मोदी खोलामा बजेको खतराको घण्टी !
२४ भदौ २०८३
•
७ मिनेट पाठ
मोदी खोलामा बजेको खतराको घण्टी !
हिमनदी भत्केर भोटेकोशी–त्रिशूली नदीमा गएको प्रलयकारी बाढीले निम्ताएको शोक र त्रासदी अझै मत्थर भइसकेको छैन।




ठूलो जनधनको क्षतिसहित मुलुकलाई नै आक्रान्त पार्ने गरी भएको उक्त घटनाले नेपालको हिमालय क्षेत्रमा जुनसुकै बेला निम्तन सक्ने विपद्जन्य जोखिमलाई थप उजागर गरेको छ।

हिमनदी र हिमतालकै कारण हिमाली भेगमा अप्रत्यासित घटना हुनसक्ने विज्ञहरुको चिन्ताबीच भोटेकोशी–त्रिशूली  बाढीले भयावह विनाश मच्चाएको छ।

शताब्दीकै ठूलो र विनाशकारी मानिएको यस विपत्तिपछि हिमालय क्षेत्रमा उत्पन्न हुनसक्ने विपद् र त्यसले तल्लोतटीय क्षेत्रमा ल्याउने सम्भावित विनाश र मानवीय सङ्कटले यतिबेला सबैलाई झस्काएको छ।

अन्नपूर्ण हिमालको फेदबाट उत्पत्ति भएर कास्की, पवर्त हुँदै कालीगण्डकी नदीमा मिसिने मोदी खोलाले पनि यसपालिको मनसुनमा पटकपटक बाढीको रुप लियो।

मानवीय क्षति नभए पनि व्यक्तिका घर, सम्पत्ति, सडक, जलविद्युत् केन्द्र आदिमा क्षति पुग्यो। कतिपय परिवार थातथलोबाट विस्थापित हुन बाध्य भए।

यस क्षेत्रको मुख्य पर्यटकीय मार्ग बीरेठाँटी–घान्द्रुक सडक क्षतिग्रस्त हुँदा आउजाउ प्रभावित भएको छ।

स्थानीयवासीका अनुसार गत असारयता मोदी खोलामा तीनपटकसम्म ठूलो बाढी आयो। पछिल्लोपटक गत साउन २८ गते राति गएको बाढीले कास्कीको अन्नपूर्ण गाउँपालिका–८ स्थित बीरेठाँटी बजारका केही घर र सडक कटान गरेको थियो।

‘मोदी खोलामा मैले पहिलोपटक त्यति ठूलो बाढी आएको देखेँ’, ५५ वर्षीया रजनी गौचनले भने, ‘अहिले पनि ठूलो पानी प¥यो कि रातभर जागा बस्नुपर्छ।’

धार नै परिवर्तन गरेर मोदी खोला बजारतिर सोझिएपछि बीरेठाँटीबासी अझै पनि त्रस्त छन्। बाढीको कटानले बीरेठाँटी बजार जोखिममा परेको छ।

बाढीले बगाएको बीरेठाँटी–घान्द्रुक सडक खण्डमा अस्थायी मार्ग खोल्ने काम भइरहेको छ। कटान नियन्त्रण गरी खोलालाई पुरानै बहावमा फर्काउन काम सुरु भएपछि त्रास केही घटेको होटल व्यवसाय गर्दै आएकी गौचनले सुनाए।

‘गत साउनकै जत्रो बाढी आए त कस्को के लाग्यो र तर बजारतिर आएको खोलाको धार पुरानै ठाउँमा गएकाले अहिले मन केही ढुक्क भएको छ’, उनले भने।

खोलाको कटान रोक्न नेपाली सेनाले तटबन्धसहित सडक पुर्ननिर्माणको काम गरिरहेको गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीले बताए।

सडक बनाउन गाउँपालिकाले ढुङ्गा÷उपकरण तथा गण्डकी प्रदेश सरकारले तारजाली उपलब्ध गराएको उनको भनाइ छ। उनका अनुसार बाढीले बीरेठाँटी–घान्दु्रक सडक छ ठाउँमा कटान गरेको छ।

‘आगामी असोज पहिलो सातासम्म सिधा यातायात सञ्चालन गर्ने गरी सडक पुर्ननिर्माणको काम भइरहेको छ’, अध्यक्ष केसीले भने, ‘मानवीय क्षति नभए पनि यसपालि मोदी खोलाको बाढीले धेरै सास्ती दियो, भौतिक क्षति पनि धेरै भयो।’

