६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
ब्लग

यस्ता थिए अरुण सिंहानिया

सँगै काम गर्ने उमा सिंहलाई काटिकाटी मारेको १३ महिना नपुग्दै अर्को सहनै नसक्ने खबरले होलीको उमंग एकाएक आँसुमा डुब्यो। दिनभर उल्लास र खुशिपूर्वक पहिलोपल्ट विराटनगरमा मनाएको होली पर्व सकेर डेरा फर्किदै गर्दा लामो समय मैले काम गरेको जनकपुर टुडेका प्रकाशक अरुण सिंघानिया मारिएको खबरले शरिरभरि छरिएका रंगहरु फिक्का लाग्न थाल्यो।

झण्डैं आठ वर्ष सिंघानियाको जनकपुर टुडेमा काम गर्ने अवसर पाएकोले उनलाई धेरै नजिकबाट चिनेको थिए। जनकपुरको मिल्स एरियामा रहेको केयर नर्सिङ्ग होम प्राली परिसरमै रहेको जनकपुर टुडेको एक कोठे भवनबाट पत्रिका प्रकाशित गर्दा सिंघानियासित दिनहु जसो भेटघाट हुन्थ्यो। रोगीको उपचारमा सधैं चिन्तित देखिने टुडेका प्रकाशक सिंघानियाले पत्रिकाका बारे पनि उत्तिकै चिन्ता र चासो व्यक्त गर्थे। नर्सिङ्ग होमका संचालक समेत रहेका सिंघानियाले दिनहुजसो पत्रिकामा छापिएको सामग्रीका बारेमा सम्पादकीय टिमसित विचार विमर्श गर्थे।

२०५५ सालदेखि जनकपुरमा पहिलो पल्ट अफसेट प्रविधिबाट प्रकाशित भएको जनकपुर टुडे पहिलो दैनिक अखबार हो। पत्रिकाको प्रकाशनसँगै समाचारका विषयलाई लिएर प्रहरी देखि व्यवसायीसम्मको विरोध झेलेका जनकपुर टुडे धम्कीकै कारण धेरै महिनासम्म लहानमा छाप्नु परेको थियो। प्रकाशन आरम्भदेखि नै थ्रेट झेल्दै आएको टुडे समूहले १३ महिनाकै अवधिमा दुई ठूला पिलर गुमाएको छ।

अखबार प्रकाशनको सुरुवाती अवस्थामा थ्रेट र आर्थिक संकट दुवै एकैपल्ट भोगिरहेको जनकपुर टुडेलाई नेकपा एमालेका केन्द्रीय सदस्य रघुवीर महासेठको लगानीमा प्रकाशन भइरहेको दैनिक अखबार जनकपुर एक्सप्रेससँग मर्ज गरिएपछि टुडेको लोकप्रियता र प्रभाव घटेकोमा सधैं चिन्तित देखिने सिंघानियाले ०५८ साल जेठ ७ गतेदेखि उक्त पत्रिकाको प्रकाशन गर्ने जिम्मा लिए।

दुवै अखबार मर्ज भएपछि टिम बाँडिएकाले त्यतिबेला टुडेलाई पुरानै लोकप्रियतामा फर्काउने अवस्था थिएन। यद्यपि प्रकाशक सिंघानियाले कहिल्यै हरेस खाएनन्। पत्रिका वितरण गर्ने हकरदेखि सम्पादकीय टिमसँग उत्तिकै हेलमेल गर्न रुचाउने सिंघानियाले पत्रिकाको वितरण विस्तार गर्ने क्रममा ढल्केबरमा पत्रिकासमेत बेचेका थिए। रात्री बस सेवामा काठमाडौँबाट फर्किएका यात्रुहरुलाई एकाबिहानै पत्रिका पढाउने उद्देश्यले सम्पादकीय टिमसँगै ढल्केवर पुगेका सिंघानियाले चिया खान रोकेको बसभित्र छिरेर आजको ताजाखबर भन्दै टुडे बेचेका थिए।

लगनशिलता र मेहनतले टुडे मधेशकै पहिलो क वर्गको दैनिक पत्रिका भएपछि उनले रेडियो टुडेको प्रसारण आरम्भ गरे। उनकै रेडियोमा काम गर्ने उमा सिंह मारिदा गहभरि आसु बगाएका सिंघानियाले आफैले संचालन गरेको अस्पतालमा पत्रकारहरुका लागि निःशुल्क उपचारको व्यवस्था गरेका थिए।

साह्रै मिलनसार र सहयोगी भावनाका सिंघानियाले कहिले पनि मिडियाको धाक देखाएनन्। इन्टनेट र अनलाइन समाचारहरुको त्यतिधैरै पहुँच नपुगेको पत्रिका प्रकाशनको आरम्भको बेलामा प्रकाशक सिंघानियका छोरा राहुलले डायल अप कनेक्ट गरेर विदेशी अंग्रेजी साइटहरुबाट समाचार कपी गरेर नेपालीमा उल्था गरि हामीलाई पठाउने गरेको कहिल्यै बिर्सन सकिन्न। भारतमा अध्ययनरत सिंघानियका छोरा राहुलले धेरै पछिसम्म पनि त्यहाँबाट त्यहि बेहोराको समाचार पठाएर सहयोग गर्ने गरेका थिए।

जनकपुर क्षेत्रमा उनको पत्रिका र रेडियोलाई पाठक र श्रोताहरुले औधी रुचाए पनि सिंघानियाले आर्थिक सहयोग माग्नेहरुलाई कहिलेपनि म मिडियाकर्मी छु भनेर नाइँनास्ती गरेनन्। उनको हत्या कसले र किन गर्‍यो, त्यो अनुसन्धानको पाटो हुनसक्छ। तर लगातार मिडियाकर्मीमाथि भइरहेको आक्रमणले पत्रकारिता गर्नेहरुलाई गतिलो चेतावनी दिएको छ।

प्रकाशित: १७ फाल्गुन २०६६ २१:४२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App