२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

नेपालमण्डलमा मञ्जुश्रीस्थान

संस्कृति

नेपालमण्डलका बौद्धहरूको आस्था एवंं अनुष्ठानको केन्द्रका रूपमा रहेको ‘मञ्जुश्रीस्थान’ भक्तपुरस्थित चाँगुनारायण नगरपालिकाको थाकलमाथ डाँडामाथि अवस्थित छ। यसलाई महामण्डपगिरी, रत्नागिरी  पनि भन्ने गरिन्छ। यसलाई नेपालभाषामा ल्हासापाकु/ल्हासापाक्व भनिन्छ।

ल्हासा भन्नाले तत्कालीन तिब्बतको राजधानी ल्हासा र पाक्वको अर्थ ओढार/गुफा हो। तसर्थ ल्हासापाक्व भन्नाले ल्हासाको तलतिर अर्थात् ल्हासा जाने ओढार/गुफा भन्ने अर्थ हुन्छ।

पहिले नेपालमण्डलका व्यापारीहरू यही बाटो भएर जाने गर्थे। यो स्थान नेपालमण्डलको उत्पत्तिको कथासँग जोडिएको छ। यहाँको मञ्जुश्रीको मन्दिरभित्रको गुफामा नेपाल र ल्हासा (उत्तरप्रदेश, चीन) सम्म पुग्ने हावाको प्वाल छ, जहाँबाट मञ्जुश्रीले नेपाल प्रवेश गरेको जनविश्वास छ।

तिब्बती गुरु मार्पाका शिष्य, मिलेरपा पनि यस स्थानमा आई ध्यान तपस्या गरी मञ्जुश्रीको दर्शन प्राप्त गरेका थिए। अहिले यहाँको एउटा गुफामा मिलेरपा गुरुको मूर्ति स्थापना गरी राखेको छ।

यसरी नेपालमण्डलको उत्पत्ति कथा तथा बौद्ध गुरु मिलेरपाको कथासँग जोडिएको यस ठाउँ धार्मिक एवं पर्यटकीय दृष्टिकोणले अति महत्त्वपूर्ण छ। यसको प्रचारप्रसार गर्नु राष्ट्रकै लागि महत्त्वपूर्ण हुन्छ। यस मञ्जुश्रीस्थानलाई हाल सरस्वती स्थानका नामले चिनिन्छ। जसले गर्दा यहाँको पौराणिक, धार्मिक तथा ऐतिहासिक मूल्य मान्यतासँग जोडिएको आस्था तथा विश्वासमाथि आँच आउने तथा यस सम्पदाको मौलिक नाउँ मेटिन जाने सम्भावना रहेको छ।

महामञ्जुश्रीलाई नेवा बौद्धहरूले ससुमाञ्जु/ससुद्यो पनि भन्ने गर्छन् भने हिन्दुहरूले सरस्वती भनेर पूजा गर्छन्। एउटै देवतालाई हिन्दुहरूले सरस्वती र बौद्धहरूले महामञ्जुश्री/ससुमाञ्जु भनी पूजा गरिने परम्परालाई अहिले धार्मिक सहिष्णुताको उपमा दिइएको छ। हिन्दुहरूकी देवी सरस्वती र बौद्धहरूकी देवी महामञ्जुश्री/ससुमाञ्जु एकै हुन् कि फरक हुन्? भन्ने खोज यस आलेखमा गरिएको छ।

विषय प्रवेश

बुद्धधर्मको इतिहास अध्ययन गर्दा यसको विकास तथा प्रचारप्रसारको क्रममा थेरवाद, महायान तथा वज्रयान सम्प्रदायका रूपमा देखा पर्छ। वर्तमान समयमा नेपालमा यी तीनै थेरवाद, महायान तथा वज्रयान समानान्तर रूपमा प्रचलनमा रहे तापनि प्राचीन समयदेखि वर्तमान समयसम्म पनि अटुट रूपले चल्दै आएको बुद्धधर्म महायान/वज्रयान बुद्धधर्म हो। जसलाई विदेशी विद्वान्हरूले नेपाल मण्डलको बुद्धधर्म भन्ने गरिन्छ।

