३१ वैशाख २०८१ सोमबार
image/svg+xml
कला

व्याकुल अस्मिता

कथा

आकाशमा सन्ध्याले राज जमाउन थालिसकेको छ। समयमा घर पुग्ने बानी, आज नपुगिने हो कि भन्ने तनाव हल्का उत्पन्न भएको छ। उसै पनि महिलाको भूमिका बहुआयामिक हुन्छ- खाना बनाउने, ज्येष्ठ नागरिक, अशक्त तथा बालबालिकाको स्याहारसुसार, सरसफाइ आदि। त्यसैले हतार हुने नै भयो।

नौरथा सुरु भइसकेको थियो। साँझ निकै ढल्केकाले बत्ती बाल्न ढिलो भइसकेको थियो। लाग्थ्यो-कहिलेकाहीं त समय अलि तन्काउन मिल्ने भए पनि हुने। कम्तीमा आफ्नो काम आनन्दले सिध्याउन त पाइन्थ्यो। यस्तो कामना जतिसुकै गरे पनि समय लम्ब्याउन कहाँ मिल्ने रहेछ र? त्यसैले आफ्नो काम गर्ने गति बढाउनुको विकल्प थिएन। जुन कुरा मैले राम्रोसँग बुझेकी छु।

गाडीको गति अलि बढाएँ। यसो गर्दा एक्सिलेटर अलि बढी नै थिचिने त होइन भन्ने डर कता कता लागिरहेको थियो। मन अशान्त भएर हो कि, गाडी सोचेजति दौडाउन नसकेको अनुभूत भइराखेको थियो।

वास्तवमा आज मन विचलित भइरहेको छ। मनभित्र कुरा धेरै खेलिरहेका छन्। मन यस्ता कुरामा मात्र सीमित छैन, मनमा थुप्रै प्रश्न पनि उब्जिएका छन्। स्वाभाविक हो, प्रश्नले उत्तर खोज्छ तर हरेक प्रश्नको उत्तर हुन्छ नै भन्ने कहाँ लेखिएको छ र? मन बुझाउनकै लागि हरेक प्रश्नको उत्तर दिन खोज्छु। उत्तर दिन खोजेर मात्र के गर्नु? ती उत्तर, जसबाट आफैं पनि सन्तुष्ट हुन सकिरहेको छैन। प्रश्नहरू उत्तरको अपेक्षामा उपस्थित भइरहने अनि मचाहिँ उत्तर खोज्न प्रयास गरिरहने। यही कारण उकुसमुकुसमा छु। यही प्रश्न र उत्तरबिचको घम्साघम्सीमा नराम्ररी फसेको छु। यसै अवस्थाबिच गाडी चलाइरहेकी छु।

आज दिनभर संस्थाको बोर्ड मिटिङ थियो। मिटिङका क्रममा केही सदस्य खासखुस गरिरहेका देखिन्थे। सामान्यतया बैठकमा सबैको ध्यान एजेन्डामा हुन्छ। एकअर्काबिच कुरा गर्ने, कसैको कुरा काट्ने गरेमा राम्रो मानिँदैन। त्यसैले बैठकमै खासखुस भएको दृश्यले मनमा कौतूहल जाग्ने नै भयो। त्यसपछि अध्यक्षका हैसियतले खासखुस गर्नुपर्नाको कारण सोधें। यो आवश्यक थियो किनकि कतै आफूबाटै केही गल्ती पो भयो कि भन्ने शङ्का निवारण पनि गर्नु थियो।

‘अध्यक्षज्यू, तपाईंलाई थाहै छैन तर हामी सबैलाई थाहा छ,’ कविता बोलिन्, ‘हाम्रो समाज अझै सभ्य र शिक्षित भइसकेको रहेनछ। जबसम्म घरपरिवार नै सभ्य हुँदैनन्, तबसम्म जति शिक्षा लिए पनि ‘कालो अक्षर भैंसी बराबर’ मात्र हुने रहेछ। खासमा शिक्षा प्रमाणपत्र लिएर मात्र हासिल हुने रहेनछ। मानवीयता नै नभएपछि, एकले अर्कालाई गर्नुपर्ने व्यवहार नै थाहा नभएपछि, धन र शक्तिको अहम्मा डुबेपछि त्यो शिक्षा शिक्षा नहुने रहेछ।’

