१७ वैशाख २०८१ सोमबार
image/svg+xml
अर्थ

अर्थतन्त्र सुधारको बाटोमा रहेको प्रधानमन्त्रीको दाबी

प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालको अर्थतन्त्र सुधारको बाटोमा रहेको बताएका छन्। मुलुकको अर्थतन्त्र संकटमा नरहेको दाबी गर्दै उनले अर्थतन्त्र सुधार भैरहेको बताए।

नेपाल निर्माण व्यवसायी महासंघको शुक्रवारबाट हेटौंडामा सुरु भएको २५ औं साधारणसभाको उद्घाटन गर्दै उनले अघिल्लो वर्षको तुलनामा अर्थतन्त्रमा धेरै सुधार भैसकेको दाबी गरे।

उनले नयाँ अर्थमन्त्रीले जिम्मेवारी सम्हालेसँगै प्रक्रिया अघि बढेकाले निर्माण व्यवसायीको बक्यौता रकम चाँडै भुक्तानी गर्ने आश्वासन दिए।

‘यसअघिका अर्थमन्त्रीसँग बक्यौता भुक्तानीका विषयमा कुरै मिलेको थिएन। नयाँ अर्थमन्त्री आएसँगै प्रक्रियामा गैसकेको छ’, प्रधानमन्त्री दाहालले भने, ‘निर्माण व्यवसायीका लागि अनुकुल वातावरण बनाउँदै लगेका छौँ।’

स्रोत सुनिश्चितता नभएको आयोजनालाई अब टुङ्ग्याइने भन्दै उनले भने, ‘सार्वजनिक खरिद् नियमावलीको संशोधनले पनि राष्ट्रिय आवश्यकतालाई सम्बोधन गर्न सकेको छैन।’ उनले थपे, ‘ऐन संशोधन गरी पूर्वाधार विकासको कामलाई तीव्रता दिनेछौँ।’

संसद्मा सरकारको सिद्धान्त र प्राथमिकता प्रश्तुत भैसकेको र बजेट, नीति कार्यक्रमको तयारीमा रहेकोले निर्माण व्यवसायीको साधारणसभाबाट उठेका विषयलाई समेत समेट्ने उनले आश्वासन दिए।

निर्माण व्यवसायीमैत्री कानुन निर्माण र सार्वजनिक खरिद नियमावली संशोधन गरिने भन्दै प्रधानमन्त्री दाहालले कानूनलाई विकास मैत्री बनाउने पनि बताए।

कर्मचारी र निर्माण व्यवसायीलाई हेर्ने दृष्टिकोण परिवर्तन हुन जरुरी रहेको प्रधानमन्त्रीको सुझाव थियो।

उनले सम्झौता बमोजिमको काममा गुणस्तरीयता कायम गर्न निर्माण व्यवसायीलाई अनुरोध गर्दै अन्यथा कानुन बमोजिम कारबाही गर्ने चेतावनी समेत दिए।

मुलुकको बेतिथि अन्त्यका लागि कमाण्ड लिन आफू तयार रहेको उनको भनाइ थियो। निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले सार्वजनिक खरिद् ऐन संशोधन गरी निर्माण उद्योगमैत्री बनाउनुपर्ने माग राखे।

राज्य निर्माण उद्योगमैत्री नहुँदा समस्या भएको जानकारी गराउँदै उनले निर्माण क्षेत्र चलायमान नहुँदा मुलुक आर्थिक संकटमा रहेको दावी गरे।

स्रोत सुनिश्चितता नभएको २ हजार भन्दा बढी आयोजनाको व्यवस्थापन गर्न जरुरी रहेको अध्यक्ष सिंहको माग थियो। उपभोक्ता समितिको काम गुणस्तरीय नहुँदा त्यसको दोष निर्माण व्यवसायीले खेप्न बाध्य रहेको उनको भनाइ थियो।

निर्माण व्यवसायी संघ मकवानपुरको आतिथ्यतामा हेटौंडामा महासंघको साधारणसभा भएको हो। शनिबारसम्म चल्ने साधारणसभामा महासचिव र कोषाध्यक्षको प्रतिवेन पेश हुनुका साथै निर्माण क्षेत्रमा रहेको समस्या र भावी रणनीतिको विषयमा घोषणापत्र समेत जारी हुने संघ मकवानपुर अध्यक्ष बालगोपाल कंडेलले जानकारी दिए।

प्रकाशित: १६ चैत्र २०८० १३:५१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App