भविष्यमा जुनसुकै बेला मोदी खोलामा ठूलो विपद् आउन सक्ने पूर्वसङ्केतका रुपमा अहिलेको बाढीलाई लिनुपर्ने उनको भनाइ छ। 

‘यसपटकको घटनाले हामी सबैलाई झस्काएको छ, यसलाई खतराको घण्टीका रुपमा लिएर विपद् जोखिम न्यूनीकरणमा ध्यान दिनुपर्छ’, अध्यक्ष केसीले भने।

मोदी खोलाको मुहान अन्नपूर्ण हिमालको फेदमा रहेको र त्यस क्षेत्रमा जुनसुकै बेला उत्पन्न हुन सक्ने विपद्ले तटीय क्षेत्रमा अप्रत्यासित घटना निम्तन सक्ने उनले बताए।

अन्नपूर्ण–१० का वडाध्यक्ष गौतम गुरुङले यसपटक मुहान क्षेत्र अन्नपूर्ण हिमालको फेददेखि नै मोदी खोलाले बाढीको रुप लिएको बताए।

‘माथिबाटै खोलाको बहाव बढेको थियो, तलतल आइपुग्दा बाढीको रुपमा लिएपछि धेरै क्षति पुर्यायो’, उनले भने, ‘अन्नपूर्ण हिमालबाट उत्पत्ति भएर मोदीमा मिसिने किम्रुङ र छुम्रुङ खोलामा पनि वर्ष पानीको सतह धेरै बढ्यो।’

मोदी खोला किनार हुँदै हालै निर्माण गरिएका कतिपय सडकले भू–सतह खल्बलाएका कारण पनि खोलाले सजिलै कटान गरेको वडाध्यक्ष गुरुङले बताए।

गत असारको अन्तिम साता अन्नपूर्ण–११ स्थित किम्रुङ खोला हुँदै मोदीमा मिसिएको बाढीले वडा नं ८ र १० को सीमामा पर्ने स्याउली बजारमा एक घर, रेष्टुराँ र घान्द्रुक जोड्ने सडकमा क्षति पुगेको थियो।

किम्रुङ खोलाले झोलुङ्गे पुल र निर्माणाधीन माथिल्लो मोदी ‘ए’ जलविद्युत् आयोजनामासमेत क्षति पु¥याएको थियो। अन्नपूर्ण क्षेत्रमा यसपालि मनसुनी विपद्का घटना धेरै भएको वडाध्यक्ष गुरुङले बताए।

बाढीबाट सडक, पुललगायत भौतिक पूर्वाधारमा बढी क्षति पुगेको उनको भनाइ छ। बाढीले कास्की र पर्वततर्फका दुईवटा मेटल पुल, अन्नपूर्ण–११ स्थित पर्यटकीय तातोपानी कुण्ड क्षतिग्रस्त भएको छ।

बीरेठाँटी–घान्द्रुक सडक अन्नपूर्ण आधार शिविर, घान्द्रुक, छुम्रुङ तथा घोडेपानी–पुनहिल जाने महत्वपूर्ण प्रवेशमार्ग भएकाले सडक तथा पुलमा पुगेको क्षतिले सर्वसाधारणसहित पर्यटकको आउजाउ र होटल व्यवसायमा असर परेको छ।

गाउँपालिकाले बाढी प्रभावितलाई राहत तथा क्षतिग्रस्त संरचना पुनःनिर्माणका लागि विपद् व्यवस्थापन कोष सञ्चालनमा ल्याएको छ।

देशविदेशमा रहेका व्यक्ति, सङ्घसंस्था र विभिन्न सामाजिक तथा व्यावसायिक प्रतिष्ठानलाई उक्त कोषमा सहयोग गर्न आग्रह गरिएको छ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले पुनःनिर्माणका लागि रु २० लाख सहयोग गर्ने प्रतिबद्धता गरेको गाउँपालिकाले जनाएको छ।

अन्नपूर्णका विभिन्न क्षेत्रमा अहिलेको मनसुनमा भएका बाढीपहिराका घटनाले प्राकृतिक विपद्का दृष्टिले जोखिमयुक्त भूगोलमा रहेको यस गाउँपालिकाको संवेदनशीलता थप उजागर भएको छ।

