२९ वैशाख २०८१ शनिबार
image/svg+xml
कला

नक्कलीकै बीचमा आत्मविश्वास खोज्ने प्रयास

चिन्तन

श्रेयान्स्वधर्मो विगुणः परधर्मात्स्वनुष्ठितात्  

स्वधर्मे निधनं श्रेयः परधर्मो भयावहः।

आफ्नो गुण, धर्म, आचरण र आफूलाई जीवनमा कति र के चाहिने हो थाहा नभएका व्यक्ति नै आफ्नो धर्म र आवश्यकता बिर्सेर अरूको प्रभावमा पर्छन्। अहिले नेपालमा चलिरहेको नक्कली भुटानी शरणार्थी प्रकरण लगायतका विविध अस्थिर राजनीतिक मुद्दाका समाचार र यथार्थताको कारण सत्य के हो, धर्म के हो, झुट के हो, कसम के हो, आचरण के हो, पाप के हो, पाखण्ड के हो र शरण के हो? नैतिक पाठ सिक्नु, सिकाउनु र सिकेका कुरालाई व्यवहारमा उतार्नुपर्ने जरुरी देखिएको छ।

नक्कली प्रकरणले सोच नै नक्कली, अभिव्यक्ति नक्कली, कसम नक्कली, आचरण नक्कली, कागजपत्र नक्कली, विरोधका शैली नक्कली। सक्कली के हो? शुद्धता र पवित्रता अनि सत्यता के हो? अल्मलाउने प्रयास जस्तो, सम्पूर्णलाई दोधारमा पारेर मूर्ख बनाउन खोजिएको महसुस हुन्छ। के बोल्ने, के गर्ने, बोलेको गर्ने या गरेअनुसार नबोल्ने विरोधाभास, द्विविधा र यसकै बीचमा भ्रष्ट जीवनशैली बाँचेका प्रत्येकले आफ्नो आत्मविश्वास खोज्न थालेको अनुभूति हुन्छ।

बाहिरको हतकडी र आरोपको पुष्टि गर्न उसले कैयौं प्रमाण जम्मा गर्ला तर आन्तरिक अस्मिता जोगाउने प्रमाण केवल उसको आचरण हो। अनुसन्धानभन्दा माथि नैतिकता हुन्छ, प्रमाणभन्दा माथि सत्य हुन्छ अनि कानुनभन्दा पनि माथि सबै देखिरहने सर्वव्यापी अस्तित्व, परमात्मा, परम आत्मा या आत्मविवेचना पनि हुन्छ। जब मानिसले आत्मविवेक र आत्मविवेचना भुल्छ अनि उसलाई कानुनको हतकडी लगाउन अस्तित्व बाध्य हुन्छ।

अनुसन्धानभन्दा माथि नैतिकता हुन्छ, प्रमाणभन्दा माथि सत्य हुन्छ अनि कानुनभन्दा पनि माथि सबै देखिरहने सर्वव्यापी अस्तित्व, परमात्मा, परम आत्मा या आत्मविवेचना पनि हुन्छ। जब मानिसले आत्मविवेक र आत्मविवेचना भुल्छ अनि उसलाई कानुनको हतकडी लगाउन अस्तित्व बाध्य हुन्छ।

यो बाहिरको हतकडी र आरोपको पुष्टि गर्न उसले कयौं प्रमाण जम्मा गर्ला तर आन्तरिक अस्मिता जोगाउने प्रमाण केवल उसको आचरण हो। त्यही आचरण भुलेर भ्रष्ट हुन्छ र अब अभिव्यक्तिको माध्यमबाट भ्रष्ट आचरणलाई जोगाउन र आत्मविश्वास खोज्न अनेक सहारा लिन्छ। गुट उपगुट, सञ्चार माध्यम, स्पष्टीकरण अब उसलाई आवश्यक पर्छ किनकि आत्मसत्ता च्युत भइसकेपछि बाह्य सत्ता च्युत हुन्छ कि भन्ने धेरै भय रहन्छ।

मान्नुपर्छ त्यो निर्भयता जसले यति भयपूर्ण कर्म गरेर सबको आँखामा छारो हालेर भ्रष्टाचारको चारो टिप्ने आदत बसाएको छ र जब सत्यता बाहिरिन्छ अनि नक्कली निर्भयता देखाएर सूर्यलाई हत्केलाले छेक्ने प्रयत्न गरिरहेको हुन्छ। अर्को ढोकाबाट बाहिर भाग्ने प्रयत्न गरिरहेको हुन्छ। सर्वव्यापी तेस्रो नेत्र न्यायलाई समेत पैसामा किन्ने र इमान्दारिताको सुरक्षा ढोकासमेत तोडेर सबैलाई धोकाको भाषण दिने असफल प्रयत्न जारी राखेको हुन्छ।

अगाडिको ढोका मन्दिरको ढोका, सत्यको ढोका, सही आचरण र नियमको ढोका हो। असत्य, धोका, खुरापाती, अराजकता सबै पछाडिकै ढोकाबाट मात्र सम्भव हुन्छ। यदि कसैले दुवै ढोकाको प्रयोग गर्छु भन्ने साहस गर्छ भने उसले मूर्खता सोचिरहेको छ।

