नेपाल–चीन सीमामा बाढी आउनुभन्दा अन्तिम मिनेट
१६ भदौ २०८३
•
८ मिनेट पाठ
नेपाल–चीन सीमामा बाढी आउनुभन्दा अन्तिम मिनेट
भिडियो केही सेकेन्डको मात्र छ। नेपाल–तिब्बत सीमाको चिनियाँ तर्फ रहेको जिरोङमा भवनहरूको पछाडिबाट एउटा अँध्यारो पर्खालजस्तो दृश्य देखिन्छ। सुरुमा त्यो लगभग कालो बादलजस्तो देखिन्छ। त्यसपछि त्यसले आकार र गति लिन्छ—पानी, हिलो, ढुङ्गा, बरफ र चट्टान तीव्र गतिमा तल झर्दै आएका देखिन्छन्। सीसीटीभी फुटेजमा स्थानीय समय बिहान १०ः५९ः५३ बजेको टाइमस्ट्याम्प देखिन्छ।




त्यसपछिका केही मिनेटमा वास्तवमा के भएको थियो भन्नेबारे यकिन गर्न अझै कठिन छ। तर विपत्तिअघि र पछिका भिडियो तथा उपग्रह तस्बिरहरूले विनाशको परिमाण प्रस्ट पार्न थालेका छन्। सीमा परिसरको अधिकांश भाग बगाएको देखिन्छ। केही सेकेन्डअघिसम्म भीडभाड भएका भवनहरू आँखा झिम्क्याउँदा गायब भएका छन्। भदौ १० गते आएको बाढीले जिरोङ क्षेत्रलाई तहसनहस पारेको स्थानहरूमध्ये यो पनि एक हो।

सीमापारि नेपालको रसुवा जिल्लाको रसुवागढीमा पनि विनाश व्यापक छ। नेपाल र चीनलाई जोड्ने मैत्री पुल, नेपालको अध्यागमन कार्यालय र भन्सार सुविधा बगाएको छ। सीमा नाका वरपर रहेको सानो व्यापारिक बस्ती टिमुरे पनि पूर्ण रूपमा ध्वस्त भएको छ।

‘यो काठमाडौं र तिब्बतबीचको ऐतिहासिक यात्रा मार्ग हो। यो क्षेत्र भौगोलिक रूपमा अत्यन्तै कमजोर छ। यहाँ गहिरा खोँच र ठाडा नदीहरू छन्, जसमा पानी उच्च गतिमा बग्छ, धेरै थेग्रो बोक्छ र ठूला ढुङ्गासमेत खसाल्न सक्छ’, काठमाडौंका जलविद् अजय दीक्षित भन्छन्।

यो मार्ग नेपाल र चीनबीचको एक महत्त्वपूर्ण प्रवेशद्वार हो। यही बाटो हुँदै कैलाश पर्वततर्फ जाने तीर्थयात्री, व्यापारी, ट्रक चालक, भन्सार अधिकारी, पर्यटक तथा सीमावर्ती क्षेत्रमा बसोबास गर्ने मानिसहरू आवतजावत गर्थे।

बाढी आएको बिहान सीमा क्षेत्रमा १०० भन्दा बढी भारतीय नागरिक रहेको हुन सक्ने अनुमान गरिएको छ। भारतको विदेश मन्त्रालयका अनुसार नेपालमा कम्तीमा २७५ भारतीय नागरिक बेपत्ता छन्।

नेपालको अध्यागमन विभागले विपद्अघि अन्तिम घण्टामा रसुवागढी हुँदै आवतजावत गरेका व्यक्तिहरूको विवरण खोज्ने प्रयास गरिरहेको छ।

विद्युतीय अभिलेखअनुसार ८९ जना नेपाली तथा विदेशी नागरिकले तिब्बत जान नेपालबाट प्रस्थान अनुमति लिएका थिए भने चार जनाले नेपाल प्रवेश गरेको अभिलेख छ।

अध्यागमन प्रणालीले आफ्नो अन्तिम कारोबार स्थानीय समय बिहान ८ः३५ः०३ बजे (तिब्बत समयअनुसार १०ः५२ बजे) रेकर्ड गरेको थियो, जुन जिरोङको सीसीटीभी फुटेजमा बाढी देखिनुभन्दा १० मिनेटभन्दा कम समयअघि हो।

रसुवागढी कार्यालय प्रमुखसहित चार जना अध्यागमन कर्मचारी बाढीमा बेपत्ता भए। कार्यालय प्रमुखको शव पछि धेरै तल फेला पर्‍यो भने अन्तिम कारोबार रेकर्ड गर्ने महिला कर्मचारी अझै बेपत्ता छिन्।

