२९ वैशाख २०८१ शनिबार
image/svg+xml
ब्लग

रानीमहलले बोलाउँदा

श्रीनगरको बतासे डाँडाको टुप्पामा पुगेपछि त˜˜˜ल खोँचमा हेरेँ, दिउँसो पहेँलपुर धान झुलेको माडीमा गजधम्म कुहिरो थियो ! 'जाडो याम सुरुभएपछि कताबाट हो कुन्नि बिहानीपख माडी फाँटलाई कुहिरोले ढपक्क ढाक्न आईपुग्छ।' तानसेनको भनाइ यस्तै थियो। 'कति सुन्दर दृष्य हगि! बादलु सेतो ताल (ह्वाइट लेक)! शिष्ट, विनम्र र सहयोगी युवक अंकितको आँखा पनि तालको सेतो रङ्गमा एकटकले अडेको थियो।

आहा....चरी-संसारमा हामी त! चराचुरुङ्गीको चिरिबिरीले बनै गुन्जायमान। झुल्के घाममा रुखको टुप्पा टुप्पामा बसेर चहकिने चरा छेवँैबाट हिँड्दा पनि हाम्रो वास्ता गरिरहेका थिएनन्। चिरविरमै मस्त! यता र उता, तल र माथि चराहरुको चहलपहलले बनै गुल्जार...! अघिदेखि चराहरुको मायामा रचिएको एउटा गीत मेरो मनले गाइरहेको थियो

'घर पनि छैन तिन्को, जङ्गलमा बस्छन्
असिना र हुरी आए, पाउनु दुख पाउँछन्
दुख कष्ट झेल्दै बाँच्छन्, बरा ती निमुखा
चरा नभा'को संसार के रमाइलो होला

चरा नमार साथी चरा नमार
बन्दुक र गुलेलीले चरा नमार
चरा नमार साथी चरा नमार
बचेरा र बचेरीलाई टुहुरा नपार....
पहेँलो , हरियो, रातो रङ्गिचङ्गी चरा
हामीसंगै बाँचेका छन् धरतिमा बरा ...'

बिहान पनि हिमाल छयाङ्ग खुलेको थिएन। पातलोखालेे बादलु बर्कोे ओढेेको थियो। बनछेउको बाटो शीतले भिजेर लफ्रक्क थियो। हेर त, छेउमै टाँकी र अंंगेरीका फूल कति राम्ररी फुलेका! आहा! बैजनी रंगका दुई-बैनी भुर्इँंफूल पनि त्यत्तिकै राम्रा..!
' लालीगुराँस अजम्बरी चँापचमेली
जे भने नि हुन्छ हजुर म त नेपाली... ' बाटोको डिलवाट फुत्त गीत निस्कियो। सखारै तानसेन पुग्न निस्केका गाउँलेहरुको हातमा, एफ.एम गाइरहेको थियो।
हिँडाईँसँगै बाटाका दृष्य छिनछिनमा बदलिरहेका थिए। अलि तल खोलाको झाडीभित्र न्याउली चरीको बिरह एकनासले सुनिनथाल्यो। बारीमा सुकेका मकैका बोट टवाल्ल हामीलाई हेरिरहेका थिए। पिपिरीको पात बजाउँदै सानो फुच्चे-गोठालो बाटोमुनिको बनभित्र छिर्‍यो। पर उत्तिसघारीमा ‰याउँकिरीको स्वर झन्किरहेको थियो। सोर्‍याप सोर्‍यापको स्वरले आँखा तान्यो - स्कुले ड्र्रेसमै दसवर्षजतिको केटो, बाटोछेउ बारीको डिलमा, घाँस काटिरहेको रहेछ। 'बरा! अर्को फेर्ने लुगा रै'नछ.उसको ! ' हातमा खूर्पा बोकेकी अर्की सानी नानी देखा परी, उनीवरिपरि पँहेला पुतली उडिरहेका थिए। बाटोछेउ खस्य्रंाक र खुस्रुक सुनियो, नियालेर हेरेँ , झाडीभित्र फत्रयाक् र फुत्रुक् फिस्टाहरुको लखेटालखेट् रहेछ ! ओरालोमा दुइतीनटा घर भेटिए। घरछेउवाट एकहल मत्त गोरु फुँ फुँ गर्दै फुत्त निस्क्यो 'ए हजुर, बाटोमाथि उक्लिबक्स्योस् गोरु मापाको छ !' गोठालो पनि मापाकै देखिन्थ्यो , गोरु चुट्दै बाटोमुनि कुदायो। घरको आँगनमा एउटी पुतली उड्दै थिइ कुखुराले क्वाप्प पार्‍यो। दशैंको पिङमा अलि पर तिनटी केटी झुत्ती खेलिरहेका थिए।

बाटो झुक्किँदा सानो भाइ र हातमा खूर्पा लिएर हिँडेकी हँसिली केटीले झिजो नमानी, वरसम्म आएर छिटो र सोझो बाटो देखाइदिइन्। बिहानी बेला, गाउँमा घाँस काट्ने समय, केटाकेटी र महिला हातमा खूर्पा लिएर हिँडेका निकै भेटिए । फेरि बाटोमा कोई बड्बडाउन थाल्यो। राजनीति फलाक्दै रहेछ एफ.एम। ' तीन पार्टीको बैठक बिना सहमती टुिङ्गयो।' 'तेरिमा लाने...यी दस आठ नेता भनाउँदाहरुले देशलाई कहिल्यै उँभो लाग्न नदिने भए ..।' एफ.एम बोकेको अधवैंसे उकालोमा ‰वाँक्किदै थियो।

गाउँका बाटा अत्यन्तै रमाइला र रङ्गिन थिए - राता, पहेँला, हरिया, निला टलक्दार बुट्टे खोलहरुले। चाउचाउ, हाजमोला, खैनी , बिस्कुटका खोल जताततै छरस्ट। भन्न मन लाग्यो - 'कम्पनी हो, तिमीहरु सफल छौ गाउँघरहरुतिर पनि। बधाई छ! आखिर मकै-भटमास, रोटी, सातु जस्ता सारा नेपाली खाजा बिस्थापित गरेरै छाडयौ नि। '

धत्तेरी.., दूर्घटनाको खबर सुनाउन अर्को एफ.एम निस्क्यो बाटोमा! 'एकाबिहानै तीर्थधाम निस्केको बस एकसय मिटर तल नदीकिनारमा...! '
' धर्म गनर्ेेहरु नै झन बढी मर्नेगर्छन् , किन होला बा?' आश्चर्य मान्दै सोध्दा एक भगवान-भक्त बूढाले उहिले मलाई जवाफ दिएका थिए 'भगवानलाई माया गर्नेहरुलाई भगवानले लगे, खोजेकै त्यै , यसमा के को दुख र बाबु !' के ती भगवानलाई भेट्न मर्नै निस्केका थिए त!?

'ए मेरी छोरी...!' घाँसको भारी छेउमै ठडयाएर, मीठो स्वरमा नानीलाई मायै माया खन्याएर नारी स्वरमा कोही बोलिरहेकी थिइ । बाटोमुनीवाट आएको स्वर पहिल्याएर हेर्दै जाँदा सानै उमेरकी कलिली आमा लजाई।
'आहा! चिया खान पाइने भइयो!' तल अवलको पसलमा, एकहूल पाइन्ट, हाफ पाइन्ट लाएका युवायुवती हातभरी चियाका गिलासमा देखिए। जाँगरिला बूढाले फूर्तिसँग हामीलाई पनि चिया तयार पारेर ल्याए ।
'अहो... के सारो गुलियो..!'
'पख्नोस् है त, म गुलियो मार्छु।' फूर्तिसँग भित्र पसेका बूढाले गुलियो मार्न तातो पानी हैन, गिलासभरि दुधै दुध पो लिएर आए। मनकारी रहेछन् मान्छे।
'जय शिवसंकर कैलासपति भोले बाबा, भाङ धतुराले लठ्ठ। हे भूतप्रेतका स्वामी ...' बूढा अझ के के फलाक्न खोज्दैथिए सारा
केटाकेटी गललल हाँसे। अकस्मात आँगनमा निस्केर भयङ्कर आवाजमा बूढा कराउँदा सबैलाई झसङ्गै पारेे। 'हाँस हाँस , बेस्सरी हाँस, हाँस्दा खुन सफा हुन्छ ..।' बूढा किन्चित क्यै पर्वाह नगरि बोले। यो हाँसोले क्यै आत्मीयता पनि बढाएको थियो हामीमा। त्यसकै आडमा बूढोले आफ्नो परिचय दिन सुरु गरिगए-'हेर्नोस्, एघार वर्षको उमेरमा घर छोडेर इन्डिया हान्निएँ। चउन्न वर्षपछि फर्किएँ। कस्ता कस्ता मान्छेहरुसँग सङ्गत भयो, बयान गरेर के साध्धे! वाफ र,े क्या खाइलाग्दो, रहरिलो, फूर्तिको ज्यान थियो आफ्नो पनि! खटाइ पनि त्यस्तै। क्या रिझाएँ इन्डिया बाबुहरुलाई! इन्जिनियरहरुको हूलसँगमात्र अठारौं वर्ष बसियो, संगसंगै काम गर्दा के सिकियो, के सिकिएन? खुलासा गरेर साध्धे छ र? इलेक्टि्रकमा पनि खूबै काम गरेँ, बिजुलीको मिस्त्री नै भइयो भन्दा फरक पर्दैन। पछि भारतका जमिन्दारहरुका बन्दुक पनि बोकियो र अनेक रङ्ग मचाएर हिँडियो। कालेहरुलाइ थर्काउन थर्काइयो। तर भारतमा पनि यहाँजस्तै माओवादी उठेर हैरान छ नि.!'
आफै अचम्म र उदेकमा पर्दै, बूढाले हाम्रो चेहराका भाव बु‰न खोजे। उनका कुरा सुन्न तल्लीन थियौंं हामी। सबै आफूतिर एकोहोरिएको देखेर बूढा इतिहास बताउन अझ सुरिए-'आफू त कांग्रेस परियो । कांगे्रसकै जग्जगी थियो उहिले नेपालाँ नि , तर अहिले फिर्दा त कांग्रेस झोक्रिने अवस्थामा पुगेछ। तर इन्डियामा त कांग्रेसकै राज छ। विश्वास पाएकाले उमेर घर्के नि अघिल्लो चुनावमा इन्डियाकै सरकारी मान्छे भएर भोटका बुथमा डयुटी दिन बसेको थिएँ तर हेर हैरान! एउटा किरो पनि भोट हाल्न मुन्टिएको हैन!'
'किन मान्छे आएनन् त भोट दिन?' उत्सुक भएर सोधेँ।
'के खाएर आउन् , माओवादीले भोट दिनेको हात खोजी खोजी काट्छु भनेपछि ...। दिनभरि बुथ रुङियो, बेलुकी रित्ता बट्टा बोकेर हिँडियो।'
'इन्डियामा नि छन् र माओवादी?'
'धत्तेरी , नेपालकाभन्दा खतरा छन् इन्डियाका माओवादी? बरा.. नेपालका माओवादी त तिनका अगाडी के होलान् र ..।'
'यिनका छोरा पनि माओवादी भा'का छन् अनि 'बरा' भन्छन्' छेउकै महिलाले ओँठ लेप्रयाएर भनिन्। यत्रा मान्छेका अगाडि आफूलाई 'माओवादीको बाबु' भन्दा बूढा अलि अत्तालिएजस्ता देखिए।
'काँको माओवादी हुनु , बजियालाई अरबतिर घुचेड्दि हालेँ नि ..। आफू त कांग्रेस भइहालेँ ...।'
'अनि अरबतिर के काम गर्छ त?'
'के काम गर्नु नि, हवाँ पनि माओवादी भएर हैरान छ रे। अर्को पनि अरबतिरै छ , त्यो पनि त्यस्तै..।' छेउमै उभिएकी तिनै महिलाले भनिन्।
'एघार वर्षकोे उमेरमा इन्डया पसेको भन्नुहुन्छ अनि इन्डियावाट चउन्न वर्षपछि फर्केँ पनि भन्नुहुन्छ, छोराहरु त थुप्रै रै'छन् त, कसरी? फ्यास्स हाँसेर बूढाले भने 'बिचमा आएर बिहासिहा गरियो अनि बेला बेलामा आउने जाने गरिरँ'दा छोराहरु जन्मिदैनन् त ..?' छेउमै बसेर कुरा सुनिरहेकी अधवैंसे महिलाले बूढातिर हेरेर तरक्क आँखा तरिन्। बूढाले तिन्को आँखा तराईको बेवास्ता गर्दै आफ्ना कुरा अघि बढाए 'के भन्नु र, कानाँ मन्त्र फुकिसकेका रै'छन् , मेरा बजियाहरुको। तिनका हंसमा पनि भूत पसिसकको रै'छ , अरबतिर गएर नि उपध्र्र्रो गर्‍यो भनेको सुन्दा मन चिसो त भयो नि। अब मुसलेेहरुले घोक्रयाएर पठाउँछ होला भनेको त , काँ'को? झन पैसा पठा'को छ, छ। अब तिन्का स्वास्नीहरुले पनि घरका काम गर्न छाडे, अनि यो आमा चैं पनि सुतेर खान पल्कि। पैसाले बानी बिगार्‍यो क्या यिन्का...! यता म बूढोेलाई हेर्नोस्, मेरा पनि दस हजार आइ.सिभन्दा कम पेन्सन आउँदैन, बर्ष दिनका ब्याजले मलाई पनि सुती सुती खान पुग्छ तर हेर्नोस् जति काम गर्‍यो उति जिउ चङ्गा...। पसलमा जो चिया भन्न जो आउँछन् तुरुन्त तयार गरिहाल्छु तर आफ्नो पनि एउटा आदत छ जो हजुरहरुलाई पनि भनिहालुँ.. जति पटक चिया बनाउँछु अलिकता आफूलाई पनि बनाएर पिउने शोख छ ..' बूढा अलि मस्किँदै बोले।

'हेर बोलेका .. उ चैं उता इन्डियामा बन्दुक बोकेर घुम्ने, याँ मैले बच्चा पाएर, हुर्काएर लक्का ज्वान बनाएर ठिक्क पार्दिन पर्ने? त्यत्रा केटाकेटी , त्यत्रा खेती, त्यत्रा सारा व्यवहार गरेर जिउ बिग्रेको छ, क्यै गर्न हुँदैन फतक्क गल्छ। उहिले खेताँ गोडा गाडेर काम गर्दा गर्दा चिसो गडेर हात खुट्टाका जोड्नी कट्कटी खान्छ, मरेतूल्य हुन्छु अझ सुती सुती खान पल्की भन्छ बूढा! पेटभरि गानोगोला घुमेका बेला आफूलाई कस्तो हुन्छ ...तिमीलाई था' छ? पापी मान्छेे...?' बूढाकी जहान रिसले दन्कि।

'धन्यवाद दिनु पर्छ उहाँलाई तपाईंले। गुन मान्नु पर्छ। त्यत्रा खेती, घरव्यवहार सारा थाम्दिएर, बच्चा केटाकेटी पाएर, हुर्काएर ,पढाएर... अहिले शरिरको दुख पोख्दा त्यस्तो आरोप लाउन मिल्छ र?' बूढाले प्रतिवाद गरेनन्। एक किसिमले स्विकारै गरे। बूढीको मुख पनि उज्यालो देखियो। दुवैजनालाई बेन्चमा संगै राख्दै डिजिटल क्यामेराबाट फोटो खिचेर तुरुन्तै देखाइ पनि दिएँ। दुबै दंग! बूढाले रानीदरबार नजिकैको पसलमा हामी दुइजनालाई खानाको अर्डर मोबाइलवाट गरिदिए। एफ.एम रेडियो र मोबाइलले गाउँघरतिर पनि करामतै गरेको छ।

एकनासले बाटो काटिरहेका छौं हामी। तलवाट खोलाको आवाज सुनिन थाल्छ। वारिपारी बडाबडा पर्वत, घना बन र झाडी छन्। टिनिनिनि... खोला र पहाड घन्टीको स्वरले गुन्जायमान छ। जीवनमा पाल्पामा मात्र मैले यस्तो आवाज सुनेको हुँ-टिनिमिनी टिनिमिनी...टिनिनिनी...। 'के को स्वर हो यो? ' पाल्पालीहरुलाई सोध्दा कसैले 'घन्टी-किरा' भने त कसैले 'झाइने-किरो'। घाम अलिकता देखा पर्‍यो बाटोछेउ। नजिक पुगेपछि घाम तापेर बसेका एकहूल रङ्गीन दशैंकिरा चारतिर उडेर भागे। बाटोमा धारा भेटियो। झोला बिसाएर पेटभरी पालैपालो पानी पियौं। आहा.. क्या मीठो पहाडे-पानी! झल्याँस्स काठमाण्डू सम्झेँ.-.यहाँ यत्रो पानी खेर गएको गयै छ उहाँ दुइ बाल्टीको लागि मारामार .'.कठै, पानीको धनी देशका मान्छेहरु हो ! '

झरनाको छेउबाट जाँदा, पानीका तप्कनाले लछप्पै कपाल रुझायो। छहरा ध्वनीले मलाई चालिसौं वर्ष अघिको दुखद यात्राको सम्झना गराइरहेथ्यो। धङधङ भुईं थर्काएर तीनजना मान्छे हामीलाई उछिनेर अघि बढे। मायालाग्दा मसिना लालाबाला अघि लाएर दशैंको टिका थाप्न हिँडेेको एकजोडी टीठलाग्दा लोग्ने-स्वास्नी बाटामा भेट्दा मन कटक्क काटियोे।

हात्तीढुङ्गा आइपुग्यो । पछाडीवाट हेर्दा ठयाक्कै हात्ती बसेको! 'यहाँसम्म मोटरको बाटो आएको रे। अहिले वर्षाले बाटो बिगार्‍यो नत्र मोटरसाइकल लिएर तानसेनबाट केटाहरु यहाँसम्म आउँथे।' अंकितले मलाई सुनायो।

मूलबाटोेेे खोलामा पुग्यो। खोलीचरी बगरको ढुङ्गामा पुच्छर नचाईरहेकी थिइ। खोला किनारतिर पाइने बुहारी झार, बनअमला र सजिवनका रुखहरुले मलाई पुरानो सम्झना दिइरहेको थियो। ठोट्ने खोलाका जँघारहरु तर्दै दाइलाई भेट्न बुइपा जाँदा यिनै रुखबिरुवाहरुसँग मेरो संगत गाढा भएको थियो। प...र रुख र झाडीमाझबाट रानीमहल चियाइरहेको अंकितलाई देखाएँ । पसल पुग्दा मोबाइलको अडरमा भात, दाल, साग र कर्कलोको पुरानो अचारकासाथ खाना तयार थियो। सहरको मासु भातभन्दा धेरै मीठो! थपी थपी खायौं। पसलछेउ एउटा सानो केटो कहाल्लिएर रुँदै चुइगम मागिरहेको थियो, अर्की केटी चैं 'बेलौती देउ' भन्दै रोइरहेकी थिई। हिँड्ने बेलामा पसलमा झुण्डयाइएको हली केराको एक झुप्पोलाई फर्कि फर्कि हेरेँ। हली केराको काँइयोले मलाई बुइपाको पन्चेदोबाटो-हाटमा पुर्‍याएको थियो।

