२६ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

वेस्ट एन्डिज र नेपाल भिड्दै आज

नेपलाका कप्तान रोहितकुमार पौडेल (बायाँ) र वेस्ट इन्डिज ‘ए’ कप्तान रोस्टन चेज ट्रफीका साथ। तस्बिर सौजन्य : क्यान

नेपालले शनिबारदेखि घरेलु मैदानमा सुरु हुने टवान्टी–२० शृंखलामा वेस्ट इन्डिजसँग पाँच खेलको शृंखला खेल्दै छ। एसिसी प्रिमियर कपमा खराब प्रदर्शनपछि नेपालले यो शृंखला खेल्न लागेको हो।

शुक्रबार शृंखलाअघिको पत्रकार सम्मेलनमा नेपालका कप्तान रोहितकुमार पौडेलले प्रिमियर कपबाट सबै खेलाडी निराश रहे पनि त्यसलाई भुलेर भविष्यतर्फ केन्द्रित रहेको बताएका छन्।

नेपालका कप्तान पौडेलले ओमानमा भएको खेल नेपालका लागि सुखद नरहे पनि यो शृंखलाबाट राम्रो तयारी गर्ने आशा व्यक्त गरेका हुन्। उनले अहिलेसम्म नेपालले खेल्न लागेको उत्कृष्टमध्ये यो एक शृंखला रहेको धारणा राखे।

‘वेस्ट इन्डिज विश्वकै उत्कृष्ट टोलीमध्ये एक हो। विश्वकपअघि यो टोलीसँग खेल्न पाउनु हाम्रा लागि ठूलो अवसर हो,’ रोहितले भने, ‘ओमानमा सोचेअनुसारको प्रदर्शन हुन सकेन। तर यसले हाम्रो मानसिकतामा कुनै असर परेको छैन। खेलमा हारजित सामान्य हो। अब, पुरानो दिन बिर्सेर राम्रो गर्न बढ्ने छौं।’

ओमानको खेलबाट आफ्नो टोलीमा केही निराशा रहे पनि अहिले टोलीको ध्यान आगामी खेलका लागि रहेको धारणा राखे। वेस्ट इन्डिजका कप्तान रोस्टन चेजले विश्वकपको तयारीका लागि यो शृंखला महत्वपूर्ण हुने विश्वास व्यक्त गर्दै यहाँ आफ्ना खेलाडीलाई प्रमाणित गर्ने अवसर रहेको बताए।

उनले विश्वकपका लागि यो टोलीबाट दुई जना खेलाडी छनोट हुने पनि उल्लेख गरे। कप्तान चेजले १५ हजार दर्शकमाझ खेल्दा रमाइलो हुने आशा व्यक्त गरेका छन्। यहाँबाट छनोट नहुने खेलाडीले विश्वकपपछाडि पनि क्रिकेट हुन्छ भन्ने मनमा लिने धारणा राखेका छन्।

वेस्ट इन्डिजका कप्तान चेजले नेपालको पहिलो बसाइको अनुभव राम्रो भएको सुनाए। उनले नेपालसँगको शृंखला आफ्ना खेलाडीलाई विश्वकपअघि अवसर भएको बताए। ‘यहाँको हस्पिटालिटी राम्रो छ। हाम्रा लागि पनि यो विश्वकपको तयारी हो। आफ्नो क्षमता देखाउने सबैलाई अवसर छ,’ चेजले भने, ‘नेपालले पछिल्लो समय राम्रो क्रिकेट खेलिरहेको छ। घरेलु दर्शकसामु राम्रो प्रदर्शन गर्नेछौं।’

नेपालका प्रशिक्षक मोन्टी देसाईले विश्व क्रिकेटमा ठूलो इतिहास बोकेको वेस्ट इन्डिज क्रिकेटसँगको शृंखलाबाट नेपालले राम्रो तयारी गर्ने आशा व्यक्त गरे। प्रशिक्षक मोन्टीले यो शृंखलाबाट खेलाडीमा आत्मविश्वास बढ्ने विश्वास व्यक्त गरेका छन्।

‘वेस्ट इन्डिज जस्तो विश्व क्रिकेटमा ठूलो इतिहास बनाएको टोलीविरुद्ध खेल्नु सबैका लागि अवसर हो। यसले हामीलाई आत्मविश्वास बढाउँछ,’ देसाईले भने,‘पछिलो समयको लय फर्काउने योजनामा हुनेछौं। त्रिवि क्रिकेट मैदानको पिच बुझेर खेल्नेछाैं। राम्रो टोली नेपाल पठाएकोमा वेस्ट इन्डिज क्रिकेट बोर्डलाई धन्यवाद।’

ब्याटिङ युनिट आशाभन्दा कम देखिए पनि दीपेन्द्रसिंह ऐरीको एकै ओभरमा ६ छक्कालगायत केही सकारात्मक पक्ष ओमानबाट आएको प्रशिक्षकको बुझाइ छ। मोन्टीले टियु मैदानमा आफ्नो टिमले केही सुधार गर्ने धारणा राखे।

प्रशिक्षक देसाईले वेस्ट इन्डिज नेपाल आएकोमा धन्यवाद दिए। वेस्ट इन्डिज ‘ए’ का प्रशिक्षक फ्लोयड रेइफरले शृंखलामा राम्रो प्रदर्शन गर्ने आशा व्यक्त गर्र्दै एसोसिएट राष्ट्रलाई सहयोग गर्ने उद्देश्यले पनि नेपाल आएको धारणा व्यक्त गरे।

उनले नेपालमा पनि प्रतिभावान् खेलाडी रहेको उल्लेख गर्दै यो शृंखला राम्रो रहने आशा व्यक्त गरेका छन्। नेपालको पिच कन्डिसन केही स्लो रहेको पनि उनको बुझाइ छ। करिब १५ हजार दर्शकमाझ खेल्दा रमाइलो हुने प्रशिक्षक रेइफरको विश्वास छ।

‘हामी शृंखलाका लागि तयार छौं। अभ्यास राम्रो भएको छ। एसोसिएट क्रिकेटमा नेपालले राम्रो गरिरहेको छ,’ रिफरले भने, ‘पछिल्लो वर्ष विश्वकप छनोट भएको थियो। यहाँ राम्रा खेलाडी छन्। शृंखला प्रतिस्पर्धात्मक हुने अपेक्षा छ।’ नेपालले त्यसपछिका खेल वैशाख १५, १६, १९, २० र २२ गते खेल्ने छ।

नेपाल क्रिकेट संघ (क्यान) ले यो शृंखलाका लागि बिहीबार नै १६ सदस्यीय नेपाली टोली सार्वजनिक गरेको थियो। तर, शुक्रबार क्यानका सचिव पारस खड्काले यो शृंखलाका लागि विनोद भण्डारी, लोकेश बम, कमलसिंह ऐरी र सागरलाई टोलीमा थप गरिएको बताए।

प्रकाशित: १५ वैशाख २०८१ ०६:४१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App