जिल्ला प्रशासन कार्यालय, कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले यस वर्ष अन्नपूर्ण क्षेत्रमा भएको अधिक वर्षा र मोदी खोलामा पटकपटक आएको बाढीले सबैलाई सोचमग्न बनाएको बताए।

उनले त्यस क्षेत्रको भौगर्भिक र वातावरणीय अध्ययनका लागि प्रदेश र सङ्घ सरकारलाई अनुरोध गरिएको बताए।

‘मोदी खोलाको बाढीले कुनै मानवीय क्षतिका घटना नभए पनि धेरै मात्रामा भौतिक क्षति भएको छ’, उनले भने, ‘मोदी खोलाको स्रोत पनि हिमाल हो, भोलि अरु ठूलो विपद् नआउला भन्न सकिन्न।’

अहिलेको बाढीले बीरेठाँटी, स्याउलीबजार, चिम्रुङ, हाइजुङलगायत क्षेत्र बढी प्रभावित भएको उनको भनाइ।

भोटेकोशी–त्रिशूली  नदीको विनाशकारी बाढीबाट पाठ सिकेर मोदी खोलाजस्ता सम्भावित जोखिमयुक्त क्षेत्रमा प्रयाप्त सावधानी र जोखिम न्यूनीकरणका उपाय अपनाउनुपर्ने उनले बताए।

विपद् जोखिम न्यूनीकरण विज्ञ डा वसन्तराज अधिकारीले अन्नपूर्ण क्षेत्रमा जोखिम संवेदनशील भू–उपयोग योजना बनाउनुपर्ने बताए।

विपद् जोखिम अध्ययन गरेर मात्र विकास निर्माणका गतिविधि सञ्चालन गर्नुपर्ने उनको भनाइ छ। नदी र खोला किनारका अव्यवस्थित बस्तीलाई सुरक्षित ठाउँमा स्थानान्तरण गर्नुपर्ने डा अधिकारीले बताए।

जलवायु परिवर्तन र उष्णीकरणले हिमाली भेगमा जुनसुकै बेला विपद्का घटना हुनसक्ने उनको भनाइ छ।

‘तापक्रम वृद्धिले हिउँ पग्लने र त्यहीँमाथि आकाशबाट पानी पर्दा मोदी खोलामा बाढी आएको हुनसक्छ’, उनले भने, ‘हाम्रा अधिकांश नदीनालाको स्रोत हिमाल हो, हिमपहिरो, हिमताल विष्फोट जस्ता कारणले जुनसुकै बेला बाढी आउन सक्छ, त्यसले तटीय क्षेत्रमा जाखिम ल्याउँछ।’

जलवायु परिवर्तनका कारण एकै ठाउँमा छोटो समयमा धेरै पानी पर्ने र त्यसले बाढीपहिराका घटना निम्त्याउने गरेको उनको भनाइ छ।

‘हामीले सोच्दै नसाचेका ठाउँमा पनि बाढीपहिराका घटना भइरहेका छन्’, डा अधिकारीले भने, ‘पर्वतीय क्षेत्रमा बढ्दै गएको जोखिमबारे अध्ययन गरी सम्भावित विपद् रोक्न पूर्वतयारी गर्नुपर्छ।’

हिमाली क्षेत्रको पर्यावरण खल्बलिँदा तल्लो तटीय क्षेत्र सधैँ जोखिमा रहने उनले बताए। भौगर्भिक अवस्था जटिल भएकाले नेपाल प्राकृतिक विपद्को चपेटामा पर्दै आएको उनको भनाइ छ।

अव्यवस्थित विकास, प्रकृति दोहन आदि कारणले वातावरणीय सन्तुलन बिग्रन गई विपद्जन्य घटना निम्तने गरेका डा अधिकारीले बताए।

खोला किनारमा बस्ती नबसाउन विज्ञहरुले पटक–पटक सुझाव दिँदै आए पनि उक्त समस्या अहिले पनि ज्यूँकात्यूँ रहेको उनको भनाइ छ।