रानीमहलको भव्य सुन्दरताको बखान धेरै उमेर खाएका थुप्रै आमा बाहरुले गर्नु भएपछि, ०४८ मा पहिलोपल्ट साथीहरुसँग पुग्दा, त्यहाँ भेटिएका गाउँलेहरुलेे आँगनतिर गुजुल्टयाएर लडाएको जस्तापाताको ठूलो थुप्रो देखाउँदै भनेका थिए '२०४२ सालको आँधीहुरीले यसको पुरै छाना बटारेर यहाँ पछार्‍यो। बिस्तारै भित्रका अग्राखका चौकोस, खापा अनि बैठकमा छापेका दामी दामी फल्याकहरु चोरहरुले दिउँसै खुकुरी देखाउँदै बिटा पारेर लान थाले। क्यै रहेन बाँकी। अब कुन दिन गाह्रो भत्काएर ईँटा पनि ओसारेर लाने हो।' त्यस्तो अनकण्टारमा त्यो भव्यता देख्ता मैले उत्सुकतावस सोधेको थिएँ 'अझै पनि कोशिश गर्दा बनाउन मिल्छ नि' अर्का जानिफकार साथीले भने 'यो बनेको अन्ठानब्बे वर्ष भयो, सय वर्ष नपुगि सरकारले छुन मिल्दैन रे। अव दुइ वर्षपछि मात्र गुठी संस्थान यस विषयमा विचार गर्ने मुडमा होला।' मन खिन्न पारेको थियो त्यो जवाफले।

अर्कोपल्ट तानसेनमा सुनियो 'रानीमहलको जिर्णोद्धार गरिँदैछ रे।' उत्साहसाथ रानीमहल पुग्दा ठेकेदार दशैं मान्न घर गएको रहेछ। केही सामान आँगनमा थुपारिएको देखियो, त्यत्ति हो। तेश्रो पटक जाँदा रानीमहललाई रातो जस्तापाताले छाएको देखियो। भर्‍याङ र ठूल्ठूला कोठाहरुमा पनि फल्याक छापिएछन्। ‰यालमा खापा लागेछन्। यत्ति भएपनि घामपानी, शीत, हावाहुरीवाट जोगिने त भयो। मन अलि आश्वस्त भएको थियो। तानसेन बजारमा कोही भन्थे 'अब रानीमहललाई ठूलो होटेल बनाउने योजना तयार भइसक्यो।' कोही भन्थे ' पर्यटन स्थलका लागि रानीमहल अब भव्य बन्ने भयो।' र्‍याफ्िटङ स्टेसन बन्ने चर्चा पनि चल्यो। केही वर्षपछि मोटर बाटो भकाभक् बन्दैछ भन्ने हल्ला पनि भयानकै भयो। तिनै हल्लाका खबरहरुमा रोमान्चित हुँदै यसपाला रानीमहलको रुप हेर्न अंकित र म फेरि रानीघाट पुगेका थियौं।

बाह्र बजे मध्यदिन , घामको तताईसँगै, ठूलो ढुङ्गे चट्टानमाथि निर्माण गरिएको महलको सिँढी चढ्न थाल्यौँ। तलमाथि, बाहिरभित्र, सबै कोठाचोटा हेरेर, घुमेेर बाहिर निस्किँदा रानीमहल विक्षिप्त छाती पिटेर चिच्याए झैँ लाग्यो - 'देख्यौ मेरो दुर्गति! हेर्‍यौ मेरो हुर्मत? दुई दुइपल्ट मर्मत गरेको यै हो मेरो रुप...! हा.. हा..हा.. .! '