उनले अनवरत भनाइ राखिन्-काठमाडौं सहरकै एउटा परिवार, जो आफूलाई सभ्य र शिक्षित मात्र होइन, सम्पन्न पनि ठान्छ। त्यो परिवारले यस धर्तीमा आफू सम्पूर्ण कुराले परिपूर्ण भएको दाबी गर्छ। त्यही परिवार जहाँ ७ देखि १४ वर्षसम्मका ४ जना छोरी अनैतिक गतिविधिमा संलग्न हुन बाध्य पारिएका छन्। ठुली छोरीले बुझेपछि उसले त्यसबाट उम्कने प्रयास गरी। त्यसपछि उनका बहिनीहरू पनि त्यस्तै अनैतिक कार्यमा प्रयोग हुन थाले।

‘एक दिनको कुरा हो,’ उनले आफ्नो भनाइलाई निरन्तरता दिइरहिन्, ‘जब ठुलीचाहिँ दिदी बहिनीहरूको कोठामा गइन्, त्यहाँ टन्नै उपहार देखिन्। उनलाई अचम्म लाग्यो। आखिर यत्रोविधि सामान कहाँबाट आयो? उनको मनलाई यो प्रश्नले उकुसमुकुस बनायो। उनी यी सामग्री कसरी आउँछन् भन्ने रहस्य थाहा पाउन चाहन्थिन्, तर हत्त न पत्त सोध्न भने आँट गरिहाल्दिनथिन्।

गीतै छ-‘मनको कुरालाई बाँधी नराख, गाँठो परी जाला झट्ट...।’ दिदीले पनि आफ्नो जिज्ञासा कतिन्जेल थुन्न सक्थिन् र? सोधिन् बहिनीसँग-यति धेरै उपहार कताबाट आयो? कसले ल्याइदियो? किन ल्याइदियो? कहिले ल्याइदियो? केका लागि ल्याइदियो? यसबापत ल्याइदिनेले के पाउँछ...?

जब दिदीको मुखारविन्दबाट प्रश्नका फोहोरा निस्के, तीन दिदीबहिनी मुखामुख गर्न थाले। भनौं भने कसरी भनौं? नभनौं भने यी उपहारको स्रोत कसरी पुष्टि गरौं? पर्‍यो फसाद।

सबै चुपचाप। केहीबेर सन्नाटा छायो कोठामा। थर्काइले काम नगरेपछि दिदीले एउटा उपाय फुराइन्-कान्छी बहिनीलाई फकाइफुलाइ गरेर जानकारी लिने। नामै कान्छी। दिदीले काखमा लिएर निकैबेर फकाएपछि नफकिनुपर्ने कारणै के थियो र ? बल्ल दिदीसँग खुलिन् -अंकलले कसैलाई नभन्नु भन्नुभएको छ।

‘जे चाहिए पनि मेरो कोठामा आऊ भनेर माया गर्नुहुन्छ, काखमा राख्नुहुन्छ।’ कान्छीको कुरा सुनेपछि दिदी छक्क नपर्ने कुरै भएन। कान्छीले यसो भनिरहँदा अन्य दुई बहिनीको अनुहार मलिनो थियो। मानौं, उनीहरू ठुलै बाध्यतामा परेका छन्। यसपछि थप रहस्य खोल्दै गइन् कान्छीले।

आमापछिकी आमा भन्छन् दिदीलाई। त्यसैले बहिनीहरूप्रति भएको व्यवहार सुनेपछि कञ्चट नतात्ने कुरै भएन। तीनैजना बहिनीलाई अँगालोमा के च्यापेकी थिइन्, आँसु बग्न थालिहाल्यो आँखाबाट। अभिभावक, जो आफूसँग आश्रितको समेत आँसु पुछ्नुपर्थ्याे, यो भूमिकालाई दिदी हुनुको नाताले तत्काल महसुस गरिन् अनि आँसु पुछिन् र आफूलाई सम्हालिन्।

‘तिमीहरू कहिल्यै त्यो अंकलको कोठामा नजाऊ। उसले बोलाए पनि नजाऊ। आफ्नै कोठामा बस। बोलाइरह्यो भने ढोका थुनेर बस। चुकुल लगाऊ। तिमीहरूलाई जे चाहिन्छ, जे आवश्यक छ, मलाई भन। म ल्याइदिन्छु,’ दिदीले बहिनीहरूलाई सम्झाइरहेकी थिइन्। यसो भनिरहँदा दिदीले आफ्नो आँसु झर्नबाट जबर्जस्ती रोकेको प्रस्टै देखिन्थ्यो। बहिनीहरूको मुख पनि रातोपिरो थियो। उनीहरूको अनुहारमा बाध्यताको छाया परैबाट अनुमान  गर्न सकिन्थ्यो।  

बैठकमा सहभागी हामी सबै एकोहोरो मनचित्तका साथ कथाजस्तै लाग्ने यो वास्तविकता सुनिरहेका थियौं। कविता भने पुराण–वाचकझैं लगातार भनिरहेकी थिइन्-हेर्नुस् त, छोरीहरूका लागि आफ्नै घर पनि सुरक्षित भएन। आफूलाई पूर्ण रूपमा शिक्षित र सम्पन्न दाबी गर्ने परिवारभित्रै त यस्तो घटना हुन्छ भने अलि गरिब, अशिक्षित अनि रुढीग्रस्त परिवारमा के हालत होला?

कविताले अर्को रहस्य खोलिन्-त्यस अंकलकी श्रीमती किशोरी तथा बालिकामाथि हुने यौन दुर्व्यवहार र हिंसाविरुद्ध अभियान चलाइरहेको गैरसरकारी संस्थामा काम गर्दिरहिछिन्। यस सम्बन्धी नीतिनिर्माणमा पनि सहयोग पुर्‍याउँछिन् रे। ती छोरीहरू आफ्ना श्रीमान्सँग निकै बेर खेलिसकेपछि लुगा, चकलेट, मिठाई आदि दिन्छिन् रे। अर्थात् श्रीमान्कै उद्देश्यमा साथ दिन्छिन् रे, छोरीहरूको अस्मिता बचाउमा होइन।

‘हामीले सभ्य भनिरहेको, शिक्षित ठानिरहेको समाजभित्र आज के भइरहेको छ भन्ने कसैले अध्ययन गरेको छ? छोरीहरूका लागि मात्र कार्यस्थल जोखिममा छ? मात्र सार्वजनिक यातायातमा खतरा छ? मात्र नचिनेको वा पराइसँग डराए पुग्छ? हामीले धनाढ्य वा सम्पन्न ठानेका परिवार उनीहरूका लागि सन्तुष्टि प्रदान गर्न र हरतरहले सुरक्षा प्रदान गर्न सक्षम छ?’ कविताका धेरै प्रश्न थिए बैठकका सहभागीसामु तर सहभागीहरू भने जिब्रो टोकिरहेका थिए- यस्तो पनि हुन्छ र भन्या?

दिदीको मन न हो, बहिनीहरूको यो हालत सुनेपछि के शान्त रहन सक्थ्यो र? त्यसैले सहाराको ध्यान हरपल कसरी बहिनीहरूलाई अंकल र अन्टीको चङ्गुलबाट जोगाउने भन्नेमा केन्द्रित हुन थाल्यो। दिन मात्र होइन, रातसमेत यसै विषयमा बित्न थाल्यो उनको। घरको कुरा बाहिर त्यत्तिकै भन्नु पनि भएन। अंकलकै छोरा अर्थात् दादा र भाउजूलाई भनौं भने पनि पक्कै विश्वास गर्दैनन् भन्ने लाग्यो।

कतिन्जेल चुप लागेर बस्ने? यता मनमा आगो बलिरहेको छ, उता बहिनीहरूमाथिको दुर्व्यवहारले निरन्तरता पाइरहला भन्ने त्रास छ। त्यसैले सहाराले एकदिन आँट गरिन् कि आजचाहिँ मामा अफिसबाट आएपछि भन्छु भन्छु। त्यसपछि उनले भूमिका बाँधेर यो कुरा राखिन् तर मामाले उनको कुरालाई गम्भीर ठान्दै ठानेनन्। जसबाट सहारा निराश मात्र भइन्।

खासमा सहारा आफैं अंकलले गरेको व्यवहारले बच्चैदेखिको कुरा सम्झेर मानसिक बिरामी नै भएकी थिइन्। यही कारण एन्जाइटी र स्लिपिङ पिल्स खाइरहेकी छिन्। त्यसमाथि बहिनीहरूमाथि दोहोरिएको यही घटना उनका लागि थप बिमारीका रूपमा थपिएको छ। सहाराको यतिबेलाको मुख्य चासो यो हो कि बहिनीहरूको हालत पनि आफ्नै जस्तो नहोस्।

