३० वैशाख २०८१ आइतबार
image/svg+xml
कला

‘अन्त्यहीन परिधि’ र ‘दृष्टि’ लघुकथासंग्रह लोकार्पण

क्याप्शन

हाम्रो लघुकथा केन्द्र, नेपालले लघुकथाकार इन्दिरा चापागाईंको ‘अन्त्यहीन परिधि’ र रुद्र अधिकारी ‘निदोर्षी’को ‘दृष्टि’ लघुकथासङ्ग्रह एकैसाथ लोकार्पण गरेको छ।

हाम्रो लघुकथा केन्द्रका उपाध्यक्ष डा. शेखरकुमार श्रेष्ठकाे सभा अध्यक्षता तथा वरिष्ठ साहित्यकार मोहनबहादुर कायस्थकाे प्रमुख आतिथ्यमा कार्यक्रमका अध्यक्ष डा.शेखरकुमार श्रेष्ठ, प्रमुख अतिथि मोहनबहादुर कायस्थ, लघुकथाविद् डा. हरिप्रसाद भण्डारी, हाम्रो लघुकथा केन्द्रका अध्यक्ष लता केसी, सिम्रन खड्का, अन्त्यहीन परिधिका लघुकथाकार इन्दिरा चापागाईं र चापागाईंका गुरु लक्ष्मीप्रसाद दाहालले दुई कृतिको लोकार्पण गरेका थिए।

कार्यक्रमका प्रमुख आतिथि वरिष्ठ साहित्यकार मोहनबहादुर कायस्थले राजनीतिमा हुने तिकडम र खुट्टा तान्ने प्रवृत्ति साहित्यमा नभएकाले बुढ्याैली जीवनमा लेख्न झन् हाैसिएकाे बताए।

लेखकहरूलाई बधाई तथा शुभकामना दिने क्रममा लघुकथाविद् डा. हरिप्रसाद भण्डारीले लघुकथाकाे भविष्य उज्ज्वल रहेकाे बताए। उनले लघुकथालाई विधागत मान्यता नदिने समूहसितकाे लडाइँमा लघुकथाकारहरूले विजय हासिल गरेकाे बताए।

त्यस्तै सिर्जना अभियान समाजका सचिव ध्रुव मधिकर्मीले आयाेजक संस्थाकाे सक्रियताले लेखक र पाठककाे संख्या बढेकाे बताए। उनले भने, हाम्राे लघुकथा केन्द्रले प्रत्येक दिन कार्यक्रम गर्दै आएकाे छ। यस्ता कार्यक्रमले लेखक र पाठक धेरै बढाएकाे छ।

लाेकार्पणपछि लघुकथाकार इन्दिरा चापागाईंले उपस्थित सबैलाई धन्यवाद दिएकी थिइन् भने अर्का कृतिकार रुद्र अधिकारी ‘निर्दोषी’ ले बेलायतको लन्डनबाट भिडियोमार्फत उपस्थित सबैलाई धन्यवाद व्यक्त गरेका थिए।

लघुकथाकार मन्दिरा चापागाईले सञ्चालन गरेको कार्यक्रममा मनीषकुमार शर्मा ‘समित’ले स्वागत मन्तव्य राखेका थिए भने विरेन मालाकार सहयात्रीले चापागाईको ‘अन्त्यहीन परिधि’ काे पहिलो प्रेम र मिसु श्रेष्ठ थपलियाले अधिकारीको ‘दृष्टि’ बाट सती लघुकथा वाचन गरेका थिए। लाेकार्पित दुवै कृति हाम्रो लघुकथा केन्द्र, नेपालले प्रकाशन गरेको हो।

कार्यक्रममा लघुकथा समाज नेपालका उपाध्यक्ष तुलसीहरि कोइराला, सदस्यहरू  रामकुमार पण्डित क्षेत्री, तारा केसी, विलोमका ममता मृदुल, विनोद नेपाल, दिपक लोहनी, नमस्ते आधुनिक लघुकथा मञ्चका उपाध्यक्ष यमुना प्रधानाङ्ग, लघुकथा सौन्दर्यका संस्थापक श्रीराम राई, सुसेली साहित्यिक प्रतिष्ठानका अध्यक्ष आवेश मिश्र र शैली साहित्य समाजका अध्यक्ष मञ्जुश्री प्रधान केसी रानुकाे उपस्थित रहेकाे थियाे।

त्यस्तै साहित्यकारहरू अप्सरा भट्टराई, धीरकुमार श्रेष्ठ, नानीमाया अधिकारी, प्रार्थना खनाल जोशी, सुशीला प्रधानाङ्ग, मदनकुमार पोखरेल, शेखर अर्याल, मन्दिरा मधुश्री, रामराजा केसी, ज्ञाननिष्ठ ज्ञवाली, रेहित सैंजु, कात्यायन, कृष्णप्रसाद भट्टराई, गणेश पन्थी लगायतकाे साहित्यकार एवं साहित्यानुरागीको उपस्थिति रहेकाे थियो।

कार्यक्रममा हाम्रो लघुकथा केन्द्र, नेपालअन्तर्गत मंगलबार कार्यक्रम संयुक्त वाचन लघुकथाका प्रस्तोता निर्मला बराल, कार्यक्रम आजका लघुकथाका विश्लेषक कुमुदप्रसाद शर्मा प्याकुरेल र शनिबार कार्यक्रम प्रोत्साहनका शान्ता तिम्सिना लगायत दर्जनाैकाे सहभागिता रहेकाे थियाे।

प्रकाशित: २१ माघ २०८० १२:५९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App