२६ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

‘साम्बा’ को गर्विलो मैदान यात्रा

व्यावसायिक रूपमा विदेशी भूमिमा सफल नेपाली खेलाडी कमै छन्। कमजोर खेलकुद धरातलबाट कमै मात्र नेपाली खेलाडी विश्वमाझ आफ्नो परिचय बनाउन सफल हुनु स्वाभाविक हो। त्यसैले त कमै मात्र नेपाली खेलाडी विदेशी भूमिमा आफूलाई साबित गर्न सफल रहे। नेपालबाट धेरै खेलाडीले विदेशमा व्यावसायिक खेल खेलेका उदाहरण छ। दीर्घकालसम्म चर्चा र सफलता भने कमैको छ।

सफल खेलाडीको नाम लिनुपर्दा क्रिकेटर सन्दीप लामिछाने, फुटबलर रोहित चन्दसँगै फुटबलकै स्टार सावित्रा भण्डारीको नाम आउँछ। यी तीनै पछिल्ला दशकभित्र विदेशी भूमिमा चम्किएका स्टार हुन्। सन्दीप विश्वकै ठुलो व्यावसायिक क्रिकेट लिग इन्डियन प्रिमियर (आइपिएल) खेल्ने नेपालका एक मात्र क्रिकेटर हुन्।

पछि विश्वका हरेक फ्रेन्चाइज क्रिकेट लिगमा उनले आफ्नो नाम लेखाए। त्यहाँबाट उनको छवि ग्लोबल स्टार बन्यो। तर, सन्दीप अहिले बलात्कार आरोपमा मुद्दा खेपिरहँदा मैदान बाहिर छन्। पछिल्लो एक दशकदेखि रोहित चन्दले इन्डोनेसियाको लिगा वानमा खेल्दै आएका छन्।

अब कुरो आयो, सावित्रा भण्डारीको। लगातार सफलता चुम्ने खेलाडी हुन् उनी। सावित्राभन्दा पनि ‘साम्बा’ नाम उनका लागि गर्विलो छ। यो अनुभूति सम्पूर्ण खेलकर्मी पनि गर्छन्। सावित्रालाई धेरैजसो साम्बा नै भनेर बोलाउँछन्।

खेल कौशलका कारण सावित्राले सहकर्मीबाट पाएको उपमा हो ‘साम्बा’, जुन अहिले युरोपको फ्रेन्च लिगमा पनि गुन्जिन्छ। त्यहाँ उनका टिम मेट्स उनलाई यही नामबाट बोलाउने गर्छन्। २७ वर्षे सावित्राका कैयन् उपनाम छन्। साम्बासँगै गोलमेसिन र स्टार स्ट्राइकर, यिनै हुन् उनका विषेशता, जुन उनले खेल्दै जाँदा प्राप्त गरिन्।

यिनै विशेषता हुन्, जसले लमजुङको सिम्पानी भन्ने अलि विकेट गाउँदेखि उनलाई फ्रान्सेली लिगसम्म पुर्‍यायो। साम्बाको व्यावसायिक करियर घरेलु क्लब एपिएफबाट सुरु भएको हो। अनि उनी बनिन्, सावित्रा भण्डारीबाट ‘साम्बा’। एपिएफकै सिनियर खेलाडीले उनको नाम ‘साम्बा’ राखिदिए। कुशल खेलका कारण पछि उनी यही नामबाट चर्चित भइन्। समर्थक पनि उनलाई साम्बा नै भनेर बोलाउँछन्। उनलाई पनि यो खुबै मनपर्छ।

अब फेरि, कुरा गरौं उनको खेल करियर सुरुआत। २०७० सालमा घलेगाउँमा भएको एउटा फुटबल प्रतियोगिता। यही प्रतियोगिता जहाँबाट नेपाली फुटबलले सावित्रा भण्डारी पायो।

