३ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
कला

सासू सम्मेलन

लघुकथा

उपस्थित सासूहरू नमस्कार!

हामी बुहारीपीडित सासूहरू। घरघरका बुहारी आफ्नै सुरमा छन् हाम्रो एक सुन्दैनन्। हामीले दुखकष्ट सहेर जन्माइहुर्काइ लाठे बनाएको छोरा उनीहरूकै अधीनमा। हाम्राविरुद्ध कुरा लाउँछन्, छोराले पत्याउँछ। यस्ता कर्कश बुहारी हामीलाई चाहिंदैन, बहिष्कार गरौं। बुहारी त हामीअनुकूल आज्ञाकारी हुनुपर्छ। यस्तै संस्कारी बुहारी मात्र स्वीकार गर्ने निर्णय गरौं।

सासू- मन जितें भन्ठानेर मन्तव्य सकिन् तर ताली कसैले बजाएन।

अबको पालो कान्छी सासूको- उपस्थित सासूआमाहरू अभिवादन!

पूर्व वक्ता मित्रले बुहारी पीडित कुरा उठाउनुभो- होला आंशिक सत्य तर बिर्सन नहुने कुरा एकोहोरो रोटो पाक्तैन, एक हातले ताली बज्दैन। बुहारी नभई हामी सासू भइँदैन। हाम्रा छोरी कसैका बुहारी यो हो सृष्टिको अनिवार्य आवश्यकता।

हामी चाहन्छौं छोरीलाई सासूले मैले जस्तै माया दिऊन्, स्नेहले राखून् त के हामीले बुहारीसँग छोरीलाई जस्तै आत्मीय व्यवहार गरेका छौं? छैनौं। आफूले दुख दिने अनि बुहारीबाट सम्मान खोज्ने? जे रोपिन्छ त्यै फल्छ, प्रकृतिको नियम हो नि!

बुहारी कुनै पराई हैनन् परिवारकै सदस्य हुन्। सासूससुरा, छोराछोरी, बुहारी सबै बराबर एउटै हैसियतका सदस्य। हामी फरक देख्न थाल्छौं अनि कुरो बिग्रन्छ। परिवारमा सबैले सबैको सम्मान गर्ने चलन हुनुपर्छ। हो नि हिजो हामी पनि बुहारी थियौं।

सासूको व्यवहार कति नमिठो लाग्थ्यो आज हामीले त्यै नमिठो बुहारीलाई कोचाउने? मिल्छ यसो गर्न? हो, बुहारीले पनि सासूलाई हेप्नुभएन। घरको काम त आवश्यकता अनुसार जसले जे सक्छ गर्नुपर्छ। तेरो र मेरो होइन सबै काम सबैको हो मिलेर गरौं।

घरव्यवहारमा बुहारीलाई परिचित गराउने सासूले हो। दुखबिमारमा सघाउने सासूले हो। सासू बुहारी त आमाछोरी जस्तै एक अर्कालाई माया गर्ने आत्मीय हुन्। यो मर्म बुझेर इमानदार भइदिने हो भने परिवारमा यो कलहरूपी रोग लाग्दैन। हामी स्वस्थ हुन्छौं।

हेरौं त बाबुछोरा र दाजुभाइमा कलह खासै देखिंदैन। हामी महिला कलहका बिउ बनिदिन्छौं, यस्तो किन हुन्छ? म त भन्छु जन्मघरबाट बाआमा, दाजुभाइ छाडेर नयाँ परिवारमा जोडिन आएकी बुहारीलाई सासूआमाको स्नेह बढी चाहिन्छ। यसले परिवारमा कलहको बिउ उम्रन दिंदैन जीवन सुख हुन्छ।

भेलामा उपस्थित सबैले ताली बजाए।

ठुली सासू भन्दै थिइन्- मेरी  सासूआमाले गरेको व्यवहार नमिठो थियो।

प्रकाशित: १९ वैशाख २०८१ ११:३८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App