२ जेष्ठ २०८१ बुधबार
image/svg+xml
कला

‘ब्युँझे पनि म देख्छु, तिमी नै म देख्छु निदमा’

अबिचुरी

विश्वकवि रवीन्द्रनाथ ठाकुरले आफ्नो एक गीतमा एउटै विशेष्यका लागि तीन विशेषण प्रयोग गरेका छन्– साधक, प्रेमिक र पागल।  

यिनमा शेष दुईको सदा नै सम्मानार्थी मानिँदै आएको छ, तर तेस्रो पनि अपांक्तेय होइन। तीनैवटा एकैसाथ हात पक्डेर एकसाथ अन्तरंगमा एकै भावमा अघि बढ्छन्। मानौं तीनवटा सम्बोधन अलग होइन एउटै लाग्छ, गायक जगतमर्दन थापाका लागि।

उनी संगीतका निम्ति तीनै हुन्– साधक, प्रेमिक र पागल।  

दिवंगत गायक जगतमर्दन थापामा समर्पित यो लेखको सुरुवात उनैले गाएको गीतको पंक्तिबाट गरौँ–  

हेरेर खालि तस्बिर कति दिन बुझाउँ यो दिल।  
भन लौ तिमी नढाँटी कसरी बुझाउँ यो दिल।।  
००

शहन्शाह ए गजल मेहदी हसन पाकिस्तानबाट नेपालमा आएर काठमाडौंको सभागृहमा ‘साम ए गजल’ कार्यक्रम गर्दा उनले प्रस्तुत गरेको यो नेपाली गीत वा नज्म, गजल वा गजल शैलीको रचनालाई प्रस्तुत गरेका थिए। यो २०४१ सालको कुरा हो।  

मेहदी हसनले सारा नेपाली गीतमा यसैलाई किन छाने, म बुझ्दिनँ यसका केही ऐतिहासिक वा गैरऐतिहासिक कारण अरु केही होलान् तर यही गीत उनले किन गाए ? यसबारे न उनी जान्दथे, न यो गीतलाई पहिलोपटक संगीत गर्ने गायक जगतमर्दन थापा नै।  

गजल गायक मेहदीले यो गीत गाउँदा आफ्नो गीतमा तल्लफुज ( स्वरोच्चारण) सच्याउन र बनाउन दीपक जंगमको नाम उल्लेख गरेका छन्।  

मेहदी हसनले भन्दा २० वर्षअघि नै संगीतकार जगतमर्दन थापाले यो गीत लिली सिंहलाई गाउन लगाइसकेका थिए।  

बंगलादेशका प्रसिद्ध संगीतकार बशीर अहमदकी पत्नी लिली सिंह ब्रिटिस शासित हिन्दुस्तानमा नेपाली परिवारमा माइली छोरीका रूपमा जन्मेकी थिइन्।  

लिली सिंह त्यतिवेला कुमारी लिली सिंह नामबाट चिनिन्थिन्। कलकत्ताको बकोल बगानमा संगीतकार गोपाल श्रेष्ठसित गायन सिकिरहेकी लिली सिंहलाई पहिलो ब्रेक जगतमर्दनले दिए, मवीवि शाहको रचनाको यो गीतमा–

तिमी ज्यान हौ यो जिउको तिमी प्राण जिन्दगीको,  
टाढा बसी कति दिन कसरी बुझाउँ यो दिल।  

यसपछि लिली सिंहलाई कृष्णमान डंगोल लगायत नातिकाजी, शिवशंकरले पनि गाउन लगाए, तर यसको पहिलो श्रेय जगतमर्दन थापालाई नै जान्छ, उनले यसपछि लिली सिंहलाई अर्को गीत पनि गाउन लगाए– आशाको दियो बालेर पर्खिरहुँला।

जगतमर्दन थापाका यी दुई गीतपछि लिली सिंहलाई परिचयको कुनै जरुरत परेन, लिली भारत–पाकिस्तान विभाजन भएपछि बंगलादेशमा गएर बसिन्, आफ्ना संगीतकार पति बशीर अहमदका साथ। उनका एक छोरा राजा र एक छोरी हुमायरा बशीर दुवै अहिले बंगलादेशमा संगीतमा समर्पित छन्। राजा बशीर बेलाबेला आफ्नी आमाको गीत सुन्दा वा बज्दा जगतमर्दन थापालाई सम्झेर फोन गर्छन् तर अब उनले आफ्नी स्वर्गीय आमाको गीत सुनेर फोन गर्नुपर्ने व्यक्ति जगतमर्दन थापाले गत मंसिर २२ गते यो धर्ती छाडिसके।  

अब राजा बशीर र हुमायरा बशीरका लागि आफ्नो बाबुले हार्मोनियम बजाएको जगतमर्दन थापाको कालजयी गीतका पंक्ति मात्र बाँकी छन्– ब्युँझे पनि म देख्छु, तिमी नै म देख्छु निदमा  

दिनरात सम्झेर खालि कसरी बुझाउँ यो दिल।

दिलको बारेमा मवीवि शाहको ‘यो दिल ए बयान’ साहिर लुधियानवीको ‘दिल अकेला सिकारी है’ भनेजस्तै वा गालिबको ‘दिल ढुँढता है फिर वही फुर्सत के रात–दिन’ जस्तै होला वा नहोला, तर गायकीका हिसाबले लिली सिंह, मेहदी हसन, सवितादेवीले त्यहाँ पु-याउन खोजे, त्यसको आफ्नै इतिहास छ। यसको इतिहास निर्माणमा जगतमर्दन थापाको खास भूमिका छ।  

लामो समय सरकारी सेवामा काम गरेका जगतमर्दन कुनै समय प्रसिद्ध हास्य कलाकार मदनकृष्ण श्रेष्ठका हाकिम थिए। शिष्ट र सभ्य कलाकार मदनकृष्ण आफ्ना हाकिम जगतमर्दनबारे भन्छन्, ‘साह्रै मायालु हाकिम हुनुहुन्थ्यो जगतदाइ। उहाँबाट मैले धेरै कुरा सिकेको छु, सबैभन्दा ठूलो कुरा अनुज पुस्तालाई माया गर्नुपर्छ, विश्वास गर्नुपर्छ भन्ने मैले उहाँबाटै सिकेँ।’

लाजिम्पाटका गुड ब्वाय जगतमर्दन थापाको सांगीतिक यात्रा गीत गाएर सुरु भयो, त्यो पनि नेपाली रंगजगतका कीर्तिस्तम्भ रत्नदास प्रकाशसित गाएर, संगीत सिकेर।  

रत्नदास प्रकाशलाई उनी माड्साहेब भन्थे, माड्साहेबले स्थापना गरेको महेन्द्र संगीत निकेतनमा उनी अन्य गायक कलाकार बच्चुकैलाश, पुष्प नेपाली, पीएल श्रेष्ठ आदिका साथ लामो समय सहयात्रामा रहे।  

पिएल श्रेष्ठ, बच्चुकैलाशले ४० को दशकपछि गाउन छाडे, तर जगतमर्दनले गाइरहे, निरन्तर गाइरहे हरेक वर्ष आफ्नो जन्मदिनमा नयाँ–नयाँ गीति संग्रह पस्किरहे।  

२० वर्षको उमेरमा गीत गाउन सुरु गरेका जगतले ८५ वर्षको उमेरसम्म गीत रेकर्ड गराइरहे।  

८५ वर्षको उमेर र गीत। सुन्दा पनि भयावह लाग्छ, तर उनले साँच्चै ८५औँ वर्षको उमेरलाई टार्गेट गरेर रेकर्डिस्ट भोला पौडेलसित पाँच गीत रेकर्ड गराए, आफ्नी पनातिनी पुस्ताकी गायिका मेलिना राईसित जमेर उनले युगल गीत गाए। दक्षिण एसियामा यस्ता घटना बिरलै छन्।  

दक्षिणा एसियाका महान गायक मेहदी हसनले ७० वर्षपछि विश्राम लिए। नेपालमै नारायणगोपालले ४९ वर्षपछि गीत गाउन सकेनन्। सदावहार गायक माणिकरत्न स्थापितले ३८ वर्षपछि गायनलाई ठप्पै गरे। प्रेमध्वज प्रधानले आफ्नो पछिल्लो गीत ७५ वा ७६ वर्षमा रेकर्ड गराए। फत्तेमान राजभण्डारीले ७७ वर्षमा जुन सक्रियता देखाए, त्यसपछि उनी बिस्तारै सेलाए।

नातिकाजी, शिवशंकर, पुष्प नेपाली, अम्बर गुरुङ उमेर अनुसार सेलाउँदै गए, तर जगतमर्दनले एज मार्क तोडिदिए, सायद नेपाल र नेपालीका बीच उनी यस्तो साहस गर्ने अन्तिम गायक थिए र पहिलो नै थिए।  

८५ वर्षको उमेर जीवनको उकालो मात्र हो, मात्र उकालो। झर्ने ठाउँ धेरै तल हुन्छ। नाटककार महेश एलकुन्चवारले भनेका छन्, ‘यो उमेरको एउटा यस्तो उचाइ हो, यहाँ हावा चल्दैन...। हावाविना उभिनुपर्छ।’  

जगतमर्दनका निम्ति त्यहाँ हावा पानी, प्रेम, परिणय, साथीभाइ सबै थिए।  

उनी सधैँ गीतको रियाज, अभ्यास र रेकर्डिङमा व्यस्त थिए।  

रेकर्डिङ स्टुडिओमा गाउनबाहेक उनी मञ्चमा कार्यक्रम दिन पनि भ्याइरहेका थिए।  

कहिले नाचघरमा, कहिले नेपाली चुल्हो लाजिम्पाटमा, कहिले लाजिम्पाट ब्यांकेटमा उनले आफ्नो अल्बम विमोचनका क्रममा धेरैपटक एकल गायन प्रस्तुत गरिसकेका छन्, पूरा अर्केस्टाका साथ।  

रेडियो नेपाल, नेपाल टेलिभिजन, प्रज्ञा–प्रतिष्ठान, संगीत नाटक एकेडेमी लगायत ठुल्ठूला पुरस्कारदाता उनीबाट दूरदूर थिए, तर उनले आफ्नो यात्रा कायमै राखे, संगीत र सक्रियताले।  

उनी ८५ वर्षको उमेरमा संगीत सिक्न जान्थे, कुश्लेचौरमा संगीतप्रवीण नरराज ढकालको संगीतालयमा संगीतका गुरु प्रभु ढकालसित। सिक्नमा उनलाई लाज थिएन र थकाइ पनि।  

उनका गुरु उनकै छोराका उमेरका थिए तर उनले सिक्नमा कुनै कमी–कमजोरी वा अशक्तता देखाएनन्।  

अक्टोजेनेरियन पिँढीका धेरै नेपालीमध्ये जगतमर्दन फरक धारका थिए, जनसम्पर्क, सामाजिक सञ्जाल अनि भलाकुसारीमा उनी सदा सक्रिय थिए।  

मास्टर मित्रसेनको पुस्तालाई आफूसँगै जोड्दै आफ्ना पछि आएका गायक संगीतकारलाई समेत सहकार्य र सामीप्यको ज्ञान जोड्ने जगतमर्दन आफ्ना समयका सशक्त गायक नारायणगोपाल, प्रेमध्वज प्रधान, कृष्णमान, ज्ञानबहादुर, पन्नाकाजी आदिसित सदैव सामीप्यता कायम राख्दै अघि बढे। आफ्नो संगीतमा नारायणगोपालले समेत गीत गाएकोमा उनी गर्व गर्थे भने उनका भाइ तुङमर्दन थापाका रचनामा प्रेमध्वज प्रधानका कैयौँ गीत रेकर्ड भएर आइसकेका थिए।  

सन् १९६२ र सन् १९६६ मा हिज मास्टर्स भ्वाइस कम्पनीबाट आफ्ना दुई डिस्क रेकर्ड निकालिसकेका जिनिअस गायक जगतमर्दनका अन्य पाँच अल्बम प्रकाशित छन्– ४० वर्षअघि र ४० वर्षपछि, मनको शान्ति, माया लुकाइ लुक्दैन, म मक्किएको रूख, तिमी वर्षात् म पतझड।  

अर्थशास्त्रमा एमए गरेका जगतमर्दनले गायनतर्फबाट प्रयाग संगीत विद्यालय इलाहाबाद भारतबाट बिम्युज गरेका थिए।  

१९९३ सालमा सप्तरीस्थित बरमझियामा जन्मेका थापाको सांगीतिक यात्रा कोलकताको हिज मास्टर्सको रेकर्डिङबाट सुरु भयो भने उनले पछिल्लोपटक बलिउडकी गायिका उषा मंगेशकरसित युगल गीत गाएका थिए। यसपालि उनको इच्छा थियो, अर्को युगल गीत गाउने, आशा भोसलेसित। 

उनी सच्चा अर्थमा नेपाली संगीत जगत्का जिउँदो स्रष्टा थिए। यस्ता जिउँदो स्रष्टा जसले कहिल्यै ‘सरकारले मलाई हेरेन, सरकारले मलाई केही दिएन’ भनेर गुनासो गरेनन्। उनले दिन मात्र जानेका रहेछन्, लिन जानेका रहेनछन्। 

समकालीन प्रेमध्वज, नारायणगोपाल, प्रसाद श्रेष्ठ जस्ता कलाकारसित युगल गीत गाएको देखेपछि थापालाई आशा भोसलेसित जोडिने चाह थियो, तर त्यो सपना कोरोनाले खेल खत्तम गरिदियो।  

सुरुमा उनलाई कोरोनाले संक्रमण गरेको देखियो, उनले नर्भिक अस्पतालमा उपचार गर्ने क्रममा कोरोनालाई जितेरै छाडे। दुईपटक प्लाज्मा थेरापी गरे, ठीक भए। आइसियुबाट बाहिर आए, आफ्ना रेकर्डिस्ट भोला पौडेललाई फोन गरे, तयार भएका पाँच गीतलाई मास्टरिङ गर्न आग्रह गरे।  

आइसियुबाट बाहिर आएको केही दिनमै फेरि अक्सिजन लेबल बिग्रिएपछि उनलाई पुनः भेन्टिलेटरमा राखियो। उनको स्वास्थ्य स्थितिलाई लिएर पत्रपत्रिका र सामाजिक सञ्जालमा प्रतिक्रिया आएपछि गायिका कोमल ओलीले प्रधानमन्त्री र स्वास्थ्यमन्त्रीलाई जानकारी गराएर उपचारका निम्ति गम्भीर पहल गरिदिन आग्रह गरेकी थिइन्, तर कतैबाट केही पहल भएन।  

परिवारले विशेषतः आफ्ना पहल र खर्चमा उपचार गरिरहे, महिना दिन लामो उपचारपछि उनले गत सोमबार बिहान अन्तिम सास फेरे।  

गायनमा समर्पित जगतमर्दनको निधनपछि वरिष्ठ पत्रकार हरिहर विरहीले सामाजिक सञ्जालमा नेपाली सांगीतिक धरोहरको अन्त्य भनेर लेखे भने वरिष्ठ चलचित्रकर्मी एवं गीतकार नीर शाहले एउटा अशुभ खबर भनेर तीक्तता व्यक्त गरे।  

देहान्त भएकै दिन उनको अन्तिम श्रद्धाञ्जलि पशुपति आर्यघाटमा सम्पन्न भयो। नेपाली साहित्य, संगीत र चलचित्र जगतका हजारौँ शुभेच्छुक उनलाई श्रद्धाञ्जलि अर्पण गर्न पशुपति पुगेका थिए। पशुपति पुगेर फर्केका गीतकार राजेन्द्र थापा त्यस साँझ भन्दै थिए, जगतदाइले साथीभाइ कति कमाएका रहेछन्। कोरोनाको यस्तो समयमा पनि उहाँलाई श्रद्धाञ्जलि दिनेको कस्तो भीड देखियो। उहाँ सच्चा अर्थमा एकदम करेक्ट मान्छे हो। आफ्नो सम्पूर्ण जीवन सानले बाँच्नुभयो र सानले जानुभयो। यति हो हामीलाई एउटा अल्बमको प्रतीक्षा थियो, त्यो थाती रह्यो।  

थापाले आफ्नो अल्बमको नाउँ राखिसकेका थिएनन् तर राखेको भए त्यसको नाम प्रतीक्षा नै हुनसक्थ्यो, किनकि त्यसका निम्ति उनले पनि धेरै प्रतीक्षा गरेका थिए।  

राम्रा मान्छे सबै जान्छन्, नराम्रा मान्छेले मात्र याद गर्ने होइन होला, उहाँलाई याद गर्ने कति धेरै राम्रा मान्छे यो संगीत जगत्मा अझै छन् र भन्दै छन्, जगतमर्दनदाइ जस्तो असल मान्छे नेपाली संगीत आकाशमा अब अर्को हुन सक्दैन।  

जगतमर्दनलाई गीतकार राजेन्द्र थापा, सुवासचन्द्र ढुंगेल, दुर्गा खरेलका गीतमा काम गर्ने कति ठूलो रहर बाँकी थियो। मास्टर रत्नदाससँग संगीत सिकेका जगतमर्दनले महाकवि देवकोटासित ट्युसन पढेका थिए।  

रेडियो नेपालका उनका धेरै सहकर्मी अहिले गइसके भने नाताले उनका भाइ पर्ने गीतकार रत्नशमशेर थापा यसै वर्ष यो धर्ती छाडे। आफ्ना साथी दौँतरी गए पनि उनी गाइरहेका थिए गीत अनि गुन्गुनाइरेका थिए त्यसको मधुर स्वाद। आज बुझ्दा उनी जिन्दगी बाँचिरहेका थिएनन्, गीत बाँचिरहेका थिए, मात्र गीत।  

उनलाई अत्यन्त माया गर्ने उनका छोरा मोहितमर्दन थापा भन्दै थिए, अस्पतालको शड्ढयामा बुबाले परिवार, छोरानातिलाई होइन, आफ्ना कलाकार साथीभाइ, गीतकार, संगीतकार साथीहरूलाई सोधीखोजी गरिरहेका थिए।  

जगतमर्दनका कैयन् गीतमा उनीभन्दा बढी उनका अतीत र अतीतको अन्तर दोहोरिएको छ। उनका साथ गीत गाउने गायिकाहरू शर्मिला बर्देवा, लोचन भट्टराई, सपनाश्री, मेलिना राईका स्वरमा उनी सदैव गुञ्जिरहनेछन्, थोरै समयका लागि धेरै याद।  

उनले पछिल्लो पुस्ताका कलाकार ओमविक्रम विष्ट, प्रभुराज ढकाल, मदन सिंह नेपाली, मनोहर सुनाम, गोपाल रसाइली, भविन ढुंगानासित सहकार्य गरिसकेका छन्। यी सबैसित उनले सुमधुर याद छाडेर गएका छन्। ती याद नै उनको समूल सम्पत्तिको निसानी हो।  

‘पलाँस फूल’ नामक कथा संग्रहबाट साहित्यिक दुनियाँमा दर्ता भएका जगतमर्दनलाई साझा प्रकाशनको सूचीमा हामीले दोहो¥याएर हेर्न सक्छौँ, उनका कथामा समाजार्थिक विकास, मानसिक स्वास्थ्य र युवा मनोविज्ञानका फरक–फरक स्वाद छन्।  

आज उनले आफ्नो कथाकार, गीतकार, संगीतकारको परिचयलाई अन्ततः गायकमा सीमित राखे, जसका निम्ति उनले बिहान ८ बजे उठेर २ घन्टा संगीत साधना गर्नु अनि गलाका निम्ति परहेजमा बस्नु उनको स्वभाव बन्न पुग्यो र तन्दुरुस्ती उनको हर समयको नियम बन्न पुग्यो।  

जगतमर्दनले जाँदाजाँदै हामीलाई धेरै कुरा छाडेर गए तर उनले छाडेर गएको सबैभन्दा शक्तिशाली चिज हो, अनुशासन। अनुशासनले उनलाई ८५ वर्षसम्म इमानदार राख्यो, जवान राख्यो। उनको जवानीको निशानी हो, उनले कमाएको सुखमय जीवन, कर्मशील जीवन...।

उनी सच्चा अर्थमा नेपाली संगीत जगत्का जिउँदो स्रष्टा थिए। यस्ता जिउँदो स्रष्टा जसले कहिल्यै ‘सरकारले मलाई हेरेन, सरकारले मलाई केही दिएन’ भनेर गुनासो गरेनन्। उनले दिन मात्र जानेका रहेछन्, लिन जानेका रहेनछन्।  

उनले आफ्ना नाति आयुष्मान विष्टलाई विरासतमा भव्य संगीतको ज्ञान छाडेर गए। उनका नाति यो पुस्तामा नारायणगोपाल, बच्चुकैलाश, अरुण थापा, दीप श्रेष्ठ गाउने गायक भएका छन्।  

आयुष्मान र उनीसँगै एकपटक टेलिभिजन कार्यक्रममा प्रस्तुत भएका वेला उनले भनेका थिए, संगीत मेरो जीवनको नशा हो।  

लामो समय सरकारी सेवामा काम गरेका जगतमर्दन कुनै समय प्रसिद्ध हास्य कलाकार मदनकृष्ण श्रेष्ठका हाकिम थिए। शिष्ट र सभ्य कलाकार मदनकृष्ण आफ्ना हाकिम जगतमर्दनबारे भन्छन्, ‘साह्रै मायालु हाकिम हुनुहुन्थ्यो जगतदाइ। उहाँबाट मैले धेरै कुरा सिकेको छु, सबैभन्दा ठूलो कुरा अनुज पुस्तालाई माया गर्नुपर्छ, विश्वास गर्नुपर्छ भन्ने मैले उहाँबाटै सिकेँ।’  

जगतमर्दन गत वर्ष मात्रै स्वरसम्राट नारायणगोपाल स्मृति पुरस्कारबाट सम्मानित भएका थिए, उनी उनका समकालीन किरण खरेल, गीतकार माधव खनाल भावुक, यादव खरेल, प्रेमध्वज प्रधानपछि सम्मानित हुने अर्का स्रष्टा हुन् तर नारायणगोपालले उनको संगीतमा मञ्चमा गाएको गीत रेकर्ड हुन नसकेकामा उनलाई जीवनभर पछुतो रह्यो। नारायणगोपाललाई उनी आफ्ना मनपर्ने गायक मात्र नभई एक आदर्शका रूपमा लिन्थे। नारायणगोपालका एक सय ३७ गीतभित्र आफ्नो गीत नअटाए पनि आफू नारायणगोपालको गायन र जीवन शैलीबाट सदैव प्रभावित भएको उनी बताउँथे।  

जगतमर्दनका समकालीन गायिकाहरू उर्मिलाकुमारी, लिली सिंह, गंगा राणा अब छैनन्। तर तिनले नेपाली संगीतमा पु¥याएको योगदानको उनी खुलेर तारिफ गर्थे। नेपाली संगीतको विकास नहुनुमा जगतमर्दन चाँदीको अहम् भूमिका भएको सम्झन्थे। उनी भन्थे, ‘पहिले हाम्रा रेकर्ड एचएमभीका डिलर मानन्धर परिवार (देवनारायण एन्ड सन्स्)ले कलकत्तामा डिस्क रेकर्ड गराएर ल्याउँथे। त्यो डिस्क रेकर्डमा चाँदीको लेप हुन्थ्यो। रेडियो नेपालले त्यो रेकर्ड किन्थ्यो तर त्यहाँका लाइब्रेरियनहरूले त्यो रेकर्डको चाँदी उप्काएर खालि सिसी पुरानो कागजलाई १० रुपैयाँमा बेचिदिन्थे। यसरी हाम्रा गीत नाश भएका हुन्।  

पञ्चायत काल, गीतमाथिको त्यो दुःख, त्यो दुःखमाथिको त्यो शोषण सब व्यहोरेर आएका जगतदर्मन थापाले नेपाली साहित्यमा कथासंग्रह दिएजस्तै नेपाली गीतिजगत्मा अगणित गीत दिएका छन्। कैयौँ अल्बममा आफ्नो आवाज दिएका छन्, ती सबै आवाजमा उनको संस्वरता, मधुरता अनि अभ्यासी आवाज झल्किन्छ।  

उनका संगीतका गुरु प्रभुराज ढकालले उनको निधनको दिन सामाजिक सञ्जालमा लेखेका छन्, ‘लस अफ ग्रेट ह्युमन बिइङ।’  

चलचित्रको पर्दामा चरित्र अभिनेताको कुशल भूमिका निर्वाह गर्न सक्ने छवि भएका जगतमर्दनका पिता सप्तरीमा चन्द्रनहर निर्माणका क्रममा जाँदा उनी त्यहीँ जन्मेका थिए। सप्तरीको बरमझियाको तराइली माटोको सुगन्ध उनको गीतमा पाइन्छ भने आफ्ना प्रारम्भिक गुरु मास्टर रत्नदासको देशज् गुणलाई उनले आफ्नो गला र कलामा मिसाएका छन्।  

मास्टर रत्नदास प्रकाशकै प्रेरणाले महेन्द्र संगीत निकेतन प्रवेश गरेका उनले संगीतको औपचारिक शिक्षा राजविराजमा यदुलाल वंशबाट लिए भने पछि काठमाडौं आएर शास्त्रीय संगीतका घराना रंगराव कादम्बरीसित विधिवत सिकेर गायनमा प्रवेश गरे।  

कलकत्तामा गीत रेकर्ड गराउन जाँदा लिली सिंहको गायनको काम, हर्कत र स्वरको सफापन देखेपछि शास्त्रीय संगीत ज्ञान हुनुपर्छ भन्ने उनलाई अनुभूत भयो र उनी फेरि २०५७ सालदेखि प्रभुराज ढकाललाई गुरु थापेर संगीत सिक्न थाले।  

उनका पिता महासेनानी नरमर्दन थापा सप्तरीको चन्द्रनहर बनाउने इन्जिनियरिङ कामले त्यहाँ जाँदा उनी सप्तरीमै जन्मे। बाल्यकाल सप्तरीमै बिताएका जगतमर्दनकोे स्कुले शिक्षा पनि उतैको पद्मोदय हाइस्कुल (पछि महेन्द्र विन्देश्वरी हाइस्कुल) मा सम्पन्न भयो। स्कुले शिक्षा सकेर काठमाडौं आएर उनले रहरले २०१३ सालदेखि गाउन थाले।  

रेडियो नेपालमा विधिवत रूपमा स्वर परीक्षा दिएपछि उनी आफ्ना अग्रज नातिकाजी, शिवशंकरलाई पछ्याउँदै संगीत गर्न थाले। साहित्यमा उनको रुचि यथावत थियो, गीत लेखनको काम पनि सुचारु राखे। उनका समयका चर्चित गायक बटुकृष्ण ज्वाला त्यो बेला ‘हे दूरका सितारा मेरो चाँदनी कहाँ छ’ र ‘चञ्चले आँखाले हो हो’ जस्ता गीतमार्फत अकासिइसकेका थिए। गायक ज्वाला उनका घनिष्ठ मित्रमध्ये एक थिए, उनले ज्वालाका निम्ति अर्को सदावहार गीत लेखे–

जुनेली रातमा म कति पर्खूँ गोरेटो हेरेर।
आएनौ तिमी यो मेरो मनमा जुनेली छर्केर।

 यस गीतलाई उनले आफैँ संगीत गरे र ज्वालाको स्वरमा रेकर्ड पनि भयो। किरण खरेलको शब्दमा गीत गाएर चर्चामा आएका ज्वालापछि यो गीतका कारण झन् धेरै व्यापक भए, यसको श्रेय जगतमर्दनलाई नै जान्छ।  

आफ्ना समकालीनमा उनी बटुककृष्णसित बढी नजिक थिए तर बटुककृष्णको २०२५ सालमा असामयिक निधन भएपछि जगतमर्दनले धेरै वर्ष हार्मोनियम छोएनन्। करिब ३० वर्षपछि मात्र उनले पुनः गायनमा पदार्पण गरे, ‘४० वर्षअघि र ४० वर्षपछि’ नामक अल्बमबाट। यस अल्बममा उनले आफ्ना पुराना गीतलाई रिएरेन्ज गरे–  

आशाको दियो बालेर गोरेटो म हेरुँला  
आउँछौ कि तिमी भनेर चौतारीमा पर्खुंला।

गीत–संगीतमा उनको पुनरागमन भयो, उनको कमब्याकलाई संगीत समाजले भव्य स्वागत गरे।
आफ्नो स्वरको शैली र उमेरको ख्याल राख्दै उनले आफ्नो रेन्जको गीत गाए, जसलाई उनका संगीतकर्मी साथीहरूले सराहना गर्दै आए। त्यसमाथि उनको असल स्वभाव अनि व्यवहारका कारण उनले सघाउने र साथ दिने धेरै भए। त्यस लस्करमा ओमविक्रम विष्ट, मदन सिंह नेपाली, मनोहर सुनाम, शक्तिवल्लभ, लोचन भट्टराई, शर्मिला बर्देवा, जुनू भट्टराई, मेलिना राई, सरिता शाही, जिना रसाइली, दिनेश डिसी, नरेश भट्टराई आदिले साथ दिएका छन्। त्यो साथ सदैव कायम रहनेछ भन्ने विश्वास छ। माया लुकाई लुक्दैन अल्बमा उनले एउटा गीत गाएका छन्–  

अचानक आज किन नाचूँ नाचूँ लाग्यो  
जिन्दगी यो अझ धेरै बाँचू बाँचू लाग्यो...।

यस्ता अजरअमर स्रष्टाको एकेक रचना जीवित राख्न उनका छोरा मोहितमर्दन सदैव समर्पित रहनेछन्, यसमा शंका छैन तर ८५ वर्षअघि जन्मेका यस्ता असल नेपाली सय वर्षमा एकजना मात्र जन्मिन्छन्।  

सय वर्षमा एकपटक जन्मिने यस्ता जिउँदो स्रष्टालाई लाख–लाख सलाम !

प्रकाशित: २७ मंसिर २०७७ ०२:५९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App