उक्त प्रतियोगिताका एन्फा सहायक रेफ्री शुक्र तामाङ सावित्राको प्रदर्शनबाट निकै प्रभावित भए। पछि उनले नै सावित्रालाई चिसापानीदेखि एपिएफसम्म बाटो देखाए। ‘गाउँमा कहिल्यै फुटबलको ट्रेनिङ लिएको थिइनँ। तर, एपिएफमा छिर्नासाथ नयाँ संसारमा पुगेंजस्तो भयो।

एपिएफका कैयन् प्रशिक्षक र सिनियरले मलाई साथ दिनुभयो,’ साम्बाले भनिन्, ‘सुरुमा काठमाडौंमा बस्दा पैसा पनि थिएनँ। पैसा नहुँदा त्यहाँ काठमाडौंमा टिक्न धेरै संघर्ष गर्नुपर्‍यो। एपिएफमा भर्ना भएपछि भने सहज भयो।’ त्यो अवसर साम्बाले पनि खेर फालिनन्।

चिसापानीको भिरालो जमिनमा फुटबल खेल्दा साम्बा बारीका कान्लामा बल फ्याक्न पुग्थिन्। त्यो बल हान्न पनि आफू जस्तै साथीहरूसँग निकै संघर्ष गर्थिन्। ‘सानो जाँदा मोजाको बल बनाउँथें। त्यसैलाई खाली खुट्टाले खेल्थें। बालीनाली थन्काएपछि बारी खाली हुन्थ्यो। त्यहाँ दाइहरू फुटबल खेल्नुहुन्थ्यो। म र साथीहरू तल्लो कान्लामा बल समाउन बस्थ्यौं,’ उनले भनिन्, ‘त्यो बल फ्याक्न पाउँदा धेरै आनन्द आउँथ्यों।’ उनै सावित्रा एउटा प्रतियोगितामार्फत एपिएफमा आबद्ध भइन्। त्यसपछि उनले कहिल्यै फर्केर हेर्नु परेन।

यहींबाट उनी देशकै स्टार स्ट्राइकर बनिन्। उनको सफलताको यात्रा त्यतिमै रोकिएन। दक्षिण एसियाकै स्टार स्ट्राइकर हुँदै युरोपसम्म उनको पाइला पुगेको छ, जुन एउटा नेपाली खेलाडी लागि अद्भुत सफलता हो।

विश्व फुटबलमा नै कमजोर राष्ट्रका रूपमा परिचित छ नेपाल। पुरुष होस् या महिला फुटबलको अन्तर्राष्ट्रिय प्रतिस्पर्धा नेपालका लागि त्यति यादगार छैन। दक्षिण एसियामा नै नेपाल उपलब्धिविहीन छ। नेपालको पुरुष टोलीले एसियालीस्तरमा त परैको कुरो हो, साफ च्याम्पियनसिपमा जित्न सकेको छैन।

महिला फुटबलमा पनि नेपालले अहिलेसम्म कुनै पनि अन्तर्राष्ट्रिय उपाधि जित्न सकेको छैन। ११ पटकको फाइनलमा नेपाल निरास हुनुपरेको छ। अन्तर्राष्ट्रिय सहभागिताको चार दशक यात्रामा नेपाली महिला फुटबलले प्राप्त गर्न नसकेको सफलता हो यो। ११ पल्ट नेपाल रित्तो हात बस्नुपर्‍यो।

सन् १९८६ मा पहिलोपटक अन्तर्राष्ट्रिय फुटबल खेलेको नेपालका लागि यो यात्रा दुःखद हो। यस्तो स्थितिमा नेपाली फुटबलर सावित्राको ख्याति युरोपसम्म पुग्यो। तर, साम्बामा उपाधिको अभाव भने जहिल्यै खड्किने गरेको छ। यद्यपि, साम्बाको सफलताको उचाइ जति बढ्दै जान्छ, उपाधि खडेरी एकदिन मेटिनेछ भन्ने विश्वास आम समर्थकमा छ।

