४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
राजनीति

सर्वोच्चको फैसलासँगै गण्डकीका मुख्यमन्त्री विश्वासको मत लिने तयारीमा

सर्वोच्चको फैसलासँगै गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत लिने तयारी गरेका छन्। सर्वोच्च अदालतले विश्वासको मत लिने बाटो खुल्ला गरिदिएपछि मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने तयारी गरेका हुन्।

मुख्यमन्त्रीका लागि दाबी पेस गर्दा सभामुखलाईसमेत गणना गरेको र सोही आधारमा अधिकारीलाई मुख्यमन्त्री नियुक्त गरिएकाले नियुक्ती खारेज गर्न माग गर्दै गण्डकीका निवर्तमान मुख्यमन्त्री तथा नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले सर्वोच्चमा रिट दायर गरेका थिए। सर्वोच्चले भने गण्डकीमा सभामुख बाहेक ५९ प्रदेश सभा सदस्य रहने र त्यसमा ३० सदस्य भए बहुमत पुग्ने भन्दै रिट नै खारेज गरिदिएको थियो।

सर्वोच्चले बहुमत पुग्ने नपुग्ने विश्वासको मत लिँदा परीक्षण हुने बताएको छ। गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले गत चैत २५ गते अधिकारीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका थिए। नियुक्त भएको एक महिना अर्थात ३० दिन भित्र विश्वासको मत लिइसक्नुपर्ने प्रावधान छ। सो अनुसार अधिकारीले बैशाख २४ गतेसम्ममा विश्वासको मत लिइसक्नुपर्ने हुन्छ।

मुख्यमन्त्री अधिकारीले केही दिनमै विश्वासको मत लिने तयारी गरेको बुझिएको छ। त्यसको तयारी स्वरूप मंगलबारदेखि नै मुख्यमन्त्री अधिकारीले दलहरूसँग छलफल थालेका छन्। उनले मंगलबार सत्तारुढ नेकपा माओवादीका नेताहरूसँग विश्वासको मत लिनेबारे छलफल गरेका छन्। त्यस्तै राप्रपासँगपनि अनौपचारिक छलफल भएको बुझिएको छ। अदालतले बाटो खोलिदिएसँगै मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिनेबारे दलका नेताहरूसँग छलफल गरिरहेको मुख्यमन्त्री अधिकारीको सचिवालयले जनाएको छ। छलफल सकारात्मक छ,सचिवालय श्रोतले भन्यो,'३/४ दिन भित्रै विश्वासको मत लिने सम्भावना छ।’

मुख्यमन्त्री अधिकारीलाई विश्वासको मत दिन राप्रपासमेत तयार रहेको सत्तारुढ दलहरुको दाबी छ। नेकपा एमाले गण्डकी प्रदेश संसदीय दलका प्रमुख सचेतक गोविन्दबहादुर नेपालीले विश्वासको मत दिन राप्रपा सकारात्मक रहेको दाबी गरे। आन्दोलन र सर्वोच्चमा विचाराधीन मुद्दाका कारण यसअघि राप्रपाले समर्थन जनाउन सकेको थिएन,प्रमुख सचेतक नेपालीले भने,'तर सर्वोच्चको फैसलासँगै राप्रपा विश्वासको मत दिन सकारात्मक छ। सायद एक/दुई दिनमै औपचारिक निर्णय होला।’

राप्रपा गण्डकी प्रदेश संसदीय दलका नेता पञ्चराम तमु पनि सरकार निर्माणको बारेमा छलफल गर्न आफूहरू तयार रहेको बताए। अहिले पार्टीको कार्य सम्पादन समितिको बैठक बसिरहेकाले त्यसले दिने सुझावका आधारमा सत्ता सहकार्यको टुंगो लाग्ने उनको भनाई छ। सत्ता सहकार्यका लागि हामी खुल्ला छौँ,उनले भने,'जसले हाम्रो एजेण्डामा सहमति जनाउँछ। सुशासन र समृद्धिका लागि प्रतिबद्धता जनाउँछ। उसैसँग हाम्रो सहकार्य हुन्छ।’ जनताले दलहरूबिच सहकार्य गरेर जाने गरी म्यान्डेट दिएकाले सोही अनुसार अगाडि बढ्नुको विकल्प नहुने उनले बताए। उनले केन्द्रले सत्ता गठबन्धनलाई नसघाउने निर्णय गरेपनि गण्डकीमा आवश्यकताको सिद्धान्तले माग गरेपछि सहकार्यको बाटो खुल्ला गरिएको प्रस्ट्याए।

६० सदस्यीय गण्डकी प्रदेश सभामा वर्तमान सत्ता गठबन्धनसँग एमालेका २२, नेकपा माओवादी केन्द्रका ८ (सभामुखसहित) र स्वतन्त्रबाट जितेर नेकपा एकीकृत समाजवादी प्रवेश गरेका राजीव गुरुङ उर्फ दीपक मनाङे गरेर ३१ मत छ। सर्वोच्चको फैसला अनुसार विश्वासको मतका लागि सभामुखबाहेक ३० मत नै काफी हुने भएको छ। तर माओवादीमा गणना हुँदै आएका बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीका फडिन्द्र देवकोटाले फ्लोर क्रस गर्ने आशंका सत्तारुढ गठबन्धनले गर्दै आएका छन्। त्यसैले गठबन्धनलाई बलियो बनाउन सत्ता गठबन्धनले राप्रपाको समर्थन खोजिरहेको छ। राप्रपा पनि गठबन्धनमा मिसिए सत्ता गठबन्धनमा ३२ सांसद हुन्छन्। विपक्षी नेपाली कांग्रेसका २७ सांसद छन्।

प्रकाशित: १८ वैशाख २०८१ १७:१९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App