पछाडिको ढोकाबाट भाग्ने आदत

एकजना राजनीतिज्ञ साधना गर्न भनेर मन्दिरभित्र पसे। अवश्य पनि जीवनभर कति कस्ता आचरणका कर्म र परिणामले थकित राजनीतिज्ञ एकछिन भने पनि शान्त मनले बाँच्नुपर्‍यो भनेर मन्दिर जानु स्वाभाविकै हो। त्यही एउटा मन्दिर त हुन्छ जसले जति पाप गरे पनि प्रायश्चित गर्ने, गोदान गर्ने, अलिअलि दान गर्ने र फूलपाती चढाउने। त्यसले उसलाई क्षणिक शान्ति दिएको भ्रम हुन्छ। उनले पूजाआजा त सके तर त्यो पूजा कोठाभित्र अरू सबै भक्तजन आँखा चिम्लेर ध्यानमा बसिरहेका थिए। अरूले गरेकै जस्तो गर्नुपर्‍यो, यहाँ त कम्तीमा अरूजस्तै असल बन्नुपरूयो भन्ने भाव आयो र एउटा छेउमा गएर आँखा बन्द गरेर बसे।

दुई मिनेट भएको थिएन उनलाई भने छटपटी भयो र कसैलाई थाहै नदिई बाहिर भाग्ने मन भयो। सधैं बाहिर हेर्ने आदत बसेपछि ध्यानमार्फत भित्र हेर्ने धैर्यता विकसित हुन त धेरै फोहोर मैलो सफा भएर शुद्ध चित्तमा प्रवेश भएको हुनुपर्छ। यो उनलाई असम्भव हुनु स्वाभाविकै थियो। सबैले आँखा बन्द गरेर बसेको शान्त, मौन कोठाबाट भाग्ने जुक्ति आयो तर चौकीदार थिए, उनलाई त जानकारी गराउनै पर्‍यो भनेर नजिक गएर साउती मार्दै बोले। पछाडि अर्को ढोका छैन बाहिर भाग्नका लागि।

चौकीदारले आश्चर्य चकित हुँदै भने-‘हे भक्तजन ! म त चौकीदार भएँ। चौबीस घन्टा यहाँ को आउँछ र को कसरी बाहिर जान्छ हेर्ने जिम्मेवारी मेरो रहन्छ। तर तपाईं मन्दिरभित्र आएर पनि एकछिन शान्त मन बनाएर बस्न नसकी पछाडिको ढोका खोज्दै हुनुहुन्छ? म तपाईंको स्थानमा भएको भए एकछिन भए पनि यो अवसर गुमाउन चाहन्नथें। अनि फेरि मन्दिरमा आएर पनि पछाडिको ढोकाबाट भाग्न खोज्नुहुन्छ, भगवान् सर्वव्यापी छन्। तपाईं जहाँबाट जहाँ भागे पनि उसले त देख्छन् नि होइन र?’ कुरो त हो नि तर मन्दिरभित्र छिरे पनि ती राजनीतिज्ञको त मन, चञ्चलता, व्यवहार, कारोबार त बाहिरै थियो। उनी बाहिरै जान चाहन्थे पछाडिको ढोकाबाट भए पनि।

सधैं बाहिर हेर्ने आदत बसेपछि ध्यानमार्फत भित्र हेर्ने धैर्यता विकसित हुन त धेरै फोहोर मैलो सफा भएर शुद्ध चित्तमा प्रवेश भएको हुनुपर्छ।

कानुन र प्रशासनसँग केही दिन भाग्न सकिएला तर अस्तित्वसँग सकिन्न। भाग्नु नै थियो भने हिजो भ्रष्ट कर्मसँग भाग्नुपथ्र्याे। प्रसङ्ग सबैको जीवनमा जोडिन सक्छ किनकि जीवनलाई पछाडिको ढोकाबाटै काम चलाउने गरेको आदत र संस्कार भएपछि अगाडिको ढोका प्रयोग गर्न असहज हुन सक्छ। किनकि अगाडिको ढोका मन्दिरको ढोका, सत्यको ढोका, सही आचरण र नियमको ढोका हो। असत्य, धोका, खुरापाती, अराजकता सबै पछाडिकै ढोकाबाट मात्र सम्भव हुन्छ।

यदि कसैले दुवै ढोकाको प्रयोग गर्छु भन्ने साहस गर्छ भने उसले मूर्खता सोचिरहेको छ। सर्वव्यापी परम आत्माले व्यक्तिको चरित्र आचरण छुट्याउने कसी नै त्यही हो कि उसले जीवनलाई कुन ढोकाबाट प्रवेश दिन्छ र कुन ढोकाबाट प्रस्थान गर्दै छ। जीवन कुनै सेमिनार हल, हवाई जहाजको यात्रा, बसको यात्रा र सिनेमा हलजस्तो होइन, एउटा ढोकाबाट प्रवेश र अर्को ढोकाबाट प्रस्थान। जीवन मन्दिर हो, सत्यताको ढोका मात्र खुलिरहोस् जीवनमा। त्यही नै मन्दिर, धर्म र आस्थाको संकेत हो।