त्यो बिहान नेपालबाट फर्किएका विदेशी नागरिकमध्ये ३२ जना भारतीय, १२ जना चिनियाँ तथा नौ जना अमेरिकी थिए। साथै बेलायत, क्यानडा, अष्ट्रेलिया र इटालीका नागरिक पनि थिए।

रसुवागढीका वरिष्ठ अध्यागमन सहायक टीकाराम पोखरेल कार्यालयका एकमात्र जीवित कर्मचारी हुन्। उनी त्यस दिन परीक्षा दिन काठमाडौं गएका थिए।

उनका अनुसार विद्युतीय अभिलेखले त्यो बिहान सीमामा भएको घटनाको केवल एक अंश मात्र देखाउँछ।

अध्यागमन कार्यालय टिमुरेभन्दा करिब १.५ किलोमिटर उत्तरमा रहेको घट्टेखोला बजारमा थियो। त्यहाँबाट तिब्बतसँगको सीमा चिन्हित गर्ने मैत्री पुलसम्म पुग्न अझै करिब दुई किलोमिटर यात्रा गर्नुपर्थ्यो। त्यस क्षेत्रमा पसल, होटल तथा पार्किङ स्थल थिए, जहाँ यात्रु र सवारीसाधन सीमा पार गर्नुअघि भेला हुन्थे।

पोखरेलका अनुसार नेपाली अध्यागमन कार्यालय बिहान ८ बजे खुल्थ्यो। यात्रुहरूले अध्यागमन प्रक्रिया पूरा गरेपछि सीमा क्षेत्रतर्फ जान वा सीमा पार गर्नुअघि त्यहीँ पर्खिन सक्थे।

त्यस बिहान ८ः२० बजे पोखरेलले सहकर्मीलाई फोन गर्दा सीमा असामान्य रूपमा व्यस्त रहेको जानकारी पाए। उनका अनुसार करिब ३०० देखि ४०० जना नेपालबाट तिब्बत जान प्रतीक्षारत थिए भने चिनियाँ पक्षबाट आएका अन्य मानिसहरू पनि त्यस क्षेत्रमा थिए।

‘त्यो बिहान नेपाली अध्यागमन प्रक्रिया पूरा गरेका धेरैले चिनियाँ अध्यागमन प्रक्रिया पूरा गर्न नै सकेनन् जस्तो देखिन्छ’, पोखरेलले भने।

उनका अनुसार नेपाली अध्यागमन कार्यालयबाट मैत्री पुलसम्म पैदल पुग्न १५–२० मिनेट लाग्थ्यो। अघिल्लो साँझ ढिलो आइपुगेका यात्रुहरूले कहिलेकाहीँ भोलिपल्ट बिहान सीमा खुल्दासम्म पर्खनुपर्थ्यो। समूह वा बसमा यात्रा गर्नेहरू पनि सबै सदस्यको अध्यागमन प्रक्रिया पूरा भएपछि मात्र अघि बढ्थे।

यसैले बाढी आउँदा ती ८९ जना वास्तवमा कहाँ थिए भन्ने स्पष्ट हुन सकेको छैन।

नेपालको जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले तयार पारेको समयरेखाअनुसार बिहान ८ः३७ बजे अर्थात् अध्यागमन प्रणालीको अन्तिम कारोबार रेकर्ड भएको दुई मिनेटभन्दा कम समयपछि भूकम्पीय उपकरणहरूले सीमामाथिका पहाडमा असामान्य गतिविधि रेकर्ड गरेका थिए। अनुसन्धानकर्ताहरूका अनुसार हिमनदीको एउटा भाग भत्किँदा आएको बाढीले यो विपत्ति निम्त्याएको हो।

चीनले पनि पहिरो आफ्नो उत्पत्तिस्थलबाट सीमा नाकासम्म पुग्न करिब सात मिनेट लागेको जनाएको छ।

त्यस बेला सीमा क्षेत्रमा रहेका मानिसहरू पुलतर्फ गइरहेका, घट्टेखोलामा पर्खिरहेका वा चिनियाँ अध्यागमनतर्फ जाने तयारी गरिरहेका हुन सक्थे। तर प्रत्येक व्यक्ति कहाँ थिए भन्ने अझै स्पष्ट छैन।

घट्टेखोला केवल प्रतीक्षास्थल मात्र थिएन। पोखरेलका अनुसार त्यहाँ ५०–६० वटा घर, होटल, स्थानीय व्यवसाय तथा चारवटा जलविद्युत् आयोजनाका कार्यालय थिए।

यो काठमाडौंबाट आउने बसहरूको अन्तिम बिसौनी पनि थियो। भन्सार क्लियरेन्सको प्रतीक्षामा रहेका चालक, सहचालक, पर्यटक गाइड तथा कार्गो कामदारहरू पनि त्यहीँ बस्ने गर्थे। तिब्बत जाने यात्रुहरू प्रायः अघिल्लो दिनदेखि नै त्यहाँ लाइनमा बस्थे। ‘मेरा ४०–५० जना नजिकका साथीहरू हराइरहेका छन्,’पोखरेलले भने।

