१६ वैशाख २०८१ आइतबार
image/svg+xml
ब्लग

बालेनका अशोभनीय ‘स्ट्याटस’ का श्रृखंलाः सधैँको रोष, आक्रोश र व्यङ्ग्य !

०००

मिति २०८० भदौ २ राती ९ः२१ मिनेट

आजको लागि केही भएन,

भोलिबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने,

सिंहदरबारमा आगो लगाइदिन्छु।

याद राख चोर सरकार।

०००

मिति २०८० असार १५ बिहान १०ः४५ मिनेट

नेताज्यूहरूले यसरी नै, 

वर्ष भरीनै धान रोपिदिनुभो भने,

तपाईँहरू भारतको गुलाम हुनुपर्दैन।

०००

मिति २०८० असार ७ दिउँसो २ः४ मिनेट

जहाँ सवाल देशको सार्वभौमिकता र स्वाधीनताको आउँछ म कुनै कानुन र अदालतलाई मान्ने वाला छैन। फिल्म लेखकले नेपाल भारतको अधीनमा थियो भनी सके पछि उनीहरूको नियत थाहा हुन्छ। यो कुरालाई नेपाल सरकारले  स्टन्ट भन्नू र अदालतले फिल्म चल्न दिनु भनेको नेपाल भारतको अधीनमा थियो, अदालत र सरकार भारत को गुलाम भएको बुजिन्छ। यसको लागि  जुनसुकै सजाय भोग्न तयार छु तर फिल्म चल्दैन र चल्न दिइनेछैन।

०००

मिति २०८० जेठ १६ बिहान ९ः२६ मिनेट

सांसद विकास कोष पाउनु भएसी बल्ल सांसदहरू वडा अध्यक्षको लेबलमा आउनु भयो।

वडा अध्यक्षकै काम गर्न मन भए किन सांसद बन्नु हुन्छ माननीय ज्युहरू।

०००

मिति २०८० बैशाख १९ राति ९ः४१ मिनेट

नयाँ , पुरानो सबै नेताहरू चोर हुन्,

कसैलाई देशको माया छैन।

०००

मिति २०७९ चैत ३० दिउँसो १२ः२९ मिनेट

कि काठमाडौँको हितमा काम गर्नुहोस्,

कि सिंहदरबार अरू पालिकामा सार्नुहोस्।

हामी काठमाडौँ बासीलाई कुनै आपत्ति छैन, चाहे सिंहदरबार सार्नुस् कि राजधानी सार्नुस्।

हामीलाई हाम्रो सम्पदा, संस्कृती, कला, सभ्यता चाहिन्छ, राजनीति हैन।

०००

मिति २०७९ चैत २५ बिहान ०८ः१० मिनेट

आजबाट सिंहदरबारको फोहोर उठ्दैन।

साँच्चिकै देश सफा गर्नु परे,

त्यहाँका नेताहरूलाई सिसडोलमा डम्प गर्नुपर्ने हुन्छ।

०००

राज्यका प्रमुख अङ्ग कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकालागि चुनौती दिने गरी फरक समयमा बालेनले दिएका अभिव्यक्तिको केही अंश मात्रै हुन् यी। काठमाडौँ महानगरपालिकाको प्रमुखमा निर्वाचित भएर आएदेखि यी बालेन यस्ता उत्तेजनात्मक अभिव्यक्तिले निरन्तर चर्चामा छन्।

सामान्य खालका चुनौती मात्रै होइन भीड एकीकृत गर्नेदेखि भीडलाई उत्तेजित पार्नेसम्मका अभिव्यक्तिले मेयर बालेन नसाको मात स्वरूप अभिव्यक्ति दिइरहेका छन्। राज्य संचालनका प्रमुख अङ्गमाथि भएको यस किसिमको उत्तेजनात्मक अभिव्यक्तिलाई उनकै उमेर समूहकाले समर्थकले नसा थप्ने काम गरिरहेका छन्।

जनताबाट निर्वाचित सार्वभौम व्यवस्थापिकाका सदस्यलाई भारतीय गुलाम जस्ता अभिव्यक्तिले उनी स्वयम को हुन् त ? भन्ने प्रश्न खडा हुन्छ। उनी पनि तिनै जनताका प्रतिनिधि होइन्न त ? संसद्का प्रतिनिधिजस्तै उनी पनि जनताको भोटले निर्वाचित भएका होइनन् ? लेख्नुभन्दा अगाडि एक जिम्मेवार पदमा आसीन व्यक्तिले सोच्नु पर्दैन ?

दोस्रो कुरा, अदालत र कानुन बारेको अभिव्यक्ति। प्रसङ्ग जेसुकै होस्। चित्त नबुझेको कुरामा उनी माथिल्ला अदालतमा जाने प्रशस्तै अधिकार पनि छ। कानुन बमोजिम हिँड्नुपर्ने, कानुनको पालना गराउनुपर्ने एक जिम्मेवार पदीय हैसियतमा बसेको व्यक्ति के अभिव्यक्ति दिन्छ भने कानुन र अदालतको कुरा मान्दिन। के मान्नुहुन्छ त मेयर साप ?

हेक्का रहोस्, तपाईँ स्वयम पनि एक सरकारको नेतृत्वमा हुनुहुन्छ। ४० औँ लाख जनसङ्ख्याको महानगरभित्र महानगरले बनाएका नियम कानुन कसैले मान्दैन भने कसरी सरकार चलाउनुहुन्छ ? तपाईँले जे सिकाउँदै हुनुहुन्छ त्यो तपाईँका फलो गर्नेहरूले पनि सिक्दै छन्। कुनै दिन तपाईँलाई नै भारी पर्नेछ। जुन तपाईँ कै कु शिक्षाबाट दीक्षित हुँदै छन्।

तेस्रो, मुख्य र धेरै नै तिक्ततापूर्ण सम्बन्ध रहेको कार्यपालिका। बालेनले सबैभन्दा धेरै आवेग र आक्रोश पोख्ने भनेकै सिंहदरबार अर्थात् मुलुक संचालनकसँग हो। पहिलो कुरा त बालेनमा कूटनीतिक क्षमताकै कमी छ। आफूले केन्द्र सरकारसँगको अपेक्षा उनले शिष्टतापूर्वक होइन कि सामाजिक सञ्जालमार्फत आक्रोशपूर्वक पोख्ने गरेका छन्। काठमाडौँ महानगरपालिकासँग बजेटको अभाव छैन। केन्द्र र प्रदेश सरकारसँगको नीतिगत र व्यवहारिक समस्या हुन सक्छ। त्यो स्वाभाविक हो। एकै मन्त्रालयका फरक फरक निकायबिच त त्यो समस्या हुन्छ भने त्यो त फरक सरकार हुन्।

यस्तो अवस्थामा वार्ताबाट समस्याको समाधान गर्नुपर्नेमा सामाजिक सञ्जालमा सक्रियता देखाउनु कतिको बुद्धिमत्ता हो ? उनी आफै बुझुन्। उनलाई काम गर्नु छ कि स्टन्ट यहीबाट प्रस्ट हुन्छ।

चौथो र महत्त्वपूर्ण कुरा। राज्यको चौथो अङ्गका रूपमा परिभाषित गरिएको संसार जगत्। उनले नेपाली सञ्चार जगतबाट यसरी टाढिएका छन् कि त्यो सबैमा जगजाहेर छ। सञ्चार माध्यमलाई अर्को अर्थमा जनताप्रतिको जबाफदेहिता भनेर समेत बुझ्न सकिन्छ। त्यसमा उनी काठमाडौँवासी प्रतिको कतिको जबाफदेही छन् भन्ने बुझिन्छ। आफू महानगरपालिकाको प्रमुखमा निर्वाचित भएदेखि उनले मिडियाबाट चार कोसको दुरी कायम राखेका छन्। मिडियामा उठ्ने सम्भावित प्रश्नबाट उनी भाग्दै आएका छन्।

अब उनले पछिल्लो समय सामाजिक सञ्जालमा मच्चाएको तहल्काको कुरा। जुन उनी आफैलाई अनुचित लागेर हटाइ समेत सकेका छन्। सिंहदरबार जलाउने उत्तेजित आक्रोश। घटना विवरण अस्पताल र एम्बुलेन्ससँग सम्बन्धित छ भन्ने बुझ्न सकिन्छ।

वैशाख ३० गते उनी आफैले एउटा राम्रो कामको सुरुवात गरेछन्। काठमाडौँ भरी २४ घण्टा एम्बुलेन्स सेवा सञ्चालनबारे। जुन निःशुल्क समेत रहेको उनी स्वयमले घोषणा गरेका छन्। लहरै राखेका केही थान एम्बुलेन्सको समेत फोटो राखेर उनले घोषणा गरेको कामको प्रभावकारिता बारे उनी स्वयमले त्यही हटाएको पोस्टबाट थाहा हुन्छ। 

यदि प्रभावकारी रूपमै चलिरहेको थियो भने उनी स्वयमलाई श्रीमती अस्पताल पुर्‍याउन महानगरको सरकारी गाडीको आवश्यकता किन पर्थ्यो ? अनि एम्बुलेन्सलाई ट्राफिकले किन रोक्थ्यो ? अनि उनले नि सिंहदरबार जलाउने चेतावनी पनि दिनुपर्दैनथ्यो।

मेयर बालेनको कामको प्रगति उनको वार्षिक बजेट कार्यान्वयनको अवस्थाले झल्काउँछ। यस कारण सामाजिक सञ्जालमा आक्रोशित अभिव्यक्ति दिनुभन्दा रचनात्मक सुधारका काममा समय बिताउनु महानगर र महानगर प्रमुखका लागि हितकर हुने थियो कि ?

प्रकाशित: १८ भाद्र २०८० १४:५९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App