१ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
अर्थ

अध्ययन विनै ‘फुसफुसे’ माटो माथि ५५ करोडको ढल निर्माण !

दोलखाको सदरमुकाम चरिकोट स्थित ढल व्यवस्थापन आयोजनाको प्रशोधन केन्द्र। तस्बिर: रमेश/नागरिक<br>

खानेपानी तथा ढल व्यवस्थापन विभागले दोलखाको सदरमुकाम चरिकोटस्थित बजार क्षेत्रमा ५५ करोड लागतमा निर्माण गरिरहेको ढल व्यवस्थापन आयोजनामा भौगर्भिक अध्ययन विनै फुसफुसे माटोमा ‘ह्युमपाईप’ बिछ्याइएको भेटिएको छ।

एसियाली विकास बैंकको ऋण अनुदानमा विभागको सहरी खानेपानी तथा सरसफाइ क्षेत्रगत आयोजना अन्तर्गत चरिकोट ढल व्यवस्थापन आयोजनामा बजारका घरहरुबाट प्रशोधन केन्द्रसम्म ढल तथा फोहोर पानी पुर्‍याउन भौगर्भिक अध्ययन विनै हचुवाका भरमा १९ किलोमिटर ‘ह्युमपाईप’ बिछ्याइँदै छ।

ढल लैजान कंक्रिट ढलान विनै फुसफुसे माटोमा बिछ्याइएका ह्युमपाईप। तस्बिर: रमेश/नागरिक

भिरालो जमिन सहितको भुबनोट रहेको चरिकोटका कतिपय स्थानका खुकुलो जमिनमा समेत डोजरले खाल्डो खनेर सोलिङ र ढलान बिनै लापरबाहीपूर्ण तरिकाले ढल निकास हुने ‘ह्युमपाईप’ बिछ्याउँदै, पुर्दै गर्न थालेपछि भीमेश्वर नगरपालिकाले सोमबारबाट काम बन्द गराएको छ।

ठेकेदार कम्पनीले लापरबाहीपूर्ण तरिकाले ह्युमपाईप बिछ्याउन थालेपछि बजारवासीले नगरमा उजुर गरेका थिए। नगर प्रमुख ईश्वरनारायण मानन्धरका अनुसार स्थानीयको गुनासोसँगै निर्माण सम्बद्ध पक्षले अत्यधिक भार बोकेर हिँड्ने सवारी सडक खण्डमा समेत सोलिङ र ढलान बिनै माटोमा ह्युमपाईप बिछ्याउँदै, पुर्दै गर्न थालेपछि काम बन्द गर्नुपरेको ।हाे।

नगरले बजार क्षेत्रको भूगोललाई ध्यानमा राखेर सोलिङ, पिसिसि तथा ढलान गरेर मात्र दिगो हुने गरी ह्युमपाईप बिछ्याउने गरी डिजाइन संशोधन गर्न आग्रह गर्दै विभागलाई पत्र लेखेको छ।

चरिकोट बजार स्थित भीमेश्वर नगरपालिका वडा नं ३, ४ र ६ का १ हजार घरधुरी समेटेर विभागले दुई वर्ष अघि ढल व्यवस्थापन आयोजना सुरु गरेको थियो। घर, भान्सा, बाथरुमबाट निस्केको अतिरिक्त फोहोरपानी र ढललाई सिधै ह्युमपाईपमा जोडेर प्रशोधन केन्द्रमा पुर्‍याई सुद्धिकरण गरेर सिचाईका लागी योग्य पानी र कृषिका लागी मल बनाउने उद्देश्य राखेर विभागले चरिकोटमा यो आयोजना सुरु गरेको थियो।

त्यसका लागी हाल बजार क्षेत्रका घरहरुबाट निस्कने फोहोर पानी र ढललाई १९ किलोमिटर लामो ह्युमपाईप मार्फत भीमेश्वर नगरपालिका-४ स्थित गौडे डाँडा र ६ स्थित रामकोट भन्दा तल्लो क्षेत्रमा बनेका दुई ओटा प्रशोधन केन्द्रमा लैजाने उसको योजना छ। प्रशोधन केन्द्रमा पानीलाई सिँचाइ योग्य बनाउने र उक्त पानी नगरको तल्लो क्षेत्रका विभिन्न खेतीयोग्य जमिनमा पुर्‍याउने आयोजनाको लक्ष्य छ।

सुरुमा ८२ करोडमा टेण्डर गरिएको आयोजना चिनियाँ निर्माण कम्पनी जिवाईईसिएल र नेपाली कम्पनी भीमेश्वर ड्रिलिङ तथा निर्माण सेवाले संयुक्त उपक्रममा ५५ करोड रुपैयाँमा ठेक्का लिएका थिए।

कुल रकम मध्ये नगरपालिकाको १५ प्रतिशत लगानी रहने आयोजनाको काम नेपाली कम्पनी भीमेश्वर ड्रिलिङले गरिरहेको छ। आयोजनामा दुई वटै प्रशोधन केन्द्रको काम सकिएको र हाल १९ किलोमिटर ह्युमपाईप बिछ्याउने काम चलिरहेको आयोजनाको परामर्शदाता कम्पनी बिल्डीङ डिजाइन अर्थोरिटीका सुपरिवेक्षण इन्जिनियर सन्तोष भुजेलले जानकारी दिए। भुजेलका अनुसार १९ मध्ये साढे ९ किलोमिटर ह्युमपाईप बिछ्याउने काम सकिएको छ।