साम्बाको आगमन, गोल खडेरी

‘अन्तर्राष्ट्रिय स्तरमा नेपालको गोल खडेरी कहिलेसम्म रहला?’ यो नेपाली फुटबलमा सधैंजसो उठ्ने प्रश्न हो, विशेषतः पुरुष फुटबलमा।

नेपाली महिला फुटबलमा भने केही फरक अवस्था छ। कारण हुन्, साम्बा। सिम्पानीदेखि फ्रान्सेली लिगसम्म साम्बाको यात्रा नेपाली फुटबलकै गर्विलो क्षण हो। उनको यात्रा नेपालको फुटबलमा भविष्य खोजिरहेका कैयन् खेलाडीका लागि प्रेरणा पनि बनिरहेको छ।

किनकि सिम्पानीकी सावित्रा राजधानी आएपछि खेल कौशलकै कारण साम्बा नाम मात्र पाइनन्, विश्व फुटबलमा नै यही नामबाट परिचित पनि भइन्। विकट गाउँबाट संघर्ष गर्दै स्थापित सावित्राको खेल जीवनी धेरैका लागि सफलताको कथा होला।

साम्बा एकएक गरी विश्वकप फुटबलसम्म पुगेकी हुन्। यस क्रममा उनले कैयन् दुःखद क्षण सामना गर्नुपर्‍यो। तर, पनि आफूलाई अगाडि बढाइरहिन्। तब मात्र उनी दक्षिण एसियाकै स्टार हुँदै युरोपेली फुटबलसम्म पुग्न सफल भइन्।

लगातार तीन सिजन भारतीय क्लब (सेथु र गोकुलम केरेला) मा प्रभाव जमाइन्। उनको यही प्रभावशाली प्रदर्शन युरोपसम्म पुग्ने माध्यम बन्यो। उनको युरोपमा पहिलो यात्रा हो, इजरायल।

इजरायलको शीर्ष डिभिजन क्लब तेल हापोएल रानानामा एक सिजनका लागि अनुबन्धन भएकी थिइन्। तर, इजरायल र हमासबीच युद्ध सुरु भयो। त्यहाँ उनको यात्रा भने लामो हुन सकेन। दुई महिना त्यहाँ बिताउँदा साम्बाले आफूलाई प्रमाणित गरिन्। अझ भनौं, प्रभाव जमाइन् र युरोपेली फुटबलमा थप उचाइको ढोका ढकढकाइन्।

इजरायलको लिगमा पाँचौं चरणको खेल पूरा हुँदा साम्बा उच्च गोलकर्ता बनिन्। केही समयको पर्खाइमा नै उनले थप ठुलो सफलता पाइन्। यसबीच साम्बाको धैर्य पनि रह्यो। त्यसैले त उनी फ्रान्सको शीर्ष डिभिजन क्लबमा अनुबन्ध भइन्।

अहिले उनी अन आभान्ट ग्वेनगाम्पाबाट खेलिरहेकी छन्। त्यहाँ उनी आफू मात्र खेलेकी छैनन्, नेपाली महिला फुटबललाई नयाँ उचाइमा पुर्‍याउन सक्ने आशा पनि जगाएकी छन्। नेपाली फुटबलको गोल खडेरीलाई ‘साम्बा’ले बिर्साइदिइन्। पुरुष फुटबलमा नेपालको सर्वाधिक व्यक्तिगत स्कोर हो, १३ गोल।

वर्षौंसम्म यही रेकर्ड नै स्थापित छ। यो रेकर्ड निराजन रायमाझी र हरि खड्काका नाममा छ। अहिले यो सूचीमा अन्जन विष्ट थपिए। महिला फुटबलमा भने फरक परिदृश्य बन्यो। जब ‘साम्बा’ को आगमन नेपाली फुटबलमा भयो। देशबाट ४६ खेलमा नै उनले ५१ गोल पूरा गरेकी छन्।