केही सिप नलागेपछि सहाराले सबै कुरा आमालाई बताइन् र अब यो घरमा नबस्ने निर्णय सुनाइन्। तर, सहारा त्यतिबेला झनै निराश भइन्, जतिबेला आमाले समेत उनलाई ‘तिमीहरू नचाहिने सिनेमा हेर्छौ, फिक्सन कथाहरू पढ्छौ, त्यसैले दिमागमा चाहिने–नचाहिने कुरा आउँछ। तिनै कुरा कल्पना गरेर दुःखी हुन्छौ’ भन्दै उल्टै हकारिन्।

उपदेश पनि दिइन् आमाले-बरु आफ्नै कोर्सका किताब पढ्नू, जसले तिमीहरूलाई राम्रो नम्बर ल्याएर पास हुन सहयोग गर्छन्। जाऊ, बरु कोठामा गएर पढ। बहिनीहरूलाई पनि पढाऊ। मलाई भनिहाल्यौ तर यो कुरा बिर्सेर पनि कसैलाई नभन्नू। फेरि सबैले नराम्रो ठान्छन्।

म सहाराका मामाको मिल्ने साथी पनि थिएँ। हामी एउटा स्कुलमा सँगै काम गथ्र्यौं। धेरै भयो नगएको भनेर एकदिन उनको घर गएको थिएँ तर उनी रहेनछन्। साथी नभए पनि सहारा रहिछिन् घरमा। उनको मुहार दुब्लो अनि निन्याउरो थियो। सोधें-के भो बाबा तिमीलाई? सन्चो छैन कि के हो? किन यसरी दुब्लाएकी? यति भनेर अँगालोमा के च्यापेकी थिएँ, सहारा त डाँको छाडेर रुन पो थालिन्। बल्लबल्ल फकाएर उनको कोठामा लगें। केही बेर थुम्थुमाएँ। निकैबेरपछि चुप लागिन्। त्यसपछि मैले बिस्तारै साथीहरूसँग केही झगडा भयो वा पढाइमा कम नम्बर आयो कि भनेर जिज्ञासा राखें।

‘होइन कविता अन्टी, पढाइमा त हामी तीनै जना दिदीबहिनी अब्बल छौं। चिन्ता गर्नै पर्दैन। अन्टी के म हजुरलाई विश्वास गर्न सक्छु? केही नबुझेको कुरा सोधौं?’ घोसे मुन्टो लगाउँदै सहाराले अनुमति मागिन्।

‘हुन्छ बाबा भन, के भन्न मन लागेको छ, खुलस्त भन। मसँग केही डर मान्नु पर्दैन।’

जब उसको सबै कुरा सुनें, त्यसपछि म छानाबाट खसेजस्तै भएँ। मेरा हातखुट्टा दुवै कामे। ती छोरीहरूप्रतिको माया झनै वृद्धि भयो, साथै किरणप्रति भयङ्कर घृणा उब्ज्यो। उसलाई यो कुकर्मका लागि बेसरी हपार्न मन लाग्यो। त्यति मात्र होइन, छोरीहरूको व्यथा नसुनेको देख्दा सोझै गएर कमलीका बुढालाई लतारेर त्यसको कर्तुत समाजमा छरपस्ट पारिदिन मन लाग्यो। समग्रमा भन्दा कमलीको परिवारदेखि नै घृणा लागेर आयो।

कविताको बेलिविस्तार रोकिएन-मेरो मुटुमा आगलागी भएजस्तै पीडा भयो। सहारा भने मेरो यो रौद्र रूप नियालिरहेकी थिई। थाहा छैन, मेरो मुटुमा आगलागी भएको भेउ उसले पाउन सकी या सकिन। केही बेरको प्रयासपछि म सम्हालिएँ अनि एकचोटि फेरि छोरीलाई अँगालोमा बेरें। धेरैधेरै माया गरें, हृदयदेखि नै। भने-नआत्तिनू सहारा, तिमी एकचोटि गएर कमली अनि अंकललाई सबै कुकर्म बताऊ र के भन्छन्, मलाई सुनाऊ। त्यसपछि के गर्नुपर्छ, सल्लाह गरेर अघि बढौंला।

‘म र मेरा बहिनीहरूमाथि गरेको अनैतिक कार्य सबैले थाहा पाइसके। बहिनीहरूले नभने पनि मैले सबै बुझिसकें। यो कुरा सबै परिवार र तिमीहरूको साथी सर्कलमा फैलियो भने के हुन्छ थाहा छ? म यही प्रश्न राख्छु उनीहरूलाई, हुन्न अन्टी?’ सहाराले मेरो सहमति खोजी। उसलाई एकचोटि फेरि अँगाल्न मन लाग्यो। आशीर्वाद दिएँ-छोरी, तिमीलाई महाकालीले निडर भएर अघि बढ्ने शक्ति प्रदान गरून्।

