५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
कला

पत्ताकाट

कथा

माया उस्तै छ हामीबीच, जस्तो वाचा गरेर आजभन्दा १२ वर्षअघि विवाह गरेका थियौँ। प्रेम विवाह गरेर गाउँबाट निस्केदेखि हामी घर वा माइती कतै गएका छैनौँ।  योबीचमा हाम्रा दुइटी छोरी भए। आठ वर्षीया जेठी छोरीले अस्ति मात्र सोधेकी थिई, ‘ममी, हाम्रो मामाघर छैन, हजुरबा–हजुरआमा कोही छैन ? स्कुलमा अरूले मामाघर र हजुरबा–हजुरआमाको कुरा गर्छन्।’  

‘तिमीहरूको मामा र हजुरबा–हजुरआमा पर गाउँमा हुनुहुन्छ। कुनै दिन तिमीहरूको स्कुल बिदा भएको वेला जानुपर्छ,’ मैले यति मात्र भनेकी थिएँ। म यादव, उनी थारु। समाजको मान्यताअनुसार विवाहका लागि हाम्रो जात मिल्दैनथ्यो। उनको घर पछबरिया टोलमा, मेरो घर दखिणबरिया टोलमा। हामी हिँड्ने डहर एउटै थियो। गाउँमा हिँड्दा–डुल्दा हामीबीच प्रेम बस्यो। जात नमिल्ने भएकाले मागीविवाह सम्भव थिएन। त्यसैले एक दिन उनले मलाई आफ्नो घरमा लिएर गए, बेहुली बनाएर। फरक जातकी केटी बिहे गरेको भनेर उनलाई परिवारले घरनिकाला गर्‍यो।  

हामी गाउँबाट निस्किएर हिँड्यौँ, कहाँ जाने भनेर हामीलाई नै थाहा थिएन। ‘सिङ्हैन, हिँड सहरतिर जाऊँ। केही न केही गरौँला,’ उनले भने। उनको साथमा अलिकति पैसा रहेछ। उनले भनेपछि मैले मञ्जुरीमा टाउको हल्लाएँ। हामी बजार पुगेर राजविराज जाने बस चढ्यौँ। राजविराज पुगेर एउटा कोठा खोज्यौँ। भोलिपल्टै उनले एउटा कपडा पसलमा काम गर्न थाले। मैले पनि अरूको घरमा सरसफाइ गर्थें।  

१० वर्षपछि अलिअलि पैसा जम्मा गरेर, केही ऋण लिएर कपडा पसल खोल्यौँ। आफ्नै पसलमा काम गरेर दिन बित्दै थिए। घर छाडेको १२ वर्षपछि उनलाई घरबाट फोन आयो, ‘बैनीको बिहे छ। जसरी पनि घर आ। तर, एक्लै आ। त्यो यादवनीलाई नल्या,’ उनकी आमाले फोनमा भनिन्, ‘उसलाई घर ल्याइस् भने बैनीसँग बिहे गर्न कसैले मान्दैनन्। बल्लतल्ल बिहेको कुरा पक्का भएको छ। समाज तिमीहरूबाट खुसी छैन। आफ्नो बैनीको भलो चाहन्छस् भने एक्लै आ।’ कुन्नि कहाँबाट हाम्रो फोन नम्बर पत्ता लगाएछन्! फोन आएकामा हामी दुवै एक प्रकारले खुसी भयौँ, हाम्रो पनि कोही छ भन्ने लागेको थियो। यत्तिका वर्षपछि पनि समाजको सोच नबदलिएको देखेर दुःख लाग्यो।  

मेरो माइतीबाट अहिलेसम्म केही खबर आएको थिएन। बाको भन्दा मलाई आमाको माया लाग्थ्यो। म भागिसकेपछि बाले आमालाई कति गाली गरे होलान्। बाको रिस शान्त भइसक्यो कि जस्ताको त्यस्तै होला! सजाय पाउने काम मैले के नै गरेकी थिएँ र?  हामी भर्खर १७ वर्षका थियौँ। त्यति सानो उमेरमा समाजसँग लड्ने साहस कहाँबाट आउँथ्यो? मैले मनपरेको मान्छेसँग जीवन बिताउने चाहना राखेकी थिएँ। के त्यो चाहना राख्नु पनि गलत थियो ? गलत थियो भने के त्यो समाज सही थियो? 

बैनीको विवाहमा उनलाई एक्लै घर पठाएँ। घरमा रमाइलो हुँदो हो। सबैले थरीथरीका गहना, लुगा लगाउँदै पूर्व–पश्चिमका कुरा गर्दै सजिरहेका होलान्। थरीथरीको मिठाइ र खानाका परिकार पाकिरहेका होलान्। तर ती सबै कुराबाट मलाई किन वञ्चित राखे घरका मान्छेले ? मलाई किन त्यो घरको बुहारी नठानेका?  

म कस्ती सोझी रहिछु! आफूलाई नबोलाएपछि मैले उनलाई पनि घर जान नदिनुपर्ने ? मैले किन उनलाई घर पठाएँ ? हो, म यसरी भागेर बस्न सक्दिनँ। तर के गरुँ? मेरो दिमाग ढिला चल्छ। चाँडो चलेको भए उनीसँग म पनि गाउँ पुगिसकेकी हुन्थेँ। थुइक्क ! यो मेरो बुद्धि। चाहिने बेला यो दिमाग नै नचल्ने। भोलिपल्ट बिहानै उठेँ। पसल खोल्न मन लागेन। छोरीहरूलाई पनि स्कुल पठाइनँ। छोरीहरूलाई भनेँ, ‘आज हजुरबा–हजुरआमा र मामालाई भेट्न जाने।’ यसो भनेपछि उनीहरू खुसी भएका थिए।  

छोरीहरूलाई लिएर म बस चढेँ। उनलाई फोन गरेकी थिइनँ, फोन गर्दा के के सोच्ने होलान्, तनाव होला! एक घन्टाको यात्रापछि गाउँ नजिकैको बजार आइपुगियो। बसबाट ओर्लेर रिक्सा चढेँ। रिक्सामा बसिरहँदा उनकै घर जान्छु भनेर मनमा विचार आइरह्यो, तर गाउँ पुग्नु ठीकअगाडि मेरो निर्णय बदलियो।

उनकी बैनीको बिहे हुँदै छ, थुप्रै पाहुना आएका होलान्, यस्तो वेला म जानु उचित होइन। उनी लिन नआएसम्म उनको घर जान्नँ भनेर गाउँभन्दा अगाडिको चोकमा रिक्साबाट ओर्लिएँ। जेठी छोरीलाई हिँडाउँदै, कान्छी छोरी र लुगाफाटाको झोला बोकेर म हिँड्न थालेँ। चोकमा बस्तीहरू बाक्लो भइसकेको थियो। जताततै भवन र पसल बनिसकेका थिए। बाक्लो बस्ती देखेर म दंग परेँ। पहिला यो चोकसम्म आउन दिउँसै मान्छे डराउँथे। त्यो बाक्लो बस्तीमा पनि मैले कोही आफ्नो देखिनँ। आफ्नै गाउँको बाटो बिरानो लाग्यो मलाई।

कहाँ जाऊँ भनी सोच्दै थिएँ। एक मनले भन्यो माइतीमै ठीक होला। अर्को मनले भन्यो, अहिलेसम्म सोधखोज नगरेका बाआमाले के भन्ने होलान्! माइती जान पनि डर लागिरहेको थियो। बरु काकीको घर गएर सबै अवस्था बुझ्नुपर्ला! सुपारीको बोटलाई ठम्याएर काकीको आँगन छिरेँ। काकीका चारजना छोरी थिए। सबैभन्दा कान्छी सीमा दिदीले उतिवेलै घरज्वाइँ राखेकी थिइन्। काकीको आँगनमा टेक्दा मेरो मुटु ढुकढुक भइरहेको थियो। आँगनमा बसेकी कुप्रो परेकी बूढीको अनुहारमा हेरें। उनी मेरी काकी थिइन्। भान्सामा सीमादिदी र दुईजना केटाकेटी भात खाइरहेका थिए। कान्छी छोरीलाई काखबाट आँगनमा ओराल्दै काकीको खुट्टामा ढोगेँ। काकी मतिर हेरिन्। मलाई ठम्याउन सकिनन्।

सीमादिदी पनि मतिर हेर्दै थिइन्। काकीतिर हेर्दै मैले भनेँ, ‘काकी म सिङ्हैन।’ काकी मेरो अनुहारतिर हेर्दै भनिन्, ‘किन आइस् मेरो घर? आफ्नो माइती जा।’ काकी मलाई देखेर खुसी हुन्छिन् भनी सोचेकी थिएँ, झन् दुःखी भइन्। काकीले भनिन्, ‘पोइल गएकी चेलीलाई राखे समाजले के गर्ने होला मलाई ?’ मैले काकीको अनुहारतिर हेर्दै भने, ‘काकी माइती जाने हिम्मत भएन मलाई, जान सकिनँ।’ मलाई एक रात यहाँ बस्न दिनुस्। आमालाई भेटेर फर्किन्छु।’ मेरो कुरा सुनेर उनको आँखा आँसुले भिज्यो। उनले भनिन्, ‘तेरो आमा बितेको एक वर्ष भइसक्यो।  

जसलाई म भेट्न आएकी थिएँ, त्यही मान्छे यो संसारमा छैन! मेरो मुटु टुक्राटुक्रा भएर आँखाबाट बग्न थाले। मैले किन सबै सजाय पाएँ ? आमा मर्दा किन मलाई कसैले जानकारी दिएनन् ? किन मेरो माइती र यो समाजले मलाई खोजेनन् ? त्यही आमाको कोखबाट म जन्मेकी थिएँ। बिना छोरीको क्रियाकर्म कसरी गरे होलान् ? आमा मर्दा दागबत्ती दिन छोरा जसरी नि चाहिन्छ। छोरा जहाँ हुन्छ, त्यहाँबाट बोलाएर दुई दिन कुरेर भए पनि बाआमाको मुखमा दागबत्ती दिन लगाइन्छ। तर, आमा बित्दा छोरी नभए नि काजकिरिया गर्ने ? यो कस्तो समाज ? यो मेरो कस्तो दुर्भाग्य ? मेरी आमा बितेको खबर किन मलाई कसैले गरेनन्? म छोरी थिएँ, त्यसैले म यो सबै सजायको भागिदार भएँ? 

चेतनाका दृष्टिले १२ वर्षपछि पनि मेरो समाज जहाँको त्यहीँ थियो। दाइको बिहे भएछ। आमा मर्दा त बोलाएनन् भने झन् बिहेमा किन बोलाउँथे ? दिदीले भनिन्, ‘अझ ज्वाइँले तँलाई भगाएदेखि समाजले यादवनी केटीलाई तेरो छोरोले भगायो भनेर दियादहरू (छिमेकी) ले तेरो सासूससुराको पत्ता काटिसकेका (आगोपानी लिन–दिन, भोजभतेर खान र आवतजावतमा बन्द गर्नु) छन्। तेरा जेठाजु र जेठानीहरू दुई वर्षसम्म तेरा सासूससुरासँगै बसे, तर पत्ता काटिएर कति बस्ने भनेर उनीहरू तेरा सासूसुरासँग भिन (अलग) भए। आफ्नै बाआमालाई भिन गरेर उनीहरू समाजसँग मिले। तर, तेरा सासूससुरा र नन्द मात्र बस्न थाले पत्ता काटिएर। अहिले पनि समाजबाट पत्ता काटिएर बसिरहेका छन् बूढाबूढी।’  

उनको घरमा यस्तो घटना घटिसकेको थियो, तर हामीलाई कानोकान खबर थिएन। हामीलाई जानकारी दिन कसैले उचित ठानेनन्। हाम्रो कारणले उनका बाआमाले पत्ताकाटको सजाय पाइरहेका रहेछन्। एक कान, दुई कान हुँदै म आएको खबर टोलभरि फैलियो। टोलका काकी, ठूली आमा र गाउँले भाउजूहरू मलाई भेट्न आए। टोलका ठूलीआमाहरूले मलाई माइती बोलाउनका लागि बालाई दबाब दिन थाले। बाको रिस कति पनि शान्त भएको थिएन। ठूलीआमाहरूले दबाब दिएको देखेर बाले भने, ‘मेरा लागि सिङ्हैन मरिसकी, मेरो दैलो टेक्न पर्दैन।’ बा र दाइको सोच अहिलेसम्म उस्तै रहेछ। मसँग अझै पनि रिस मरेको थिएन।  

भोलिपल्ट दिदीको मोबाइलबाट श्रीमान्लाई फोन गरेँ। म छोरीहरूलाई लिएर आएको सुनेर उनी साह्रै रिसाए, ‘मलाई नभनीकन किन आइस् ? सबै काम बिगारिस्।’ म आएको खबरले टोलका सबै बुज्रुक जुर्मुराइरहेका थिए। म काकीको घरमा बसेकाले समाजले काकीको पनि पत्ताकाट गर्ने कुरा गरिरहेको थियो। म यही समाजकी चेली थिएँ, तर आज यो समाजले मलाई एक रात बास दिन मानिरहेको थिएन।  काकी मसँग बोल्नै छाडिन्। उनले मलाई केही नभनीकन दिदीलाई भनिन्, ‘त्यो केटीलाई मेरो घरबाट जा भन् दे। त्यसको कारण मलाई समाजले पत्ता काट्ने भइसक्यो।’  

म रिसाएर झोला घरबाट निकालेँ। छोरीहरूलाई काखमा च्यापेर निस्किन लागेकी थिएँ त्यत्तिकैमा दिदीले साहसिलो स्वरमा भनिन्, ‘जसले जे भने नि तँ जान्नस् यहाँबाट। कसले मेरो पत्ता काट्दो रहेछ हेरौँला ?भोलि टोलका मान्छेलाई बस्न दे।’ मेरो हातबाट झोला झिकेर दिदीले घरभित्र लगिन्। ‘भोलिसम्म तँ बस्’ भनेर उनी रिसाउँदै बाहिर निस्किन्। म आँगनमा जहाँको त्यही बसेँ। आधा घन्टापछि दिदी आइन्। उनले भनिन्, ‘मैले टोलका सबै महिलालाई भोलि पञ्चैतीमा एक जुट हुन भनिसकेकी छु। तैंले ज्वाइँलाई फोन गरेर बोला। थारुटोल, यादवटोल र गाउँभरिका मान्छेलाई भोलि पञ्चैती बसाउनका लागि ज्वाइँलाई खबर गर्। १२ वर्षअगाडि पो तँ भागिस्। त्यो बीचमा गाउँमा केके भएको छ तँलाई के थाहा ? गाउँका धेरै केटाकेटीले अन्तर्जातीय विवाह गरेका छन्। उनीहरूको पत्ता काटेका छैनन्। उनीहरूको पत्ता नकाट्ने अनि १२ वर्षपछिको कुरा ल्याएर मेरो पत्ता काट्ने? नामर्दहरू।’  

दिदीको अनुहार रिसले रातो भइसकेको थियो। उनी समाजदेखि धेरै रिसाएकी थिइन्। उनले थपिन्, ‘नचाहिने कुरा नसुन् सिङ्हैन। काग कराइरहन्छ। हामीले आफ्नो काम गर्न छोड्नु हुँदैन।’ दिदीको साहस देखेर भगवान् नै पाए जस्तो भयो मलाई। दिदीले भनिन्, ‘तँ बलियो बन्। समाजसँग लड्। आफ्नो अधिकार खोसेर लिनुपर्छ।’

दिदीले भनेअनुसार मैले उनलाई फोन गरेर बोलाएँ। उनी बेलुकी दिदीलाई भेट्न आए। भोलि दिउँसो १२ बजे थारु र यादव मात्र होइन, गाउँभरिका सबै जातका मान्छेलाई पञ्चैतीमा बोलाउने निर्णय उनले र दिदीले गरे। दिउँसो १२ बजे गाउँभरिका सबै थरका मान्छे जम्मा भए। गाउँभरिका सबै महिलालाई राति दिदीले कुन्नि के सिकाएकी थिइन्, दिदीको साथ दिन टन्नै महिला आए।  

पञ्चैतीमा थारु टोलकै एकजना महिला बोलिन्, ‘यो समाजले कसैको पत्ता काट्न पाउँदैन। यो न्याय होइन। १२ वर्षदेखि हरिदेवको बाआमाको पत्ता काटेकामा र उहाँहरूलाई समाजको कुनै सामूहिक क्रियाकलापमा सहभागी नगराएकामा यो समाजले उनीहरूसँग माफी माग्नुपर्छ।’ उनको कुरामा सबै महिलाले एकमत भए। ठुल्ठूलो स्वरमा भने, ‘हो, समाजले माफी माग्नुपर्छ।’ महिलाको समाजविरोधी स्वर सुनेर पञ्च (झगडा मिलाउने मुख्य मानिस) ले सबैलाई शान्त हुन इसारा गरे। सबै शान्त भए। उनका बाआमा एउटा कुनामा बसिरहेका थिए। लाग्यो, उनका बाआमा किन यतिका वर्ष सहेर बसे। हामीलाई समेत केही नभनी।  

सबैको कुरा सुनिसकेपछि पञ्चले भने, ‘अबदेखि कसैले कसैको पत्ताकाट गर्ने छैन यो गाउँमा। १२ वर्षअगाडि यो समाजले हरिदेव र उसको परिवारप्रति जे गर्‍यो, त्यो त्यतिबेलाको चलन अनुसार गर्‍यो। त्यसका लागि म समाजको तर्फबाट माफी माग्छु। तर अब समाज धेरै परिवर्तन भइसकेको छ। समयअनुसार हामी पनि परिवर्तन हुनुपर्छ।’  

उनका बाआमातिर हेर्दै पञ्चले भने, ‘जाओ, छोरा बुहारीलाई घर लिएर जाओ। पत्ता काटेको आजैदेखि फिर्ता लिन्छु। अब सबै सामाजिक कार्यमा तिमीहरू सहभागी हुन पाउँछौ।’ त्यहाँ उपस्थित सबैले ताली बजाए। दिदीले मतिर हेर्दै भनिन्, ‘देखिस्, कस्तो मनपरी गर्ने हाम्रो समाज छ। हामी चुप लागेर समाजले मनपरी गरेको थियो। अब हामी चुप लागेर बस्ने छैनौँ।’  

मैले उनका बाआमाको खुट्टा ढोगेँ। मेरा बा र दाइ पनि उपस्थित थिए। सीमादिदीले बा र दाइलाई देखाउँदै मेरा छोरीहरूलाई भनिन्, ‘ऊ हेर्, तेरा हजुरबा र मामा।’ छोरीहरू दौडिएर हजुरबाको छेउमा गए, तर बा र दाइले वास्तै गरेनन्। मैले दुवै छोरीलाई तानेँ र सासूससुरासँग घर गएँ।  

सासूससुराले मलाई बुहारीको रूपमा स्वीकार गरे। यता सहरमा पसल बन्द गरेर गएका थियौँ। हामीलाई छिटै फर्कनुपथ्र्यो। फर्कनुभन्दा अघिल्लो दिन जेठी छोरीले हजुरबा–हजुरआमासँगै गाउँमै बस्ने भनी। सासूससुराले पनि छाडेर जान भने। धेरै दिन बस्दा छोरीको पढाइ बिग्रन्थ्यो। छोरीलाई लिएर सासूससुरा सहर आए। दुवै छोरीले हजुरबा–हजुरआमालाई गाउँ फर्कन दिएनन्।

प्रकाशित: १४ चैत्र २०७७ ०४:३४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App