 नेपालका थेरवाद बुद्धधर्म दक्षिणी देश श्रीलंका, म्यानमार, थाइल्यान्ड आदि देशबाट प्रभावित छन् भने नेपालको हिमाली तथा पहाडी भूभागमा अभ्यास गरिने लामा बुद्धधर्म (महायान) तिब्बती बुद्धधर्मबाट प्रभावित छन्। तर नेपाल मण्डलको बुद्धधर्म यहाँका नेवाः बौद्ध समुदायका आफ्नै संस्कृति, परम्परा तथा संस्कार अनुरूप यहाँकै हावापानी, माटो सुहाउँदो किसिमबाट विकसित भएको छ। यसमा न त दक्षिणी देश श्रीलंका, म्यानमारको प्रभाव छ, न त उत्तर चीन, तिब्बतको नै प्रभाव छ।

यहाँ मनाइने रीतिथिति, चाडपर्व तथा धर्म अभ्यास प्रायःजसो महायानका हस्तलिखित ग्रन्थ, थ्यासफू, नवग्रन्थसूत्र, अवदान, महात्म्य, स्वयम्भू पुराणका आधारमा तथा मौखिक परम्पराबाट चल्दै आएको देखिन्छ।

यहाँका बुद्धधर्म, संस्कृति, उत्सव, चाडपर्व, बहाः÷बहीका वास्तुकला, कलाकृति तथा जीवनपद्धति आदि एकातिर वज्रयान कै ‘मूलरूप’मा नै छन् भने अर्कातर्पm यसमा नेपालको आफ्नै मौलिकपना पनि समावेश छन्। यसलाई महायानका पारमितानय र मन्त्रनय (वज्रयान)को एकीकृत रूप भन्न सकिन्छ।

महायान बौद्ध दर्शनमा मञ्जुश्री

महायान बुद्धधर्मका आस्था र विश्वासका एक प्रमुख देवता मञ्जुश्री हुन्। यसलाई नेपालमण्डलमा ससुमाजु, ससुद्यः भन्ने गरिन्छ भने तिव्बतमा जाम्पाल, चीनमा वेन शु शि लि, मंगोलमा मान्चुश्री, जापानमा मोन्जु र कोरियामा मुसोपोसाल भन्ने गरिन्छ।

महायान दर्शनमा मञ्जुश्री अति गहन विषय हो। यसलाई स्वयम्भू धर्मधातुको त्रिरत्न रूप पञ्चबुद्ध, प्रज्ञोपाय, उत्पत्ति स्थिति लय आदिमा चराचर संवृति र परमार्थ स्वभाव देखाउन सक्ने अर्थात् जसलाई जे चाहियो त्यस रूपमा प्रकट भई दिन सक्ने विश्वरूप भनिएको छ। प्राचीन महायान ग्रन्थहरूमा मञ्जुश्रीको विविध नाउँ उल्लेख पाइन्छ।

जस्तो कि प्रज्ञापारमितासूत्रमा प्रज्ञाज्ञानमूर्ति, सद्धर्मपुण्डरिकसूत्रमा एक बोधिसत्व, गण्डव्यूहसूत्रमा कल्यानमित्र मञ्जुश्रीकुमारभूत, साधनामालामा मञ्जुनाथ, मञ्जुश्रीमूलकल्पमा मञ्जुवज्र, अष्टबोधिसत्वको समूहमा मञ्जुघोष, नेपालमण्डलका निर्माताका रूपमा मञ्जुदेवाचार्य आदि मञ्जुश्रीका विविध नामहरू हुन्।

यी ग्रन्थअनुसार मञ्जुश्रीले बौद्ध दर्शनका तीन अवस्थाहरूलाई देखाउँछन्। एक त यी बौद्धहरूका अनुष्ठानका देवता हुन्, दोस्रो यी बौद्ध साधनाका उपायकौशल हुन् र तेस्रोमा यी बुद्धत्वको अवस्था हुन्।

मञ्जुश्री एउटा धर्मविभूति हुन्, यो समग्र बौद्ध मार्गको एक अनुष्ठान, उत्सव, एक सहभागिता र एक रूपक, जुन मुक्त अवस्था हो। भाष्यकार स्मृतिज्ञानकीर्तिका अनुसार श्रावकयानमा मञ्जुश्री खासगरी एउटा १६ वर्षे बालक हुन्। जो सुमधुर र सम्पूर्ण कुशलहरूबाट उत्पन्न ऐश्वर्ययुक्त छन्। महायानअन्तर्गतको पारमितायानमा मञ्जुश्री दशौं भूमिका बोधिसत्व हुन् र वज्रयानमा  मञ्जुश्रीले असंख्य कालका बुद्धत्वको प्रतिनिधित्व गर्छन्।

बुद्धत्वका प्रतीक मञ्जुश्री

मञ्जुश्रीले बुद्धत्वज्ञानको प्रतिनिधित्व गर्दछ। यसले सम्पूर्ण बुद्धहरूको अद्वयज्ञान, शून्यताज्ञान, तथागत चर्यालाई जनाउँछ। अद्वय परमार्थ नामसंगीतिका अनुसार मञ्जुश्रीको विभिन्न आठ रूपको वर्णन गरिएको पाइन्छ। श्री आदिबुद्धमञ्जुश्री, श्री मञ्जुश्रीज्ञानसत्व, श्री वज्रखड्गमञ्जुश्री, श्री प्रज्ञाज्ञानमञ्जुश्री, श्री ज्ञानकायमञ्जुश्री, श्री वागीश्वरमञ्जुश्री, श्री वज्रतीष्णमञ्जुश्री, अरपचनमञ्जुश्री आठ रूपहरू हुन्।

यहाँ मञ्जुश्रीलाई वज्र समान कडा भएको तृष्णारूपी दुःखच्छेदन गर्ने प्रज्ञाज्ञानका मूर्तिका रूपमा वर्णन गरिएको छ। त्यसैले मञ्जुश्री नामको एउटा अर्थ प्रज्ञोपाय पनि हो। किनकि यसले परमार्थज्ञानको अर्थमा पुद्गलनैरात्म्य तथा धर्मनैरात्म्यलाई प्रतिबोध गर्छ। जुन मञ्जुश्रीको अद्वयज्ञान हो।

अरपचन वागीश्वर मञ्जुश्री

अद्वय परमार्थ नामसंगितिमा मञ्जुश्रीलाई अरपचन वागीश्वर मञ्जुश्री भनिएको छ। यहाँ मञ्जुश्रीलाई वैरोचन आदि पञ्च तथागत, पाँचै जनाको एकात्मक रूप प्रस्तुत गरिएको छ। पञ्चतथागतसहित महामञ्जुश्री समेत गरी ६ जनाको नाम अलग अलग षट्कुलावलोकन गाथामा यसरी उल्लेख गरिएको छ।

महावैरोचनका हृदयमा मञ्जुश्री ज्ञानसत्व, अक्षोभ्यका हृदयमा वज्रखड्ग मञ्जुश्री, सत्नसम्भवका हृदयमा वागीश्वर मञ्जुश्री, अमिताभका हृदयमा वज्रतीक्ष्ण मञ्जुश्री, अमोघसिद्धिका हृदयमा ज्ञानकाय मञ्जुश्री र बोधिचित्तवज्रका हृदयमा अरपचन मञ्जुश्री अवस्थित छन्। यहाँ पञ्चतथागतको ज्ञान नै मञ्जुश्री हो।

मञ्जुश्री बोधिसत्व

बोधिसत्वका रूपमा मञ्जुश्री विमला भूमिमा अवस्थित अवैवर्तिक बोधिसत्व हुन्। अष्टमहाबोधिसत्वको समूहमा मञ्जुश्री चौथो/पाँचौं बोधिसत्व मञ्जुघोष हुन्। आर्यगण्डव्यूहसूत्रअनुसार उनी एक कल्याणमित्र बोधिसत्व हुन्। यस ग्रन्थमा मञ्जुश्रीलाई मञ्जुश्रीकुमारभूत भनी सम्बोधन गरिएको पाइन्छ।