चरिकोट बजारको खुकुलो भु-बनोटका फुसफुसे माटोमा समेत बिना कंक्रिट लापरबाहीपूर्ण तरिकाले ह्युमपाईप बिछ्याइएको भन्दै स्थानीयले विरोध गरेका छन्।

‘एक त हाम्रो चरिकोटको भुबनोट नै भिरालो र कतिपय स्थानमा खुकुलो छ, त्यहीँ माथि फुसफुसे माटो भित्र खनिने खाल्डोमा पहिला सोलिङ र ढलान गरेर बलियो पारी त्यहाँ माथि ह्युमपाईप हालेर पुर्नु पर्नेमा त्यस्तो केही नगरी जथाभाबी लापरबाहीपूर्ण तरिकाले बिछ्याएर पुर्न थालेपछि विरोध गरेका हौ’ भीमेश्वर नगरपालिका ३ चरिकोट बसपार्कका रामजी प्रसाद चौलागाईले भने ‘यसले त यो आयोजना ५ वर्ष पनि नटिक्ने र बजार क्षेत्रकै कतिपय स्थानमा ह्युमपाईप भासिने खतरा बढाएको छ।’

२०७२ सालको भूकम्पपछि चरिकोटको भौगर्भिक अध्ययन गरेको एउटा संस्थाले बजार क्षेत्रका कतिपय भूभागको जमिन खुकुलो बनेको प्रतिवेदन भीमेश्वर नगरपालिकालाई दिएको थियो।

चरिकोटको ढलमा झण्डै ८२ करोड खर्च गर्ने लक्ष्य बोकेको आयोजनाले भौगर्भिक अध्ययन नगरेकोमा स्थानीय चकित छन्। ‘यति ठुलो आयोजनाले कम्तीमा यहाँको माटो कस्तो छ भनेर अध्ययन गर्नुपर्थ्यो’ स्थानीय चौलागाईले भने ‘भोलीको पुस्ताको भविष्य समेत जोडिएको आयोजनामा यो त खेलबाड गरियो।’

यस्तै निर्माण व्यवसायी पक्षले टुप्पो फुटेका ह्युमपाईप समेत माटो भित्र गाडेको स्थानीयले बताएका छन्।

आयोजनाको परामर्शदाता कम्पनीका इन्जिनियर भुजेलले डिजाइन बनाउँदा भौगर्भिक अध्ययन नभएको स्वीकार गरे।

‘एक त आयोजनाले समेट्ने क्षेत्रमा त्यत्रो धेरै खुकुलो माटो छदा पनि छैन तर पनि जमिन भित्र रहने ह्युमपाईप नचुहियोस् र नफुटोस् भनेर नै दुई ह्युमपाईपको बिचमा ‘रबर सकेट’ ग्यासकेटले जोडेका छौं, यो सुपर ग्लु भन्दा पनि कडा हुन्छ’ उनले भने।

भुजेलले अध्ययन नगरे पनि काम गर्दै जाँदा खाल्डो खन्ने क्रममा देखिने भुबनोटका आधारमा कंक्रिट हाल्नुपरे हाल्ने गरेको बताए। ‘वडा नं ६ को चिताम्थली सहित दलदल परेको एक दुई ओटा संवेदनशील क्षेत्रमा त ह्युमपाईप बिछ्याउनु अघि ढलान गरेर मात्र हाल्दैछौं’ उनले भने।

विभागको चरिकोट साइट कार्यालयका सरकारी इन्जिनियर पुस्कल सुवेदीले आयोजना बनेपछि निर्माण व्यवसायी पक्षले दुई वर्ष सम्म आयोजना सञ्चालन गर्ने र त्यसपछि मात्रै नगरपालिकालाई हस्तान्तरण गर्ने कारण यसमा कुनै समस्या आए निर्माण कम्पनीले दुई वर्षसम्म बनाउने बताए।

निर्माण कम्पनीले चरिकोट बजार क्षेत्रमा ह्युमपाईप बिछ्याउन खाल्डो खन्ने तयारी गरिरहेको छ। तर डिजाइन परिवर्तन गर्नुपर्ने र बजार क्षेत्रमा अवरोध नहुने गरी कति समय भित्र काम सक्ने ग्यारेण्टी सहित तालिका दिनुपर्ने भन्दै बजारवासी त्यसो नगरी काम गर्न नदिने अडानमा छन्।

निर्माण कम्पनीको म्याद आगामी वैशाखमा सकिँदै छ। आयोजना पक्ष जसरी पनि यो बर्सात् अगाडी नै निर्माण कम्पनीलाई काम गराउने तयारीमा रहेपनि कम्पनीको ढिलासुस्तीले कामले गति लिन सकेको छैन।

हाल सम्म आयोजनाको ६० प्रतिशत काम सकिएको छ। घर अगाडी सम्म मंगल तथा पाइप ल्याउने संरचना आयोजना पक्षले बनाउने र त्यस्ता संरचना सम्म घरधनी आफैले पाइप लगेर जोड्नुपर्ने आयोजनाले बताएको छ।

ह्युमपाईपले नसमेट्ने सडक भन्दा तल्लो क्षेत्रका कतिपय घरहरुका लागी भने सेफ्टी ट्यांकीबाट संकलन गर्न आयोजनाले सक्सन गाडी उपलब्ध गराउने छ।

प्रकाशित: १८ माघ २०८० ०९:२० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App