२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

जहाँ बुद्ध जन्मे

बौद्ध परम्पराका रेकर्डले देखाउँछन्, गर्भवती रानी मायादेवी आफ्ना श्रीमान्को राज्य कपिलवस्तुबाट माइती राज्य देवदहमा जाने क्रममा लुम्बिनीमा विश्राम लिएकी थिइन्।

 त्यही विश्रामका क्रममा एउटा रुखको हाँगामा समातेर उनले सिद्धार्थ गौतमलाई जन्म दिएकी थिइन्। राजा शुद्धोधनका उत्तराधिकारी र शाक्य राज्यका राजकुमार सिद्धार्थ २९ वर्षको उमेरमा राज्यसत्ता र परिवार छाडेर ज्ञानको खोजीमा निस्केका थिए र पछि बुद्ध कहलिएका थिए।

मृत्युशय्यामा हुँदा बुद्धले आफ्ना शिष्यहरूलाई चार वटा प्रमुख तीर्थस्थलमा भ्रमण गर्न सिफारिस गरेका थिए। ती हुन्, आफूले प्राण त्यागेको कुशीनगर, पहिलोपटक प्रवचन दिएको सारनाथ, आफूले ज्ञानप्राप्त गरेको बोधगया र आफ्नो जन्मस्थल लुम्बिनी।

बुद्धको यही अनुमोदनका कारण लुम्बिनी प्रमुख तीर्थस्थल बनेको हो। तेस्रो शताब्दीमा दक्षिण एसियामा एकछत्र राज्य कायम गरेका सम्राट अशोक यो क्षेत्रको भ्रमण गर्र्ने महत्त्वपूर्ण व्यक्ति हुन्। उनको यही भ्रमणका कारण अशोक स्तम्भ र उनको बसाइबारे जानकारीसहितको ढुंगेस्तम्भ समेत स्थापना गरिएको थियो। त्यसपछि पाँचौं तथा सातौं शताब्दीमा चिनियाँ भिक्षुहरूले यो स्थानमा भ्रमण गरेका थिए। त्यसपछि पनि लगातार लुम्बिनीको भ्रमण भएको देखिन्छ। १४औं शताब्दीमा राजकुमार रिपु मल्लको शिलालेखले यो प्रमाणित गर्छ। यसैबिच दक्षिण एसियामा बुद्धधर्मको प्रचारप्रसारमा कमी आएसँगै लुम्बिनीलगायतका कैयन् तीर्थस्थलको महत्त्व पनि घटेको थियो।

पुरातत्त्व विभागको हिसाबले भने १९औं शताब्दी उर्वर मानिन्छ। यही अवधिमा बोधगया, सारनाथ र कुशीनगरको प्राचीन महत्त्व उजागर भएको हो। लुम्बिनी अझै रहस्यमय नै रहेको थियो।

कतिपयले यो ब्रिटिस इन्डिया र नेपाल अधिराज्यबीच हिमालको काखमा घनाजंगलमा रहेको ठानेका थिए। यही क्रममा सन् १८९६ मा भारतको पुरातात्त्विक सर्भेमा सम्बद्ध पुरातत्त्वविद् अन्टोन फुरार र नेपालका क्षेत्रीय प्रशासक जनरल खडक शमशेरले आफ्नै क्याम्पनजिक रहेको रूपन्देहीमा पुरातात्त्विक खोज गरेका थिए। त्यही क्रममा स्थानीय रूपमा पुजिने रूपा देवीको ढुंगाको मूर्ति फेला परेको थियो। पछि त्यही ढुंगा छैटौं शताब्दीमा बुद्धलाई जन्म दिने महारानी मायादेवीको ढुंगे प्रतिमा रहेको पहिचान भएको थियो।

यसैगरी अन्वेषणका क्रममा अर्काे ढुंगेस्तम्भ पत्ता लागेको थियो, जसमा सम्राट अशोकले आफ्नो राज्यारोहणको २० वर्षपछि बुद्धको जन्मस्थल लुम्बिनी भ्रमण गरेको लेखिएको थियो। सम्राट अशोकले लुम्बिनीमा कर छुट दिनेसमेत घोषणा गरेका थिए। यो ढुंगेस्तम्भको प्रमाण र पछि सन् १८९९ मा भारतका पुरातत्त्वविद् पिसी मुखर्जीले गरेको पुरातात्त्विक अध्ययनले लुम्बिनी नेपालमा रहेको प्रमाण जुटाएका थिए।

हाल, लुम्बिनी विश्वकै प्रमुख तीर्थस्थल बनेको छ। सन् २०१९ मा कुल १५ लाख पर्यटकले यो स्थानको भ्रमण गरेका थिए। बुद्धको मार्गदर्शन र शिक्षामा आकर्षित भएका कैयन् मानिसहरू लुम्बिनी भ्रमण गर्न लालायित हुन्छन्।

जापानका वास्तुकार केन्जो टांगेले सन् १९७० मा डिजाइन गरेको मायादेवी मन्दिरपरिसर आकर्षक छ। सयुक्त राष्ट्र संघका पूर्व महासचिव उ थान्तको चाहनाअनुसार लुम्बिनीमा शान्तिका लागि अन्तर्राष्ट्रिय केन्द्र स्थापना भएको छ। यो परिसरमा पर्ने विभिन्न गुम्बा, बुद्ध जन्मेको ढुंगासहितको मायादेवी मन्दिर, ध्यानकेन्द्र, सङ्ग्रहालयलगायत कैयन् संरचनाहरू बनेका छन्।

यसअघि भिक्षुहरूले गरेका तीर्थाटनको पृष्ठभूमिमा लुम्बिनी जाने हरेक पर्यटक मायादेवी मन्दिरको ऐतिहासिक महत्त्वसँग जोडिन सक्छन्। सम्राट अशोकनिर्मित स्तम्भ, मन्दिरपरिसरमा इँटाको भग्नावशेषलगायतका अनेकन पुरातन अवशेष यहाँका महत्त्वपूर्ण धरोहर हुन्। सबैभन्दा पुरानो भग्नावशेष छैटौं शताब्दीका रहेका छन्। यो समग्र पृष्ठभूमिमा लुम्बिनी विश्वको महत्त्वपूर्ण तीर्थस्थल र सम्पदा हुन पुगेको छ।

-कलिङह्याम पुरातत्त्वविद् हुन्। कलिङह्यामद्वारा ‘होलिडे’ म्यागेजिनमा प्रकाशित लेखको नेपाली भावानुवाद।

प्रकाशित: १५ वैशाख २०८१ १२:५५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App