घर त फर्कें तर रातभरि निदाउन सकिनँ। ती छोरीहरूको अनुहारले न्यायको याचना गरिरहेको भान भइरह्यो। समाजको देखावटी शिक्षितपनले नराम्रोसँग चिथोर्‍यो। सम्पन्नताको परिभाषाले पनि गजबसँग गिज्याइरह्यो। समाज विकसित भएको र सुझबुझपूर्ण भएको दाबी गर्नेहरूप्रति घृणा लाग्यो अनि आफैंलाई सोध्न मन लाग्यो-हामी कस्तो सम्पन्नता र शिक्षित समाजको परिकल्पना गरिरहेका छौं? के हामीले खोजेको समाज यही हो? त्यसपछि अठोट गरें-आफ्नै घरमा आफ्नै मान्छेबाट बलात्कृत हुनुपर्ने छोरीले? यो कसरी सहन सकिन्छ? त्यसैले अब उनीहरूले आँट नगरे पनि म बाहिर ल्याउँछु यो कुरा। पीडितलाई न्याय र पीडकलाई सजायका लागि लागिपर्छु। पीडकलाई सजाय नदिलाई कुनै हालतमा विश्राम लिने छैन।

रातभरको अनिँदोपन। त्यसै पनि मनमा शान्ति थिएन। बिहान उठे पनि घरमा बस्न मन लागेन। छोरीहरूकै अनुहार छाइरह्यो मुहारभरि। जतिबेला पनि उनीहरूले ‘हामीलाई न्याय दिलाइदेऊ, अन्यायमा पर्‍यौं’ भनेर गुहार मागेजस्तो आवाज मात्र चारैतिर गुन्जिरह्यो। त्यसैले गएँ बिहानै उनीहरूकै घरमा।

उनीहरूको घरमा पुगेपछि बाहिरैबाट केही खलबल भएजस्तो सुनें। ढोकामा टक्क अडिएँ। सहारा कमली र उनका बुढालाई गाली गरिरहेकी थिई। जुन कुरा अर्को कोठामा बसेकी सहाराकी आमाले पनि सुनिरहेकी थिइन्। कमली रुखो स्वरमा बोलिरहेकी थिई-भोभो हामीले तिम्रा कुरा सुन्यौं। अंकलले सरी माग्छ तिमीहरूसँग। ल सरी भनेर चकलेट देऊ अनि म अब यस्तो गल्ती गर्दिनँ भन त।

‘हामीलाई यतिसम्म थाहा छ अध्यक्षज्यू, त्यसपछि के भइरा’छ भन्ने अपडेट छैन तर कुरा भने सिरियस छ,’ कविताले आफ्नो भनाइ बिट मारिन्।

सबैले जिब्रो टोके। सबैजना एउटै सहमतिमा पुगे कि त्यस्ता कुकर्मीलाई सजाय दिलाएरै छाड्नुपर्छ, अनि अन्यायमा परेका छोरीहरूलाई न्याय दिलाउनैपर्छ। साँझ पनि छिप्पिइसकेकाले मैले उठ्ने तरखर गर्दै भनें, ‘उसै त बलात्कारका घटना बढिरहेका छन्। अझ आफन्त तथा परिचितलाई नै विश्वास गर्न नसकिने। सबैभन्दा सुरक्षित मानिएको आफ्नै घरभित्र हुने यस्ता घटनाबारे सबै बोल्नुपर्छ। ल, कविता तिमीले आज निकै गम्भीर कुरा सुनायौ। अब हामी सबैजना यसविरुद्ध लाग्नुपर्छ सल्लाह गरेर। अहिलेलाई सबैजना निस्कौं।’

पछाडिको गाडीले एकोहोरो हर्न बजाएपछि पो झसङ्ग भएँ। मेरो शरीर पूरै पसिनाले भिजेको थियो। आँखाले घडीको सुई साँझको आठमा पुग्नै लागेको देख्यो। त्यसपछि एक्सिलेटर अलि दब्ने नै भयो, घर पुग्नका लागि।

