३० वैशाख २०८१ आइतबार
image/svg+xml
कला

योग : कर्मषु कौशलम्

योग शारीरिक अभ्यास र व्यायाम मात्र नभएर कर्मलाई कुशलतासँग जोड्ने आयाम हो। हठयोगदेखि लिएर आत्मयोग, सहजयोग, तथातायोग हुँदै सुमिरन–योगसम्मको मार्ग आनन्दित मनुष्यको मार्ग हो।

योगाचारी एवं सन्तजनहरू भन्छन्– योगाभ्यास र अनुभूतिबिनाको जीवन पृथ्वीको भार मात्र हो किनकि योगलाई कर्म, धर्म, कुशलता, अनुशासन र व्यावहारिकतामा जोड्ने कर्तव्य प्रत्येक मनुष्यको हो। त्यसमा पनि योगभूमि नेपालीहरूले त यसलाई जीवनशैली नै बनाउनु जरुरी छ। वर्षमा एक दिन योग दिवस मनाएर मात्र पुग्दैन।

भागवत गीता र सम्यक दृष्टि  

भागवत गीतामा कुल १८ अध्याय छन्, जसमा कुल ७०० श्लोक छन्। ती ७०० श्लोकमध्येको एक हो– ‘योगः कर्मषु कौशलम्’। यस श्लोकका माध्यमबाट गीतामा भगवान् श्रीकृष्ण अर्जुनलाई आफ्नो कर्मप्रति ध्यानाकर्षण गराउनुहुन्छ। किनकि कौरवतर्फका सेनाहरूमा आफ्ना सम्बन्धी, परिचित जन, परिवारजन देखेर अर्जुन आफ्नो पथबाट विचलित हुन पुग्छन्।

उनी आफ्नो कर्मको उद्देश्य र कर्मप्रतिको ज्ञान पनि भुल्छन्। उनी आफ्नाको माया र मोहमा परेर युद्धबाट भाग्न चाहन्छन्। उनलाई लाग्छ, आफ्नाको हत्या गरेर विजय प्राप्त गरे पनि उनी खुसी हुन सक्ने छैनन्। तर, भगवान् कृष्ण अर्जुनलाई सम्झाउनुहुन्छ– हे अर्जुन! तिमी कर्म गर, परिणामको चिन्ता नगर। परिणाम अनुकूल आउन पनि सक्छ र सोचेजस्तो नभएर प्रतिकूल पनि हुन सक्छ।

त्यसैले कर्ममा सामेल होऊ र अरू सबै परमात्मालाई समर्पित गरिदेऊ। परमात्मा आफ्नो इच्छानुसारको परिणाम तय गर्नेछ। कर्ममा तिम्रो अधिकार र दायित्व छ। यसबाट तिमी भाग्न पनि सक्दैनौ तर परिणाम तिम्रो हातमा छैन। त्यसैले आफ्नो कर्मप्रति तिमीले ध्यान दिनैपर्छ। तिमी कर्म गर, कर्ममा आनन्दित बन।

यसबाट हामी बुझ्न सक्छौं कि कर्मको परिणामले हामीलाई दुःख दिँदैन। कर्मफलप्रतिको अपेक्षाले दुःख दिन्छ। हामी कर्म गर्दा कर्मको आनन्द लिन सक्दैनौं। हाम्रो ध्यान परिणाम मैले भनेअनुसार नै आउनुपर्छ भन्ने हुन्छ। यो असम्यक दृष्टि हो। कर्ममा कुशलता देखाउन सक्नु सम्यक दृष्टि हो।  

कर्ममा समर्पित भावना

कुनै पनि कर्म गर्ने अवसर नपाउँदासम्म व्यक्ति केही त गर्न पाए हुन्थ्यो भन्ने अपेक्षामा हुन्छ। तर जब कर्म गर्ने अवसर पाउँछ, ऊ आनन्दित भएर मजा लिएर कर्म गर्न सक्दैन। उसको चञ्चल मनले या त परिणाम के आउला भनेर चिन्ता गरिरहेको हुन्छ र मानसिक अशान्तिमा समेत पुग्न सक्छ।

