१५ वैशाख २०८१ शनिबार
image/svg+xml
ब्लग

डियर बालेन, जवान हेर ! जवान बन !! जवान रोक !!!

‘सहरमा शाहरुखको जवान हेर्ने लहर छ। जवान नै हेर्ने हो भने विमानस्थलमा जाउँ। त्यहाँ देश छाड्नेको लर्को हेर।’

बालेन शाहको फेक एकाउन्टबाट केही दिन अगाडी सम्प्रेषण यो सन्देश सामाजिक सन्जालमा किङ खानको सिनेमा ‘जवान’ जस्तै भाइरल छ।

यो सन्देश भाइरल हुनुको ३ कारण छन्– पहिलो शाहरुखको चर्चित सिनेमा जवान। दोस्रो बालेनको नाम जोडेर राखिएको स्ट्याटस अनि तेस्रो मुलुकबाट दैनिक बाहिरिँदै गएका लाखौँ जवान को यथार्थता। हाम्रा जवान र शाहरुखको जवानको कथामा केही समानता पनि छन्।

शाखरुखको सिनेमामा परम्परागत राजनीतिले देशलाई खोक्रो बनाउँदै लगेको देख्न सकिन्छ। त्यसैले सिनेमाले सिस्टमभित्रको विकृतिमाथि जोडदार प्रहार गरेको छ। यो भारतको यथार्थता पनि हो। 

बैकको लोन तिर्न नसकेर आत्महत्या गर्न बाध्य किसानको समस्या देखाएको छ। सरकारी अस्पतालको बिग्रँदो अवस्थाले सर्वसाधारणले ज्यान गुमाएको तथ्य प्रकाश गरेको छ। भारतीय समाजमा देखिएको यो समस्या नेपाली समाजको व्यथासँग मेल खान्छ।

हाम्रोमा पनि खेतीको समयमा मल हाल्न नपाएर किसानको बिजोग भएको समाचार आइरहेका छन्। रिन तिर्न नसकेर आत्मदाह गरेका समाचार सुनेकै हो।

जवान सिनेमामा देखाएजस्तै हाम्रोमा पनि विलाशी सवारीसाधनको व्याजभन्दा किसानले चलाउने ट्र्याक्टरको लोनमा व्याज बढी छ। हाम्रोमा अझै पनि दुर्गमका जनताले गतिलो उपचार त के ज्वरो आएको बेला सिटामोल समेत खान पाएका छैनन्। त्यसैले भारतीय सिनेमाको चर्चित  कथा र नेपाली समाजको यथार्थ व्यथासँग मेल खान्छ।

भारतीय सिनेमा जवानमा नेपालले समाजले भोगिरहेको एउटा तितो यथार्थता भने ओझेलमा छ। सिनेमा हलमा देखिने लाइन भन्दा विमानस्थलमा देखिने लर्को कम्ता छैन। विमानस्थलमा दिनहुँ सरदर दुई हजार ४ सय भन्दा बढी युवा काम र पढाईको लागि मुलुक छोडेर जाने गरेका छन्। लाग्छ सिङ्गो मुलुक क्रमशः विदेश उडिरहेको छ। अघिल्लो वर्ष मात्र करिब ९ लाखले काम र अध्ययनको लागि मुलुक छाडेको तथ्याकंले पनि मुलुकको विकराल स्थिति दर्साउँछ।

त्यसैले पनि बालेनको नामबाट सम्प्रेषित माथिको स्ट्याटस यति धेरै लोकप्रिय बन्यो। फेक एकाउन्टबाटै सही बालेनको नाम जोडिसकेपछि  जवान सिनेमा हेर्ने कतिपयले साँच्चिकै बालेन साहलाई पनि जवान सिनेमा हेर्न अनुरोध गर्न थालेका छन्। यो आग्रह मनोरन्जनको लागि हैन। मुलुकको समस्या हल हुन्छ कि भन्ने आशाका साथ देखियो।

‘बालेन साहलाई जवान सिनेमा हेर्न मेरो पनि आग्रह छ। उक्त सिनेमा हेरेपछि बाहिरिँदै गएका नेपाली जवान रोक्ने आइडिया सायद दिमागमा फुर्छ कि,’ सामाजिक सन्जालमा विनोद प्रजापति लेख्छन्, ‘जवान बाहिरिनु पनि त हाम्रो सिस्टमकै खराबी त होला नि ?।’ वृद्ध बा–आमा र बालबालिकालाई घरमा छाडेर खाडी मुलुकमा पसिना बगाउन गएका जवान जब अपाङ्ग भएर स्वदेश फर्कन्छन् तब त्यो झनै डरलाग्दो अवस्था रहेको उनी लेख्छन्।

सिनेमाको हिरोमा समेत आशा राख्ने वर्गले बालेनमा पनि ‘जवान’ देख्नु स्वाभाविक नै हो। सिनेमामा शाहरुख खान विक्रम र आजादको दोहोरो भूमिकामा छन्।  सिस्टमका विकृति विरुद्ध उनले लड्दै गर्दा सिनेमा हलमा निकै ताली  बज्छ। सिनेमामा अभिनय गर्ने इमानदार सरकारी अधिकारीले पनि  आजादको सिस्टम सुधार्ने तरिका गलत भएपनि उद्देश्य असल भएको बताउँछन्।

पछिल्लो समयमा कतिपय युवा जमातले मेयर बालेन प्रति पनि त्यही आशा देखाएका छन्। उनका तरिका गलत भएपनि कतिपय कामहरु जायज भएको भन्दै तारिफ पनि भएका छन्। त्यसैले होला ‘सिंहदरबार जलाउने’ भन्ने बालेनको आक्रामक स्टाटश प्रति पनि लाखौँले समर्थन जनाएका थिए। 

शाहरुखको जवानमा फिदा भएको नेपाली समाजले बालेनमा नयाँ जवान देख्नु स्वाभाविक हो। उनका कतिपय राम्रा कामले आशा जगाउने गरेको छ भने कतिपय व्यक्तित्वले निराशा दिने गरेको छ। यति हुँदा हुँदै पनि धेरैले नयाँ पीढीबाट नयाँ मुलुकको कल्पना गरेको देखिन्छ।

मुलुकमा पर्याप्त रोजगारीको अवसर नहुनु, सिप भएकाले काम गर्ने वातावरण नबन्नु। राज्यले प्रोत्साहन नगर्नु लगायतका कारण यूवाहरु  विदेश पलायन हुँदै छन्। अनि अर्को कुरा लामो समयदेखि अलमलमा रहेको राजनीतिप्रति पनि नेपाली युवाको आशा हराएको छ। यस्तोमा नयाँ आशा देखाउने कोही जवानको आवश्यकता रहेको नेपाली युवाको बुझाई छ।

‘जवान उमेरले मात्र हैन, चेतना र सोचले पनि हुनु पर्छ,’ सामाजिक सन्जालमा प्रमोद रिजाल लेख्छन्, ‘जवान जब संयमित भएर मुलुकको हितमा अगाडी बढ्छ तब लामो समयदेखि सिस्टमका ‘काली’ (जवान सिनेमाका खलपात्र) हरुको अन्त्य निश्चित छ।

भारतीय सिनेमा जवान सफल भएको छ। सामाजिक विसङ्गतिका विरुद्ध बनेको सिनेमाले बक्स अफिसमा राम्रो कलेक्सन गरेको समाचार आइरहेको छ। तर सिनेमाको त्यो आम्दानीले भारतको समस्या समाधान गर्ने होइन। सबैभन्दा ठुलो कुरो यो सिनेमा चेतनाको झिल्को बनेको छ। हो त्यही चेतनाको झिल्कोले सिस्टमका खराबी जलाउने काम नयाँ जवानले गर्नु पर्छ। जवानको जवान सन्देश यति नै हो।

‘शाहरुखको जवान हिट भयो,’ सामाजिक सन्जालमा मनोहर पुडासैनी लेख्छन्, ‘नेपाली ‘जवान’ कहिले चल्ने हो त्यो भने हेर्न बाँकी नै छ।’

प्रकाशित: २३ भाद्र २०८० ०८:५७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App