उनको विश्वासमा आधिकारिक तथ्याङ्कभन्दा मृत्यु हुनेको संख्या धेरै हुन सक्छ। उनका अनुसार ‘२,००० देखि २,५०० मानिस’ बाढीको चपेटामा परेका हुन सक्छन्।यद्यपि यो उनको व्यक्तिगत अनुमान मात्र हो र स्वतन्त्र रूपमा पुष्टि भएको छैन।

पोखरेलका अनुसार अध्यागमन कार्यालय नदीभन्दा करिब १०० मिटर माथि थियो। तर बाढीका बेला पानी त्यसभन्दा माथिसम्म पुगेको देखिन्थ्यो। सुरुमा उनले हराएका सहकर्मीहरू माथिल्लो चरन क्षेत्रमा भाग्न सफल भएका होलान् भन्ने आशा गरेका थिए।

सीमामा रहेका केही भारतीय तीर्थयात्रीका लागि त्यो बिहान सामान्यजस्तै सुरु भएको थियो। उनीहरूले घरमा रहेका आफन्तलाई भिडियो कल गरेका थिए, सामाजिक सञ्जालका लागि भिडियो बनाएका थिए र चिनियाँ अध्यागमन खुल्ने प्रतीक्षामा हिमाली दृश्यहरू कैद गरिरहेका थिए।

सुदिप्तो भट्टाचार्यले आफ्नी श्रीमती शुभ्रश्री चक्रवर्तीबाट लगातार सन्देश पाइरहेका थिए। उनी ६० भन्दा बढी सदस्य रहेको समूहसँग यात्रा गरिरहेकी थिइन्। बिहान ७ः५७ बजे उनले राहदानीमा लागेको नेपाली प्रस्थान छापको फोटो पठाइन्।

छ मिनेटपछि अर्थात् ८ः०३ बजे उनले अर्को सन्देश पठाइन्, ‘हामी चीन प्रवेश गर्न पर्खिरहेका छौं।’ त्यसपछि उनका सबै सन्देश बन्द भए।

चिनियाँ अध्यागमन क्षेत्रमा रहेका व्यक्तिमध्ये कैलाश पर्वतबाट फर्किरहेका ईशा फाउन्डेसनसँग सम्बन्धित ७७ जना तीर्थयात्रीको समूह पनि थियो। बाढी आएपछि तीन जना कर्मचारीसहित उनीहरू बेपत्ता भएका थिए।

२१ सदस्यीय चिनियाँ उद्धार टोली जिरोङ पुगेपछि एक उद्धारकर्ताले रोयटर्ससँग भने, ‘आँखाले देख्न सक्ने ठाउँसम्म भग्नावशेषबाहेक केही थिएन।’

यो नाका हालै मात्र अर्को ठूलो बाढीबाट पुनः सञ्चालनमा आएको थियो। जुलाई २०२५ मा आएको बाढीले रसुवागढी नाका करिब छ महिनासम्म बन्द भएको थियो। चीनले अस्थायी पुल बनाएपछि जनवरी १ मा नाका पुनः सञ्चालनमा आएको थियो।

त्यसपछि यातायात फेरि सामान्य बन्दै गएको थियो। चिनियाँ सीमा अधिकारीहरूका अनुसार जुन महिनासम्म एक लाखभन्दा बढी मानिस जिरोङ हुँदै आवतजावत गरेका थिए।

नेपाली अध्यागमन अभिलेखअनुसार जुलाई मध्यसम्मको अवधिमा रसुवागढीमा ५३ हजार ७४२ आगमन तथा प्रस्थान दर्ता भएको थियो। यी दुई तथ्याङ्क फरक रिपोर्टिङ अवधि र गणना प्रणालीमा आधारित भएकाले प्रत्यक्ष तुलना गर्न कठिन छ।

नेपाली अध्यागमन अभिलेखअनुसार भारतीय नागरिक सबैभन्दा ठूलो समूह थिए। त्यसपछि नेपाली र चिनियाँ नागरिक थिए।

जिरोङ नेपाल र चीनलाई जोड्ने मुख्य व्यापारिक नाकामध्ये एक बनेको थियो। काठमाडौंस्थित साउथ एसिया वाच अन ट्रेड, इकोनोमिक्स एन्ड इन्भाइरोमेन्टका अवकाशप्राप्त अध्यक्ष पोषराज पाण्डेका अनुसार रसुवागढी र तातोपानी चीनसँग नेपालको दुई प्रमुख व्यापारिक नाका हुन्। रसुवागढीले चीनसँग नेपालको करिब २.९५ अर्ब अमेरिकी डलर बराबरको व्यापारको झण्डै एक तिहाइ हिस्सा ओगटेको छ।