वागीश्वर मञ्जुश्री

मञ्जुश्रीलाई वागीश्वर भनेर पनि सम्बोधन गरिन्छ। वाक्+ईश्वर=वागीश्वर। संस्कृतमा ‘क+इ’को सन्धि भएपछि ‘गी’  हुने भएकाले वागीश्वर भनिएको हो। वाक् भनेको वाणी हो। मञ्जुश्रीले हामीलाई ज्ञान सिकाइदिने भएकाले ‘ओं नमोवागीश्वराय’ भनी मञ्जुश्रीको प्रार्थना गरिन्छ। ‘अ र प च न धी’ मञ्जुश्रीको मन्त्र वाक्य हो। बारम्बार यो मन्त्र जप गर्नाले आफ्नो काममा दक्षता हासिल हुने विश्वास गरिन्छ।

मञ्जुश्रीका पाँच तान्त्रिक रूप छन्-सिंहनाद मञ्जुश्री, तीक्ष्ण मञ्जुश्री, अरपचन मञ्जुश्री, विमला मञ्जुश्री र ज्ञानसत्व मञ्जुश्री। त्यसैगरी शान्त, क्रोध, रक्षक, गुरु, सेतो, पहेंलो, कालो, अद्वैत, कुमारभूत आदि मञ्जुश्रीका विविध पक्ष हुन्।

नेपालमण्डलमा मञ्जुश्री

नेपालमण्डलका बौद्धहरूको विश्वासअनुसार नेपालमण्डलको निर्माण मञ्जुश्रीको निर्माणकाय मञ्जुदेवाचार्यले गरेका हुन्। नेपालमण्डलका एक महत्त्वपूर्ण ग्रन्थ स्वयम्भू पुराणअनुसार  परापूर्व कालमा काठमाडौं उपत्यका नागह्रद नामले प्रसिद्ध आठ गुणयुक्त सुन्दर तलाउका रूपमा जलमग्न थियो।

उक्त तलाउमा, सत्ययुगमा उत्पन्न भएका विपस्वी तथागतले एक कमलको बिउ बीजारोपण गरे। जसबाट सहस्रदलसहितको कमलको फूल फुल्यो। यस कमलको पूmलबाट श्रीस्वयम्भू धर्मधातु ज्योतिरूप प्रकट भए। यस स्वयम्भूज्योति रूपको दर्शन गर्न विभिन्न युगमा उत्पन्न भएका सप्त तथागतहरूको आगमन भयो।

यसै क्रममा त्रेतायुगको पछिल्लो समयमा स्वयम्भू ज्योतिरूपको दर्शन गर्न महाचीनको पञ्चशीर्ष पर्वतबाट महामञ्जुश्रीका निर्माणकाय, मञ्जुदेवाचार्यको आगमन भए। उहाँसँग उहाँका दुई स्त्रीहरू केशनी (वरदा) र उपकेशनी (मोक्षदा), चीनका राजकुमार धर्माकर तथा त्यहाँका जनताहरू पनि आएका थिए।

मञ्जुश्री चीनबाट आउँदा सर्वप्रथम दहको इशान कोणमा अवस्थित महामण्डपगिरी/ल्हासापाक्वमा आइपुगेका थिए। यस स्थानबाट सर्वप्रथम दहको अवलोकन गरे।

दहको सुन्दर दृश्य अवलोकनपछि यो ठाउँ अत्यन्तै पुण्यभूमि भएको थाहा पाई, दहको पानी बाहिर पठाई मानव बस्ती बसाल्ने योजना बनाए। त्यसपछि मञ्जुश्रीले आफ्ना स्त्रीहरूमध्ये केशनी (वरदा)लाई फूलचोकी डाँडामा र उपकेशनी (मोक्षदा)लाई ध्यानाच्व पर्वतमा विश्रामका लागि छोडेर आफू दहको पानी बाहिर पठाउन हिँडे।  त्यसपछि उनले काम्पोतल पर्वत, कच्छपाल पर्वत, पशुपति गौरीघाट र गोकर्णको डाँडा गरी, पाँच ठाउँबाट चन्द्रहास खड्गले छेदन गरी दहको पानी बाहिर पठाए।

दहको पानी सुकेपछि उनले स्वयम्भू पर्वतस्थानदेखि गुह्येश्वरीसम्मको बृहत् नगर बसाले। आफूसँगै आएका राजकुमार धर्माकरलाई राजा बनाए। मञ्जुश्रीले बसालेको सहर भएकाले यस नगरको नाम मञ्जुपट्टन भनी प्रसिद्ध भए। नगर बसालिसकेपछि धर्माकर राजालाई आवश्यक उपदेश एवं आशीर्वाद दिई स्वयम्भू ज्योतिरूप दर्शन गरी आफ्नो शक्ति वरदा र मोक्षदासहित स्वयम्भू ज्यातीरूपमा अन्तरध्यान भएर गएको मानिन्छ।

मञ्जुश्रीसँग सम्बन्धित कथाहरू

धर्मश्रीमित्रको कथा

स्वयम्भू पुराणअनुसार कनकमुनिबुद्धको समयमा वाराणसीका काशी सहरस्थित विक्रमशील महाविहारमा धर्मश्रीमित्र नामका एक महापण्डित भिक्षु थिए। एकदिन आफ्ना शिष्यहरूलाई नामसंगीतिको व्याख्या गर्ने क्रममा द्वादशाक्षर अ आ इ ई उ ऊ ए ऐ ओ औ अं अः बाह्र अक्षरको अर्थ प्रकाश गर्न नसकेर ग्लानि भई मञ्जुश्री गुरुसँग सिक्न, महाचीन जान भनी नेपाल आइपुगेका थिए। उनलाई मञ्जुश्रीका निर्माणकाय मञ्जुदेवाचार्यले नेपालमण्डलमा नै दर्शन दिई स्वयम्भू ज्योतिरूपको अगाडि पञ्चरत्नको चूर्णले धर्मधातुवागीश्वर मण्डलको रचना गरी द्वादशाक्षरको गुह्यार्थ र बाह्यार्थ स्पष्ट पार्नुभयो। त्यसपछि एकदिन मञ्जुश्री आफ्ना शिष्य धर्मश्रीमित्रलाई भेट्न भनी एकजना फोहोरी बुढा मान्छेको भेष धारण गरी हातमा एउटा उफ्वस्वां लिएर वाराणसी गए।  

फोहोरी बुढा मान्छेको भेषमा आएका आफ्ना गुरुलाई धर्मश्रीमित्रले देखे पनि नदेखेको बहाना गरे। कक्षा सकेपछि गुरुलाई भेट्न जाँदा मञ्जुश्री त्यहाँबाट गइरहेको देखेर आफ्नो गल्तीको पश्चाताप गरी माफी मागे। गुरुलाई देखे पनि नदेखेको भनि झुटो वचन बोलेको कारण गुरुलाई ढोग्दा दुवै आँखा खसी गुरुको पाउमा विलय भए।

आँखा नभए पनि ज्ञानको आँखाबाट सबै कुरा देख्ने भएकाले उनको नाम ज्ञानश्रीमित्र  भयो। धर्मश्रीमित्रलाई धर्मधातुको दीक्षा दिएको दिन माघ शुक्ल श्रीपञ्चमी हो। यस दिन जसले पनि धर्मधातु मण्डल बनाएर श्रद्धाभावले पूजा गर्छ, त्यो व्यक्ति शास्त्रादि सकल विद्याले पारङ्गत हुन्छ। काय, वाक्, चित्त शुद्ध भएर सम्पूर्ण सिद्धि प्राप्त भई अन्तमा बुद्धत्वसमेत लाभ हुन्छ भन्ने जनविश्वास छ। तसर्थ यसको स्मृतिका लागि नेपालमण्डलमा मञ्जुश्रीको पादुकामा दुईवटा आँखा भएको मण्डल राख्ने चलन रहेको छ।

मञ्जुगर्तको कथा

यस्तै अर्को एउटा कथा मञ्जुगर्तको छ। स्वयम्भूपुराण, गर्तेश्वर वैतराग महात्म्यका अनुसार परापूर्वकालमा नेपालमण्डलको पाञ्चाल देशमा सकल शास्त्रले पारङ्गत बुद्धपाल नामका एक श्रावकचार्य गृहस्थी भिक्षु थिए। उनले सबै शिष्यलाई शास्त्र सिकाई विद्वान् बनाए तर आफ्नो छोरा मञ्जुगर्तलाई वर्णमालासम्म पनि सिकाउन सकेनन्।

केही गर्दा पनि सिप नलागेपछि  उनले आफ्नो छोरालाई,  मञ्जुदेवाचार्य गुरुको चैत्य भएको स्थान स्वयम्भूमा पठाए। साथीहरूले जबर्जस्ती घिसारेर लगी मञ्जुश्रीको पाउमा ढोग्न लगाई नमोवागीश्वराय  भन्न लगाए।

मञ्जुश्री गुरुको आशीर्वाद पाउनेबित्तिकै एउटा अक्षर पनि पढ्न नसक्ने पटमूर्ख मञ्जुगर्त क्षणभरमा निन्द्राबाट बिउँझेझैं सकल ज्ञानले पारङ्गत भए। श्रीपञ्चमीका दिन मञ्जुश्री स्थानका गई बच्चाहरूलाई ‘ओम् नमोवागीश्वराय’बाट शब्दारम्भ गरी अक्षर सिकाइयो भने चाँडै सिकिन्छ भन्ने जनविश्वास छ।

मञ्जुश्रीसँग सम्बन्धित ऐतिहासिक पवित्र स्थानहरू

नेपालमण्डलमा मञ्जुश्रीसँग सम्बन्धित विभिन्न ऐतिहासिक पवित्र स्थानहरू छन्, जहाँ स्वदेशी तथा विदेशी भक्तजनहरू तीर्थस्थलका रूपमा आई पूजा पाठ गर्ने चलन छ।

 मञ्जुश्रीको गुणानुस्मरणका लागि स्थापना गरिएको ‘मञ्जुश्री स्मृति चैत्य’ स्वयम्भूपछाडिको पर्वतमा अवस्थित छ। जसलाई ‘मञ्जुश्री पर्वतस्थान’ भन्ने गरिन्छ। काठमाडौंको उत्तर–पश्चिम, नागार्जुन पर्वतको तलतिर अवस्थित ‘गुह्येश्वरी’मा दहमा उम्रेको कमलको जरा रहेको विश्वास गरिन्छ। जहाँ मञ्जुश्रीले जलस्तम्भन योग गरी खगानना नैरात्म्यदेवीको दर्शन प्राप्त गरेका थिए।

‘नगरकोट मण्डप (महामण्डप गिरि)’ महामञ्जुश्री महाचीनबाट आई केशनी, उपकेशनीसहित विश्राम गरी सर्वप्रथम दहको दृष्यावलोकन गरेको ठाउँ हो। ‘ल्हासापाकु’भित्र ल्हासाको उत्तरी प्रदेश चीन र नेपालसम्म जोड्ने हावा छिर्ने प्वाल छ, जहाँबाट महामञ्जुश्री नेपाल प्रवेश गरेको भन्ने उल्लेख छ।

स्थानीयहरूले त्रिशुल्चा, मण्देश्वरी, सरस्वती थान भनिने दोलखाको ‘मञ्जुश्री पार्क’मा दुई आँखासहित मञ्जुश्रीको पादुका रहेको छ। ‘सावाभूमि’ द्वादशाक्षरको विशुद्ध अर्थ सिक्न आएका धर्मश्रीमित्रलाई अनुकम्पा राखी दर्शन दिन मञ्जुश्रीले कृषकको भेष धारण गरी सिंह र शार्दूलको हलो जोतेर, खेत खनिरहेको पवित्र ठाउँ हो।

नारायणहिति राजदरबारपछाडि उत्तरतिर, लैनचारको धोबीचौरनिर अवस्थित ‘साकुना ससुमाञ्जु (नील सरस्वती)’मा मञ्जुदेवाचार्यले आफूले जोतिरहेको सिंह शार्दूललाई बाँडेर आफ्नो कुटीमा विश्राम गरेका थिए।

काठमाडौं उपत्यकाको आग्नेय कोणमा अवस्थित ‘फूचो (फुलचोकी डाँडा)’मा मञ्जुदेवाचार्यले आफ्नो पहिलो स्त्री केशनी (वरदा)लाई  विश्रामका लागि छोडेर गएका  थिए। काठमाडौं उपत्यकाको दक्षिणी पश्चिमी कोणमा अवस्थित ‘ध्यानाचो (ध्यानगिरि–चन्द्रागिरि)’मा मञ्जुश्रीले आफ्नो दोस्रो स्त्री उपकेशनी (मोक्षदा) थाकेको कारण विश्रामका लागि छोडेर गएका थिए।

दक्षिणकालीमा अवस्थित ‘गर्तेश्वर वैतराग तीर्थ’मा मञ्जुश्रीको आनुभावले एउटा पनि अक्षर पढ्न नसक्ने पटमूर्ख मञ्जुगर्तले क्षणभरमा निन्द्राबाट बिउँझेझैं सम्पूर्ण ज्ञानले पारङ्गत भई विद्वान् भएका थिए। काठमाडौंको चिकंमुगलमा मजिपाट अर्थात् मञ्जुश्री टोल भन्ने ठाउँ रहेको छ जहाँ मञ्जुश्रीको मूर्तिसमेत रहेको छ। यसलाई मञ्जुश्रीले निर्माण गरेका शहर मञ्जुपट्टनको राजधानी पनि भनिन्छ।

शरप्रवेष–त्रिस्थान

मञ्जुश्रीले दहको पानी कति गहिरो छ भनी थाहा पाउन धनुष वाण तीन ठाउँमा प्रहार गरेका थिए। ती तीन स्थानहरू मध्ये एउटा असनको न्याँल्वहं, अर्को देवपट्टनको ल्वंहशूल गणेशको स्थान र अर्को ललितपट्टनको जगति ल्वहं भएको स्थान हो भन्ने जन विश्वास छ।

 नेवाः बौद्धहरूले आदिबुद्ध मञ्जुश्रीलाई ससुमाञ्जु, ससुद्यः, सिप सिकाउने देवताका रूपमा ज्यासःद्यः स्थापना गरिएको हुन्छ। काठमाडौंको जोरगणेश मन्दिरपरिसरमा एक पुरानो ‘मञ्जुश्री नक महाविहार’ नामक एउटा विहार छ।

उपत्यकाको पानी बाहिर पठाइसकेपछि मञ्जुश्री यस ठाउँमा ध्यान बसेको भन्ने भनाइ रहेको छ। काठमाडौं, भक्तपुर, ललितपुर तथा नेपालका अन्य धेरै ठाउँ छन्, जहाँ मञ्जुश्रीका मन्दिर, पादुका स्थापना गरिएको पाइन्छ।

नेपालमण्डलबाहेक अन्य महायानी मुलुकहरू जस्तैः चीन, जापान, तिब्बत, मंगोल, कोरिया, इन्डोनेसियामा पनि मञ्जुश्रीलाई बोधिसत्वका रूपमा प्रस्तुत गरेको पाइन्छ।

चीनमा मञ्जुश्रीलाई चार महान् बोधिसत्वको श्रेणीमा राखिएको छ :मञ्जुश्री, समन्तभद्र, अवलोकीर्तेश्वर र क्षितिगर्भ। यी चार बोधिसत्व चीनको चार पवित्र बोधिमण्डल पर्वतमा अवस्थित छन्। जापानमा ईसाको आठौं शताब्दीतिर चीनको वुटाइ सान पर्वतमा यात्रा गरिरहेका एक भिक्षुबाट प्रथमपटक मञ्जुश्रीको मूर्ति लगेका थिए। जापानी भिक्षु ग्योकीलाई मञ्जुश्रीको अवतारका रूपमा लिने गरिन्छ।

इन्डोनेसियाको जाभामा शैलेन्द्रवंशी राजाको शासनकालमा मञ्जुश्रीको मूर्ति प्रवेश भएको देखिन्छ। विमलकीर्ति निर्देशसूत्रमा आधारित विमलकीर्ति र मञ्जुश्री बीच भएको अति गम्भीर धर्मचर्चाको परिदृश्यलाई चीनमा अवस्थित लुरमेन तथा युनकार आदि गुफाका भित्ताहरूमा कुँदिएको पाइन्छ।

यसरी यी विभिन्न मुलुकमा मञ्जुश्रीलाई बोधिसत्वका रूपमा प्रस्तुत गरिए तापनि नेपाल र तिब्बतबाहेक चीन, जापान आदि देशका एकदुई विहारमा बाहेक प्रायःजसो मञ्जुश्रीको पूजाआजा गर्ने चलन हराइसकेको छ।  

प्रकाशित: ८ वैशाख २०८१ १०:१९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App