नथाक्ने साम्बा

साम्बाको यात्रो लोभलाग्दो सफलताका पछाडि उनको बलियो आत्मबल पनि हो। कठिन परिस्थितिमा पनि अगाडि बढ्ने साहस उनमा छ। लोभलाग्दो करियर र उच्च फर्मबाट एकाएक मैदान बाहिर बस्नु खेलाडीका लागि ठुलो पीडा हुन्छ। त्यो पनि करिब १३ महिनासम्म। त्यसमाथि पनि घुँडाको चोट।

यस्तो स्थितिमा कैयन् खेलाडीको करियर नै समाप्त हुन्छ। तर, उनी भने फरक उदाहरण बनिन्। त्यहाँबाट उठेर लगातार सफलता चुमिन्। २०७७ सालको फागुनमा महिला लिगमा उनी पुलिसविरुद्धको खेलमा घाइते भइन्।

उनले पहिलो पटक यो परिस्थिति सामना गर्नुपरेको थियो। सुरुमा उनी आत्तिइन्। आफूलाई समाल्न उनलाई केही समय लाग्यो। पहिला यो परिस्थिति सामना गरेका खेलाडीको लगातार हौसलाले पनि उनमा ऊर्जा मिल्यो। चोटबाट फर्किंदै उनले राष्ट्रिय टोलीमा मात्र फर्किइनन्। एकपछि अर्को गर्दै युरोपेली फुटबलसम्म ढोका खोल्न सफल भइन्।

नेपाली फुटबलमा उनको डेब्यु

सन् २०१४ मा पाकिस्तानमा सम्पन्न साफ महिला च्याम्पियनसिपमा भुटानविरुद्धको खेलबाट उनले राष्ट्रिय टोलीबाट डेब्यु गरेकी हुन्। त्यो खेलमा उनी वैकल्पिक खेलाडीका रूपमा प्रवेश गरेकी साम्बा अहिले पहिलो रोजाइ बनेकी छन्।

कुनै उमेरसमूह नै नखेली राष्ट्रिय टोलीमा उनको डेब्यु लोभलाग्दो नै रह्यो किनकि उनले पहिलो खेलमा नै आफूमा सम्भावना संकेत गर्दै गोल गरिन्। त्यसयता चोटमा रहँदाभन्दा बाहेक उनी निरन्तर नेपाली टोलीको अग्रपंक्तिमा छिन्।

विपक्षी रक्षापंक्तिका लागि चुनौती बन्ने गरेकी साम्बाले माल्दिभ्सको फुटसल लिग हुँदै भारतीय फुटबलसम्म आफ्नो छाप छोडिन्। उनले भारतीय महिला लिगमा समेत सर्वाधिक गोल गरेर कीर्तिमानहरू बनाएकी छन्।

उनले सन् २०१८–२०१९ को सिजनमा सेथु एफीलाई च्याम्पियन बनाउन १८ गोल र सन् २०१९–२०२० र २०२२–२०२३ को सिजनमा गोकुलम केरलालाई च्याम्पियन बनाइन्।

यस क्रममा उनले क्रमशः १६ र २९ गोल गरिन्। त्यसपछि २०२३–२०२४ को सिजनमा साम्बा इजरायलको लिगमा पुगेकी हुन्। इजरायलमा युद्ध भएपछि त्यहाँ लिग रोकियो। इजरायलको फुटबलमार्फत युरोपेली फुटबलको ढोका ढकढकाएकी साम्बाले केही महिनाकै अन्तरमा युरोपसम्म पुगिन्।

उनको त्यो यात्रामा नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेस सारथि बने। एनेसका एक जना साथी फुटबल एजेन्ट रहेछन्। एनेसले नै उनलाई त्यो बाटो देखाइदिए। जसरी शुक्रले एपिएफसम्म डोर्‍याएका थिए।

प्रकाशित: १५ वैशाख २०८१ ११:३३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App