२९ वैशाख २०८१ शनिबार
image/svg+xml
कला

कारबाही

कथा

उनलाई मैले जिल्लामा भेटेको। छोरीको नागरिकता बनाउन जाँदा देखेको। त्यसबेला अफिसमा व्यस्त भएर काम गरिरहेकी थिई। ऊ व्यक्तित्व सम्पन्न महिला अधिकृत। थोरैमध्येकी एक महिला प्रमुख जिल्ला अधिकारी। ऊ हेर्दा सुशील पनि लाग्थिन्। म र मजस्ता मान्छेको काम समयमा गरिदिने। छोरीको नागरिकतामा हस्ताक्षर गरेर मलाई र छोरीलाई पालैपालो हेरिन्। नागरिकता छोरीका हात पारेपछिमतिर फर्किएर उज्यालो अनुहार लाएर भनेकी थिइन्-अब तपाईंकी छोरी बालिग नागरिक भइन्।

मलाई उनलाई देख्नासाथ लागिरहेको थियो-कहाँकहाँ देखेको मान्छे जस्तो। कतै देखेजस्तो, कोही आफ्नै मान्छे हो कि जस्तो। कार्यालयबाट घरसम्म आइपुगुन्जेल उनको अनुहार आँखाअगाडि नाचिरह्यो।

करिब महिना दिनपछिको कुरा हो। कुनै नौलो मोवायल नम्बरबाट फोन आयो। उठाएर बोल्दा महिला आवाज थियो। म बोलूँ कि नबोलूँ भएर अलमलिएँ। त्यति कोमल र सभ्य आवाज कसको हुन सक्छ।

म अलमलिंदा अलमलिंदै उताबाट बोल्ने महिलाले परिचय दिइन् -म जिल्ला प्रशासन कार्यालयबाट स्वीकृति शर्मा। चिन्नुभएन। म अलमलिइरहेँ।

उतैबाट आवाज आयो के त, अस्ति तपाईंकी छोरीको नागरिकता बनाइदिने मान्छे। उनले चिन्ने गरी आफ्नो परिचय दिइन्।

मैले चिनेको स्वीकृति दिएँ।

उनले पुनः चिने नचिनेको एकिन गरिन्।

मैले चिनेको स्वीकृति दिएँ।

त्यसपछि भनिन्-तपाईंसँग जरुरी काम थियो।

कस्तो काम होला? मैले प्रतिप्रश्न गरेँ।

उनले छोटो संवादपछि भेट्नलाई जिल्ला बोलाइन्।

मनमनमा खुसी भएँ। आफूलाई देखेका दिनदेखि जो मान्छेको अनुहारले रन्थन्याइरहेको थियो। आफ्ना मोवायलमा उसैको फोन आउनु खुसीको कुरा थियो। त्यसरी फोन आउँदा म अवाक् भएँ। खुसी र आश्चर्यले तिरमिराए मेरा आँखा।

भन्नेबित्तिकै हिंड्न त्यति सजिलो थिएन। जे भए पनि घरव्यवहारको पारा मिलाएँ। दुई दिनलाई जिल्ला जानुछ भनेर घरबाट हिंडेँ। म जिल्ला पुगेको दिन अफिस बिदा परेको रहेछ। गाडीबाट ओर्लिएर फोन गरेँ।

उनले फोन उठाएर भनिन्, ‘म अहिले अलि व्यस्त छु। डेढ घन्टापछि थकाली चुलोमा आउनुहोला।’

म उनले भने अनुसारको थकाली चुलामा गएर बसेँ। उनी आइपुगुन्जेल मेरो मनमा कुरा खेलिरहे -उनले किन बोलाइन् होलिन्? ऊ को होलिन्? उनको परिचय प्रमुख जिल्ला अधिकारी मात्र हो वा अरू कोही पनि हो। मैले राम्रैसँग उनको हँसिलो रसिलो अनुहार सम्झिएँ। उनको व्यग्र प्रतीक्षामा कुरिरहेँ।

मान्छे कुर्न गाह्रो हुन्थ्यो। त्यस दिन त्यति गाह्रो पनि लागेको थिएन। ठिक भनेको समयमा उनी त यहीँ आइपुगिन्।

मैले आदरपूर्वक नमस्कार गरेँ। उनले पनि आदरपूर्वक नमस्कार फर्काइन्। उनैले फुर्तीसाथ कफी खाजा र अरू केके मगाइन्। हामी कफी पिउँदै कुरा गर्न थाल्यौं। रुचिअनुसारको खाजा खायौं। त्यति ठुलो होटलमा त्यति महँगा वस्तु म पहिलोपटक खादै थिएँ। भरे बिल तिर्नुपर्ने हो कि मनमा त्रास पनि थियो तर त्यता नसोची खाएँ।

मलाई सदरमुकामसम्म पुग्नुपर्ने विषय थाहा थिएन। कफीको केही चुस्की लिंदासम्म कुनै कुरा आरम्भ भएन। उनका शरीरमा हेर्दा विवाह भएका चिन्ह थिएनन्। मलाई म्याडम भनेर बोलाउनु उपयुक्त लागेन। अलि समय अलमल भएपछि मैलेनै कुरो कोट्याएँ-मिस मलाई के कामले बोलाउनुभएको थियो कुन्नि?