पूर्वाधार निर्माण गर्दा जलवायु परिवर्तनमैत्री ढङ्गले काम गर्नुपर्ने उनले बताए। जलवायु परिवर्तनको सबैभन्दा ठूलो असर नेपालको हिमालय क्षेत्रमा परेको र हिमताल विष्फोट, हिमपहिरा आदि कारणले कुनै पनि बेला विपद् निम्तन सक्ने हुँदा तटीय क्षेत्रमा सजगता अपनाउनुपर्ने डा अधिकारीले बताए। विकास गतिविधि सञ्चालन गर्दा वातावरणीय पक्षको बेवास्ता गर्न नहुने उनको भनाइ छ।

बाढीपहिरा जस्ता विपद्का घटना बढ्दै जानुमा प्राकृतिक मात्र नभई मानवीय कारण पनि दोषी रहेको विज्ञहरुले औँल्याएका छन्।

नदीनालामा आउने बाढीले जुनसुकै बेला मानिसको जीविकोपार्जनदेखि विकास पूर्वाधारलाई तहसनहस पार्नसक्ने विज्ञहरुको चेतावनी छ।

पर्यावरणीय अध्यता कुलचन्द्र अर्यालका अनुसार सडक निर्माण गर्दा भिरालो जमिनको संवेदनशीलतालाई खल्बलाएर जथाभावी डोजर चलाउँदा पहाडी भेगमा पहिराका घटना बढिरहेका छन्।

खोला तथा नदीमा भइरहेको उत्खनन्का कारण पनि बहाव बढ्ने र बाढी अनियन्त्रित हुने गरेको उनको भनाइ छ।

कमजोर भू–बनोट, वनस्पतिविहीन नाँगो र भिरालो जमिन भएका कारण हिमाली क्षेत्रले वर्षा थेग्न नसक्ने र त्यसले बाढीपहिरो तथा लेदो बग्ने समस्या निम्ताउने गरेको छ।

नेपाल पर्वतीय संवेदनशीलता बोकेको भूगोलमा अवस्थित रहेकाले प्राकृतिक स्रोतको उचित सदुपयोग र व्यवस्थापन गर्नुपर्नेमा विज्ञहरुले जोड दिँदै आएका छन्। 
अर्को समाचार
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
१ घण्टा अघि
•
१ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
जुम्ला। डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।




नागरिकता प्रमाणपत्रलगायत जिल्ला प्रशासन कार्यालयबाट प्रवाह हुने सेवा उपलब्ध गराउने उद्देश्यले धोमा इलाका प्रशासन कार्यालय स्थापना गरिएको छ।यसअघि शे–फोक्सुण्डो, छार्काताङसोङ र डोल्पोबुद्ध गाउँपालिकाका नागरिक प्रशासनिक कामका लागि दुनै पुग्न बाध्य थिए।

भौगोलिक विकटताका कारण सेवा लिनै २५ देखि ३० हजार रुपैयाँसम्म खर्च गर्नुपर्ने अवस्था थियो। अब धोमा कार्यालय स्थापना भएपछि तीनवटै स्थानीय तहका नागरिकलाई प्रशासनिक सेवा लिन सहज हुने भएको छ।

इलाका प्रशासन कार्यालयका प्रमुख पदमबहादुर शाहीको अध्यक्षता तथा डोल्पोबुद्ध गाउँपालिकाका अध्यक्ष कार्मा छोइवेल गुरुङले कार्यालय उद्घाटन गरेका हुन्।

जिल्ला प्रशासन कार्यालय डोल्पाले २०८० असोज २५ गते गृह मन्त्रालयलाई पत्राचार गर्दै माथिल्लो डोल्पामा इलाका प्रशासन कार्यालय स्थापना गर्न प्रस्ताव गरेको थियो। २०८० चैत ५ गते मन्त्रालयलाई पठाइएको अर्को पत्रमा तीनवटै स्थानीय तहका नागरिकको प्रशासनिक पहुँच सहज बनाउन धोमा कार्यालय स्थापना गर्नुपर्ने आवश्यकता औंल्याइएको थियो।

जिल्ला प्रशासन कार्यालयका अनुसार शे–फोक्सुण्डोमा एक हजार ९४२, छार्काताङसोङमा आठ हजार ७४२ र डोल्पोबुद्धमा एक हजार २५६ जनसंख्या छ। भौगोलिक विकटताका कारण लामो समयदेखि प्रशासनिक सेवाबाट कठिनाइ भोगिरहेका यी क्षेत्रका नागरिकका लागि कार्यालय स्थापना राज्यको सेवा गाउँसम्म पुर्‍याउने महत्वपूर्ण कदम बनेको छ।
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस