१६ वैशाख २०८१ आइतबार
image/svg+xml
ब्लग

बालेनको ‘साढे नौ’ को आक्रोश !

नगर पिता बालेन नगरका पिता मात्रै होइनन्। पिता अघि आफ्ना पत्नीका पति पनि हुन्। प्रेम विवाहपछि पति बनेका बालेनको पहिलो कर्तव्य मेयर होइन पत्नीको पति बन्ने हो। यो कुरा याद राखुन् सिंहदरबारको रक्षा गर्नेले।

मान्छेले प्रेममा सबै होस गुमाउँछ। नलागेको नसा प्रेमले लगाउछ। नसाले गुमाउने भनेकै होस हो। होस गुमाउँदाको नतिजाको परिणाम हो, नगर पिता बालेनको ‘साढे नौ’ को आक्रोश।

श्रीमती जहिल्यै जसको नि शिरमाथि नै हुन्छन्। शिरमाथि कसैले प्रहार गर्छ भने आक्रोशको पराकाष्ठा प्रदर्शन हुनु स्वाभाविक हो। यही आक्रोशको नतिजा हो बालेनको ‘साढे नौ’ को आक्रोश।

टाढाबाट अनियन्त्रित भई हुइँकिँदै आएको गाडीबारे प्रहरी सचेत हुनुपर्ने। रोक्ने आँट कसरी गर्‍यो ? यो गम्भीर अनुसन्धानको विषय हो। रातको समय, सार्वजनिक बिदाको दिन यसरी अनियन्त्रण भएर सरकारी गाडी कसले चलाउँछ ? प्रहरीले यती बुझ्दैन ? एक मिनेट रोकेर सोध्ने आँट कसरी गर्‍यो ? यही आँटको परिणाम हो ‘साढे नौ’ को आक्रोश।

राज्यमन्त्रीको मर्यादाक्रममा रहेको पद हो काठमाडौँ महानगरपालिकाको प्रमुख। मन्त्री र महानगर प्रमुख त जोड्नै हुँदैन। मन्त्री कहिले आउँछन् कहिले जान्छन् कसैलाई थाहा हुँदैन। तर महानर प्रमुख त पाँच वर्षलाई ‘फिक्स’। अनि यस्तो शक्तिशाली पदमा आसीन व्यक्तिको श्रीमती सवार गाडी। होइन, होइन गाडी त मेयर कै त हो, सवार पो मेयर पत्नी थिइन्। त्यो गाडीलाई रोक्ने दुस्साहसको परिणाम हो ‘साढे नौ’ को आक्रोश।

इतिहासमा भएका अहिलेसम्मका सबै युद्धको कारण मध्ये श्रीमतीलाई पनि लिने गरिन्छ। अन्यथा अर्थ नलागोस् श्रीमतीले युद्ध गराउने भनेको होइन।

तर श्रीमतीको मान, मर्यादा, इज्जत र प्रतिष्ठामा आएको आँच ठुल–ठुला युद्धका कारण बनेका छन्। हस्तिनापुर युद्ध होस् वा लङ्का जल्नुको कारण। तिनका लेखकले द्रोपति र सितालाई औँल्याएका छन्। इतिहासमा सबैभन्दा ठुलो युद्धको रूपमा व्याख्या गरिएको महाभारत होस् वा पूरा लङ्का जल्ने युद्ध भएको कारण यस्तो भन्ने थाहा हुँदाहुँदै ‘साढे नौ’ को आक्रोश आउनु के नाजायज ?

निरन्तर रूपमा आइरहेको ‘साढे नौ’ को आक्रोशको मर्म सिंहदरबार र दरबारका रक्षकले बुझ्नु जरुरी छ। सिंहदरबार दरबार मात्रै होइन शासनको प्रतीक पनि हो। सिंहदरबार जलाउँछु भन्नुको अर्थ शासन सत्ता च्युत गर्नु पनि हो।

सिंहदरबारको रक्षा र आफ्नो सत्ताको रक्षाका लागि नगर पिताको आक्रोश रोक्न सक्नु पर्छ। आक्रोश रोक्न फेरी त्यो शनिवारको ‘साढे नौ’ को अवस्था आउन दिनु हुँदैन। त्यो रोक्न के गर्नुपर्छ त्यो त्यही आक्रोशले सिकाइ सकेको छ।

के तपाईँलाई नगर पिताको आक्रोश जायज लागेको छ ? मलाई त पटक्कै लाग्दैन। आक्रोश त आवेगमा आउँछ। विवेक गुमाउँदा आउँछ। त्यो विवेक गुमाउने भनेकै प्रेमको नसामा हो। त्यसमा पनि प्रेममा सबै कुरा जायज हुन्छ भन्ने कुरा ठुला विद्धानले भनेकै त छन् ! त्यस कारण ‘साढे नौ’ को आक्रोश बालेनले होइन त्यो आक्रोशबाट सिंहदरबारका शासकले बच्नु र बँचाउनु जरुरी छ।

प्रकाशित: १७ भाद्र २०८० १२:०१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App