१६ वैशाख २०८१ आइतबार
image/svg+xml
ब्लग

धुम्म आकाशमा ‘सूर्य’ को उल्टो यात्रा

आज आकाश धुम्म छ। आकाश मात्र हैन, राजनीति पनि धुम्म छ। यही धुम्म चिर्ने प्रयासमा सूर्य चुनाव चिह्न बोकेको नेकपा एमालेले पश्चिमदेखि पूर्वसम्मको ‘उल्टो’ सङ्कल्प यात्रा सुरु गरेको छ।

पश्चिमको झुलाघाटदेखि पूर्वको चिवा भञ्ज्याङसम्म पुष्पलाल मध्यपहाडी लोकमार्गमा  जनतासँग नजिकिँदै एमालेले यात्रा गर्न लागेको हो। बैतडीको सिमाना झुलाघाटमा राष्ट्रिय झन्डाको फहराएर यात्राको सुरुवात गर्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ बनाउने काममा एमालेले कुनै कसर बाँकी नराख्ने बताएका छन्। 

सत्तामा रहँदा जनताको समस्यासँग खासै सरोकार नराखे पनि  भाषणमा भने समृद्ध नेपाल र सुखी नेपालीको नारा एमालेले छाडेको छैन। किनकि यो नारा सत्तामा पुग्ने सजिलो साँचो रहेको एमालेलाई थाहा छ। जनताभन्दा चुनाव केन्द्रित मुडमा छ, एमाले। जनतासँग टाढिँदै गएकाले होला एमालेको राजनीति पनि धुम्म देखिन्छ। संयोग नै होला, धुम्म परेको दिन  ‘मिसन ८४’ कै लक्ष्यमा हिँडेजस्तो गरी एमालेले सङ्कल्प यात्रा जुरेको छ।  

एमालेले यस सङ्कल्प यात्रालाई महाअभियानको रुपमा लिएको नेकपा एमालेका प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमले बताएका छन्। महाअभियान कतिको सार्थक होला त्यो हेर्न बाँकी छ। जनतासँग नजिकिनु राम्रो कुरा हो। तर स्वार्थ बोकेर मात्र जनताको दैलोमा पुग्नु सधैँ राम्रो मान्दैनौँ। 

मध्यपहाडी लोकमार्ग वरपरका स्थानीयसँग घुलमिल भएर उनीहरूको अवस्था बुझ्न र उनीहरूका शिक्षा, स्वास्थ्य लगायतका समस्या समाधानका लागि यो यात्रा उपलब्धिमूलक हुने एमालेको बुझाई छ। सत्तामा रहँदा उसले जनताको नजिक पुगेर यो काम गरेको भए त्यो झनै प्रभावकारी हुन्थ्यो। 

धुम्म आकाशमा सूर्य चुनाव चिन्ह बोकेको एमाले पश्चिमदेखि पूर्वसम्मको ‘उल्टो’ यात्रा तय गरेको छ। ‘मिसन ८४’ को विजयी लक्ष्य बोकेको एमालेको यो यात्राले आफूसँगै मुलुकभित्र  धुम्मिएको अन्योलको राजनीतिलाई चिर्न सक्ला नसक्ला त्यो हेर्न बाँकी छ। 

मध्यपहाडी राजमार्गका जिल्लाहरूमा ठूलाठूला जनसभा, सन्देश सभा र भेटघाट लगायतका कार्यक्रम गरिने  एमालेले जनाएको छ। तर केन्द्रमा शासन गरेको समयमा राम्रा काम गरेको भए त्यो निकै ठूलो सन्देश हुने थियो। यो बुझाइमा एमाले धुम्मिएको छ। 

अध्यक्ष ओलीले यस सङ्कल्प यात्रामा जनतासँग संवाद र अध्ययनको काम गरिने जानकारी दिए। ओलीले मध्यपहाडी क्षेत्रको विकास कसरी गर्न सकिन्छ, युवालाई कसरी रोजगारी दिने र स्वदेशमै टिकाउने, गुणस्तरीय स्वास्थ्य, शिक्षा लगायतका विषयमा पनि अभियानले मद्दत पुग्ने उल्लेख गरेका छन्। 

उनले यात्राको क्रममा प्राध्यापक, शिक्षक, कर्मचारी, राजनीतिक दलका नेता, प्रतिनिधि, विभिन्न पेसाका व्यक्तिसँग छलफल गरेर विभिन्न भूगोल, वातावरण, हावापानी विविधतायुक्त विकास कसरी गर्न सकिन्छ भन्ने विषयमा अध्ययन गरिने बताए। जनताका समस्या बुझ्न निकै ढिलो भैसकेको भन्ने एमाले पङ्क्तिलाई कति ढिलो थाहा भएको । 

जनताले भोगिरहेका समस्या कस्ता छन् जनताको अपेक्षा के छन् भन्ने बुझ्न र अहिलेको परिस्थितिबाट बदलेर समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय आकांक्षा पुरा गरेर छाड्ने नयाँ सङ्कल्प यस अभियानमा अघि बढाउने ओलीको भनाइ छ। समृद्ध नेपाल र सुखी नेपालीको अभियान सुगा रटाई भइरहेको जनताले बुझ्न थालेको तर्फ एमाले सचेत देखिँदैन। 

जल तथा मौसम विज्ञान महाशाखाले अहिले आकाश धुम्म हुनुमा पश्चिमी वायुको साथै भारतको राजस्थान क्षेत्र आसपास रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको बताएको छ। एमालेसँगै मुलुकको राजनीति धुम्म हुनुमा कसको कुन प्रभाव हो ? त्यो समयले बताउने छ ? 

राष्ट्रिय शक्ति निर्माणका लागि यो जागरण अभियान रहेको भन्दै ओलीले जनताको हितमा, लोकतान्त्रिक गणतन्त्रको पक्षमा, परिवर्तनको पक्षमा, लोकतन्त्रको, विकासको पक्षमा, सुशासनको पक्षमा, समृद्ध नेपाल र सुखी नेपालीको लक्ष्य पुरा गर्न यो यात्राले महत्त्वपूर्ण योगदान पु¥याउने बताए। सडकको नाम मात्र  पुष्पलाल  हो।  यो  बाटोमा कम्युनिष्ट मात्र भेटिन्छन् भन्ने भ्रममा  रहनु ठिक हुँदैन। 

एक पटक यही शक्ति निर्माणको लागि बहुमत दिएर जनताले जिताइसकेको तथ्य  एमाले किन भुलेको भन्ने प्रश्नको सामना गर्नु पर्ने देखिन्छ। 

आजबाट सुरु भएको यात्रा पुस १ मा पाचँथरको चिवा भन्ज्याङमा पुगेर झन्डोत्तोलन गरेर सकिने छ। विगतमा संसदभग गरेर प्रतिगमनको बिल्ला लागेको एमालेले कुन समयको  प्रतिगमनको दिन भनेर चिनिने पुस १ लाई अन्तिम दिन छान्नु पनि सायद संयोग नै होला। 

जल तथा मौसम विज्ञान महाशाखाले अहिले आकाश धुम्म हुनुमा पश्चिमी वायुको साथै भारतको राजस्थान क्षेत्र आसपास रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको बताएको छ। एमालेसँगै मुलुकको राजनीति धुम्म हुनुमा कसको कुन प्रभाव हो, त्यो समयले बताउने छ ?

प्रकाशित: १४ मंसिर २०८० ०८:४९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App