२ जेष्ठ २०८१ बुधबार
image/svg+xml
कला

दावा ग्याल्मोलाई शुभकामना खालिखालि

व्यक्तिवृत्त

गएको साता वरिष्ठ गायिका दावा ग्याल्मो समानित भइन्, चितवनको नारायणी कला मन्दिरबाट। दावा ग्याल्मो र दुर्गा खरेलको सांगीतिक स्कुल नै मानिन्थ्यो, दार्जिलिङको हिमालय कला मन्दिर।

हिमालय कला मन्दिरमा यी दुईका गुरु थिए, गोपाल योञ्जन। योञ्जनको स्कुल अफ थटबाट हुर्केका यी दुई स्वर–सारथिले गोपाल योञ्जन नेपाल पसेपछि वा भारतीय नेपालीबाट नेपाली मात्र भएपछि दावा र दुर्गाले आफ्नै धरातलबाट संघर्ष सुरु गर्नुपर्‍यो।  

भारतीय नेपालीको मार्मिक संघर्षस्थल नै मानिन्छ, दार्जिलिङ। पश्चिम बंगालको सानो पहाडी राज्य दार्जिलिङ, जो लामो समयदेखि नेपाली भाषालाई भारतको आठौँ अनुसूचीमा अन्तर्भुक्त गर्न जुन लडाइँ लडिरहेको थियो, त्यसमा कैँयौको हार कैँयौको जित भयो नै, दार्जिलिङको आफ्नो लडाइँमा अहिलेसम्म नेपालीको हार नै भएको छ, गोर्खाल्यान्डको मागमा। गोर्खाल्यान्ड भनेर चिनिने दार्जिलिङबाट एक समय अम्बर गुरुङ सपरिवार नेपाल लागे।  

अर्को समय गीतकार कवि नगेन्द्र थापाको आग्रहमा गोपाल योञ्जन नेपाल आए। बाँकी रहेका शान्ति ठटाल, कर्म योञ्जन अनि मणिकमल क्षत्रीले आ–आफ्नो कित्तामा उभिएर दार्जिलिङभित्र र दार्जिलिङ वरपर बसेर संगीत गरे। बाँकी केही नाम जो आए र गए पनि।  

जब दार्जिलिङ ब्युँझियो

दार्जिलिङबाट एकसे एक गीत जब बने, ती सबै स्रष्टा–साधक नेपाल वा भारतको मुम्बईतिर तानिए। प्रसिद्ध बंगाली पत्रकार सुधेन्दु रायले भनेका छन्, ‘दार्जिलिङका कलाकारलाई कि रक्सीले लान्छ, कि नेपालले तान्छ ।’  

यो भनाइ शतप्रतिशत सही नहोला, अधिकांश गलत पनि नहोला, तर अर्थ बुझ्दा आज यो केही हदसम्म ठीक नै साबित भएको छ। दार्जिलिङमा गोरखाल्यान्डको आन्दोलन चलेपछि, अझ बढी आन्दोलन चर्केपछि अधिकांश संस्कृतिकर्मी त्यहाँको लडाइँलाई बीचैमा छाडेर अन्यत्र पलायन भए।  

भाषा आन्दोलनमा सक्रिय कवि नाटककार पी अर्जुन र उनका समकालीन नाटककार कवि गीतकार मनबहादुर मुखिया नेपाल पसे। त्यसपछिका एक पुस्ता अहिले काठमाडौंमा सक्रिय छन्। कोही सिलगुडी झरे, कोही सिक्किम गए, कोही कलकत्तामा थातथलो बनाउन गए। तर, हिमालय कला मन्दिरलाई आफ्नो स्कुल मान्ने दुर्गा खरेल आफ्ना दाजु (बद्री)सित मिलेर बद्री दुर्गा खरेलका नाउँबाट संगीत गर्न थाले।  

बद्री दुर्गा खरेलकै संगीतमा पहिलोपटक गायिका दावा ग्याल्मो चम्किइन्, नर्देन रुम्बाको शब्दमा–  

शुभकामना खालिखालि दिनेलाई दानी भनेर  

जाँदैछु आज आँचलभरि मायाको निशानी बोकेर।

दावाले गाएको यो गीत पिटर चेङको नाटक ‘म मरेपछि’का लागि रेकर्ड गरिएको हो, तर यो गीतले यस्तो धूम मच्चायो। बद्री दुर्गाको संगीतलाई उनका अग्रज संगीतकार कर्म योञ्जनले समेत नेपालीमा बनेका एकसे एक गीतमध्ये यो गीत दशभित्र पर्छ भने।  

कवि गीतकार नर्देन रुम्बाका धेरै चर्चित गीतमध्ये यो गीतले ३० को दशकमा यी तीनैलाई चिनायो। दावा ग्याल्मोलाई एक्कासि नेपाली संगीतमा असाध्य राम्रो गायिका भनेर ठोकुवा गरियो। यसका गीतकारबारे संगीतकार कर्म योञ्जनले यस्तोसम्म भने, ‘रेकर्डिङका हिसाबले यो एकदम पावरफुल गीत हो। दुर्गाहरूले मेहनत पनि गज्जबै गरेका छन्, यस्तो गीत हत्तपत्त बन्दैन, यो तिनीहरूको पनि भाग्य हो।’  

संगीतकार योञ्जन स्वयंले पनि गीतकार रुम्बाका गीतमा संगीत गरेका छन् भने उनले गायिका दावालाई चलचित्र ‘जार’मा गाउन लगाएका छन्, तर गायकीका हिसाबले दावाको यसमा जुन प्रयोग भएको छ, त्यसमा योञ्जन व्यापक खुसी थिए।  

गायिका दावाको तारिफ गर्दै एकपटक संगीतकार शान्ति ठटालले ‘बागीना’ पत्रिकामा लेखेकी थिइन्, नेपाली संगीत आकाशमा तीन गायिकाप्रति म एकदम आशावादी छु– मीरा राणा, किड्डी भुटिया र दावा ग्याल्मो। यी तीनैजनाको आवाज दुर्लभ आवाजमध्ये हो। किड्डीले त गाउनै छोडी तर मीरा र दावा मलाई असाध्य मनपर्छ।’  

संगीतकार ठटालले यो लेख लेखेको दश वर्षपछि दावा पनि बिस्तारै नेपाली जनस्थानमा उच्चाकर्षण बोक्दै आइन्।  

मायालुले सम्झे कि कसो ?  

गायनमा आफ्नो अलग्गै पहिचान बनाउँदै आएकी दावाले ३० को दशकको बीचमा काठमाडौं आउँदा रेडियो नेपालमा एउटा युगल गीत गाइन्–  

मायालुले सम्झे कि कसो  

बाडुली लाग्यो नि लौ मलाई..। 

गीतमा ‘मलाई’ भनिएको भए पनि दावाले आफूभन्दा पछिल्लो पुस्ताकी अनुज गायिका डेजी बराइलीसित यो गीत गाइन्। भैँसी लड्यो है माया गाएर लोकप्रिय भएकी डेजी यस गीतमा दावासित खुब जमिन्। दावा र डेजी दार्जिलिङ फर्केर गएपछि उनीहरूलाई ‘बाडुली क्विन’ भनेर जिस्काउन थाले। जतै हिँड्दा पनि यो गीतको मुखडाको लाइन गाएर ठिटाहरूले उनीहरूले जिस्काउन थालेपछि गीतको चर्चा बढ्दै गयो।  

संगीतकार शान्ति ठटालले आफ्नी भाउजू शशि ठटालले लेखेको यो गीत आफू र अरूणा लामाले गाउने भनेर थाती राखेको तर अचानक दावाले रेकर्ड गरेका कारण तीक्तता पोखेको पनि बताइन्। तर यो गीतको भाग्य नै त्यही थियो, दावाले नै गाउनुपर्ने।  

दावाको यस समय अन्य गीत पनि धमाधम रेडियो नेपाल र आकाशवाणी खर्साङमा रेकर्ड हुँदै बजार पिटिरहेका थिए। बद्री दुर्गा खरेलको संगीतमै जस योञ्जन प्यासीको शब्दमा उनको अर्को गीत टप लिस्टमा आइसकेको थियो– अमृत भनी विष पिलायौ तर म मरिनँ.. ।