महलको तल्लो भागमा राती कसैले ठूलै आगो बालेछन्। पहिलो खण्डको लहरै घोडा बान्ने लामो तबेला भत्किएछ। भित्र च्यादरका पाता उभिन्डिएका थिए। माथि उक्लियौं, सिपाहीहरु सुत्ने,बस्ने भनेर चिनाइएको दोश्रो खण्डको लामो बुट्टेदार भाग पनि जथाभावी भत्किएछ। ढुङ्गा,माटो र काठको थुप्रोले कोठा भरिएको थियो, जवकि तेश्रोपल्ट म जाँदासम्म दुवै ठाउँ ठिकै अवस्थामा थिए। तिनोटा मन्दिरमध्ये दुइटाको गजुर थिएन , घन्टाको रालो झिकेर लगे क्यारे , थिएन। त्रिसुल पनि भाँचिदिएछन् , मन्दिरभित्र गएर हेर,ेँ देउता एउटै थिएनन् , सब गायब। महलको बडा बडा कोठाहरुका भुँइभरि, जताततै मुसाको लेँडैलेँडको कालाम्मे थुप्रो। महल पछाडि अन्य प्रयोजनका लागि बनेका स-साना घर झन जीर्ण र भग्न अवस्थामा। पछि पुननिर्माण गरिएका ‰यालका खापा पनि धमाधम झिकेर लान सुरु भएछ। छानावाट कालो पोलिथिनको पाइप तुन्दु्रङ्ग झुण्डिएको नयाँ कुरा देखियो। सितलपाटीको एकपाटो भत्किएछ, त्यहाँवाट तल चियाएँ..बाफ रे.. छाँगाछुर भीरवाट कता हो कता त..ल कालीगण्डकी बगिरहेको..!

कुन रहरेलाई हो रानीमहलको आँगनमा फूल रोप्ने रहर चलेछ। बाँसका भाटाहरुले बोट बार्ने दुख पनि गरेछ बरा! सबभन्दा घतलाग्दो कुरा त रानीदरबारको भुइँतलादेखि माथिसम्मका सारा कोठाका सेता भित्ताभरि कालो अक्षरको भित्तेलेखन् थियो! सारा पढेँ .. वाह क्या लेखेछन् बाहादुर बाहादुर्नीहरुले...। भित्ताभरि यति धेरै नाम लेखिएका थिए कि पढ्दा पढ्दै झण्डै बेहोस होला जस्तो भइयो। नब्बे प्रतिसत प्रेमका आशिक थिए! कसरी ती सब दिवानाहरुले अँंगार भेट्टाए? चकित पार्ने कुरा यही थियो। घरैवाट अँंगार बोकेर जाने गर्थे कि ? कति लेखाइ त यति छाडा र फोहोरी थिए कि सहन नसकेर कसैले मेट्ने कोशिश गरेको पनि पाइयो। भित्ताभरि ' आइ लभ यु ' त कति कति!

'यदि यस महलमा भगवान छन् भने मलाई प्रेमिकाविहीन बनाइदेउ प्रभु - फलानो बाग्लुङे ।'
'ए महलका सच्चा देवता , मलाई आज छ बजेभित्र यो संसारबाट टाढा बनाइदेउ - एउटा न्यौपाने।'
एकजना एकलप्रेमीले आफैलाई धिक्कारेर लेखेछन् ' थुक्क, तेरो जिन्दगी त...! '
एउटा भेटियो, उसको नाम 'पागलप्रेमी' अनि अर्कोको नाउँ चैं 'युटिएल मगर .' रे .!

'अलपत्र पार्नु थियो भने किन बोलायौ भन?' यी चैं धोका खाएकी मन्जु थिइन्। मलाई चकित पार्ने अर्को चमत्कार थियो - माथिल्लो बुर्जाको तेह्र चौध फिट माथि, सपाट अग्लो भित्तामा बिना सहारा , के मा चढेर त्यो दिवानाले अंगारको कालो अक्षरले आफ्नी प्रेमिकालाई प्रेमप्रस्ताव लेख्यो? कुरुप, बेरुप थियो रानीमहल। सुरक्षा, स्याहार सम्भारका लागि केही व्यवस्था थिएन। उदास आँखाले एकपटक चारैतिर हेरेँ। तल रानीमहलको फेदमा कालीगण्डकी फन्का मारेर घुमेको थियो। अलि पर त्यसकैमाथिको लामो पुलमा बटुवाहरु ओहोरदोहोर गरिरहेका थिए।

फर्कँदा पसलमा केही कुरा गरेँ रानीमहलवारे। पसले साहुजीले भने 'साठी, असी लाख निकासा आएको थियो, छाना, तला र ‰यालढोकाका खापासापा राखे, भर्‍याङतिर फल्याक ठोके बस् सकियो। त्यसपछि कसलाई के मतलब? पाले रुङने क्यै छैन, सबै त्यसै हवार्लाङ्गै। एउटा राखेको थियो रे , हामी यहीँ बस्नेले त्यसको अनुहार कहिल्यै देखेनौं - थ्याप्चो थियो कि न्याप्टो। अहिले दस वीस लाख फेरि आएको छ भन्थे, यसोउसो गरेजस्तो गरेर पैसा ‰वाम पार्ने नाटक गर्न फेरि कोइ आउलान् नि...।' साँच्चै हो, ठूलै आर्थिक निकासा पाए तापनि रानीमहलमा हाल भत्केसोभन्दा बढी अरु केही देखिएन जसरी गणतन्त्रको घोषणा भएपछि पनि नेपालीहरुको जीवनमा महँगी, दुखकष्ट र हैरानी वाहेक अरु केही पाइएन। 'सुन्दरता र सुपरिवर्तनका लागि फेरि केही गर। भ्रष्ट र परिवर्तनका वाधकहरुलाई हटाउन अझै ठूलो आँट गर ' रानीमहल र देश दुवैले, हामीलाई यही जोडदार सन्देश दिइरहेजस्तो लाग्यो।

बिहानको उत्साही मन रानीमहल हेरेपछि गम्भिर बनेको थियो। बोझिल मन लिएर फर्कँदा खोलाभरि घन्टीकिराको उही टिनिमिनी.आवाज र जंगलको उही सेपिलो बाटो भेटियो। बिहानको ओरालो बाटो अहिलेे उकालोमा बदलिएको थियो। बिहानका चिबर्िेरे चरा सब चुप थिए। टाँकी र अँगेरीका प्याजी फूलहरु साँझको ध्वाँसे रङमा मैला देखिन्थेे। सूर्य पनि लामो आकासे यात्रापछि आराम गर्न कतै बास खोजेजस्तै लाग्थ्यो। श्रीनगरको बतासे डाँडा पुग्दा घाम घुप्लुक्क पश्चिमी क्षितिजमा डुब्यो। साँझ खस्दै जाँदा मेरो मनले बिस्तारै यो सत्य बोल्यो 'नयाँ तेज लिएर यही सूर्य भोलि नयाँ आशाकासाथ पूर्ववाट फेरि ज्वाजल्ले भएर झुल्किनेछ। जीवनहरु फेरि नयाँ उमङ्ग र उत्साहमा उत्साहित हुँदै गतिशील र कर्मशील हुन थाल्नेछन् । पूर्ववाट सूर्य आएजस्तै एकदिन अवश्य पनि नेपालमा, श्रमशील जनताको सुदिन आएरै छाड्नेछ र त्योबेला भारतको ताजमहलजस्तै मानिने प्रेमको प्रतिक नेपालको यो रानीमहल, सैयौं कालिगढको आत्मीय प्रयत्न र कारिगरीले जग्मग् जगमग् जग्मगिनेछ। अनि त्यो सुन्दर र भव्य रानीमहल हेर्न एकपटक फेरि म आउनेछु। '

प्रकाशित: १२ मंसिर २०६६ २३:३२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App