खाजा खाइसकेर कुरा गरूँ न। एउटा कामले नै बोलाएकी हुँ। यहाँलाई हतार छ र? ऊ अलिकति मुस्कुराइन्।

मैले हतार नभएको जनाऊ दिएँ।

खानपिन सकिनेबित्तिकै कुरा अगाडि बढ्यो। केही अलमल गरेझैँ गरेर उनले प्रतिप्रश्न गरिन्,घरमा को को हुनुहुन्छ?

-म, श्रीमती, एउटा छोरो र छोरी।-मैले खुरुखुरु जवाफ दिएँ।

अस्ति नागरिकता बनाउने छोरीचाहिं बहिनी कि दिदी?

ऊ बहिनी हो। उसको दाइ छ।

ए साँची, तपाईंले पहिला अहिले मैले काम गरेको कार्यालयमा काम गर्नुभएको थियो हो?

हो नि हजुर। म त्यहाँको सानो कर्मचारी थिएँ।

अहिले के गर्नुहुन्छ?

अहिले त गाउँमै खेतीकिसानी गर्छु।

अनि तपाईले काम गरेका बेला त्यहाँ निर्मला नाम गरेकी महिला पनि काम गर्थिन् हो?

हो गर्थिन्।

ऊ अहिले कहाँ छिन् थाहा छ?

त्यो त थाहा छैन मिस।

भन्नुहोस् न । उनकाबारे तपाईलाई के थाहा छ? अरू त सबैले तपाईलाई थाहा छ भन्छन्।

खास केही थाहा छैन। किन र मिस?

भन्नुहोस् न -उनी कस्ती मान्छे हुन्? उनको चरित्र कस्तो थियो?

त्यो पनि मलाई त्यति थाहा छैन।

उनी केही मुस्कुराइन्। केही गम्भीर बनिन् र भनिन् -तपाईं झुट बोल्दै हुनुहुन्छ।

उनले मलाई प्रहरी अधिकृतले जस्तै खेरिन्। म अलमलिएँ। मैले अलमलिनुभन्दा सजिलै उम्कने उपाय सोचेँ  र भनेँ- उनी त्यही अफिसमा काम गर्थिन्। साथीहरूले चरित्रका बारे अलि दोष लगाएको सम्म थाहा छ। त्यसपछि कहाँ गइन्, के गरिन्, कहाँ बसेकी छन्, त्यो केही थाहा भएन।

निर्मलाजीले तपाईलाई भेट्न खोज्नुभएको छ। के भेट दिन सक्नुहुन्छ?

म अलि झस्किएँ। त्यसो भए पनि मनको डर मनमै राखेर भनेँ-उनी कहाँ छन् र?

उहाँ म बस्ने ठाउँको नजिकै बस्नुहुन्छ। के तपाई भेट्नुहुन्छ?

भेट्ता त हुन्थ्यो। तर धेरै वर्ष भयो। चिन्ने हुन् कि होइनन्?

किन नचिन्नु? उहाँले सधैं तपाईंको कुरा गरिरहनुहुन्छ। उहाँ र तपाईं एउटै अफिसमा काम गरेको मान्छे। अहिले म त्यही अफिसमा काम गर्छु भन्ने थाहा पाएपछि खुब सोधीखोजी गर्नुभएको छ।

ओहो मिस, हो नि सँगै काम गरेको मान्छे सम्झना त आइहाल्छ नि। म त अलि बिर्सन थालिसकेको रहेछु। के छ उनको खबर? उनको बिहे भयो? -मैले एकै सासमा सोधेँ।

छैन कहाँ विवाह हुनु? उहाँ एक्लै हुनुहुन्छ।

म उनका कुरा सुनेर अलि हच्किएको थिएँ। विवाह पनि भएको छैन भनेपछि उति हच्कन आवश्यक ठानिनँ। मेरा मनमा हँसिली निर्मला आएर ठोकिइन्। उनको कोमल बोली व्यवहार र शरीरले समेत स्पर्श गर्‍याे।

युवती मलाई हेरिरहेकी थिई। सायद म एकोहोरिएँ।

के निर्मलाको नाम सम्झनुभयो? म बेल्न नपाई उनैले भनिन्-के उनको याद आयो?

म मौन उनका मुखमा हेरिरहेँ र अलि पारा पारेर सोधेँ-तपाईं किन यी सबै कुरा सोधिरहनुभएको छ?