गीतकार जस योञ्जन नेपाली भाषामा कमै गीत लेखेर सर्वाधिक चर्चित हुने गीतकारमध्ये हुन्, उनको गीत ‘बोलाउँ भने तिमीलाई बात लाग्ने डर’ खरेल बन्धुले हिट बनाइसकेका थिए यो वेला। दावाको भागमा परेको ‘अमृत भनी’ गीत सायद कमै यस्ता गीतमध्ये हो, जसलाई त्यसवेला गजल शैलीको गीत भनेर मान्छेले सर्काए तर दावाको गायकी देखेर यसपटक पनि मान्छे झुक्किए।  

संगीतकार ठटालले भनेजस्तै बिरलैकोटिकी गायिका दावाले ३० सालको हाराहारीमा गोपाल योञ्जनको संगीतमा यमन रागमा आधारित ‘मलाई रुखो सहानुभूति नदेऊ’ बोलको गीत गाएपछि दावा ग्याल्मोको स्वरको गहना टाढैबाट चिनिने भयो। गोपाल योञ्जनकै संगीतमा फेरि दावाले अर्को ह्याट्रिक गरिन्, युगल गीत गाएर। त्यो युगल गीत ‘फूलको डाली उचाली’बाट फेरि दावा र डेजी एकपटक अकासिए ।

यही गीतबाट आजका चर्चित अभिनेत्री मिथिला शर्माको रंगमञ्चीय यात्रा शिखरोन्मुख भयो, यही गीतबाट नेपाली आधुनिक संगीतमा महिलाका युगल गीतको नयाँ अभिलेखीकरण सुरु भयो भन्दा हुन्छ।  

गायनका हिसाबले दावाको स्वर अन्य नेपाली गायिका तारादेवी, दिलमाया खाति, अरूणा लामा वा अन्य कसैसित कसैगरी मिल्दैन। उनको आवाजलाई सुनेर उनका अनन्य प्रशसंक पूर्वराजदूत नोबेल किशोर राईले भनेका छन्, ‘साह्रै मदमस्त आवाज हो तिनको। म त उनको आवाजलाई हस्की भ्वाइस भन्छु ।’ राई दावाका भुतुक्कै फ्यान हुन्।  

एक्लो विजेताको अनौठो यात्रा  

रेडियो नेपालले आफ्नो वार्षिकोत्सवमा हरेक वर्ष गर्ने आधुनिक गायन प्रतियोगितामा तारादेवी, कमला श्रेष्ठ, मीरा राणा, सुशीला सुब्बा आदि क्रमसँगै महिला गायनमा सर्वोत्कृष्ट हुँदै अघि बढिरहेका थिए, त्यही क्रममा दावाले विक्रमाब्द २०३० मा रेडियो नेपालमा सर्वोत्कृष्ट गायिकाको पुरस्कार पाइन्, मनबहादुर गुरुङको शब्द अशोक राईको संगीतमा ‘गीताङ्गे दाइ गाइदेऊ गीत पहाडे भएर’ गीत गाएर। यो गीत दावाको परिचय मात्र भएन, विशिष्ट परिचय बन्यो।  

अम्बर गुरुङका समकालीन संगीतकार राईसित दावाले सहकार्य मात्र गर्न पाइनन्, त्यसपछि राईसित सहवीर लकान्द्रीको शब्दमा युगल गीत पनि गाउन पाइन्। दावा ती भाग्यमानी गायिकामध्ये हुन्, जसले राईसित युगल गीत गाउने मौका पाइन्। यद्यपि दावाले यसअघि नाटक ‘अनि देवराली रुन्छ’मा दुर्गा खरेलसित ‘देवरालीका ठिटी हो नक्कल पार्नुपर्दैन’ बोलको गीत गाइसकेकी थिइन् भने ‘मीतज्यू नाइट’ नाटकमा गायक नारायणगोपालसित ‘जीवनको हरेक मोडमा तिमीले मलाई खोज’ गाइसकेकी थिइन्।  

गोपाल योञ्जनकै शब्द संगीतमा दुर्गा खरेलसित गाएको युगल गीत ‘नानी तिम्रो बोली राम्रो, बोलीभन्दा जिउडाल राम्रो’ जस्तो नृत्यप्रधान गीत पनि गाएर आफ्नो गायकी देखाइसकेकी थिइन्। गीत–संगीतमा आफ्नो रिमार्केबल अवस्थिति हुँदाहुँदै एक दिन अचानक दावा ग्याल्मो सारा कुरा तत्स्थानमा छाडेर नेपथ्यमा हराइन्।