नौरथाको साँझबत्ती बालें। भोलि फूलपाती भित्र्याउनु थियो। फूलपातीको पूजासामग्री बेलुकै ठिक पारें, बिहानलाई सजिलो होस् भनेर। शरीर पूजा कोठामा भए पनि मन भने हिजो कविताले सुनाएको घटनातिर नै थियो। तिनै छोरीहरूको याद झलझल्ती आइरहेको थियो। त्यसैले पूजा गर्दा पनि दुर्गा भवानीसँग तिनै छोरीहरूलाई अन्यायविरुद्ध लड्न सक्ने शक्ति माग गरें। यस्तो माग गरिरहँदा आफ्नो पनि भक्कानो रोक्न सकिनँ।

श्रीमान्ले गरेका कर्तुतमा श्रीमतीले उल्टै समर्थन गर्ने, घरपरिवारभित्रै अंकल, बाबु, दाजु, मामाबाटै छोरीहरू बलात्कृत हुने, बलात्कृत हुनेहरू बरू मानसिक रोगको सिकार हुने तर घटना बाहिर ल्याउन नदिने, घरभित्रै तड्पाई तड्पाई मार्ने। कस्तो शिक्षित समाज बनायौं हामीले? कस्तो सम्पन्नता सिर्जना गर्‍यौं? कस्तो सहरी समाज निर्माण गर्‍यौं? पीडितलाई नै आत्महत्या गर्न बाध्य पार्ने कस्तो भद्र समाज बनायौं हामीले?

पूजाका क्रममा पनि प्रश्नहरूले घेराबन्दी गर्न छाडेनन्।

भोलिपल्ट बिहानको कुरा हो। घाममा बसेर पत्रिका पढ्दै चिया पिइरहेकी थिएँ। त्यत्तिकैमा एकजना बहिनी काम खोज्दै घरमा आइपुगिन्। रहिछिन् कैलालीकी थरुनी बहिनी। सोधें- पहिला कता बसेको? अनि किन त्यहाँ छाडेर फेरि काम  खोज्दै हिँडेको?

‘हजुर म ८ महिना भयो बानेश्वरको एक घरमा काम गर्न बसेको। सबै काम गर्नुपर्थ्याे। बुढीआमा र श्रीमान्-श्रीमती थिए घरमा। श्रीमती चाँडै अफिस जान्थिन् तर श्रीमान् भने त्यसको आधा घण्टा जति ढिलो जान्थे। यो आधा घण्टामा उनी मेरो नजिक आउने, जिस्कने गर्न थाले। यसरी अफिस जाने समय पनि झन्-झन् ढिलो हुन थाल्यो। उनको गतिविधि मलाई ठिक लागिरहेको थिएन तर मसँग विकल्प थिएन। यत्तिकैमा एकदिन त ढोकै थुनेर दुर्व्यवहार गर्न खोजे। त्यसपछि काम गरेको पैसासमेत त्यत्तिकै छाडेर भागेकी हुँ,’ केहीबेर कुराकानी गरेपछि ऊ मसँग खुलेकी थिई, सायद पीडा कसलाई सुनाऊँ भनेर पनि हुन सक्छ।

‘मलाई गरिबीका कारण काम त चाहिएको छ नै, साथै त्यस्तो काम मेरो इज्जत ढाक्ने ठाउँमा चाहियो। इज्जत त गरिबको पनि हुन्छ नि, होइन त हजुर?’ ऊ इज्जतसहितको कामको याचना गर्दै रोइरहेकी थिई मसँग।

म अकमक्क परें। हिजो मात्र कविताले सुनाएको घटनाले मन अशान्त छ।

आज अर्को यस्तै घटना सुन्नुपर्‍यो। फेरि प्रश्नको बाढी लाग्यो -के गरिबीका कारण कसैकहाँ काम गर्न बस्नु अपराध हो? के यो समाज पुरुषका लागि मात्र बनेको हो? ऊ पनि एउटी नारीकै सन्तान होइन? किन यी कुरा बुझ्दैनन् नरपिचासहरू? नारीलाई सम्मान गर्न किन जान्दैनन् यी नक्कली शिक्षित र सम्पन्नहरू?

अनि अठोट गरें-यी प्रश्नलाई त्यत्तिकै छाड्न हुन्न। यिनको उत्तर खोजेर समस्याको समाधान गर्नैपर्छ। आजै कवितासहित मन मिल्नेहरूको बैठक राख्छु र कुनै न कुनै निष्कर्षमा पुग्छु। आखिर अन्याय कहिलेसम्म सहने?

प्रकाशित: २५ कार्तिक २०८० ०१:३६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App