उनको अनुहार अलि गम्भीर भयो। कथामा सुनेकी काली महाकालीको जस्तै अलि आक्रामक पनि। उनी अलि चर्को आवाजमा बोल्न थालिन्। उनी बोल्दै गइन्-म हो त्यै निर्मलाकी छोरी हुँ। तपाईले बलात्कार गरेर अरू आरोप लगाएर खेद्नुभएको थियो नि! हो त्यही निर्मलाकी छोरी! तपाईंले माया गरेर फेरि बेवास्ता गर्नुभएको थियो नि! हो त्यही पात्रकी छोरी। सोझो भाषामा भनूँ? सुन्नुहुन्छ? म तपाईको बलात्कारबाट जन्मिएकी छोरी।

म छाँगाबाट खसेँ। मेरो निधारभरि पसिना आए। म केही बोल्न नपाई उनै बोलिन् -हाम्रो देशमा बलात्कारीलाई कडा कारबाही गर्ने कानुन बनेको छ। म त्यो कानुन बुझ्छु र तपाईंलाई कारबारी गर्न सक्छु ।ल भन्नुहोस् अब तपाईँलाई म के कारबाही गरुँ?

म केही बोल्नै पाएको थिइनँ। उनी आफै बोल्दै गइन्-देशमा आमाको नामबाट नागरिकता बन्ने कानुन नआएको भए? मैले तपाईका अरू दुई जना छोराछोरीका नागरिकतामा सही गर्न पाउने थिइनँ। तपाईलाई थाहा छ मेरी आमाले तपाईका कारण कति दुःख पाउनुभयो? समाजको कति अपमान सहनुभयो? मान्छेको कति भनाइ खाइन् उनले। कति भनाइ  खाएँ होला मैले? बाबु बेगरकी छोरी भएर हुर्कँदा मेरो के हविगत भयो होला?

उनका कुरा सुनेर म बसेको सोफा काम्यो। बसिरहेको होटल नै फनफनी घुम्यो। मैले मन थामेर आँस पुछेर मुख खोलेर भनेँ-मलाई माफ गर मेरी छोरी।

उनले भनिन्, तपाईले माफ मसँग होइन मेरी आमासँग माग्नुपर्छ। मेरा जीवनमा बाबुको मायाको अनुभव छैन। तपाई रोएर मलाई त्यस्तो फरक पर्दैन। म चाहन्थँ भने दुवै भाइबहिनीको नागरिकता बन्न नदिन सक्थेँ। तपाईको आधा अंश माग्न आउन सक्थेँ। मेरा जीवनमा छोरी भन्ने मान्छेको अनुभव छैन। मेरा जीवनमा बाबु भन्ने पात्रको अनुभव छैन। तर सम्झनुहोस् त आमाको पीडा?

उनका कुरा सुनेर म केही बोल्न सकिनँ।

म तपाईलाई आज यति सम्झाउन आएकी। मेरी आमालाई भेटेर फेरि रुवाउने कोसिस नगर्नुहोला। म उहाँकी छोरा र छोरी दुवै हुँ। अहिले म जान्छु। यहाँलाई यहाँसम्म आउन कष्ट भयो होला। यहाँका लागि यो बाटो खर्च व्यवस्था गरिदिएकी छु।

म केही बोल्न नपाई उनी उठिन्। उठ्ता उठ्तै मेरा हातमा एउटा खाम थमाइन्। निकै हतारमा होटलको बिल तिरेर निस्किइन्। उनले होटलबाट निस्कँदै गर्दा मलाई फर्किएर पनि हेरिरन्।

मलाई लाग्यो उनले बोलेका कुरो अब गोप्य छैन। होटलको रिसिप्सनमा बस्ने नानीले सुनिरहेकी थिइन्। म अलमल परेँ। मलाई लाज, डर, पश्चाताप अनेक कुराले छोप्यो। म पनि होटलबाट निस्किएँ।

मलाई कुन बाटो भएर बजार छेउको चौतारामा पुगेँ थाहा भएन। स्वीकृतिले हातमा राखिदिएका खाममा के होला? कसैले देख्लान् कि जस्तो मान्दै बिस्तारै त्यो खाम खोलेँ। उनले खाममा हालेर दिएको रकम मैले जिन्दगीभर जागिर खाए बराबर थियो। निर्मला त्यही अफिसमा भुइँ पुछ्ने गर्थिन्। आज उनकै छोरी त्यसै अफिसकी प्रमुख छन्। उनले काम गरेको जिल्लाकै प्रमुख छन्। म गाउँमा भैँसी पाल्छु।

म पश्चाताप र ग्लानिले पग्लिएँ। स्वीकृतिले दिएको त्यो रकम खर्च गर्ने आँट पनि आएन। त्यसै होस विहोसमा नै घर फर्किएँ। श्रीमती र छोराछोरीलाई किन शहर गएको थिएँ? कहाँ पुगरेर आएँ? कसले बोलाएको थियो? केही भन्न सकिनँ। छोराछोरी दुवैको नागरिकता मागेर हेरेँ। तिनमा अधिकृतको हस्ताक्षर गर्ने महलमा स्वीकृति शर्माकै हस्ताक्षर रहेछ।

आज म आफैंसँग प्रश्न गरिरहे छु, म कस्तो पुरुष हुँ? आज मलाई मेरै अनुहार ऐनामा हेर्न लाज लागिरहेछ। कहिलेकाहीं माफी माग्न नमिल्ने गल्ती हुँदो रहेछ।  

प्रकाशित: १६ वैशाख २०८१ ११:१८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App