२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

स्याउ फुलेर सेताम्मै छन् उर्थुका बगैंचा

उर्थु गाउँका स्याउ बगैंचा। यतिबेला फुलले बगैंचा नै सेताम्मे भएका छन्। तस्बिर : नागरिक

हिमाली जिल्ला जुम्लाको वातावरण यतिबेला रमणीय देखिन्छ। जिल्लैभरि रहेका बगैँचाका स्याउ फुलेर सेताम्मे भएपछि जुम्लाको वातावरण रोमाञ्चक देखिएको हो।

जुम्ला स्वादिलो स्याउ पाइने जिल्लाका रुपले प्रख्यात छ। त्यो स्वादिलो स्याउ फल्ने बोटका बगैंचाहरु फूल फुलेर सेताम्य भएका छन्। चैत–वैशाखमा स्याउ फुल्ने र स्याउ भदौमा पाक्ने गर्छ, जुन बेला बगैँचा राताम्मे देखिन्छन्।

जुम्लामा स्याउ फल्न २०२२ सालदेखि सुरु भएको हो। २०२२ सालमा केही व्यक्तिले भारतको कस्मिरबाट स्याउका बिरुवा ल्याएर रोपेपछि सुरु भएको स्याउ खेती अहिले जिल्लाभरि फैलिएको छ।

स्याउ खेती विस्तारका लागि तत्कालीन सरकारले पनि सघाएको थियो । २०३२ सालमा रानी ऐश्वर्यको जुम्ला भ्रमण भएपछि जुम्लाको चन्दननाथ नगरपालिका– १० (तत्कालीन कार्तिकस्वामी गाउँ पञ्चायत) को गैरागाउँँमा स्याउको वागबानी केन्द्र स्थापना भएको थियो।

उक्त बागवानी केन्द्रमा २०३४ सालमा स्याउका बिरुवा उत्पादन गर्दै जिल्लाका केही स्थानमा किसानले नमुनाका रूपमा स्याउखेती सुरु गरेको जुम्लाको स्याउको इतिहास भेटिन्छ।

जुम्लाको एक मात्र चन्दननाथ नगरपालिकालगायत अन्य सातवटा गाउँपालिकाका र ६० वटै वडामा स्याउ खेती भइरहेको छ। जुम्लामा गोेल्डेन डेलिसेस, रेड डेलिसेस, रोयल डेलिसेस, जोनाथान, कक्स ओरेन्ज टिपिन, म्याकन्ज,  इटालिएन फुजी र गालालगायत जातका स्याउ फल्ने गरेको कृषि विज्ञहरु बताउँछन्।

जुम्लाको स्याउले काठमाडौँ, पोखरा, सुर्खेत, नेपालगन्ज, बुटवल, चितवनलगायत देशका ठूला सहरमा पनि आकर्षक बजार लिएको छ। जिल्ला कृषि विकास कार्यालयले ‘एक घर एक बगैंचा’ कार्यक्रम नीति लिएपछि बिरुवा वितरण, काँटछाँट र प्राविधिक सहयोग भइरहेको छ भने स्याउ खेतीको विकास भइरहेको छ।

अहिले जिल्लाबाहिर स्याउको माग पनि बढ्दै गएको छ। जुम्ली स्याउ मन नपराउने कोही नेपाली छैनन्। दशक अघिदेखि सुर्खेत–जुम्ला–कर्णाली राजमार्गले जोडिएपछि यहाँका किसान स्याउ खेतीतर्फ आकर्षित छन् । पछिल्लो समय कर्णाली राजमार्ग कालोपत्रेपश्चात् बाहिर सजिलै निर्यात हुने भएकाले पनि जुम्ली किसानको आकर्षण स्याउ खेतीमा देखिन्छ।

जुम्लाको सदरमुकाम खलंगाबाट हिँडेर डेढ घण्टामा पुगिन्छ। सवारीसाधनमा १५ देखि २० मिनेटमा पातरासी गाउँपालिका-६ मा रहेको उर्थु गाउँ पुगिन्छ। उर्थु गाउँवरिपरिका बगैंचा स्याउका फुलले सेताम्मे छन्। जुम्लाको पातारासी -६ उर्थु गाउँकी विनिता बिष्टले १२ वर्षदेखि स्याउखेतीमा लागेको सुनाउँछिन्।

उनी स्याउ बगैंचामा तीन सय स्याउका बोट हेरचाह गरिरहेको बताउँछिन्, ‘सबैले फल दिन्छन्।’ वार्षिक स्याउ बेचेर उनले न्यूनतम ४ देखि ६ लाख आम्दानी गर्छिन्। स्याउ राम्मो फलाउनुपर्‍यो । किन्ने व्यापारी गाउँमै पुग्दा छन्। बेइन (बेच्न) केही समस्या नाईं। कहिलेकाहीं स्याउ फल्दैन र उचाट (उदेक) लाग्दो छ’, स्याउ किसान बिष्टले भनिन् ।

असिना र कालो तुसारो र खडेरीले सताउँछ। उर्थु गाउँमा स्याउको आम्दानी लिने उनी एक्लो हैनन् । सोही गाउँका शेरबहादुर भण्डारी स्याउ बेचेर वार्षिक ९ देखि ११ लाख रुपैयाँ कमाउँछन्। उनको एक हजार दुई सय बोटमा बर्सेनि स्याउ फल्छ।

विनिता र शेरबहादुरजस्तै उर्थुका १ सय १० घरपरिवार स्याउ खेतीले आत्मनिर्भर छन्। ‘स्याउ राम्मो फलाउनु पड्यो। किन्ने व्यापारी गाउँमै पुग्दा छुन्। बेइन (बेच्न) केही समस्या नाइँ’, स्याउ किसान पूजा बिष्टले भनिन्। स्याउ खेती नै किसानको आम्दानीको मुख्य स्रोत भएको पातारासी गाउँपालिका-६ का वडाध्यक्ष कर्मबहादुर बिष्टले बताए।

जुम्लामा झन्डै १६ हजार स्याउ बगैँचा छन्। यहाँका १८ हजार घरधुरीमध्ये करिब १६ हजार घरका स्याउ बगैँचा स्थापना भएको कृषि कार्यालयले जनाएको छ।

कृषि विकास कार्यालयका अनुसार अहिले ४ हजार २ सय ५० हेक्टर जमिनमा स्याउ हुन्छ, जसमध्ये ३ हजार हेक्टरमा लगाएको स्याउले फल दिइरहेको छ। हरेक वर्ष जुम्लामा स्याउ उत्पादन बढ्दै गएको छ।’

प्रकाशित: ८ वैशाख २०८१ १२:३४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App