२ जेष्ठ २०८१ बुधबार
image/svg+xml
कला

नारायणगोपाल ब्लु मेमोरिज

सन्दर्भ: ३०औँ स्मृति दिवस

गीतकार शिव अधिकारी अहिले हुनुभएको भए एउटा कुरामा खिन्नता व्यक्त गर्नुहुन्थ्यो– नारायणगोपालले गाउने भइसकेको मेरो एउटा गीत गाइदिएनन्।  

शिव अधिकारी नेपालका अधिकांश गीतकारमा एउटा यस्ता गीतकार हुन्, जो एउटै गीतले सर्वाधिक लोकप्रिय भए– सपना भुलाई सारा आँसु पिएर जाऊ, मन्दिरमा छ तिम्रै तस्बिर लिएर जाऊ...।

शिव अधिकारी यो गीतपछि आफ्नो अर्को गीतबाट विशिष्ट परिचय बनाउने कोसिसमा थिए, बाटो ढलिहाल्यो।  

नारायणगोपाल अस्पतालमा। गीतियात्रा भाग–२ स्टोरमा। त्यसका निम्ति संगीत गरेका कति अपूरा गीतका धुनहरू नेपथ्यमा।  

नारायणगोपाल मृत्युपूर्व (मृत्युको करिब डेढ दुई महिनाअघि) शिव अधिकारीलाई भन्दै थिए, ‘गीति यात्रा भाग–२ मा तिम्रो गीत हुन्छ भाइ। पख न, एकपटक यो डा. पुष्करराज सत्यालसित राम्ररी सल्लाह गरौँ। के होला ?’

शिव अधिकारी त्यतिबेला देशान्तर साप्ताहिकमा सम्पादक थिए। देशान्तरको रचनाविधा स्तम्भमै शिव अधिकारीले ठोकेर लेखिसकेका थिए, ‘भन्न हुने भए म यिनलाई स्वरसम्राट भनिदिन्थेँ।’  

नारायणगोपाललाई स्वरसम्राट घोषणा गरेर शिव अधिकारीले प्रशस्त गाली खाइसकेका थिए, नारायणगोपालका साथी वा शत्रु कसैको होइन, स्वयम् नारायणगोपालको।  

आफूलाई स्वरसम्राट भनिएको नारायणगोपाललाई मनपरेको थिएन, उनी अचकाली रिसाएर देशान्तर पढेपछि शिवलाई बोलाए, परिचय गरे अनि थर्काए ‘...त्यस्तो वाहियात पनि लेख्ने हो ? कोही जाबो १०–२० वटा गीत गाएर सम्राट वा शिरोमणि हुन सक्छ। कस्तो बेकाइदाको कुरा लेखेको ?’

शिव चुप रहे वा अझै मुसुमुसु हाँसिरहे।  

शिवको हाँसोसित जस्तै कठोर मान्छे पनि पग्लिहाल्थे।  

बन्द भएको बागीना पत्रिकाका भूपू सम्पादक नारायणगोपाल र चलिरहेको देशान्तर पत्रिकाका सम्पादक शिवका बीच दुई–तीन भेटपछि उनले गीत मागे। अनि उनले आफूसित भएका पाँच छानिएका गीतमध्ये एउटा गीत देखाए, कमलादीको मोडको चियापसलमा। जहाँ कैयौँ वर्षपछि शिव अधिकारीले त्यही कथा मलाई त्यही चियापसलमा सुनाएका थिए।  

पेमाला गुरुवाचार्यले  लेखेकी छन्, ‘नारायणगोपालको स्वरको, आवाजको, गलाको आफ्नै अद्वितीय भाषा छ, आफ्नै ओज छ। सम्भवतः यसै कारण स्वरका ज्ञाताहरू, स्वरका मर्मज्ञहरू यो आवाजलाई, स्वरलाई कालजयी स्वर भन्ने गर्छन्।’

कथा यत्तिकैमा सकिएन, शिव अधिकारी नारायणगोपालसित एउटा भव्य अन्तर्वार्ता गर्न चाहन्थे। त्यो पनि सम्भव भएन, अन्तर्वार्ता तय भएको दिन शिवलाई बाह्रबिसे जानुप¥यो, नारायणगोपाललाई दिल्ली।  

शिव अधिकारी भोला चटर्जीले बिपी कोइरालासित लिएको अन्तर्वार्ता जस्तै एउटा लामो अन्तर्वार्ता लिने सोचमा थिए। त्यो पनि च्याप्टर क्लोज भो।  

फर्केर आएपछि नारायणगोपाल अस्पतालको अस्पताल भए। शिव अधिकारी पुतली सडकको देशान्तर कार्यालयमा।  

नारायणगोपालले अन्तर्वार्ता दिएको भए शिव अधिकारी सातौँ पत्रकार हुन्थे, नारायणगोपालको अन्तर्वार्ता लिने। रामचन्द्र न्यौपाने, हरिहर विरही, शरच्चन्द्र वस्तीले भर्खरै उनको अन्तर्वार्ता लिएका थिए त्यो बेला।  

नारायणगोपालले गाएको भए शिव अधिकारीको जीवनको त्यो रेकर्डेड दोस्रो गीत हुन्थ्यो। त्यो गीतको संगीत कस्तो भएको थियो थाहा छैन, तर शिव अधिकारीले कहिलेकाहीँ देशान्तर कार्यालयमा गुनगुनाएर सुनाउँदा मिठै लागेको थियो।  

शिव अधिकारीले नारायणगोपाललाई छाडेनन्, मरेपछि पनि छाडेनन्।  

मरेपछि भन्नाले यो अलि अशुद्ध देखिएला, वास्तवमा कुरा त्यही हो, नारायणगोपालको देहान्त भएलगत्तै नारायणगोपालको सम्मानमा देशान्तर साप्ताहिकले पहिलोपटक विशेषांक निकालेको थियो, यसमा डा. विश्वम्भर प्याकुरेल, किशोर नेपाल, यस पंक्तिकार लगायतले लेख लेखेका थिए।  

देशान्तरपछि अन्य धेरै पत्रपत्रिकाले पनि नारायणगोपाल विशेषांक निकाले।  

नारायणगोपालले आफ्ना हरेक गीतकारलाई गर्व गर्न लायक बनाएर गाएका छन्। चाहे कालिप्रसाद रिजाल हुन्, वा हरिभक्त कटुवाल, ईश्वरवल्लभ हुन् वा नर्देन रुम्बा, सबैलाई उनले तिम्रो गीत महŒवपूर्ण छ भन्ने आभास दिएकै हुन्– गाउँदा पनि, गाइसकेपछि पनि।  

गायनमा नारायणगोपाल साह्रै चुजी मान्छे हुन् र साह्रै स्वार्थी पनि। साह्रै लोभी मान्छे हुन्, अनि जिद्धी पनि।  

भैरवनाथ रिमाल कदमको गीत ‘जुन फूल मैले चाहेको थिएँ’ र डा. राममान तृषितको ‘मैले पुण्य मन पराएँ या पाप मन पराएँ’ यसका दुई ज्वलन्त उदाहरण हुन्।  

कदमको ‘जुन फूल मैले’ रेकर्ड भइसकेपछि त्यसमा सानो अशुद्धि देखियो, फेरि गाउनुपर्ला भन्ने गीतकारको आग्रहमा नारायणगोपालले कन्फिडेन्सका साथ भने, ‘मैले गाइसकेँ, गलत सही जे भए पनि अब चल्छ।’  

र, गीत चल्यो पनि। अशुद्धिको इतिहास थाती नै छ।  

तृषितले आफ्नो गीत नारायणगोपाललाई नरसिंह चोकको डेरामा डायरी खोलेर देखाए र सुनाए। सुन्नेबित्तिकै नारायणगोपालले डायरी मागे र पाना च्यातेर गीत लिए अनि भने, ‘तिमीले यो गीत अरुलाई दिन्छौ कि भन्ने डर छ मलाई।’  

नारायणगोपालले आफ्ना हरेक गीतकारलाई गर्व गर्न लायक बनाएर गाएका छन्। चाहे कालिप्रसाद रिजाल हुन्, वा हरिभक्त कटुवाल, ईश्वरवल्लभ हुन् वा नर्देन रुम्बा, सबैलाई उनले तिम्रो गीत महत्वपूर्ण छ भन्ने आभास दिएकै हुन्– गाउँदा पनि, गाइसकेपछि पनि।  

यसरी उनले ‘मैले पुण्य मनपराएँ’ खोसेर लिएका थिए, डा. राममानबाट। पछि यसलाई गोपाल योञ्जनले संगीत गरे।

गीत चयनका हिसाबले नारायणगोपाल सदैव सतर्क र सजग रहे।

२०४५ जेठ ८ गते प्रज्ञा भवनमा मञ्चन भएको उनको पहिलो एकल कार्यक्रम स्वर्णिम सन्ध्यामा उनले निकै छानेर गीत गाए।

त्यस कार्यक्रममा उनले ईश्वरवल्लभ, अम्बर गुरुङ, हरिभक्त कटुवाल, नगेन्द्र थापा, गोपाल योञ्जन, कालीप्रसाद रिजाल, दिव्य खालिङ चाँदनी शाह, नीर शाहका सेलेक्टेड गीत गाए, चाहेर पनि चलचित्रका गीत गाएनन्। र, उनले आफ्नो सुरुवाती गायन गोपाल योञ्जनको ‘तिम्रो जस्तो मुटु मेरो पनि’लाई माने तर त्यसअघिका गीत उनको सूचीमा थिएन।  

रेकर्डिङका मामलामा मात्र होइन, नारायणगोपाल आफ्नो मञ्चीय प्रस्तुतिमा पनि कति सजगता अपनाउँथे भन्ने झलक यहाँ देखिन्छ।  

काठमाडौंमा स्वर्णिम सन्ध्या गर्नुअघि उनले दिव्य खालिङसित दार्जिलिङ र सिलीगुडीमा ‘ब्लु नोट्स विद् नारायणगोपाल’ गरिसकेका थिए। त्यो कार्यक्रम फ्लपजस्तै भएपछि नारायणगोपाल एकल साँझ गर्ने तयारीमा थिएनन्। उनका निकटवर्ती मित्र वसन्त चौधरी अनि डा. विश्वम्भर प्याकुरेलको पहलमा उनी एक साँझ मञ्चमा उभिए, वाद्यवादकका साथ। यस कार्यक्रममा उनका साथ राजु अग्रवाल, भूपेन्द्र रायमाझी, मदनसिंह नेपाली आदि थिए भने कोरसमा साथ दिनेमा विजया गिरी र लोचन भट्टराई थिए।  

स्वर्णिम सन्ध्या प्रस्तुत गर्दा नारायणगोपालले त्रिविविका उपकुलपति महेशकुमार उपाध्यायसित नियुक्ति लिएर ललित कला क्याम्पसमा सह–प्राध्यापक भइसकेका थिए। उनले ललितकलाका आफ्ना समकक्षी साथीहरूलाई स्वर्णिम सन्ध्या सफल भयो भने म तिमीहरूलाई एउटा भोज खुवाउँछु भनेका रहेछन्।  

स्वर्णिम सन्ध्या मञ्चन भएर ५७ हजार पाइसकेपछि पनि उनले कुनै पार्टी नदिएको भएर साथीभाइले जिस्काउन थालेपछि उनले कलेजबाट आयोजना गरेको वनभोजमा खसी एउटा स्पोन्सर गरेछन्। त्यो खसी उनी आफैँलाई बनाउने इच्छा रहेछ, तर उनका एक साथीले बावर्चीको भूमिका निर्वाह गरिदिएपछि उनी रिसाउनुसम्म रिसाएछन्।  

नारायणगोपाल खानपिनमा पनि निकै सोखिन थिए भन्ने कुरा यसअघि धेरै चर्चामा आइसकेको छ, तर उनले पकाएको भन्दा कसरी पकाउने भनेर सुनाएको मात्र सुन्दा पनि खाउँखाउँ लाग्छ भन्नुहुन्छ– गीतकार नगेन्द्र थापा।  

गीतकार नगेन्द्र थापा र नारायणगोपालको सम्बन्ध नारायणगोपाल स्वरसम्राट हुनुभन्दा अगाडिकै हो, धेरै अगाडिको। सुरुवातमा उनले दुई थापाका गीत गाए, रत्नशमशेर थापा र नगेन्द्र थापा।  

रत्नशमशेर थापासित उनको सम्बन्ध लामो गएन, तर नगेन्द्र थापासित उनको सम्बन्ध कहिले बिग्रेन।  

स्नातकसम्म अध्ययन गरेका नारायणगोपाललाई सांस्कृतिक संस्थानका महाप्रबन्धक बनाउनुमा नगेन्द्र थापाको धेरै ठूलो हात छ।  

गोपाल योञ्जन र नारायणगोपाललाई घनिष्ठ बनाउनमा नगेन्द्र थापाकै बढी हात छ, तर यी दुईलाई मीत लगाइदिने काम कवि ईश्वरवल्लभले गरेका थिए।  

ईश्वरवल्लभ त्यतिबेला दार्जिलिङ थिए, नगेन्द्र थापा र गोपाल योञ्जन पनि उतै। तर, त्यतिवेला नारायणगोपाल भारतको बरौडास्थित महाराज सयाजी राव युनिभर्सिटीमा शास्त्रीय संगीत पढ्दै थिए, जुन नारायणगोपालको रुचिको विषय थिएन।  

नारायणगोपालले आफ्नो मातृभाषामा जम्मा चारवटा गीतमा संगीत गरेका छन्– कवि गिरिजाप्रसाद जोशीको ‘दक्कले सागु अय्ला जितः’ र ‘तुयुगु भ्वँ जिगू जिन्दगी’ अनि दुर्गालाल श्रेष्ठका दुई गीत ‘म्ये हालि जिँ न्हय् वये की छ’ र ‘जीवनय् छक जिँ नं मतिना’। उनले भारतीय संगीतकार भी बलसाराको संगीतमा परिवर्तन चलचित्रका निम्ति गाएका छन्।

आफ्ना पिता आशागोपाल गुरुवाचार्यको करकापले महाराज सयाजी राव युनिभर्सिटी पढेका नारायणगोपालले २०२२ मा त्यहाँको पढाइ त्यागेर नेपाल फर्के।  

०२३ मा उनले रेडियो नेपालले आयोजना गरेको आधुनिक संगीत सम्मेलनमा सर्वोत्कृष्ट संगीतकारका रूपमा पुरस्कृत भए। ०२४ मा उनी रेडियो नेपालको आधुनिक संगीत सम्मेलनमा सर्वोत्कृष्ट गायकका रूपमा पुरस्कृत भए। ०२५ सालमा उनी नेपाली कथानक चलचित्र परिवर्तनमा गाउनका निम्ति कोलकत्ता गए, पहिलोपटक उनले फिल्मका निम्ति गीत गाए, ‘बुझ्नै सकिनौ तिमीले मेरो आँखाको भाखा मेरो’, ‘बैनीको दया छ भने रोदीघर दाइ नाच्यो नभने’, ‘जतिको माया मेचीलाई उति नै महाकालीलाई’ आदि। यद्यपि उनी यसअघि २०२१ मा माइतीघरका निम्ति गीत गाउन मुम्बई जाँदा गला खराब भएर गीत नगाई फर्केका थिए।  

‘परिवर्तन’पछि उनले नेपाली चलचित्र मनको बाँध, सिन्दुर, कान्छी, बदलिँदो आकाश, माया, लाहुरे, चिनो, कोसेली, दक्षिणा, चोट आदिमा गाए।  

कान्छी फिल्ममा गाएको ‘छोरीको जन्म हारेको कर्म’ गीतका लागि उनलाई नेपालमा सम्पन्न पहिलो चलचित्र महोत्सवमा सर्वोत्कृष्ट गायकको पुरस्कार दिइएको थियो, तर उनले अस्वीकार गरे।  

नारायणगोपालले दरबारबाट दिइने तक्मा ०३३ र ०४७ मा पाए, क्रमशः गोरखा दक्षिण बाहु (चौथो) र त्रिशक्ति पट्ट (तेस्रो)।  

मदन पुरस्कार गुठीले दिने गरेको जगदम्बाश्री पाउने उनी पहिलो व्यक्ति थिए, उनलाई सो पुरस्कार दिँदा ‘एसर्सन’मा उनलाई कवि–गायक भनिएको थियो।  

वास्तवमा त्यो सही पनि हो, नारायणगोपालले महाकवि लक्ष्मीप्रसाद देवकोटादेखि लिएर नेपालभाषाका महाकवि गिरिजाप्रसाद जोशी, दुर्गालाल श्रेष्ठ, सिद्धिचरण श्रेष्ठ आदिका गीत गाएका छन्।  

महाकवि लक्ष्मीप्रसाद देवकोटाको मुनामदन मन परेर त्यस गीति नाटकको एउटा दृश्य गीत उनले आफैँ संगीत गरेका छन्, सहगायनमा कमला श्रेष्ठका साथमा।  

नारायणगोपालले नातिकाजी, शिवशंकरदेखि शुभ शम्भुजितसम्मको संगीतमा गाएका छन् भने नारायणगोपालको संगीतमा अरुणा लामा, फत्तेमान राजभण्डारी, कन्हैयाकुमार जोशी, तारादेवी, दिलमाया खाती र ध्रुव केसीले गाएका छन्। उनको निधनपछि उनको संगीतमा लोचन भट्टराई, रामकृष्ण ढकाल, अमरराज शर्मा, शैलेश सिंह, सत्यनारायण मानन्धर आदिले गाए।  

नारायणगोपालले आफ्नो मातृभाषामा जम्मा चारवटा गीतमा संगीत गरेका छन्– कवि गिरिजाप्रसाद जोशीको ‘दक्कले सागु अय्ला जितः’ र ‘तुयुगु भ्वँ जिगू जिन्दगी’ अनि दुर्गालाल श्रेष्ठका दुई गीत ‘म्ये हालि जिँ न्हय् वये की छ’ र ‘जीवनय् छक जिँ नं मतिना’। उनले भारतीय संगीतकार भी बलसाराको संगीतमा परिवर्तन चलचित्रका निम्ति गाएका छन्।  

नारायणगोपालको गायनको यात्रा राममान तृषितको शब्द, प्रेम माणिकको संगीतबाट सुरु भयो। संगीतकार प्रेम माणिक अर्थात् प्रेमध्वज प्रधान र माणिकरत्नले नै उनलाई रेडियो नेपालमा स्वर परीक्षाका निम्ति लिएर गएका थिए।  

रेडियो नेपालमा नारायणगोपालले स्वरपरीक्षा दिँदा निर्णायकमा चार व्यक्ति थिए– उस्ताद गोविन्दलाल, नातिकाजी, तारिणी कोइराला र जनार्दन सम।  

यी चारैजनामा उनको स्वर सुन्नेबित्तिकै मनपराउने पहिलो व्यक्ति थिए, उस्ताद गोविन्दलाल।  

नारायणगोपालको स्वरलाई आज जनमतले पास गरिसकेको छ, यो स्वरको विकल्पमा अर्को स्वरको खोजी भइरहेको आज ३० वर्ष बितिसक्यो। यतिबेला मलाई नारायणगोपालपत्नी पेमाला गुरुवाचार्यको यो पंक्ति झल्झली याद आउँछ, उनले ‘कालजयी स्वरहरू’ पुस्तकको आमुखमा लेखेकी छन्, ‘नारायणगोपालको स्वरको, आवाजको, गलाको आफ्नै अद्वितीय भाषा छ, आफ्नै ओज छ। सम्भवतः यसै कारण स्वरका ज्ञाताहरू, स्वरका मर्मज्ञहरू यो आवाजलाई, स्वरलाई कालजयी स्वर भन्ने गर्छन्।’  

भर्खरै केही दिनअघि मानव अधिकारकर्मी कपिल श्रेष्ठले सामाजिक सञ्जालमा लेखे– ‘आधुनिक नेपालको सांस्कृतिक इतिहासको महत्वपूर्ण पाटो नै नारायणगोपाल हो।  

कालजयी स्वरलाई लाख–लाख सलाम।

प्रकाशित: २० मंसिर २०७७ ०४:३० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App