५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
कला

लालपट्टा

कथा

खुट्टी खोलाको नजिकै खपरा (माटाको खपटा) भएको महलजस्तै घर थियो, सुगिलाल थारुको। बीस कोठाको घर, चार कट्ठाको आँगन। त्यस घरलाई पोखरापाटन घर भनेर चिन्थे सबैले। त्यस घरको अलि पर फाट्टफुट्ट फुसका घर थिए। चारैतिर खुला हरिया खेतका फाँट। चराको चिर्बिर आवाज, कोइलीको कुहुकुहुको मधुर ध्वनि, हावा चल्दा खेतबाट धान र गहुँको बाला स्पर्श गरेर चल्ने हावा गुञ्जायमान हुन्थ्यो।

अग्लो, गोरो, लाम्चो अनुहार, दुवै कानमा सुनको बाली लगाएका सुगिलाल राजकुमारभन्दा कम थिएनन्। गाला निचोर्दा रगत निस्केलाजस्तै सुकुमार थिए। देशमा राणाशासन उत्तराद्र्धमा थियो, उनी शासकसँग कतै जोडिएका थिएनन्, तर आफ्ना पितापुर्खाले पाखुराका बलमा उर्वर बनाएको जमिनमा उनी शासकजस्तै थिए।  

उनका बा चुनिलाल थारुले निधन हुनुअघि उनलाई भनेका थिए, ‘हाम्रो ४५ बिघा खेत छ।’  

सुगिलाललाई ४५ बिघा कति कट्ठा हुन्छ भन्ने थाहा थिएन। उनी निरक्षर थिए। दैनिक १५–२० कामदार उनको खेतमा काम गर्न व्यस्त रहन्थे। कामदारहरू कोही भारततिरका, कोही पहाडतिरका थिए। खुट्टी खोलाको छेउमा बजार लाग्थ्यो, पहाडतिरका कृषक आफ्ना उत्पादन लिएर मेला भर्न आउँथे।  

भारतबाट आएका सातजना र पहाडबाट झरेका १०–१२ जनाको समूहले सुगिलालको घर–खेतमा काम गर्थे। सुगिलाललाई आफ्नो मातृभाषासँगै हिन्दी र नेपाली भाषा पनि आउँथ्यो। किनभने उनले सानैदेखि आफ्नो घरमा हिन्दी र नेपाली बोल्नेको संगत पाएका थिए। उनलाई हिन्दीभन्दा नेपाली भाषा प्यारो लाग्थ्यो।  

कामदारले दिनभरि खेतमा काम गरेबापत अन्न पाउँथे। बिहान–साँझ दूध–घिउसहित भात खान पाउँथे। उनको घरमा गाई, भैँसी र गोरुहरू प्रशस्त थिए।  

पहाडबाट आएकाले सुगिलालको ५–६ महिना काम गरेर ज्यालाबापत धान, चामल लिएर पहाड फर्कन्थे। उनीहरू प्रायः धान रोप्ने बेला तराई झर्थे र धान काटेर जाडो बढेपछि घर फर्कन्थे। पहाडिया कामदारले सुगिलाललाई धेरै आदर गर्थे। सल्लाह पनि त्यत्तिकै राम्रा दिन्थे। पण्डित्याइँ गर्न र पत्र पढ्न जान्दथे। उनको घरमा पूजापाठ गर्दा बाजेको काम गर्दै मन्त्र पनि उच्चारण गरिदिन्थे। भारतीय पनि उनलाई त्यत्तिकै इमानदार लाग्थे।

एकपटक खेतमा धान पाकिसकेको थियो। भएका कामदारले काम गर्न नभ्याएर पाकेका धानका बाला खेतमा झरिरहेका थिए। यो देखेर सुगिलालले थप कामदार बोलाउन मुन्सीलाई आदेश दिए।  

पोखरापाटन घर छेउछाउ ऐलानी जग्गा थियो। तर, ऐलानी जग्गामा घर बनाउने साहस कसैलाई थिएन, किनकि चोर–डाँका धेरै लाग्थ्यो। वर्षभरि उनको घरमा कामदारको फौज भइरहन्थे, त्यसैले डाका लागेको थिएन, उनको घरमा। अन्य गाउँमा डाका लाग्थ्यो तर उनको घरमा धेरै कामदार देखेर डाकाहरू हिम्मत गर्न सकेका थिएनन्।  

उनको घरमा परिवारसहितका कामदार पनि पहाडतिरबाट आएका थिए। सबै सुगिलालको घरमा बस्न सम्भव थिएन। त्यसैले कतिपय कामदारले ऐलानी जग्गामा पाल हाल्दै छाप्रो बनाउन थाले। उनीहरूले ऐलानी जग्गामा आली हाल्दै खेत बनाउन थाले। सुगिलाललाई पनि छिमेकी चाहिएको थियो। हेर्दाहेर्दै उनको घर वरपर छिमेकीको संख्या बढ्न थाल्यो। सुगिलालको आफ्नै अनगिन्ती जमिन भएकाले ऐलानी जग्गामा घर बनाउँदा उनले कसैलाई केही प्रतिक्रिया देखाएनन्। बिस्तारै ऐलानी जग्गा सकियो।

ऐलानी जग्गामा बसेका कामदारले घरमा जाँड बनाएर खान्थे। उनीहरूले कहिलेकाहीँ सुगिलाललाई पनि जाँड खान बोलाउँथे। उनले एक दिन जाँड पिए, उनलाई मिठो लाग्यो। बिस्तारै उनलाई जाँड खाने बानी बस्दै गयो। कामदारलाई प्रत्येक दिन जाँड बनाउन आदेश दिन थाले। बेलुकी प्रत्येक दिन उनी जाँड खान थाले।

कतिपय कामदारले त्यतै घर बनाउने इच्छा जनाए। ऐलानी जग्गा सकिएकाले सुगिलालले केहीलाई आफ्नो जग्गा दिए, दानको रूपमा। जग्गा दिएबापत् उनीहरूले सुगिलाललाई एक एक कन्तरा दही खुवाए। घडेरी पाएपछि खुसी हुँदै उनीहरू आआफ्ना परिवारलाई बोलाए।

सुगिलालको विवाह १२ वर्षको उमेरमा भएको थियो, ३० वर्षको उमेरमा उनका तीन छोरा भएका थिए। देशमा प्रजातन्त्र आएर स्कुल खुल्न थालेका थिए। सुगिलालको घरनजिकै ऐलानी जग्गामा फाट्टफुट्ट देखिएका घरहरू टोलमा परिवर्तन भइसकेको थियो। उनको घरमा काम गर्नेहरूले आफ्ना छोराछोरीहरूलाई स्कुल पढ्न पठाउन थाले।  

पढे–लेखेको मान्छेले अरूको नोकरी गर्नुपर्छ। नोकरी गर्नका लागि मान्छेले पढ्छ। जोसँग सम्पत्ति हुँदैन, ऊ मात्र पढ्छ भन्ने धारणा सुगिलालको थियो। ‘आफ्नै सम्पत्ति हेर्न सकेको छैन। छोराहरूलाई पढाएर अरूको नोकरी गर्न किन पठाउने ? यही सोचले सुगिलालले छोराहरूलाई पढाएनन्।  

दिन बित्दै थियो। म्याट्रिक पढेर कामदारका छोराहरू जागिर गर्न थाले। छोराहरू जागिर गर्न थालेपछि उनीहरू सुगिलालको खेतमा काम गर्न छोडे। उनको खेतमा काम गर्दागर्दै अलिअलि पैसा जम्मा गरेर भारतीयले स–साना दोकान थापे।

उनको घरमा अन्न, दूधघिउ टन्नै हुन्थ्यो, तर पैसा हुँदैनथ्यो। उनको जेठो छोराको बिहे गर्ने बेला भयो। छोराको बिहे गर्ने बेला उनले पहिले आफ्नै घरमा काम गर्ने कुशेश्वरसँग पैसा सापटी लिने सोचे। कुशेश्वरको जेठो छोरो म्याट्रिक गरेर नापीमा जागिर गथ्र्यो। उसले ‘म पैसा दिन्छु, मलाई जग्गा दिनुस्’ भन्यो। उसको कुरा सुनेर उनी खुसी भए। छोरोको बिहेमा कुशेश्वरसँग तीन सय रूपैयाँ सापटी लिए। तीन सय त्यति बेला धेरै ठूलो रकम थियो। उनले पैसा लिएबापत कुशेश्वरलाई एक सयको एक कट्ठा जग्गा दिने वाचा गरे। उनलाई थाहा थिएन, एक कट्ठामा कति धुर हुन्छ भन्ने। कुशेश्वरको छोरो तुलसी नापीमा काम गर्ने भएकाले जग्गाको कारोबार गर्न बाठो थियो। उसले कट्ठाको एक सयका हिसाबले तीन कट्ठाको सट्टा एक बिघाको कागज बनाएर औंठाछाप लगाउन लगायो। उनले चुपचाप औँठाछाप लगाए। उनले तीन कट्ठा मात्र बेचेका थिए, तर कुशेश्वरले छल गरेर एक बिघा जग्गा लिएको थियो।

कामदार वीरबहादुरकी श्रीमती मनमायाले पाल टाँगेर भट्टी खोलिन्। उसले सुगिलालको खेतमा काम गर्न छाडिन्। मनमायाको भट्टीमा धेरै मिठो रक्सी पाइन्छ भन्ने सुगिलालले सुने। उनले घरमा बनाएको जाँड खान छाडे र मनमायाको भट्टीमा रक्सी पिउन जान थाले। उनीसँग पैसा हुँदैनथ्यो। उनले रक्सी पिएबापत धान दिन्थे, वीरबहादुरलाई। पछि वीरबहादुर धान लिन मानेन। पैसा माग्न थाल्यो। उनी उधारो रक्सी पिउन थाले। उधारो धेरै भइसकेकाले जग्गाको लालपट्टा (लालपुर्जा) राखेर रक्सी पिउनुस् भनेर मनमायाले उनलाई सुझाइन्। रक्सीको लतमा फस्न लागेका उनले पोखरापाटन घरको लालपट्टा मनमायालाई राख्न दिएर रक्सी पिउन थाले। उनलाई यति मात्र थाहा थियो, घरको लालपट्टा मनमायाले राखिरहेकी छिन्, उधारो पैसा दिएपछि लालपट्टा फिर्ता पाउनेछु।

उनको दश बिघा बलौटे जग्गामा आँप, लिची, कटहर, सिसौ, साल र बाँस लगाएका थिए, उनका बाले। लालपट्टा थिएन, त्यस बलौटे जग्गाको। मालपोतमा कुन्नि कसले पोल लगाइदियो, त्यो ऐलानी जग्गा भएकाले सरकारले हड्प्यो। उनी यो सबै टुलुटुलु हेरिरहे। आफ्नो अधिकारका लागि लड्नुपर्छ भनेर सोच्न सकेनन्। दश बिघा हड्पे के भो त, बाँकी जग्गा छँदै छ भनेर उनले चित्त बुझाए।

महेन्द्र राजमार्ग बन्दै थियो। त्यसमा उनको दुई बिघा जग्गा गयो। दुई बिघाको मुआब्जा स्वरूप चार सय रूपैयाँ पाए। पैसा बैंकमा राख्नुपर्छ भन्ने उनलाई थाहा थियो, तर कसरी राख्ने भन्ने थाहा थिएन। उनले छिमेकी शिवलाई सोधे, ‘मेरो खेतको पैसा बैंकमा राख्नुपर्‍यो। लौन कसरी राख्ने ?’ शिवले ‘म राखिदिन्छु’ भनेर उनीसँग पैसा लिए।  

एक वर्षपछि शिवको निधन भयो। सुगिलालले शिवकी श्रीमतीलाई भेटेर पैसा मागे। शिवकी श्रीमतीले ‘मलाई थाहा छैन’ भनिन्। त्यो पैसा त्यत्तिकै गुम्यो।

बाँकी दुई छोराहरूको बिहे गर्ने बेला उनले थप जग्गा बेचे। जग्गा किन्नेले नापीका मान्छेलाई घुस खुवाएर उनलाई लुटे। उनले एक कट्ठा बेचेका हुन्थे, तर उनीहरू एक कट्ठाको ठाउँमा ५ कट्ठा हडपिसकेका हुन्थे।

घर–व्यवहार टार्न, छोराहरूका लागि कपडा र बुहारीहरूका लागि गहना किन्न उनले लालपट्टा नै धरौटी राख्थे।

केही जग्गा बेचे पनि उनका सबै छोराको बिहे भएर परिवार राम्रैसँग चलिरहेको थियो। छोराबुहारी मिलेर बसेका थिए। उनका नातिनातिनी पनि जन्मिए। नातिहरूले भने स्कुल पढ्न थालेका थिए। नातिहरूलाई हेरेर सुगिलाल सन्तोष मिल्थ्यो। उनले ठानेका थिए, आफ्नो जीवनको सबै जिम्मेवारी पूरा भयो। उनको इच्छा थियो, छोरानातिको काखमा मर्ने।  

एक दिन मुन्सीले कामदारहरूलाई लिएर हलो जोताउन खेतमा गए। हलीहरू हलो जोत्दै गर्दा नचिनेका मान्छे आएर भने, ‘यो मेरो खेत हो। यो मैले किनेको हुँ।’  

उनीहरूले हलीलाई हलो जोत्न दिएनन्। उनीहरू कागज लिएर प्रमाणसहित उपस्थित थिए। यो खबर मुन्सीले सुगिलाललाई पठाए। उनी कुशेश्वरका छोरा तुलसीलाई लिएर खेत गए।

तुलसी उनीहरूको हातमा भएको कागज पढ्यो। सुगिलालले जो जो पसलेकहाँ जग्गाको लालपट्टा धरौटी राखेका थिए, तिनीहरूले उनलाई छलेर कानुनी रूपमा सुगिलालको नामबाट जग्गा आफ्नो नाममा सारेर अरू मान्छेलाई बेचिसकेका थिए।

उनले किसुनको पसलबाट गहना, बलिरामको पसलबाट लुगा र हरिबोलको पसलबाट नुन–तेल उधारो लिएका थिए। उनले लालपट्टा राखेर कागज पनि गरेका रहेछन्, ‘किसुनको दोकानबाट १० तोला सुन, बलिरामको दोकानबाट लुगा र हरिबोलको दुकानबाट लगातार एक वर्ष नुन–तेल खाएको हुनाले म सुगिलाल थारु आफ्नो होसहवासमा १० बिघा किसुनको नाममा, आठ बिघा बलिरामको नाममा र सात बिघा हरिबोलको नाममा तपसिलका जग्गा नामसारी गरेको छु।’  

यो कागज उनले नशामा परेर गरे, वा कसरी, कतिखेर गरे– उनैलाई थाहा थिएन। तर, कागजको व्यहोरा सुनेर उनी जहाँको त्यहीँ मुर्छा परे। ब्यँुझेपछि भन्न थाले, ‘तिमीहरूले मलाई छल ग¥यौ। मलाई धोका दियौ।’  

तुलसीले सोधे, ‘हजुरले सामान लिने बेला उनीहरूले कुनै कागजमा औँठाछाप लगाउन लगाएका थिए ?’  

सुगिलालले १० वर्ष अगाडिको कुरा सम्झिँदै भने, ‘हो, मलाई कागजमा औँठाछाप लगाउन लगाएका थिए। उनीहरूले जहाँ–जहाँ भने, मैले त्यहाँ–त्यहाँ छाप लगाएँ।’  

तुलसीले भने, ‘उनीहरूले त्यतिबेला नै हजुरको नामबाट आफ्नो नाममा जग्गा सारिरहेका थिए। आफ्नो नाममा सारेर उनीहरूले ती जग्गा अरूलाई बेचिसकेका छन्। अब कुनै पनि अवस्थामा हजुरको जग्गा फिर्ता आउँदैन।’  

तुलसीको कुरा सुनेर सुगिलाल फेरि मुर्छा परे।

उनका छोराहरू धेरै रिसाए। रिसाएर किसुन, बलराम र हरिबोललाई कुट्न गए, कुटेर आए पनि। उनीहरूले सुगिलाल र उनका छोराहरूविरुद्ध लुटपाट र कुटपिटको मुद्दा हाले। प्रहरीले सुगिलाल र उनका छोरालाई पक्रेर लग्यो। एक महिनापछि उनीहरू जेलबाट आए। उनीहरू धेरै दुब्लाइसकेका थिए। उनीसँग पोखरापाटन घर र तीन बिघा मात्र जग्गा बाँकी थियो।

उनी शोकमा डुबिरहेका थिए। उनीहरू जेल गएदेखि उनका मुन्सी र कामदारहरू उनको घर छाडेर हिँडे। दुःखमा साथ दिने कोही थिएनन्। एक महिनापछि दिउँसो एकजना हुलाकीले एउटा चिठी सुगिलालको हातमा थमाएर गयो। उनी पढ्न जान्दैनथे। त्यो कागज पढ्न बेलुकी तुलसीलाई बोलाइयो। कागजमा लेखेको सुनेपछि उनको पैताला मुनिको जग्गा भासियो। कागजमा लेखिएको थियो, ‘मनमायाको घरमा तपाईंहरू बस्दै आउनुभएको छ। यो घर मनमायाले तपेश्वरलाई बेचेकी छन्। ३५ दिनको अवधिभित्र यो घर खालि गरिदिनु हुनका लागि यो आदेशपत्र पठाएको छु। खाली गर्नुभएन भने तपसिल बमोजिम तपाईं सुगिलाल थारुलाई जहानसहित घरबाट निकाला गरिनेछ।’

उनका छोराहरू मनमायालाई खोज्न भट्टी पसलतिर गए। तर, दुई दिनअगाडि भट्टी बेचेर मनमायाले गाउँ छाडिसकेकी थिइन्।

सुगिलालले घर खाली गरेका थिएनन्। आफ्नै घर कसरी खाली गर्थे र ? ४० दिनपछि डोजरमा चारजना प्रहरी र दुईजना नचिनेका मन्छे आए। प्रहरीले डोजर चलाउन इसारा गरे। गाउँभरिका मान्छेहरू तमासा हेर्न जम्मा भए।  

सुगिलाल कराइरहेका थिए, ‘यो मेरो घर हो ? यो अरूको घर कसरी भयो ? नभत्काऊ।’

जतिपटक डोजरले घर भत्काउँथ्यो, त्यतिपटक सुगिलालको मुटु बेजोडले काम्थ्यो। छाती पोल्थ्यो, मन दुख्थ्यो। उनको मुटुमा डोजर चलेको जस्तो भान हुन्थ्यो। पढेका र बाठाहरू उनको सम्पत्तिमा हक जमाइरहेका थिए, तर उनी आफ्नै सम्पत्तिलाई आफ्नो भन्न सकेका थिएनन्। उनका छोराहरू प्रहरीलाई कुट्न तम्सिए। प्रहरीलाई कुट्न जाँदा प्रहरीले उनको जेठो छोरालाई पिठ्युँमा र खुट्टामा डन्ठाले हाने। सुगिलालकी श्रीमती छोरा र लोग्नेको बिजोग देखेर रोइरहेकी थिइन्। गाउँलेलाई डाक्दै सहयोग मागिरहेकी थिइन्।  

वरपर सबै छिमेकी चुप लागेर रमिता हेरेर बसिरहे। कसैले भने, ‘मनमायाको भट्टीमा दारु पिएको सजाय पायो।’ कसैले भने, ‘बिचरा मालिक !’ कोही भने ‘यति सुन्दर पोखरापाटन किन भत्काइँदै छ’ भनेर कानेखुसी गरिरहेका थिए।

एक घन्टामा डोजरले पोखरापाटन भत्कायो। काठ, खबटा र माटोसँगै छरिएका थिए– लुगाफाटो, धान–चामल। उनका बुहारीहरूले जतिसके त्यति बोरामा धान, चामल बाँधे। बाँकी सबै माटोमा मिसियो। हेर्नेहरूले भनिरहेका थिए, ‘सबै धान–चामल नाश भयो।’

त्यो रात उनीहरू निराहार बसे, खुला आकाशमुनि रात बिताए।

भोलिपल्ट बिहान, सुगिलालका छोराहरूले भत्काइएको पोखरापाटन घरबाट खम्बाहरू बोकेर पोखरीछेउको खेतमा गए र ओतिन मिल्ने टहरो बनाए। उनलाई भोक–तिर्खा लाग्न छाडिसकेको थियो।

उनकी जेठीले बुहारी तरकारी बेच्ने काम गरिन्। माइली र कान्छी बुहारीले खेतालाको काम गर्थे। सबैले आफ्ना छोराहरूलाई पढाउन छाडेका थिएनन्। उनका नातिहरू आफ्ना बाको कति सम्पत्ति छ भनेर हिसाब गरे। हिसाब गर्दा घडेरी मात्र भएको उनीहरूले थाहा पाए। माइलो छोराले आफ्ना छोरालाई विदेश पठाउन घरछेउमा बचेको एक कट्ठा जग्गा बेचे।

उनको कान्छो छोरो राजनीति गर्न थाले। चुनावमा दुईपटक उठे। दुईपटकमा दुई बिघा जग्गा बेचे, तर चुनावमा दुवैपटक हारे। उनका जेठो नातिले वकिल पढे, बाँकी नातिले पढाइ बीचैमा छाडे। उनीहरूको बिहे पनि भयो। सुगिलालका पनातिहरू पनि जन्मिए।

अहिले सुगिलाल सय वर्ष हाराहारीका छन्। उनको हडपिएको जग्गामा ६–७ तलाका पक्की घर बनिसकेका छन्। उनकै जग्गामा पूरै बजार बनिसकेको छ। हराभरा सहरमा उनको फुसको घर झन्झन् सानो देखिँदै गएको छ।  

सुगिलाल कहिलेकाहीँ पनातिलाई लिएर आफ्नो पुरानो जग्गातिर टहल्न निस्कन्छन्। अग्ला घरहरू देखाउँदै पनातिलाई भन्छन्, ‘यो घर भएको जग्गा पनि पहिले हाम्रै थियो।’ उनको शरीर गल्दै गइरहेको थियो। तर, छोरानातिको पौरख हेरेर मर्ने झिनो आशामा उनी बाँचेका थिए। एउटा नातिले विदेशबाट कमाएर ल्याएको पैसाले फुसको घरछेउमा पक्की घर बनाउँदै थिए, तर नयाँ घर सर्ने बेलासम्म सुगिलाल बाँचेनन्।

प्रकाशित: २४ माघ २०७७ ०५:०९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App