ब्रिसबेन– अस्ट्रेलिया भ्रमणमा रहेको भारतीय क्रिकेट टोली लगातार दोस्रो टेस्ट म्याचमा पनि पराजित भएको छ। शनिबार अस्ट्रेलियाले भारतलाई चार विकेटले हरायो।
पहिलो इनिङ्समा ९७ रनले पछि परेको भारतले दोस्रो इनिङ्समा २ सय २४ रन मात्र जोड्न सकेपछि अस्ट्रेलियाले १ सय २८ रनको लक्ष्य पाएको थियो। अस्ट्रेलियाले यो लक्ष्य ६ विकेटको क्षतिमा पूरा गर्यो। भारतलाई दोस्रो इनिङ्समा सस्तैमा समेट्ने क्रममा अस्ट्रेलियाका मिचेल जोन्सनले सर्वाधिक ४ विकेट लिए। पहिलो इनिङ्समा महत्त्वपूर्ण ८८ रनसमेत जोडेका उनले विराट कोहली, अजिन्का रहाणे, रोहित शर्मा र उमेश यादवलाई आफ्नो सिकार बनाए।
दोस्रो इनिङ्समा भारतका लागि शिखर धवनले ८१ र चेतेश्वर पुजाराले ४३ रन बनाएका थिए। अस्ट्रेलियाका तर्फबाट ओपनर क्रिस रोजरले ५५ रन बनाए।
यसअघि पहिलो टेस्टमा ४८ रनको जित हात पारेको अस्टे्रलिया चार म्याचको सिरिजमा २–० ले अगाडि छ। यी दुईबीचको तेस्रो टेस्ट शुक्रबारबाट मेलवर्नमा हुनेछ।