२० वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

सय वर्षपछिको भक्तपुर कस्तो?

एक सय वर्षपछि भक्तपुरलाई कस्तो बनाउने भन्ने योजनाका साथ भक्तपुर अगाडि बढेको छ। देशकै सबैभन्दा सानो जिल्लाको सानो नगर भए पनि भक्तपुर नगरलाई एक सय वर्षपछि यस्तो बनाउने भन्ने परिकल्पनाका साथ योजनाबद्ध रूपमा भक्तपुर अगाडि वढेको हो। यसका लागि नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का अध्यक्ष नारायणमान बिजुक्छे (रोहित)द्वारा लिखित एक सय वर्षपछिको भक्तपुर पुस्तकलाई मार्गदर्शन मान्दै आएको छ।

४२औं विश्व सम्पदा दिवसको अवसरमा सांस्कृतिक नगर भक्तपुरको सम्पदा संरक्षणमा ‘सय वर्षपछिको भक्तपुर’ पुस्तकको भूमिकाबारे बिहीबार भएको प्रवचन एवं अन्तरक्रिया कार्यक्रममा पुस्तकका लेखक बिजुक्छेले भने, ‘भक्तपुर नगरलाई सास्कृतिक नगर घोषणा गरी त्यसअनुसार पर्यटकीय नगर बनाउने योजना हो ।’

घनावस्तीको रूपमा विकास भइसकेको भक्तपुर नगरमा अन्य उद्योगधन्दा सञ्चालन गर्न नसकिने भएकाले यसलाई पर्यटकीय नगर घोषणा गरी त्यहीअनुसार गन्तव्य बनाउने र पर्यटक नै सवै नगरबासीको आम्दानीको स्रोत बनाउने योजना रहेको उनले सुनाए। भक्तपुर नगरलाई टेस्ट ट्युबको रूपमा विकास गर्न नयाँ पुस्तालाई इमानदारीपूर्वक काम गर्न प्रेरित गर्नुपर्ने र विभिन्न देशको इतिहासबाट सिक्नुपर्ने भनाइ उनले राखे।

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरलाई एक सय वर्षपछि बनाउने परिकल्पना अनुसार भक्तपुर नगरपालिकाले योजनाबद्ध रूपमा काम गरिरहेको जानकारी गराए। ‘ऐतिहासिक, सांस्कृतिक पक्षले विशेषण गर्दा यो सहर अनुपम सहर हो,’ उनले भने, ‘यसलाई यही रूपमा विकास गर्ने हाम्रो योजना हो।’

सय वर्षपछिको भक्तपुर पुस्तक आजभन्दा २५ वर्ष अगाडि प्रकाशित भएको थियो। यस हिसाबले अबको ७५ वर्षपछि भक्तपुरलाई ऐतिहासिक नगर बनाई यसलाई हरेक हिसाबले पर्यटकीय बनाउने योजना हो।

प्रजापतिले पुस्तक प्रकाशनको तीन वर्षपछिबाट नै नगरपालिकाले योजना अनुसार काम थालेको स्मरण गरे। ‘यसअनुसार शिक्षाको जग बलियो बनाउन २०५६ सालमा ख्वप उच्च मावि, २०५८ सालमा ख्वप कलेज र ख्वप इन्जिनियरिङ कलेज स्थापना गर्दै हाल सातवटा कलेजहरू स्थापना गर्न सफल भएका छौं,’ उनले थपे।

पुस्तकलाई आधार बनाई हालसम्ममा नगर अस्पताल सञ्चालन, व्यस्थित आवास योजना सञ्चालन, खानेपानीको व्यवस्था, बजार व्यवस्थापनको लागि नगर प्रहरीको व्यवस्था, पर्यटकहरूको लागि आकर्षण केन्द्र बनाउने, खोला सुधारको लागि २ वटा उपचार पोखरी निर्माण, नगरको पुरानो क्षेत्रमा परम्परागत शैलीमा घर निर्माण गर्नेलाई अनुदान दिई उत्साहित गर्ने तथा विदेशी भाषाको तालिम सञ्चालन गर्ने विकास निर्माण गर्दै आएको उनले बेलिविस्तार लगाए ।

प्रकाशित: ७ वैशाख २०८१ ०८:३२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App