२४ वैशाख २०८१ सोमबार
image/svg+xml
अर्थ

नयाँ प्रविधिद्वारा हिलोमा छुपुछुपु रोपिँदै उखु

रौतहटको गढीमाई नगरपालिकाका केही किसानले छुपुछुपु उखुको बेर्ना रोपिरहेका छन्। चैते धानको रोपाइँ सकिएपछि धानकै शैलीमा रोपाहारले हिलोमा उखुका बेर्ना रोपिरहेको दृश्य नेपालमै सम्भवतः नौलो हो।

गढीमाई नगरपालिका ४ संग्रामपुरका किसान नरेन्द्र ठाकुरले पहिलोचोटि डेढ बिगाहा खेतमा नयाँ प्रविधिले उखु रोप्न लागेका हुन्। ब्याडमा डेढ फिटभन्दा लामा बेर्ना तयार भएपछि खेत तयार पारी रोपाहारलाई लगाएर रोप्न लगाएका हुन्।

पहिले उखु नै रोपिने खेतमा बेर्ना तयार पारी पहिलोचोटि उखु खेती गरिन लागेको हो। धान खेतमा जस्तै खेतमा पानी पटाएर हिलोमा उखुको बेर्ना रोप्दै गरेको दृश्य देखेर अरु किसानले नौलो मानिरहे।

ठाकुर मात्र नभई गढीमाई २ कै अगुवा उखु किसान कामेश्वर सहनीले भने नयाँ प्रविधिले चार बिगाहा खेतमा पहिलोपटक उखु खेती गर्न लागेका हुन्।

ब्याडमा मज्जाले पानी पटाई बेर्ना झिकेर तयार भएको उखु खेतीमा रोपाहारद्वारा उखु रोप्न लगाएको सहनी बताउँछन्। उनी भन्छन्– भारतमा नयाँ प्रविधिले उखु रोपिएको र उत्पादन निकै भएको सुनेर आफूहरु पनि आकर्षित भएका हौँ।

एक सय १८ जातको छिटो पाक्ने उखु एक कट्ठामा ७० क्वीन्टलसम्म फल्ने अनुमान गरिएको छ। परम्परागत तरिकाले उखु खेती गर्दा प्रति कट्ठा ४० क्विन्टलसम्म उब्जाएका सहनी भन्छन्– यो प्रविधि सफल भयो भने नेपालमा यही तरिकाले उखु रोपिने युगको चलन बस्ने छ।

उत्पादन राम्रो हुने र चिनी मिलले सहुलियत दिने भएकाले नयाँ प्रविधिले उखु रोपिरहेको अर्का किसान रवीन्द्र सहनी बताउँछन्।

सर्लाहीको हरिवनस्थित इन्दुशंकर चिनी उद्योगल अन्य जातको तुलनामा प्रति क्विन्टल १५ रुपैयाँ बढी बोनस दिएर खरिद गर्ने गरेको उखु महाप्रबन्धक योगनारायण रजकले जानकारी गराएका छन्।

रजकले भने– एक सय १८ जातका उखुबाट चिनी उत्पादन राम्रो हुन्छ, यसैले किसानलाई प्रोत्साहनस्वरुप प्रति क्विन्टल १५ रुपैयाँ बोनस दिएका हौँ।

नयाँ तरिकाले उखु खेती गर्दा एक बाली बढी उत्पादन गर्न सकिने पनि देखिएको छ। साधारण तरिकाले माघ र फागुनमा उखु रोप्ने गरिन्छ तर ब्याडमा बेर्ना तयार पारी उखु रोप्दा गहुँबाली काटेर उखु रोप्न सकिने देखिएको छ।

अगुवा किसान कामेश्वर सहनी भन्छन्– अहिले उखु रोपिरहेको खेतमध्ये तीन बिगाहा खेतमा गहुँ बाली लगाएका थियौँ। गहुँबालीको उत्पादन पनि राम्रो भएको र नयाँ प्रविधिले उखु खेती गर्न झन् सजिलो भएको छ।

प्रकाशित: १० वैशाख २०८१ १९:१५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App