गीतमा उनको कमब्याक हुने हो वा नहुने केही निश्चित नभई उनी अलप भइन्। कर्म योञ्जनले उनका निम्ति बनाएका एकसे एक गीतमा अरूको आवाज भरियो वा अरूको आवाजमा गीत भरियो। चलचित्रका गीतमा दावाको ठाउँमा नयाँ स्वर देखापरे। दावापछिका गायिकाहरू डेजी बराइली, सुक्मित गुरुङ, विमला सेन्च्युरी प्रधान, कुन्ति सुन्दास (मोक्तान), रिमला मोक्तान, मनिला लामा (सोताङ), लोचन भट्टराई, देविका प्रधान छाउँदै गए।  

दावाले आफ्ना लागि बनेका कर्म योञ्जनका गीत ‘एउटा खुला किताब हुँ म र तिमीले पनि खेलाउने उसले पनि खेलाउने’ जस्ता गीत डेजी बराइलीको आवाजमा सुन्न पाइयो। दिव्य खालिङको शब्द संगीतको ‘पहाड जस्तो बनिदेऊ तिमी’ कुन्ति मोक्तानले फिल अप गरिसकेकी थिइन्।  

गायनमा चरम समय हुँदाहुँदै दावा ब्रिटिस लाहुरे रोहित देवानसित बिहेवारी गरी हङकङमा गुप्तवासमा थिइन्। बिस्तारै हङकङस्थित बिएफएबिएस रेडियोमा कार्यक्रम सञ्चालक हुँदै उनी पुनः विद्युतीय तरंगमा देखा परिन्। बिएफएबिएस रेडियोमा उनी सुवास प्रधान, मथुरा श्रेष्ठ प्रधान अनि आशबहादुर गुरुङका साथ फेरि झुल्किइन्। करिब डेढ दशकको अन्तरालमा उनी आशबहादुर गुरुङका केही गीतमा फेरि गुञ्जिइन्, सन् २००५ को हाराहारीमा। यो उनको गीत थियो, ‘मेरो यो सानो संसार म ठूलो बनाउन चाहन्नँ..’

एक छोरी र एक छोराकी आमा बनिसकेकी दावाले आफ्नो गायनलाई पुनः सुरुवात गरिन्, ‘संगम’ नामक अल्बमबाट। यसमा उनले संगीतकार शान्ति ठटाल, कर्म योञ्जन, वसन्त क्षत्री, दीप वाइबा, बद्री दुर्गा खरेल, सचिन सिंह, प्रदीप क्षत्री, जीवनप्रकाश प्रधान, सहदेव चाम्लिङ आदिका गीत गाइन्।  

‘संगम’भन्दा पहिले उनको एउटा अल्बम म्युजिक नेपालले ‘नवरंग’ नामबाट प्रकाशन गरिसकेको थियो, जसमा कमल गुरुङको शब्द र बद्री दुर्गा खरेलको संगीतमा उनी सजिएकी थिइन्।  

दावालाई उनको यो कम ब्याकमा सबभन्दा पहिले साथ दियो, पोखरास्थित ‘हार्मोनी: द मोर्डर्न संग्सट्रेसेज अफ पोखरा’ले। यो संस्थाले दावालाई पोखरामा भव्य सम्मान गरेपछि उनी फेरि एकपटक नजिकका मान्छेको आँखामा परिन् र बिस्तारै टाढाका स्वजनले पनि उनलाई इसारा गर्न थाले।  

पोखराबाट सम्मानित भएलगत्तै उनी दार्जिलिङमा देवकोटा संघद्वारा अरूणा लामा संगीत पुरस्कारबाट पनि सम्मानित भइन्। अनि भर्खरै यसै वर्ष कोरोनाकाल हुँदै भीम विराग संगीत प्रतिष्ठानबाट एक लाख धनराशिको बिजुली माया वन श्रेष्ठ पुरस्कारबाट पनि पुरस्कृत भइन्, गीत–संगीतका निम्ति दिइने सबैभन्दा ठूलो धनराशिको यो पुरस्कार विगत १२ वर्षदेखि दिइँदै आएको हो।

यसअघि यो पुरस्कार अम्बर गुरुङ, प्रेमध्वज प्रधान, शान्ति ठटाल, फत्तेमान राजभण्डारी, कर्म योञ्जन, चेतन कार्की, मीरा राणा आदिले ग्रहण गरिसकेका छन्। दावाकै समकालीन दीप श्रेष्ठ, भक्तराज आचार्य, प्रकाश श्रेष्ठ आदिले पनि पाइसकेका छन्। यस पुरस्कार पाउनेमा गायिका दावा १२औँ नम्बर परेकी छन्।  

नेपाल कनेक्सन  

एक गायिकाको रूपमा दावाको गायन आफ्नै सानो बुवा बहादुर लामाको प्रेरणाबाट सुरु भयो। करिब ५० वर्षअघि नेपाली जनसमाजमा नेपाल आइडियल वा ट्यालेन्ट हन्ट नभएका वेला जसरी नेपाली गायक–गायिका भानु जयन्तीबाट आफ्नो करिअर सुरु गर्थे, गायिका दावाले पनि त्यसरी नै सुरु गरिन्, आफ्नी गुरुआमा शान्ति ठटालले जस्तै। आवाजमा मौलिकता उनमा छँदै थियो, उनलाई खास जरुरी थियो स्वर–साधना र स्थायित्व, जुन उनले हिमालय कला मन्दिरमा सिकिन्।  

त्यतिवेला ट्यालेन्ट हन्ट वा अडिसन नभए पनि रेडियो नेपालबाट प्रतिभा खोज्न केही संगीतकर्मी भारतको आसाम हुँदै दार्जिलिङ पुगे र तिनैले दार्जिलिङको भेलामा दावा लगायत अन्य कलाकारलाई नेपाल निम्त्याए।  

राजाको जन्मोत्सवमा गीत गाउन दावा आफ्ना साथीहरूसँग नेपाल आइन् र गाइन्, पहिलो गीत तेजेन्द्र गुरुङको शब्द र वसन्त क्षत्रीको संगीतमा– ‘रात गहिरिँदै जान्छ, कल्पनाको सागरमा माया धेरै हुन्छ..’

यो गीतबाहेक दावाले ‘जिन्दगीको माया’ पनि त्यही वेला गाइन्। वसन्त क्षत्रीको पनि पहिलो रेकर्डिङ र दावाको पनि पहिलो गीतले बजारमा नयाँ आकृति को¥यो, आवाजमा नयाँ ढप त छँदै थियो, तर त्यतिवेलाका युवालाई झुम्म पार्ने आवाज बन्यो। गीतकार राजेन्द्र थापाको भनाइमा ‘दावाको आवाज नेपालीमा बिरलै पाइने आवाज त हो, तर त्यतिवेलाका युवाका निम्ति प्यासन नै थियो ।’  

दावाको दोस्रो गीत जब आयो सहर–बजारमा दावालाई नसोध्ने र नचिन्ने मान्छे भएनन्। गीत फेरि वसन्त क्षत्रीकै संगीत र किरण ठकुरीको शब्दमा थियो– सहरभित्र केको हल्ला मेरो मायालु आउने वेलामा..।

किरण ठकुरी यही गीतबाट चिनिए, वसन्त क्षत्रीले आफूलाई रिफर्म गरे। दावा सहरभरि चर्चाको विषय बनिन्। यही गीत गाउन दावा नारायणघाट पुगिन्– नारायणगोपाल, गोपाल योञ्जन, दुर्गा खरेल आदिका साथमा ।

२०३३ सालमा गाएको यो गीत यसपालि दोस्रोपटक नारायणघाटको नारायणी कला मन्दिरमा गाउँदा इतिहास फेरि दोहोरियो। नारायणी कला मन्दिर निर्माणका निम्ति गएका वेला दावालाई जसले देखे–भेटेका थिए, अहिले उनीहरू सबैको आँखामा पावरदार चस्मा र हातमा लौरो झुन्डिसकेको थियो।

नारायणी कला मन्दिरले उनको सम्मान गर्दैगर्दा त्यहाँ बोलिरहेका थिए, वरिष्ठ गीतकार प्रेमविनोद नन्दन, गायक संगीतकार प्रसाद श्रेष्ठ, त्यतिवेलाका कार्यक्रम सञ्चालिका गायत्री श्रेष्ठ अनि अन्य धेरै। युवा संगीतकार सहन प्रधान, अमर प्रधान, उद्धव जोशीले पुराना कुरा गर्दै गर्दा दावा भावुक भइन् भने प्रेमविनोद नन्दनले यो भेटलाई सपना भनुँ कि विपना भनेर भावविभोर भए।  

यसपालि दावा नारायणी कला मन्दिर हेर्न पुग्दा पहिले उनका साथ जाने कोही थिएनन्, केवल सम्झना मात्रै थियो तिनको। न नारायणगोपाल, न गोपाल योञ्जन ! दावाको गीत सहरभित्र नारायणी कला मन्दिरमा पहिलोपटक गुञ्जिएको सत्य हो, तर त्यो गीत गाएर यात्रा सुरु गर्ने कैयौँ गायक–गायिका पनि त्यहीँ थिए। दावाको नेपाल कनेक्सनमा नारायणी कला मन्दिरको अमूल्य योगदान सम्झिँदै वरिष्ठ गायक प्रसाद श्रेष्ठले सो सभामा भने, ‘यसको श्रेय नारायणगोपाललाई जान्छ, तर नारायणी कला मन्दिरको जगको इँटा थप्नमा दावाजी जस्ता कलाकारको पनि हात छ।’  

दावाको नेपाल कनेक्सन पछि पलेँटी शृंखलामा दोहोरियो भने पोखराको हार्मोनीलाई पोखरा बोलाएर सम्मान गरेपछि यो कनेक्सन दाहोरिँदै छ। हार्मोनीबाट शान्ति ठटाल, मीरा राणा, ज्ञानु राणा, बाबा राणापछि उनको सम्मान भएको हो।  नेपाली सुगम संगीतमा दावाको स्वरको पार्थक्यता खोज्ने हो भने हामी ठीक शान्ति ठटाल र सुक्मित गुरुङको आवाजको बीचमा उनको आवाजको मिश्रणलाई पाउँछौँ।  

तामाङ परिवारमा जन्मेकी दावाको स्वरोच्चारण झन्डैझन्डै नेपाली मातृभाषी क्षत्री ब्राह्मणको भन्दा फरक छैन, त्यसैले त मेचीपारिबाट माधव घिमिरेको गीत गाउने पहिलो गायिका पनि उनी नै भइन्, ‘सय र पत्री फूलै र फुल्यो बाबाको बारीमा..’

यो गीत उनले अशोक राईको संगीतमा गाएकी थिइन्। यसबाहेक दावा ग्याल्मोले दीप श्रेष्ठसित दीप श्रेष्ठकै रचनामा युगल गीत गाइन् भने मधु क्षेत्रीसित पनि एउटा युगल गीत गाइन्। संयोगले यी दुवै गायकको हिट युगल गीतमै पर्छ। दावाले बिरलै चर्चामा आउने संगीतकार धनञ्जय थापाको रचना र संगीतमा गाएको एउटा गीत छ–

आँखाभित्र लुकाइ दिउँझैँ लाग्छ  

मायालु तिम्रो मुहार  

आँखामा लुकाउँ कि मनमा सजाउँ कि  

तिमीलाई..

कुमार सुब्बा, दीप श्रेष्ठ, दुर्गा खरेल, डेजी बराइली, मधु क्षेत्री सबैसित युगल गीत गाएकी दावाले आफूपछिको पुस्तासित मिलेर सहकार्य गर्दै छिन्, जुन अति स्वागतयोग्य छ। उनको साथमा अझै आउँदै छन्– गौतम गजमेर, राजेन्द्र सारा, रमेश गुरुङ, भावेश भुमरी आदि।

अब पछिल्लो पुस्तामा दावा ग्याल्मोजस्ती गायिका त नहोला, तर अब दावा ग्याल्मोले पनि पछिल्लो पुस्तालाई भेट्ने रहर बाँकी नै छ। फेरि अन्त्यमा कर्म योञ्जनको शब्द सापटी लिएर भन्नैपर्छ, ‘मेरा सबै गीत एकातिर दावा ग्याल्मोको शुभकामना खालि खालि एकातिर राखे पनि बराबरै हो ।’

प्रकाशित: ८ फाल्गुन २०७७ ०४:४१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App