समर्पण भाव कर्ममा पनि आवश्यक हुन्छ। भगवान् कृष्ण अर्जुनलाई यही सम्झाउनुहुन्छ। कर्म गर्दा कर्ममा भन्दा परिणाममा ध्यान गयो भने सही परिणाम नआउन पनि सक्छ। कर्ममा ध्यान दिनु नै कर्ममा कुशलता प्राप्त गर्नु हो। कर्म सानो होस् या ठुलो, उद्देश्य हो कर्म कुशलतापूर्वक गर्नका निम्ति कर्म गर्दाको आनन्द लिने। एक उच्चतम भावनाका साथ, दिव्य चेतनासँग जागृत हुँदै कर्म गर्नु र कर्मको आनन्द लिनु कर्मप्रतिको समर्पण हो। कर्म योगप्रतिको विश्वास र अभ्यास कर्मप्रतिको समर्पण हो।  

कर्मप्रतिको पूर्ण ध्यान नै योग  

 

स्वामी विवेकानन्दका गुरु श्री रामकृष्ण परमहंस स्वादलाई योग मान्नुहुन्थ्यो। आफ्नो अगाडि राखेर भक्तजनहरूलाई प्रवचन दिँदा बिचमै भान्सामा छिरेर श्रीमतीले बनाइरहेको खाना चाखेर बाहिर निस्कनुहुन्थ्यो। श्रीमती लाजले भुतुक्क हुनुहुन्थ्यो। तर, रामकृष्ण परमहंस भन्नुहुन्थ्यो– यो स्वादयोगले मलाई चेतनाको कुन स्तरमा र कुन उमंगमा लैजान्छ, तिमीले बुझेकै छैनौ।

जुन दिन मेरो अगाडि खाना आउँदा पनि म बेवास्ता गर्नेछु, त्यो दिन सम्झिनु मेरो परम मुक्तिको, जीवनको अन्तिम क्षणको दिन हुनेछ। नभन्दै एकदिन उहाँ यति समाधिस्थ हुनुभयो कि श्रीमतीले खाना अगाडि लगेर राखिदिँदा खानातिर हेर्नु नै भएन। भनिन्छ, त्यही दिन उहाँले परम समाधि प्राप्त गर्नुभयो।

उहाँले श्रीमतीलाई भन्नुहुन्थ्यो– तिमी खाना बनाउने कम मात्र गर्दिनौ, खाना कसरी स्वादिष्ट बन्छ त्यसमा तिम्रो ध्यान हुन्छ। तिमी स्वयंलाई थाहा छ ? कर्मप्रतिको पूर्ण ध्यान नै सही परिणामको आधार हो। त्यसो त मानिसको जीवनमा कर्म सर्वोपरि छ। कर्म दुई प्रकारले गरिन्छ: स्वाभाविक कर्म र इच्छा अनुसार गरिने कर्म। जुन कर्म आफ्नो इच्छाले गरिन्छ, त्यसमा पूर्ण ध्यान पनि दिइन्छ अनि परिणाम पनि सही आउँछ।

त्यसो त कर्म स्वेच्छा या अनिच्छा दुवैभन्दा माथिको स्थितिबाट हुनुपर्छ। कसैलाई सहयोग गर्नुपर्ने अवस्था आयो, यतिबेला उसको उद्देश्य सहयोग मात्र हुन्छ र सहयोग गरेपश्चात् उसलाई खुसी मिल्छ। अर्थात् परिणामप्रतिको अपेक्षारहित कर्मले सन्तोष मिल्छ। कर्म गर्नुअगाडि नै परिणामबारे सोच्नेको कर्ममा कुशलता मिल्दैन।