कानुन र प्रशासनसँग केही दिन भाग्न सकिएला तर अस्तित्वसँग सकिन्न। भाग्नु नै थियो भने हिजो भ्रष्ट कर्मसँग भाग्नुपर्थ्याे।

शक्ति र ऊर्जा त आन्तरिक हुनुपर्छ, व्यक्तिको आत्मसत्ता र आत्मबोधबाट सृजित हुनुपर्छ। बाहिरी शक्ति र नेतृत्वले राजनीतिलाई साथ देला जीवनमा दिँदैन। जीवनलाई जीवनकै रूपमा बाँच्न त सत्य, धैर्य, शील र इमान्दारिताको शक्ति हुनुपर्छ। यही शक्ति राजनीतिमा प्रयोग हुन पाएको भए सायद अनेक अराजकता र अनैतिकताका कुरा सुन्नु र देख्नु पर्दैनथ्यो।

स्वधर्मको आचरण खोई?

अस्तित्वको सर्वव्यापी सृष्टिमा विश्वव्यापी राजनीति, मानव अधिकार, कानुन र नियम पनि अटेको हुन्छ त्यो भुल्ने, त्यसलाई पनि झुक्याउने र पछाडिको ढोकाबाट कसैले नदेख्ने गरी भागेर आफू बच्छु र अरूलाई झुक्याउछु भन्ने नक्कली आत्मविश्वासले क्षणिक मात्र सन्तोष दिन्छ।

दीर्घकालीन सन्तुष्टि, खुलेर बाँच्ने, हाँसेर जिउने, स्वतन्त्र भोग गर्ने र सात्विक योग गर्ने गुणवत्ताको विकास हुन त घर परिवार, आफ्नो संस्कार र स्वधर्मको पालना सिकेको हुनुपर्छ। आफ्नो स्वभावमा जिउनु, आफ्नो आचरण र स्वभावमा जिउनु जतिको खुसी के हुन्छ र? आफ्नो शुद्धात्मामा बाँच्नु, मानवीय गुणवत्ताको पहिचान गर्नु र त्यसलाई नै जीवनशैली बनाउनु स्वधर्म हो। अरूको आचरणको नक्कल गर्नु, अरूसँगै प्रतिस्पर्धामा दौडनु र आफ्नो पहिचान भुल्नु परधर्म हो। त्यसैले त अहिले एकपछि अर्को लहरो तानिँदै छ परधर्म, अरूको लहैलहै र लोभमा फसेका कारण।

आजको कर्मको फल हो र यो हिजोदेखि रचेको भ्रष्ट आचरणको फल हो। अरूको इच्छाअनुसार कर्म गर्नु र आफ्नो खुसीका लागि विद्रोही बनेर आफ्नो पहिचानमा जिउन नजान्नु पनि परधर्म हो। अरूको इसारामा चल्दैमा खुसी मिल्दो रहेनछ। लोभ, मोह, कामना, ईष्र्या, द्वेष सबै अरूकै कारण र अरूकै लागि उब्जिन्छन्। यो आफ्नो आर्जन होइन र पनि मानिस यसकै पछाडि लागिरहेको छ।

दीर्घकालीन सन्तुष्टि, खुलेर बाँच्ने, हाँसेर जिउने, स्वतन्त्र भोग गर्ने र सात्विक योग गर्ने गुणवत्ताको विकास हुन त घर परिवार, आफ्नो संस्कार र स्वधर्मको पालना सिकेको हुनुपर्छ।

आजको हाम्रो राष्ट्रको परिस्थिति र अमानवता, भ्रष्टाचार मै खाऊँ, मै लाऊँको स्थिति पनि स्वधर्म पहिचान गर्न नसक्नुको परिणाम हो। झुटो बोल्ने, झुटा आश्वासन बाँड्ने, भ्रष्ट आचरण भएको व्यक्तिले अरूको जीवनलाई पनि सत्यताको मार्गमा बाँच्न दिँदैनन्। यस्ता व्यक्तिको भित्र द्वन्द्वात्मक भावना चलिरहेको हुन्छ। एक झुट सम्हाल्न सयौं झुट सँगै बोल्नुपर्ने हुन्छ।

दुई चार व्यक्तिभित्रका नकारात्मक भावनाले सद्भावनालाई टाढा पुर्‍याई दुर्भावना मात्र विकास गराएको छ। अरूकै प्रभावले त मोह र अभावको सिर्जना गरायो अनि आत्मविश्वास पनि नक्कली भएर प्रस्तुत हुँदै छ। पुण्यात्मा, पुण्य कर्म र असल संगत नभएर लोभीपापी र अहंकारीको मिलेमतोले सहज जीवन असहज बन्दै छ। 

प्रकाशित: १३ जेष्ठ २०८० ०३:०१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App