३० वैशाख २०८१ आइतबार
image/svg+xml
कला

डा.रजनी ढकालको निबन्धः सिद्धान्त र विश्लेषण बजारमा

नयाँ पुस्तक

 डा.रजनी ढकालको समालोचनात्मक ग्रन्थ निबन्धः सिद्धान्त र विश्लेषण भर्खरै बजारमा आएकाे छ। उक्त समालोचनात्मक ग्रन्थमा निबन्ध केन्द्रित अनुसन्धानमूलक १४ समालोचना सङगृहीत छन्।

पछिल्लो समयमा लेखिएका निबन्धमा गहन अध्ययन गरिएको उक्त कृतिले निबन्धबारे बुझ्न चाहने विद्यार्थी र निबन्धबारे खोजअनुसन्धान गर्ने अध्येताहरूका लागि निकै उपयोगी हुने देखिएको छ।

समसामयिक समालोचनामा केन्द्रित भएर लेखिएका उनका समालोचनाले समाजशास्त्रीय, लैङ्गिक, पर्यावरणीय, निजात्मकता आदिका केन्द्रमा निबन्धको अध्ययन गरेका छन्। निजात्मक, संस्मरणात्मक र नियात्रामूलक निबन्धहरूको अध्ययन यसमा समेटिएको छ।

ग्रन्थकार डा. ढकाल त्रिभुवन विश्वविद्यालय, नेपाली केन्द्रीय विभागकी सहप्राध्यापक हुन्। उनले ’गोविन्द गोठालेका कथामा मनोविश्लेनषण’ शीर्षकमा विद्यावारिधि गरेकी छन्।नेपाली साहित्यमा स्रष्टा र द्रष्टा व्यक्तित्वका रूपमा चिनिएकी उनी समालोचक, निबन्धकार, कवि र गीतकार पनि हुन्।

उनका समालोचना र सिर्जनाका दर्जनाैं कृति प्रकाशित छन्। वैचारिकता, लैङ्गिकता, जातीयता, अभिघात, इको राइटिङ आदि विषयमा उनको अनुसन्धान र लेखन केन्द्रित छ।

पुस्तक भुँडीपराण प्रकाशनले बजारमा ल्याएको २५५ पृष्ठकाे उक्त ग्रन्थको मूल्य ४९० रूपैयाँ रहेको छ।

निबन्धः सिद्धान्त र विश्लोषण (२०८०), समकालीन नेपाली कथामा वैचारिकता (२०७७), देवकोटाका निबन्धमा निजात्मकता (२०७५), वधूशिक्षा: विश्लेषण र मूल्याङ्कन (२०७२), नेपाली नारी उपन्यासमा लैङ्गिकता (२०७२), विश्व नारी नेपाली साहित्य परम्परा र प्रवृत्ति (सहलेखन, २०७१), नेपाली महिला लेखनः प्रवृत्ति र योगदान (सहलेखन,२०७१), प्रायोगिक समालोचना अनेक रूप (२०७०), निबन्धहरूमा मञ्जुल (२०५८) र केही नेपाली समालोचकहरू (२०५८) उनका प्रकाशित अनुसन्धानात्मक तथा समालोचनात्मक कृति हुन्।

त्यस्तै उनका सिर्जनात्मक कृतिहरूमा लयको खोजीमा (निबन्धसङ्ग्रह, २०७४), रङहरूमा जिन्दगी (कवितासङ्ग्रह, २०६९), हृदयका गीतहरू (गीतसङ्ग्रह, २०६६), हत्केलामा असार उमारेर (निबन्धसङ्ग्रह,२०६४) र पत्रैपत्र (उपन्यास, सहलेखन, २०६८) रहेको छ।

उनले जनकप्रसाद हुमागाईका बालकथा (२०७९),आधुनिक नेपाली निबन्ध, यात्रासाहित्य र अन्य साहित्य (२०७८),केदार शर्मा ढकालः शिक्षा र साहित्य सेवा (२०६९) र विश्व नारी नेपाली कविता (२०७१) जस्ता कृतिको सम्पादन गरेका छन्।

प्रकाशित: २७ पुस २०८० ०४:४१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App