कतिपय कर्मको फल सिधा हात लाग्दैन तर त्यसले ज्ञान दिन्छ, सिकाइ दिन्छ। सिकाइ र त्यसबाट प्राप्त बोध पनि कर्मको नै परिणाम हो। कुनै कर्म सही भयो भने जीवनमा सुख मिल्छ। कुनै कर्म प्रतिकूल भयो भने त्यसबाट सिकाइ मिल्छ। कुनै व्यक्तिको असल संगतले जीवनको मूल्य थाहा हुन्छ, कुनै व्यक्तिको कुसंगतले समयको मूल्य थाहा हुन्छ। थाहा पाउनु नै ठुलो बोध हो। त्यसैले त भगवान् बुद्धले बुद्धत्व भनेकै बोध हो भन्नुभयो।

जीवन–रूपान्तरणको आयाम योग  

करिब पाँच हजार वर्ष पहिले अर्थात् ऋग्वेदमा नै योगको महŒव र चर्चा गरिएको कुरा उल्लेख छ। पाँचौं या छैटौं शताब्दी ईसापूर्वको आसपासमा नै योगको अभ्यास सुरु भएको भनिन्छ। हाम्रा प्राचीन ग्रन्थ भागवत गीता, उपनिषद, योग वशिष्ठ, हठ योग प्रदीपिका, गेरांडा संहिता, शिव संहिता, पुराण आदिमा मानव जीवनको अभिन्न अंग योग हो भनेर व्याख्या गरिएको पाइन्छ। महर्षि पतञ्जलीलाई योगका प्रवर्तक भनेर मानिन्छ।

त्यसो त आदिदेव शिव नै योगका जन्मदाता हुन् भन्ने कुरामा दुईमत छैन। आदिदेव शिव भन्नुहुन्थ्यो– मानिसले आफूमा रहेको पशुत्व जान्न सक्ने र त्यसबाट रूपान्तरण हुने माध्यम योग हो। जागरण, निरन्तर अभ्यास र समर्पण, यी तीन मार्गबाट अगाडि बढ्न सके मानिसले मोक्ष प्राप्त गर्न सक्छ भन्ने उहाँको दृष्टान्त र अभ्यास थियो।

तन्त्र योग नै समर्पणको माध्यम भएकाले देवी पार्वतीमार्फत विज्ञान भैरव तन्त्रका ११२ ध्यान विधि सिकाएर सारा मनुष्य जातिको कल्याण गर्नुभएको कुरा उल्लेख छ। पछि गएर पतञ्जलीले सहज र सुलभ विधिद्वारा योगलाई सम्झन र प्रयोगात्मक अभ्यासमा जान सुलभ हुने तरिका बनाउनुभयो।

जब पाँच ज्ञानेन्द्रिय मनसँग स्थिर हुन्छन् अनि मन निश्चल बुद्धिसँग मिल्न जान्छ, त्यो अवस्था नै परमगतिको अवस्था हो। इन्द्रियहरूको स्थिर धारणा नै योग हो। जसको इन्द्रिय स्थिर हुन्छ अर्थात् प्रमादहीन हुन्छ, उसमा शुभ संस्कारको विकास हुन्छ र अशुभ संस्कार नास भएर जान्छ। यही शुभ संस्कारको बोध नै योगको परिणाम हो।

प्राण, मन र इन्द्रियहरू एक हुनु, एकाग्रावस्थाको बोध गर्नु, बाह्म विषयहरूबाट विमुख भएर इन्द्रियबाट मन, मनबाट आत्मा र निश्चल प्राणसँग मिल्नु योग हो। समग्रमा भन्नुपर्दा मनको विशिष्ट अवस्था, मन र आत्माको प्रत्यक्ष अनुभूति र ब्रह्मसँगको साक्षात्कार अवस्था योगको अनुभूति हो। योग सहज र प्राकृतिक जीवनशैली हो, जुन सदा थियो र सदा रहन्छ। यदि मानिस अस्थिर र असहज जीवनशैलीमा बाँचिरहेको छ भने कारण हो योगसँग उसको वियोग भएको छ।

प्रकाशित: ६ माघ २०८० ०५:२९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App