हरेक दिन करिब ६०–७० ट्रक इलेक्ट्रोनिक्स, मेसिनरी, सवारीसाधन, फलफूल, कपडा तथा अन्य सामग्री बोकेर काठमाडौं आउने गर्थे। पाण्डेका अनुसार चीनबाट नेपाल भित्रिने करिब ८० प्रतिशत विद्युतीय सवारीसाधन पनि यही नाकाबाट आयात हुन्थे।

यो नाका बन्द भएपछि नेपाल तातोपानी नाकामा बढी निर्भर हुन पुगेको छ। तर चिनियाँ अधिकारीहरूले नेपालीतर्फ पहिरोको जोखिम देखाउँदै तातोपानी नाका पनि अस्थायी रूपमा बन्द गरेका छन्। 

यो मार्ग नेपाल र चीनबीच प्रस्तावित हिमालय वारपार रेलमार्गको सम्भावित रुट पनि हो। ‘नेपालले चीनसँगको वैकल्पिक व्यापारिक मार्ग विकास गर्नुपर्छ। एउटै नदी प्रणालीमा जलविद्युत् आयोजनाको अत्यधिक केन्द्रीकरणसहितको विकास रणनीतिबारे पुनर्विचार गर्न आवश्यक छ’, पाण्डे भन्छन्।

‘हामीले सबै अण्डा एउटै टोकरीमा राखेका छौं। अब वैकल्पिक सीमा नाका विकास गर्नैपर्छ’, उनले भने।

सीमापारि पोखरेल अहिले पनि हराएका सहकर्मीहरूसँग भएका अन्तिम कुराकानी सम्झिरहेका छन्।

अघिल्लो वर्षको बाढीपछि रसुवागढी अध्यागमन कार्यालयका कर्मचारीहरू जोखिमबारे राम्ररी जानकार थिए। उनका अनुसार राति उनीहरूले कहिलेकाहीँ जमिन कम्पन भएको महसुस गर्थे र नदीको अवस्था हेर्न बाहिर निस्कन्थे। अर्को बाढी आएमा माथिल्लो भागतर्फ भाग्नेबारे उनीहरूले आपसमा छलफल पनि गरेका थिए।

‘तर मेरा साथीहरूले त्यो मौका नै पाएनन्, उनले भने।
अर्को समाचार
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
१ घण्टा अघि
•
१ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
जुम्ला। डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।




नागरिकता प्रमाणपत्रलगायत जिल्ला प्रशासन कार्यालयबाट प्रवाह हुने सेवा उपलब्ध गराउने उद्देश्यले धोमा इलाका प्रशासन कार्यालय स्थापना गरिएको छ।यसअघि शे–फोक्सुण्डो, छार्काताङसोङ र डोल्पोबुद्ध गाउँपालिकाका नागरिक प्रशासनिक कामका लागि दुनै पुग्न बाध्य थिए।

भौगोलिक विकटताका कारण सेवा लिनै २५ देखि ३० हजार रुपैयाँसम्म खर्च गर्नुपर्ने अवस्था थियो। अब धोमा कार्यालय स्थापना भएपछि तीनवटै स्थानीय तहका नागरिकलाई प्रशासनिक सेवा लिन सहज हुने भएको छ।

इलाका प्रशासन कार्यालयका प्रमुख पदमबहादुर शाहीको अध्यक्षता तथा डोल्पोबुद्ध गाउँपालिकाका अध्यक्ष कार्मा छोइवेल गुरुङले कार्यालय उद्घाटन गरेका हुन्।

जिल्ला प्रशासन कार्यालय डोल्पाले २०८० असोज २५ गते गृह मन्त्रालयलाई पत्राचार गर्दै माथिल्लो डोल्पामा इलाका प्रशासन कार्यालय स्थापना गर्न प्रस्ताव गरेको थियो। २०८० चैत ५ गते मन्त्रालयलाई पठाइएको अर्को पत्रमा तीनवटै स्थानीय तहका नागरिकको प्रशासनिक पहुँच सहज बनाउन धोमा कार्यालय स्थापना गर्नुपर्ने आवश्यकता औंल्याइएको थियो।

जिल्ला प्रशासन कार्यालयका अनुसार शे–फोक्सुण्डोमा एक हजार ९४२, छार्काताङसोङमा आठ हजार ७४२ र डोल्पोबुद्धमा एक हजार २५६ जनसंख्या छ। भौगोलिक विकटताका कारण लामो समयदेखि प्रशासनिक सेवाबाट कठिनाइ भोगिरहेका यी क्षेत्रका नागरिकका लागि कार्यालय स्थापना राज्यको सेवा गाउँसम्म पुर्‍याउने महत्वपूर्ण कदम बनेको छ।
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock ४६ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस