२६ वैशाख २०८१ बुधबार
image/svg+xml
कला

कवितामा सहरी यन्त्रणा

पुस्तक

समकालीन नेपाली कवितामा सन्तोष थेवे क्रियाशील नाम हो। थेवे एक कुशल रंगकर्मी पनि हुन्। पूर्वी पहाड ताप्लेजुङमा जन्मिएका कवि थेवेको जीवन धरानमा बित्यो। यसर्थ उनको कवितामा पहाडी जीवन र सहरी जीवनको समिश्रण पाइन्छ।

‘साग बेच्ने केटी’ कविताबाट चर्चामा आएका उनको अहिलेसम्म दुईवटा कवितासङ्ग्रह प्रकाशित छन्। ‘फालेलुङ र कावेली बजार’ र ‘स्मृतिको पुरानो दह’। २०६३ मा प्रकाशित ‘फालेलुङ र कावेली बजार’ शीर्षकको यस सङ्ग्रहमा उनले ताप्लेजुङको स्थानीय जनजीवनको चित्रण गरेका छन्। कवितामा थेवे लेख्छन्:

अहिले

फालेलुङ चिसो हिउँले किचिएको छ

फालेलुङ ड्याम्म बादलले

ढाकिएको छ

फालेलुङमा केही देखिँदैन

सायद मान्छेहरू हाटबजार सकेर घर फर्किसकेका छन्।

–फालेलुङ र कावेली बजार

सन्तोष थेवे धरानको साहित्यिक वातावरणमा हुर्के। धरानका स्थापित कवि बम देवान, कृष्ण पाख्रिन र बेनु आचार्यको सङ्गतले उनको काव्य परिष्कृत हुँदै आए। स्थानीय कवि गोष्ठी र सम्मेलनहरूमा सहभागी भई उनले आफ्नो काव्य यात्रा बढाए। उनी एक कुशल रङ्गकर्मी पनि हुन्। करिब एक दर्जन नाटकमा अभिनय गरेका थेवे पहिल्लो चरण कवितालेखनमा सक्रिय छन्। उनले मानसिक रोगका विषयमा पनि कविता लेखेका छन्। जुन नेपाली कवितामा बिरलै लेखिएको छ। उनी लेख्छन्:

मैले अनाहकमा पोलेका क्यानभासमा रङहरू घोप्ट्याएर अँध्यारोमा राँको बालेर आएको छु म

वास्तवमा यो ट्रयाङकुलाइजर असमर्थ छ,

वास्तवमा यो डाक्टरको हस्ताक्षर अनर्थ छ,

मलाई गिरफ्तार गर।

सहरी जीवनका विभिन्न चित्रलाई उनले कवितामा बुनेका छन्। मानसिक रोगबारे लेखिएको यो कविता उनको मास्टरपिस कविता हो। ग्रामीण तथा सहरी जीवन, विसङ्गति, प्रेम, विद्रोह र आत्मनिर्वासन थेवेका कविताका विषय हुन्। शैली र विषयका हिसाबले उनी उत्तरआधुनिक कवि हुन्। उनी पहिचानका लागि लेख्ने सामाजिक चेतनाका कवि पनि हुन्। सहरी यन्त्रणाको विषयमा उनी लेख्छन्:

अहिले सहरभरि हल्ला छ रे

पागलखानाबाट भागेर मैले

आत्महत्या गरेँ भनेर सहरको

–मृत्यु सम्झेर

उनको दोस्रो कवितासङ्ग्रह ‘स्मृतिको पुरानो दह’मा उनी झन् कलात्मक र परिष्कृत कविका रूपमा देखा पर्छन्। उनी लेख्छन्:

आहा!

समयका पातहरू पहेँलिँदै

खस्दै छन् एक एक गरेर

पलपल हुँदै

स्मृतिको पुरानो दहमाथि

–भावी ईश्वर

स्मृति र स्वपनजस्तो बिम्बले उनी कविता लेख्छन्। उनका कवितामा संवेदनाको मर्करी जताततै पाइन्छ। समकालीनताको शब्दबोध उनका हरेक कवितामा पाइन्छ। अंग्रेजी साहित्यमा स्नातकोत्तर अध्ययन गरेका थेवे भारतीय र अंग्रेजी कविताका पारखीसमेत हुन्। उनी हार्दिकता र कोमलताका कवि पनि हुन्। उनका कवितामा उत्तरआधुनिक तत्त्ववहरू पनि भेटिन्छन्। उनका धेरै कवितामा लिम्बु सांस्कृतिक चेतना झल्किएको छ। स्थानीय ग्रामीण चित्रणदेखि सहरको आधुनिकता र जञ्जाललाई उनले आफ्ना कवितामा समेटेका छन्।

हरेक सात समुद्रपारि

डुब्दै गरेको जूनको एक

टुक्रो उज्यालो

आँखा भरिभरि पिएर

–सपनाको घर

कवि यहाँ जनको उज्यालो आँखाभरिभरि पिउँछन्। राम्रो बिम्बले सजिएको छ यो कविता। हाल अमेरिकाको टेक्सासमा रहेका कवि नेपाली भावना र स्वरका कविता लेखिरहेछन्। अतीत सम्मोहन पनि उनका कविताको विषय हो।  

प्रकाशित: १५ वैशाख २०८१ ०८:२४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App