ, भविष्यको बाटो कसरी सहज हुन्छ ? त्यसैले व्यक्तिगत सपना छोडेर आत्मसम्मान खोज्ने सङ्घर्षमा छु। हेरौँ के के आइपर्छ’, उनले खिन्नता प्रकट गरिन्।  

पछिल्ला दिनमा सरकारका निर्णय र स्थानीय तहका कतिपय नीतिले विभेदको जोखिम थप बढेको दीपाले बताइन्। ‘कोठामा बस्दा अनिवार्य नागरिकता वा पहिचान खुल्ने कागज माग्न थालिएको छ। नियम बदलिएको छ तर विभेद गर्ने सोच बदलिएको छैन। यसले थप समस्या भयो’, दीपाले भनिन्, ‘सरकारको सोच सही नै होला, तर कतिपयले त्यसलाई विभेद गर्ने हतियार बनाउन थालेका छन्। यस्तो बेला राज्यले सहजीकरण गर्नुपर्छ।’

उनले कोठा बहालमा हुने सबै प्रकारका विभेदको अन्त्य, छुवाछूतविरुद्ध शून्य सहनशीलता, विभेदरहित आवास अधिकारको सुनिश्चितता, कडा कानुनी सजाय र प्रभावकारी कार्यान्वयन, भाडासम्बन्धी कानुन निर्माण गरी यसका नाममा हुने दलाली नियन्त्रण, समावेशी र न्यायपूर्ण सहर निर्माणलगायत विषयमा सरकारबाट निर्णायक हस्तक्षेप चाहेको बताइन्।

‘त्यो हस्तक्षेप नभएसम्म सरकारसँग प्रश्न गरिरहने छु, सरकार कोठा खाली छ ? यो प्रश्नमा कोठा मात्रै छैन,  एउटा सहरको चरित्र, राज्यको जिम्मेवारी र नागरिकको अधिकार छ भनेर बुझिदिनुपर्छ’, दीपाले भनिन्, ‘पछिल्ला दिनमा मसँगै माइतीघरमा आएर दलित, गैरदलितलगायत अधिकारकर्मी, सांसद, जिम्मेवार निकायका प्रतिनिधिहरूले ऐक्यबद्धता जनाइरहनुभएको छ। अब सरकारले पनि ठोस नीतिसहित ऐक्यबद्धता जनाउन आउनुपर्छ।’
अर्को समाचार
कानुन बनाउने सांसदहरू नै धर्नामा !
११ साउन २०८३
•
५ मिनेट पाठ
कानुन बनाउने सांसदहरू नै धर्नामा !
संसद् भनेको कानुन बनाउने, सरकारलाई जवाफदेही बनाउने र नागरिकका आवाज संस्थागत रूपमा सम्बोधन गर्ने सर्वोच्च थलो हो। तर, जब त्यही संसद्का सदस्यहरू नागरिकसँगै सडकमा धर्ना बस्न बाध्य हुन्छन्, त्यसले लोकतान्त्रिक संयन्त्रको प्रभावकारितामाथि गम्भीर प्रश्न उठाउँछ।  




दलित युवती दीपा नेपालीले कोठा भाडामा हुने जातीय विभेदको अन्त्यको माग गर्दै माइतीघरमा थालेको आन्दोलनमा सांसदहरू नै ऐक्यबद्ध हुन सडकमा उत्रिनु, सरकारको उदासीनताको संकेतका रूपमा हेरिएको छ।

‘सरकार, कोठा खाली छ ?’ भन्ने नारासहित दीपा नेपालीले गत वैशाख ६ गतेदेखि माइतीघर मण्डलामा निरन्तर धर्ना दिँदै आएकी छन्। उनको माग छ, ‘कोठा भाडामा दिँदा दलित समुदायलाई जात सोधेर कोठा नदिने, जात थाहा पाएपछि विभिन्न बहानामा निकाल्ने जस्ता विभेदकारी अभ्यास अन्त्य गर्न आवश्यक कानुनी व्यवस्था गरियोस्।’

No description available.
शान्तिपूर्ण रूपमा आन्दोलन थालेको एक सय दिनभन्दा बढी बितिसक्दा पनि सरकारले वार्ताका लागि नबोलाएपछि उनले प्रतिनिधिसभा, राष्ट्रियसभा र प्रदेशसभाका सांसदहरूलाई धर्नामा सहभागी हुन अपिल गरेकी थिइन्। त्यसैअनुसार सोमबार दिउँसो ३ बजेदेखि ५ बजेसम्म माइतीघरमा सांसदहरूले धर्ना दिएर आन्दोलनप्रति ऐक्यबद्धता जनाए। उनीहरूले आवश्यक परे आगामी चरणका आन्दोलनमा पनि साथ दिने प्रतिबद्धता व्यक्त गरे।

धर्ना कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका सांसद गणेश बिकेले संसद्मा पटक–पटक यो विषय उठाउँदा पनि सरकारले बेवास्ता गरेको बताए। उनले दलित समुदायको मात्र नभई मानवअधिकार र सामाजिक न्यायसँग जोडिएको आन्दोलन भएकाले यसलाई गम्भीर रूपमा सम्बोधन गर्नुपर्ने धारणा राखे। मन्त्री, संसदीय समितिका सभापति तथा प्रधानमन्त्रीसमक्ष समेत विषय राखिएको र पछिल्ला तीन दिनदेखि संयुक्त दलित राजनीतिक संघर्ष समिति पनि आन्दोलनमा सहभागी भएको जानकारी दिँदै उनले लिखित सम्झौता नभएसम्म धर्ना नरोकिने बताए।

राष्ट्रियसभा सदस्य सोम पोर्तेलले अन्य आन्दोलनमा सरकार वार्ताका लागि स्थलमै पुग्ने गरेको उल्लेख गर्दै, यस आन्दोलनको एक सय दिन पुग्दासमेत सरकारले कुनै चासो नदिएको टिप्पणी गरे। उनले दलित समुदायले अझै पनि समान नागरिकको व्यवहार नपाएको भन्दै यो अवस्था लोकतान्त्रिक राज्यका लागि लज्जास्पद भएको बताए।

No description available.
नेकपा एमालेका केन्द्रीय सदस्य जितु गौतमले कोठा भाडामा हुने विभेदको विषयलाई साउन १४ गतेदेखि सुरु हुने प्रतिनिधिसभा बैठकमा उठाउने प्रतिबद्धता जनाए। उनले दलित आन्दोलनका मुद्दामा निरन्तर खबरदारी गर्ने बताए।

प्रतिनिधिसभा सदस्य पवित्रा विश्वकर्माले उच्च शिक्षा अध्ययनका लागि सहर आएका दलित विद्यार्थीको पहिलो संघर्ष नै डेरा खोज्ने क्रममा हुने गरेको उल्लेख गरिन्। उनले विभेद अन्त्यका लागि सरकारलाई लिखित सुझाव दिइसकिएको भए पनि कुनै सुनुवाइ नभएको गुनासो गरिन्। जातीय विभेदका घटनामा पीडितले सहज रूपमा जानकारी गराउन सक्ने संयन्त्र बनाउन प्रस्ताव गरिएको तर त्यससमेत कार्यान्वयन नभएको उनको भनाइ थियो।

नेपाली कांग्रेसका नेता जीवन परियारले दीपा नेपालीको आन्दोलन सामाजिक न्यायको आन्दोलन भएकाले उचित सम्बोधन नभएसम्म आन्दोलन जारी रहने बताए। गैरदलित अभियन्ता सञ्जीव कार्कीले यो दलित समुदायको मात्र नभई सम्पूर्ण समाजको मुद्दा भएको भन्दै आफू नियमित रूपमा धर्नामा सहभागी हुँदै आएको बताए। लेखक अभय श्रेष्ठले पनि पटक–पटक आन्दोलनमा सहभागी हुँदै ऐक्यबद्धता जनाएको उल्लेख गरे। कार्यक्रममा काठमाडौं महानगरपालिकाका दलित महिला जनप्रतिनिधि, प्रदेशसभा सदस्य, नागरिक अधिकारकर्मी लगायतको उपस्थिति थियो।

धर्नामा सहभागी सांसदहरूले सरकारलाई समयमै समस्या समाधान गर्न आग्रह गर्दै बेवास्ता जारी रहे आन्दोलनले थप व्यापक रूप लिन सक्ने चेतावनी दिएका छन्।

No description available.
गैरदलित सांसदको न्यून उपस्थिति

आन्दोलनकी अगुवा दीपा नेपालीले सबै सांसदलाई धर्नामा सहभागी हुन आग्रह गरे पनि गैरदलित सांसदहरूको उपस्थिति अत्यन्त न्यून रहेकोमा असन्तुष्टि व्यक्त गरिन्। उनका अनुसार पुराना दलका अधिकांश दलित सांसद उपस्थित भए पनि गैरदलित सांसद भने दैलेख क्षेत्र नम्बर–२ का एमाले सांसद लक्ष्मी पोखरेल मात्र सहभागी भए।

उनले यो आफ्नो व्यक्तिगत मुद्दा नभई मानवअधिकार र सामाजिक न्यायको प्रश्न भएकाले सबै सांसदले जिम्मेवारीपूर्वक साथ दिनुपर्ने बताइन्। जात सोधेर कोठा नदिने वा जात थाहा पाएपछि निकाल्ने प्रवृत्ति सामान्य घटना नभए पनि गैरदलित सांसदहरूले यसलाई पर्याप्त गम्भीरताका साथ नलिएको अनुभूति भएको उनको भनाइ थियो।

No description available.
सांसद् किन धर्नामा उत्रनुपर्‍यो ?

संसद् सरकारलाई उत्तरदायी बनाउने संस्था हो। तर, संसद्भित्र आवाज उठाउँदा पनि सुनुवाइ नहुने अवस्था आएर सांसदहरू नागरिकसँगै सडकमा धर्ना बस्नुपर्ने परिस्थिति सिर्जना हुनु लोकतान्त्रिक प्रणालीकै कमजोरीको संकेत हो। अझ संविधानले छुवाछुत र जातीय विभेदलाई स्पष्ट रूपमा निषेध गरिसकेको अवस्थामा कोठा भाडामा हुने विभेद रोक्न राज्यले प्रभावकारी कानुनी तथा प्रशासनिक कदम चाल्न नसक्नु चिन्ताको विषय हो।

दीपा नेपालीको आन्दोलनले एउटा व्यक्तिको समस्या मात्र होइन, कानुन र व्यवहारबीचको ठूलो खाडल उजागर गरेको छ।  

यदि संसद्मा उठेको आवाज पनि सरकारसम्म पुग्दैन भने कानुन बनाउने सांसदहरू नै सडकमा धर्ना बस्नुपर्ने बाध्यता किन आयो? लोकतन्त्रको वास्तविक परीक्षा यस्तै प्रश्नहरूको जवाफ व्यवहारमै दिन सक्ने क्षमताले तय गर्छ।
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस